+
+

नगरपालिकाभित्रै छैन बिजुली, टुकीकै सहारा

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत २४ गते २०:००

२४ चैत, पोखरा । नगरपालिका भन्नेबित्तिकै सबैको सोचमा आउँछ टोल र बस्ती जोड्ने फराकिला सडक, इन्टरनेटसँग सहज पहुँच, बस्तीभरि झिलिमिली बत्ती ! तर, बागलुङको ढोरपाटन नगरपालिकाको एउटा वडाका बासिन्दालाई भने नगरपालिकामा हुनु पर्ने यी आधारभुत सुविधा अहिलेसम्म ‘आकाशको फल, आँखा तरी मर’झैं छ ।

नगरपालिकाभित्रैका बासिन्दा भएर पनि ढोरपाटन वडा नं. ६ का बासिन्दा अझै अँध्यारोमुनि नै छन् । गाउँमा बिजुली नपुग्दा अझै उनीहरु टुकी र लाल्टिनको सहारामा आफ्नो दैनिकी गुजारिरहेका छन् ।

बागलुङकै सबैभन्दा दुर्गम बस्ती मानिएको यो वडा ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र छ । यो बाग्लुङको माथिल्लो भेगको अन्तिम सीमाना वडा पनि हो । पूर्वमा म्याग्दी र उत्तरमा रुकुम पूर्वसँग जोडिएको बागलुङकै दुर्गममात्रै नभएर गरिबीग्रस्त क्षेत्र हो ।

ढोरपाटन नगरपालिका ६, का वडाध्यक्ष जीवनकुमार पुनमगर वडाको भण्डारी गाउँ र छ्यान्तुङ गाउँ पूरै अँध्यारोमै रहेको सुनाउँछन् । दुवै बस्ती गरेर ३ सय ३५ घरधुरी अहिलेसम्म बत्तीबिहीन छन् । ‘वडाका अन्य ठाउँका घरसमेत जोडेर ४ सयको हाराहारीमा बिजुली पुग्न सकेको छैन,’ उनी भन्छन् ।

प्रदेश सरकारको सहयोगमा माइक्रो हाइड्रो बनाउनेबारे छलफल भए पनि जनताले किनेर पनि बाल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष पुनमगर सुनाउँछन् । ‘कुनै ठाउँमा बिजुली नै नपुगेर बाल्न सकिरहेका छैनन् । बाँकी कसैले मिटरको शुल्कसमेत तिर्न नसक्ने अवस्था छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो वडाको ठूलो जनसंख्या अहिले पनि टुकीकै सहारामा छ ।’

गाउँमा बिजुली बत्ती नहुँदा विपत्कोबेला पनि पूरै बस्ती नै सम्पर्कविहीन हुनुपर्ने स्थिति छ । ‘बिजुली पुगे पो फोन हुन्छ, इन्टरनेट हुन्छ, वाइफाई होला ! अहिले त त्यहाँ केही पनि छैन । केही भइहाल्यो भने पनि थाहा हुनै गाह्रो स्थिति छ,’ उनी भन्छन् ।

सोलार भए पनि देउ

ढोरपाटनको भण्डारी गाउँ र छ्यान्तुङ गाउँलाई उज्यालो बनाउन तत्काललाई सोलार भए पनि उपलब्ध गराउन प्रदेश सरकारलाई उनले आग्रह गरेका छन् । ‘वडाबाट हामीले मागिरहेका छौं । सक्दो कोसिस गरिरहेका छौं,’ उनले भने ।

५ वर्षभित्र गण्डकी प्रदेशका सबै घरमा बिजुली बाल्ने गरी ‘उज्यालो प्रदेश’ घोषणा गर्ने नीतिसहित अघि बढिरहेको प्रदेशमा अझैसम्म बिजुलीका पोलसमेत नपुगेको ठाउँ ढोरपाटन मात्रै होइन । गोरखाको चुमनुब्री गाउँपालिका, नवलपुरको बौंदीकालिका, हुप्सेकोट, बुलिङटारलगायतका पालिकाका कतिपय ठाउँमा पनि उज्यालो पुग्न सकेको छैन ।

तर, ती पालिकाका कति घरधुरीमा बिजुली नपुगेको भन्नेबारे न त पालिकाले तथ्यांक राखेका छन् न प्रदेश सरकारले नै । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य भन्छन्, ‘कुनै ठाउँमा साँच्चै बिजुली पुगेको छैन । तर, कुनै ठाउँमा सिजनल (अस्थायी) रुपमा घर बनाएर बस्ने भएकाले पनि वास्तविक तथ्यांक लिन गाह्रो भएको हो ।’

प्रदेश सरकारले ५ वर्षभित्र प्रदेश भरका करिब ७० हजार काठका पोल विस्थापन गर्ने लक्ष्य राखेको थियो । तर, चार वर्ष बितिसक्दासमेत अहिलेसम्म ३० हजारमात्रै सम्बन्धित स्थानीय तहलाई वितरण गरेको मन्त्रालयको तथ्यांक छ । चालु आर्थिक वर्षमा १ हजार ५०० थान स्टिल ट्युबलर पोल खरिद गर्ने गरी ठेक्का आह्वान गरेको भए पनि आवेदन नपरेको मन्त्रालयले जनाएको छ ।

यसै आर्थिक वर्षमा उज्यालो गण्डकी प्रदेश घोषणा हुने दाबी

गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले बिहीबार आफ्नो मन्त्रालयको दोस्रो चौमासिक प्रगति विवरण सार्वजनिक गरे । प्रगति विवरण सार्वजनिक कार्यक्रमले उनले चालु आर्थिक वर्षभित्र नै ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रतिवद्धता जनाए ।

‘सके सबै ठाउँमा माइक्रो हाइड्रोबाट, नसके कम्तिमा जसरी हुन्छ लाल्टिन र टुकी बाल्ने अवस्थाबाट हामी प्रदेशवासीलाई मुक्त गर्छौं,’ मन्त्री आचार्यले भने, ‘प्रदेशका सम्पूर्ण घरधुरीमा कुनै न कुनै किसिमको विद्युत सुविधा पहुँच पु¥याएर भए पनि यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्छु ।’

मन्त्री आचार्यले सार्वजनिक गरेको प्रगति विवरणअनुसार गण्डकीमा हालसम्म ९९ प्रतिशत घरधुरीमा विद्युत पहुँच पुगिसकेको छ । जसमध्ये ६ प्रतिशत नवीकरण ऊर्जा र ९२ प्रतिशत राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत जोडिएका हुन् ।
मन्त्री आचार्यका अनुसार मन्त्रालयले राष्ट्रिय प्रसारण लाइनसँग तत्काल जोडिने सम्भावना नभएका स्थानीय तहमा प्रदेशले ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिरहेको छ । ‘अहिलेसम्म प्रदेशभरका विभिन्न जिल्लाका ७ स्थानीय तहका १ हजार २०५ घरधुरीले यो सुविधा लिइसकेका छन्,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?