+
+

बाँकेका माओवादी नेता भन्छन् : गठबन्धन गर्दा कहीं न कहीं सम्झौता गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:१४

२३ चैत, नेपालगञ्ज । स्थानीय तहको चुनाव नजिकिएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा चुनावी तालमेलका लागि सत्तारुढ दलहरु छलफलमा जुटेका छन् । तर सहमतिमा पुगेका छैनन् ।

जिल्लाका नेताहरु केन्द्रको मुख ताकिरहेका छन् । माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्मर बिक पनि तालमेलबारे सहमतिको नजिक पुगेको, तर टुंगो नलागेको बताउँछन् । यद्यपि कम्प्रमाइज गरेर तालमेल गर्न माओवादी तयार छ ।

भन्छन्, ‘यदि कुनै दलले एक्लै लड्छु भन्यो भने ठीकै छ । हामी चार दलले गठबन्धन गर्छौं । अर्कोले पनि एक्लै लड्छु भन्यो भने तीन दलले गठबन्धन गर्छौं । तर मलाई पुर्ण विश्वास छ कि बाँकेमा पाँच वटै दलबीच गठबन्धन हुनेछ ।’

स्थानीय तह निर्वाचनको तयारी, गठबन्धनका लागि भइरहेको प्रयासबारे माओवादी केन्द्र, बाँके जिल्ला संयोजक विकसँग गरिएको कुराकानीको सम्पादित अंश :

चुनावी तालमेलको प्रयास चलिरहेको छ, कसरी टुंग्याउँदै हुनुहुन्छ ?

पाँच दलबीच गठबन्धन गरेर जानेमा सहमति नजिक नजिक छौं । दलहरुबीच आन्तरिक होमवर्क गरेर तल वडाहरु टुंग्याउने, स्थानीय तहहरु टुंग्याउने, उम्मेदवारहरुको सन्दर्भमा निरन्तर छलफल भएको छ ।

औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दलीय रुपमा चाहिँ हामीले चुनावी योजनाहरु बनाउने, स्थानीय तहमा के गर्ने भनेर प्रतिवद्धतापत्र लेख्न सुझाव संकलन गर्ने काम भइरहेको छ ।

घोषणापत्रमा केकेलाई प्राथमिकता दिने तयारी छ ?

नेपालगञ्ज र कोहलपुर शहरमा परिणत भएको छ । शहरमा शहरकै समस्या छन् । गाउँ इलाकाहरुमा गाउँकै समस्या छन् । प्रत्येक स्थानीय तहका आ–आफ्नै खालका विशेषता भएका कारणले अलग–अलग रुपमा घोषणापत्रमा समेटिने छन् ।

चुनावी गठबन्धन चाहिँ कसरी हुन्छ ?

पाँच दलबीच लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय भइसकेको छ । बाँके जिल्ला र नेपालगञ्ज उपमहानगरपालिकामा पनि गठबन्धन गरेर जाने भनेका छौं ।

किनकी यो गठबन्धन कुनै व्यक्तिका लागि होइन । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान जोगाउनुपर्छ र प्रतिगामी तत्वलाई तह लगाउनुपर्छ भनेर बनेको हो र, यसलाई तलसम्मै स्थापित गर्न चाहन्छौं ।

यदि कुनै दलले एक्लै लड्छु भन्यो भने ठीकै छ । हामी चार दलले गठबन्धन गर्छौं । अर्कोले पनि एक्लै लड्छु भन्यो भने तीन दलले गठबन्धन गर्छौं । तर मलाई पूर्ण विश्वास छ कि बाँकेमा पाँच वटै दलबीच गठबन्धन हुनेछ ।

गठबन्धनका लागि तपाईंहरुको प्रस्ताव के छ ?

व्यक्तिगत स्वार्थलाई मात्र हेरेर गठबन्धनलाई बुझ्यौं भने त्यो गठबन्धन हुँदैन । यो गठबन्धनलाई राजनीतिक मिसन, नेपालको शासन व्यवस्थाको पक्षका रुपमा हेर्ने हो भने कहिँ न कहिँ कम्प्रमाइज (सम्झौता) गर्नुपर्छ । हामीले एक अर्काको पुरकको रुपमा उभिनुपर्छ । त्यसले गठबन्धन तयार गर्छ । त्यसका लागि हामी तयार छौं ।

अघिल्लो चुनावमा पाएको मत वा अरु केही फर्मुला त चाहिएला नि भागवण्डाका लागि ?

२०७४ को निर्वाचन परिणाम पनि एउटा आँकलन हो । तर, पाँच बर्षसम्म त्यही बसिरहन्छ भन्ने होइन । समाजको मनोविज्ञान पाँच बर्षमा काहीँ न काहीँ रुपान्तरण हुन्छ । त्यसैले आजको बदलिएको परिस्थितिका आधारमा उम्मेदवार टुंग्याउँछौं ।

तपाईंहरुकै पार्टीको कुरा गर्दा चाहिँ २०७४ को चुनावमा संविधान कार्यान्वयन, स्थानीय सरकारलाई संस्थागत गर्ने जस्ता एजेण्डा थियो । यो पटक के छ ?

हिजो एकात्मक सामन्ती राज्य थियो, जहाँ गरिब, दुःखी, उत्पीडित समुदायको राज्यमा पहुँच थिएन । अहिले संघीयता आएको छ, यो ठूलो परिवर्तन हो । संवैधानिक अधिकार प्राप्त स्थानीय तहहरु बने । प्रत्यक्ष जनताबाट निर्वाचित स्थानीय तहले आफैं ऐन कानुन बनाएर जे जस्ता काम गरे, त्यसले संघीयता सही थियो भन्ने जनताले अनुभूति गर्ने वातावरण बन्यो । ५ वर्षको अनुभवले संघीयता पक्षपाती, भिजन, दृष्टिकोण भएको उम्मेदवारलाई जिताउने हो भने राम्रोसँग गर्न सकिने रहेछ भन्ने भएको छ ।

 

सिंहदरबार होइन, सिंह मात्र गाउँगाउँ ल्याउनुभयो, भ्रष्टाचार ल्याउनुभयो भन्ने पनि छ नि ?

 

संघीयता कार्यान्वयनको पहिलो पाँच बर्षमा केही नकारात्मक कुरा हुनु स्वभाविक छ । कतिपय ठाउँमा जनप्रतिनिधि पदलाई कमाउने भाँडोको रुपमा मात्र प्रयोग गरेको जनगुनासो नआएको होइन । त्यस्तालाई त जनताले दण्डित गर्छन् । तर, सही मानेमा संघीयता लागू गरेका, गलत कामबाट बचेका स्थानीय तहहरु पनि छन् । त्यसैले नकारात्मकबाट सिक्दै सकारात्मक कुराहरुलाई अगाडि बढाउँदै संघीयतालाई सही ढंगबाट जनसेवामा उपोयग गर्नुपर्छ ।

 

तस्वीर: चन्द्रबहादुर आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?