+
+
विप्लव नेकपामा २०७४ कै पुनरावृत्ति :

प्रकाण्डलाई आयोगको जवाफ : चुनावी रेल छुटिसक्यो !

२०७४ को स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा विप्लवले आफू पनि सहभागी हुने भन्दै एक महिना चुनाव रोकिदिन प्रस्ताव गरेका थिए । यो पटक प्रकाण्डले सरकार र निर्वाचन आयोगलाई गुहारेका छन्, तर चुनाव सार्न असम्भव जस्तै छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७८ चैत २४ गते २३:१३
बायाँबाट क्रमशः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लव, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र नेकपाका प्रवक्ता प्रकाण्ड ।

२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावमा जाने वातावरण बनाइदिन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

सत्तारुढ पाँच दलको बैठकमा बुधबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विप्लवको पार्टीले चुनावमा भाग लिन दल दर्ता र मतदाता नामावली संकलन खुला गर्नुपर्ने शर्त राखेको सुनाएका थिए । त्यसको भोलिपल्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफैं निर्वाचन आयोग पुगेका छन् ।

उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायतलाई भेटेर स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका छन् । तर दल दर्ता र मतदाता नामावली पुनः संकलन गरेर ३० वैशाख २०७९ को चुनाव गर्न नसकिने जवाफ आयोगका पदाधिकारीहरुले प्रकाण्डलाई दिएका छन् ।

हालसालै कपिलवस्तुमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले चुनावमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । पार्टीभित्र महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड चुनावमा जानुपर्ने पक्षमा थिए । केन्द्रीय कमिटी बैठकमा पनि विप्लवले चुनावमा जाने गरी राजनीतिक प्रतिवेदन नै पेश गरेका थिए ।

तर पार्टीमा ६९ सदस्यीय केन्द्रीय कमिटीका ४४ जना विप्लवको विपक्षमा उभिँदा मध्यमार्गी निर्णय भएको थियो । ‘निर्वाचन बहिस्कार गर्ने पार्टी पनि नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टाचार विरोधी उम्मेदवारलाई समर्थन गरिनेछ’ निर्णयमा भनिएको थियो ।

नेताहरुका अनुसार निर्णयमा पार्टीबाट बाहिर चिनिएका नेता, कार्यकर्ता चुनावमा उम्मेदवार नबन्ने भनिएको थियो । तर शुक्रबार प्रवक्ता प्रकाण्ड निर्वाचनमा सहभागी हुने प्रस्ताव लिएर आयोग पुगे । उनी भन्छन्, ‘चुनावमा जाने निर्णय भएकाले छलफल गर्न आयोग पुगेको थिएँ ।’

प्रकाण्ड निकट एक केन्द्रीय सदस्यका अनुसार संसदीय व्यवस्थामाथि प्रश्न उठाउँदै आएका दलहरुबीच मोर्चा बनाएर चुनावमा जानेबारे प्रकाण्डले छलफल गरेका छन् । ‘मोर्चालाई दर्ता गराएर चुनावमा सहभागी हुने भन्ने नीति लिइएको हो, यही विषयमा प्रवक्ताले आयोगमा छलफल गर्नु भएको छ’ उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, यो प्रारम्भिक चरणकै छलफल हो, निर्णय भइसकेको छैन ।’

नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला भने यसबारे पार्टीमा छलफल नभएको बताउँछन् ।

अहिले मतपत्र छपाइ भइरहेको छ भने ११-१२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तो अवस्थामा प्रकाण्डले राखेको माग सम्बोधन गर्नु भनेको तत्काललाई निर्वाचन स्थगित गर्नु भन्ने भएको आयोगका एक आयुक्त बताउँछन्

चुनावमा सहभागी हुन दुई सर्त

प्रकाण्डले पछिल्लो समय आफ्नो पार्टीसहित नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी लगायतबीच मोर्चा बनाएर निर्वाचनमा सहभागी हुनेबारे छलफल चलाइरहेका छन् ।

तत्काललाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीसँग मिलेर मोर्चा दर्ता गर्ने योजना छ । त्यसबारे बुझ्न आयोग पुगेका उनले दल दर्ताको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

साथै आफ्ना नेता, कार्यकर्ताहरुको नाम मतदाता नामावलीमा छुटेकाले पुनः संकलन गर्नुपर्नेमा जोड दिएका छन् । ‘चुनावमा जाने–नजाने निर्णय भइनसकेकाले नेता कार्यकर्ताको नाम समावेश गर्न छुटेको भन्ने उहाँहरुको भनाइ रह्यो’ भेटमा सहभागी एक अधिकारी भन्छन् ।

आयोगका पदाधिकारीले चाहिँ निर्वाचनको तयारी धेरै अगाडि बढिसकेको जवाफ प्रकाण्डलाई दिएका छन् । ‘निर्वाचन घोषणा भएपछि मतदाता नामावली संकलन गर्न दिने व्यवस्था नै छैन’ आयोगका एक आयुक्त भन्छन्, ‘अब फेरि मतदाता नामावली संकलन गर्ने हो भने निर्वाचन तालिका अर्को बनाउनुपर्ने हुन्छ । यो भनेको ३० वैशाखको निर्वाचन सार्नु हो, जुन असम्भव जस्तै छ ।’

मतदाता नामावली संकलन २५ माघबाटै स्थगित भएको छ भने दल दर्ताका लागि गत १५ फागुनसम्मको समय दिएको थियो । अहिले मतपत्र छपाइ भइरहेको छ भने ११-१२ वैशाखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यस्तो अवस्थामा प्रकाण्डले राखेको माग सम्बोधन गर्नु भनेको तत्काललाई निर्वाचन स्थगित गर्नु भन्ने भएको आयोगका एक आयुक्त बताउँछन् । ‘निर्वाचनको कार्यतालिका अघि बढिरहेको अवस्थामा यो प्रस्ताव व्यवहारिक पनि छैन’ उनले अघि भने, ‘एउटा एक्सप्रेस रेल स्टेशनबाट छुटेपछि अर्को स्टेसनमा मात्रै रोकिन्छ, बीचमा यात्रु चढाउन वा झार्न मिल्दैन । यो पनि त्यस्तै हो ।’

एक्लै गएर केही हुँदैन, राजनीतिक शक्ति निर्माण गरौं भन्ने प्रस्ताव तीन महिना अघि नै राखेको थिएँ, उहाँहरुले त्यतिवेला वास्ता गर्नुभएन, अहिले कुबेलामा तात्नु भएको छ, यसको कुनै अर्थ छैन – ऋषि कट्टेल, नेपाल कम्युनिष्ट पार्टी

प्रकाण्डले चाहिँ आफूहरु चुनावमा जाँदा आयोग र सरकारले पनि सहयोग गर्ने बताइरहेका छन् । चुनावमा जाने निर्णय भए सरकारले निर्वाचन सारेर भएर पनि समर्थन गर्ने भन्दै उनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई भेट्न मंगलबार उनको निवासमा पुगेका थिए ।

‘मैले निर्वाचनको मुखमा आएर चुनावमा जाने भन्ने कुरा नै गलत हो, यसपटक ढिला भइसक्यो भनेको थिएँ,’ कट्टेलले अनलाइनखबरसँग भने, ‘उहाँले चुनावमा जाँदा सहयोग गर्छन् भन्ने आशय राखेपछि मैले एमसीसीविरुद्धमा बनेको मोर्चाको बैठक बोलाऊँ, सबै सहभागी हुने भए म पनि तयार छु भनेको थिएँ ।’

तर बुढाथोकी र आफ्नो पार्टी मात्रै विप्लव नेतृत्वको पार्टीसँग मोर्चा बनाएर जाने कुरा व्यवहारिक नभएको उनले बताए ।

चुनावमा जान आन्तरिक ध्रुवीकरण बाधक

प्रकाण्डको निर्वाचन आयोग पुगेका बेला पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चाहिँ राजधानी बाहिर थिए ।

चुनावको विपक्षमा देखिएका पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पनि प्रकाण्ड निर्वाचन आयोगमा जान लागेको थाहा थिएन । ‘उहाँ किन आयोग जानु भएको हो थाहा भएन, हामीसँग यस विषयमा कुनै छलफल भएको थिएन’ बाँस्तोलाले अनलाइनखबरसँग भने, ‘निर्वाचनबारे पार्टीको धारणा केन्द्रीय कमिटी बैठकले जे निर्णय गरेको थियो, त्यही हो ।’

प्रकाण्ड निकट नेताहरुको भनाइमा चाहिँ छुट्टै मोर्चा बनाएर जानेबारे तयारी गरिएकाले पार्टीमा यसबारे छलफल गर्नु आवश्यक थिएन । यद्यपि प्रवक्ता प्रकाण्डले महासचिव विप्लवसँग समेत परामर्श गरेरै मोर्चा बनाउने प्रयास थालेको ती नेता बताउँछन् । बाँस्तोला चाहिँ पार्टीमा त्यसबारे कुरा गर्ने बताउँछन् ।

विप्लव नेकपाको कपिलवस्तुमा भएको केन्द्रीय कमिटी बैठक । फाइल फोटो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेल चाहिँ प्रकाण्डले आफ्नो पार्टीमा चुनाव सम्बन्धि दृष्टिकोणले विवाद आएपछि मोर्चाबन्दीको प्रयास गरेको बताउँछन् । ‘अप्ठ्यारो परिस्थितिमा एक्लै चुनावमा जाने सम्भवना रहेन,’ उनी भन्छन्, ‘त्यसैले विकल्प स्वरुप उहाँहरुले मोर्चा बनाउने प्रस्ताव गर्नु भएको हो ।’

तर त्यो पनि सहज नभएको उनी बताउँछन् । आफूले तीन महिनाअघि नै ६ दलको बैठकमा चुनावलाई प्रयोग गर्ने कार्यनीति तय गर्न प्रस्ताव गरेको उनी सम्झन्छन् ।

‘मैले चुनाव भनेको कार्यनीतिको प्रश्न हो, त्यसलाई प्रयोग गर्न पनि सकिन्छ, हस्तक्षेप गर्न पनि सकिन्छ भनेको थिएँ’ कट्टेल भन्छन्, ‘एक्लै गएर केही हुँदैन, राजनीतिक शक्ति निर्माण गरौं भन्ने प्रस्ताव राखेको थिएँ, उहाँहरुले त्यतिवेला वास्ता गर्नुभएन, अहिले कुबेलामा उहाँहरु तात्नु भएको छ, जसको कुनै अर्थ छैन ।’

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि विप्लवले चुनावको मुखमा पुगेर तत्कालीन केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’लाई बालुवाटार पठाएर एक महिना चुनाव रोकिदिन प्रस्ताव गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसवेला ‘एक महिना चुनाव रोकिदिनुप¥यो, निर्वाचनमा सहभागी हुन तयार छौं’ भनेको कार्की सम्झन्छन् । तर देउवाले अदालतलाई देखाएर चुनाव सार्न नसकिने भनेको उनले सुनाए ।

२०६४ सालको निर्वाचनमा मधेशवादी दललाई चुनावमा सहभागी गराउन अन्तिम समयमा उम्मेदवारी मनोनयको समय लगायतको निर्णय गरिएको थियो । तर पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, ‘अहिलेको अवस्था त्यो होइन, निर्वाचनको तयारी धेरै अगाडि पुगिसकेका वेला आयोग रोकिने अवस्था छैन ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?