+
+

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नाम नदेखिएपछि परीक्षार्थी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १९:४७

२५ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको चिकित्सा शिक्षा स्नातक तहको शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजामा नाम नदेखिएको भन्दै परीक्षार्थी आन्दोलित भएका छन् ।

निष्पक्ष नतिजा निकाल्नुपर्ने, आयोगको लापरबाहीको शिकार विद्यार्थी हुन नहुने भन्दै शुक्रबार माइतीघरमा उनीहरुले प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले १८ चैतमा सञ्चालन गरेको स्नातक तह एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

परीक्षार्थीहरुले आयोगले सार्वजनिक गरेको नतिजामा हेर्न खोज्दा आफ्नो नाम तथा सिम्बोल नम्बर नै नदेखाएको बताए । यो वर्ष आयोगले नतिजा हेर्दा परीक्षार्थीले आफ्नो प्रोफाइलसमेत हेर्न सकिने व्यवस्था गरेको थियो ।

त्यसरी हेर्दा नतिजा नदेखाएपछि आयोगमा गएको र आयोगले प्रतिक्रिया नदिएपछि माइतीघरमा प्रदर्शन गर्नु परेको परीक्षार्थी बताउँछन् । विभिन्न शैक्षिक कार्यक्रमहरु एमबीबीएस, बीडीएस, बीएससी नर्सिङका लागि परीक्षा दिएका परीक्षार्थीहरुको नाम ननिस्किएको भन्दै आन्दोलित भएका छन् ।

परीक्षार्थीको गल्ती देखियो, अब केही हुन सक्दैन आयोग

आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले भने परीक्षार्थीले रोल नम्बर र सेट लेख्न छुटाएको कारण कम्प्युटरले रिड नगरेको र नतिजामा नदेखाएको बताए ।

उनले भने ‘गुनासो लिएर धेरै जना आएका छन् । धेरै जनाले नतिजा नदेखाएको भन्ने गुनासो आएपछि के भएछ भनेर बुझ्दा कतिपयले रोल नम्बर राखेनछन् कतिपयले सेट लेख्न छुटाएको भेटियो । कतिपयले अशुद्ध लेखेका कारण कम्प्युटरले रिड गर्न नसकेको पाइयो ।’ परीक्षार्थीले सेट लेख्न छुटाउलान भनेर प्रशिक्षकलाई तालिम, परीक्षार्थीलाई सूचना निकालेर सचेत गराएको र प्रवेश पत्रको पछाडिसमेत उल्लेख गर्दा पनि धेरै विद्यार्थीले लेख्न छुटाएको आयोगको भनाइ छ ।

अहिलेसम्म हजार जना भन्दा बढी विद्यार्थीको कमजोरीको कारण नतिजा नदेखाएको आयोगले जानकारी दिएको छ । अब आयोगले केही गर्न नसक्नेसमेत जनाएको छ । सदस्य सचिव काफ्ले भन्छन् ‘अब त्यो परीक्षार्थीहरुको कमजोरी देखियो । त्यसमा केही गर्न सकिने अवस्था छैन । धेरैले विगारेको देखेर हामीलाई पनि नमज्जा लागेको छ ।’

परीक्षामा १७ हजार ४६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६८७ उम्मेद्वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्वारको नाम निस्किएको छ ।

चिकित्सा शिक्षा आयोगले यो वर्षको एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गरेको छ । आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा २ सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम १ सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो । यो वर्ष चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहमा ८ हजार विद्यार्थीले पढ्न पाउने गरी सिट संख्या तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?