+
+

गाँजा, जाँड–रक्सी निषेध या नियन्त्रण ?

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०७८ चैत २४ गते १२:३१

‘हैट्, यस्तो पढेको मान्छेले यस्तो कुरा गर्ने ? यस्तो कमाइ चाहिएन मलाई’– एक जना बुझक्कड सरले नाक खुम्च्याउँदै भन्नुभयो ।

‘पढेकै भएर त यस्तो कुरा गरेको । नेपालमा यी सबै कानुनसम्मत हुनुपर्छ’- मैले भनें ।

‘मान्छे बिगार्ने कुरा नगर्नुस् !’

संवाद एक मृत्युबाट सुरु भएको थियो । काठमाडौंमा वर्षकै सबैभन्दा चिसो रात थियो । बिहान पानी परिरहेको थियो । हामी बसबाट अफिस जाँदै थियौं ।
बस चढ्दै सरले भन्नुभयो, ‘बिहान सडकमा एक मृतक भेटियो । एउटा जँड्याहा मरेछ ।’

म अकमक्क परें । प्रश्न गरें– ‘के साँच्चै जँड्याहा थियो ऊ ?’

‘अरू को हुन सक्छ ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

‘गरिब’ मैले उत्तर फर्काएँ– ‘यस्तो चिसो सडकमा कि एक जँड्याहा मर्छ कि एक गरिब ।’

‘भीड जँड्याहा भन्दैथियो’, सरले थप्नुभयो ।

‘सजिलो छ मान्छेहरूलाई जँड्याहाको भारी बोकाइदिन’ मैले भनें, ‘जाँड, रक्सी एक भरियाले पिउन सक्छ । एक मजदुरले पिउँछ । शहरको चिसो भगाउन पिउँछ । जीउको दुखाइ लुकाउन पिउँछ ।’

‘कोही रक्सी पिएर नै गरिब बन्न सक्लान्’ सरले हाँस्दै थप्नुभयो– ‘हातमा साग बोकेको रहेछ ।’म अन्योलमा परें । के बताउँछ उसको हातको सागले ? के साँच्चै ऊ गरिब थियो या जँड्याहा ?

जँड्याहाहरू मजाले पिउँछन् । कोही भट्टीबाट घर जाँदाजाँदै बाटोमै अलपत्र पर्छन् । मद्यपानले केही समय गर्मी दिन्छ । फेरि तुरुन्तै चिसो पनि । सडकको चिसो सहन नसकेर जँड्याहाको मृत्यु हुन्छ । ऊ के थियो त ? मैले बसमा सोचिरहें । आफैंले देखेको पनि होइन । सायद ऊ जँड्याहा थियो । बाटोमा हिंड्नेले भनिदिएँ ।

न कसैले सुघे, न कसैले पेट खोतलेर हेरे । बस् भनिदिएँ– कुकुर उसको वरिपरि घुम्दै थियो ।

अरे मरेको बाच्छो वरिपरि पनि त कुकुरहरू घुम्छन् ।

तर प्रश्न रहिरह्यो– ‘गरिब कि रक्सी ?’

देश गरिब । हामी गरिब तर देशमा भएको स्रोत धनी । हाम्रो प्रकृति धनी । फेरि ती स्रोतहरूको उपयोग शून्य, नगण्य । खोलामा बगेको पानीको उपयोग शून्य । जमिनले उर्वर बनाएर दिएको स्रोतको उपयोग शून्य । अनि किन खेर नजाओस् हाम्रो महत्व ? त्यो गरिब जँड्याहाको जस्तो ।

पक्कै त्यो गरिबले विदेशी रक्सी पिएको हुनुपर्छ । पक्कै उसको रुपैयाँ डलरमा परिणत भएर गएको हुनुपर्छ अर्को देश जुन देशमा अधिकांश हामी आफैं जान चाहन्छौं । अनि हामी अवैध बनाउँछौं आफ्नो गाउँको छ्याङ, जाँड, रक्सी ।

कुनै विदेशीले हाउगुजी लगाइदियो । कुनै स्वार्थी बिचौलियाको स्वार्थमा परियो । बिचौलियाहरू अर्काको देशको रक्सी आफ्नो भनेर बेच्न चाहन्थे । फाइदा कमाउन चाहन्थे । अनि स्वदेशी जाँड, छ्याङ, ऐला बिरानो भए ।

विदेशी भोड्का र ह्विस्की हाम्रा भए । हाम्रो प्रतिष्ठा बने । स्वदेशी गैरकानुनी बने, विदेशी प्रतिष्ठा बने ।

कुनै जमाना हाम्रो देशमा हिप्पीहरूको संस्कृति थियो । संसारबाट मानिसहरू हाम्रोमा आउँथे । हाम्रो बारीमा उम्रेका गाँजा तान्न । क्यट स्टिभन्स, जोन लेनन आए । कुनै गायकले गीत गाए– काठमाडौं आई विल सुन बि सिइङ यू … !

लाग्छ महेन्द्रकालीन समय नेपालको स्वर्णिम युग थियो । कुनै महत्वपूर्ण निर्णयहरूबारे वर्तमानले ठिक–बेठिक भन्न सक्दैन ।

तर इतिहासले ती निर्णयको निक्र्योल गर्न सक्छ । राजा महेन्द्रको राजकाजमा केही दोष लाउने विषय अवश्यै छन् तर समग्रमा हामी भन्न सक्छौं, हाम्रो देशको आधुनिक इतिहासमा आजसम्मको स्वर्णिम काल थियो त्यो काल ।

यो भन्न सकिन्छ कि पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे तर वास्तवमा नेपालको सांस्कृतिक, आर्थिक तथा विकासको एकीकरण महेन्द्रको पालामा भएको हो । उहाँको कालमा नेपालको आफ्नै मुद्रा बन्यो, आफ्नो संस्कृति र भाषा व्यवस्थित बन्यो, आफ्नो इतिहास बन्यो ।

हाम्रो अहिलेको सोच गलत नै हो भन्न सकिन्न तर अब सोचहरू फरक बनाउने बेला आएको छ । गाँजा र जाँड–रक्सीको मामलामा समाज र कानुन लचिलो हुनुपर्छ । निषेध भन्दा नियन्त्रण गरिनुपर्छ ।

भारतमा इन्दिरा गान्धी र चीनमा माओलाई मिलाएर कहिले पौंठेजोरी खेलेर पृथ्वी राजमार्ग बनाइए, महेन्द्र राजमार्ग बनाइए । नेपालको आर्थिक विकासमा सहयोग गर्छ भनेर राजाले गाँजा, हसिसको खुला व्यापार गर्न दिए । देशको अर्थमा टेवा दिएको थियो ।

सायद यसै कुरा बुझेर आज विकसित भएका कतिपय देशहरूले गाँजा कानुनसम्मत बनाइसकेका छन् । निषेध फुकुवा गराउँदैछन् ।म फेरि सरतर्फ फर्केर प्रश्न गर्न लागें– ‘आजसम्म गाँजाले कति जना मान्छे मारेको छ ?’

सर अकमक्क पर्दै हुनुहुन्थ्यो । मैले फेरि प्रश्न गरें– ‘अनि चुरोटले ?’‘लाखौं, करोडौं सायद अरबौं’, उहाँले भन्नुभयो ।

‘गाँजाले अहिलेसम्म एक जनाको पनि ज्यान लिएको छैन । डाक्टरहरूको ठूलो जमात यो संख्यामा विश्वास राख्छ । यदाकदा गाँजाको कारणले अन्य दुर्घटना भएका छन् तर समग्रमा गाँजाले ज्यान लिंदैन ।’

म प्रश्न गर्दै थिएँ– ‘कुन समाज ठीक होला ? करोडौंको मृत्यु गराउने चुरोट अनि एकको पनि मृत्यु नगराएको, उल्टो औषधिमा प्रयोग हुने गाँजा प्रयोग गर्ने समाज ?’
हाम्रो देशमा त आफैं उम्रन्छ गाँजा ।

त्यसकारण यो हाम्रो आम्दानीको स्रोत बन्न सक्छ । आज पनि होल्याण्डको याम्सटरडममा नेपाली गाँजा भनेर छ्यापछ्याप्ती पाइन्छ । थोरै मात्रालाई ६ डलरसम्ममा बेचेको पाइएको छ । नेपालमा बन्देज लगाएको गाँजा कसरी विदेश पुग्यो त ?

चोरी सिकारी भएर अनैतिक रूपमा विदेश पुगिरहेको छ हाम्रो मौलिकता ।

हाम्रो देशको हावा पानी गाँजाको लागि उपयुक्त छ । उत्कृष्ट मध्येको एक हो । यसको विदेशमा बजार पनि छ । यसबारेमा आज हाम्रो देशमा बहस हँुदैछ । भलै विदेशीको संकेतमा होस् या देशी लगानीकर्ता जो यस क्षेत्रमा लगानी गर्न आतुर छन् उनीहरूको संकेतमा होस् ।

ठूला माछाहरू कहिले गाँजाको प्रतिबन्ध खुल्छ र लगानी गरेर अरबौं कमाउन सकिन्छ भनेर लागिपरेका छन् । त्यस्तो कसैको सोच छ भन्दैमा सरकारले आफ्नो आम्दानीको स्रोत खेर जान दिनुहुँदैन ।

आज हाम्रा खेतहरू बाँझो छन् । नेपाली श्रम विदेशिएको छ । गाँजाको खेती नियन्त्रित रूपमा भयो भने देशको जमिन फेरि उर्वर बन्न सक्छ । स्वदेशमै युवाहरूलाई रोजगारी मिल्छ ।

कि भन्न पर्‍यो विदेशी रक्सी पनि प्रयोग गर्न हुन्न । नेपालमा बनाउन पनि हुन्न । गाँजा पनि प्रयोग गर्न हुन्न । विकासका लागि अन्य उपाय अपनाउँछौं । उद्योग कलकारखाना खोल्छौं । पर्यटन प्रवर्धन गर्छौं । तर सकिएको छैन, सकिंदैन भने आफ्नो मौलिकता र सम्भावना केमा छ विचार गर्नुपर्छ ।

हाइड्रोमा लगानी गर्नुपर्छ । ठिक छ । तर विकल्प पनि छ । जरुरी पनि छ । हामी हामीलाई पुग्ने जाँड रक्सी बनाउन सक्छौं । ब्राण्डेड बनाउन सक्छौं । ऐला छ्याङ विदेश निर्यात गर्न सक्छौं । गाँजा विदेश पठाउन सक्छौं ।

गाँजा, मदिरा आदिम कालमा पनि थियो । आज पनि छ । र यो अनन्त कालसम्म रहिरहन्छ । संसारमा ठूला ठूला शासकहरू आए, विचारकहरू आए, बुद्ध आए, गुरु नानक आए । संसारले चिनिने वैज्ञानिकहरू आए तर कसैले पनि गाँजा र रक्सीको व्यापार रोक्न सकेका छैनन् ।

होइन बहस गर्ने नै हो भने भन्न पर्‍यो, देखाउन पर्‍यो कुनै साम्राज्य जसको राज्यमा रक्सी निमिट्यान्न छ । गाँजा पूर्ण निषेधित छ । या देखाउन पर्‍यो, गाँजाको हानि जो चुरोटले भन्दा बढी स्वास्थ्यमा गर्न सक्छ । या भन्न पर्‍यो, यो औषधि होइन ।

प्रश्न निषेध गर्ने होइन, व्यवस्थापन गर्ने हो । केही समयको मौनतापछि म फेरि सोचमग्न भएँ ।

सुन्दा नराम्रो लाग्छ किनभने हामीहरूलाई फरक तरिकाले सिकाइएको छ । हाम्रो सोच फरक बनाइएको छ । हाम्रो अहिलेको सोच गलत नै हो भन्न सकिन्न तर अब सोचहरू फरक बनाउने बेला आएको छ ।

गाँजा र जाँड–रक्सीको मामलामा समाज र कानुन लचिलो हुनुपर्छ । निषेध भन्दा नियन्त्रण गरिनुपर्छ । यसका आफ्नै कारखानाहरू बन्नुपर्छ । गाँजा मन नपरेका मानिसहरूलाई फसाउने माध्यम मात्र बनाउनुहुन्न ।

(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?