+
+
पुस्तक अंक :

माओवाद, नेपाली समाज र आन्दोलनको दिशा

डा. ऋषिराज बराल डा. ऋषिराज बराल
२०७८ चैत २६ गते १८:३३

हामी एक्काइसौँ शताब्दीको तेस्रो दशकमा प्रवेश गरेका छौँ । एक्काइसौँ शताब्दीको क्रान्तिकारी आन्दोलनको स्वरूप र दिशा कस्तो हुने भन्ने सन्दर्भमा आआफ्ना सोचाइ र बुझाइ अनुसार व्याख्या–विश्लेषण भइरहेका छन् । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू परम्परागत र नव-औपनिवेशिक दुवै प्रवृत्तिको  प्रयोग गर्दै ‘तेल युद्ध, ‘व्यापार युद्ध, ‘आतङ्कवाद विरोधी अभियान, विकास-अनुदान, प्रजातन्त्रको रक्षा  आदिइत्यादि नाममा विश्वमा आफू्नो वर्चस्व कसरी कायम गर्ने भनेर प्रतिस्पर्धा गरिरहेका छन् । खास गरेर उनीहरू ‘तेस्रो विश्व’ का जनतामाथि युद्ध थोपरिरहेका छन् । आर्थिक, सैन्य र राजनीतिक शक्तिको विस्तार र प्रभुत्वका लागि भूमण्डलीकरण परियोजना दरिलो माध्यम बनेको छ । ‘नेटो’ का गतिविधि यथावत छन् र साम्राज्यवादी शक्तिहरूले ठाडै भौगोलिक आक्रमणसमेत  गरिरहेका छन् । उनीहरूको चरित्रमा खासै फेरबदल भएको छैन । पछिल्लो समयमा अफगानिस्तान, इराक, लिबिया, सिरिया, भेनेजुएला र युक्रेनमा भइरहेका गतिविधिले साम्राज्यवादी शक्तिहरू आफू्नो स्वार्थका लागि जे पनि गर्छन् र गर्दा रहेछन् भन्ने कुरा सत्य साबित भएको छ ।

वर्गयुक्त समाजको समग्र इतिहास, त्यसमा पनि साम्राज्यवादी शक्तिको इतिहास सैन्यशक्तिका साथ बौद्धिक शक्ति पनि सँगै लिएर हिँडेको इतिहास हो । मठमन्दिर, चर्च, न्यासध्यान, पाठपूजा, पण्डित–पुरोहित,  पादरी, स्वर्गनरक, आदर्शवाद र अधिभौतिकवादको भ्रमजालको विस्तारसँगै प्रतिक्रियावादी शक्तिले श्रमशोषण गर्दैं र चेतनशक्ति र संज्ञानको सामथ्र्यमाथि अधिकार कायम गर्दै आएको हो र अहिले गरिरहेको काम पनि यही नै हो । साम्राज्यवादसित बन्दुकधारी सेना मात्र छैनन्, कलमधारी सेना पनि छन्, ‘थिङ्क ट्याङक’ का रूपमा काम गरिरहेका बुद्धिजीवीहरू छन्, लेखक-पत्रकार, प्राध्यापकहरूको जत्था छ । कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशनयताको मात्रै इतिहास हेर्ने हो भने पनि साम्राज्यवादले कम्युनिस्ट पार्टीको घोषणापत्रले अघि सारेका मान्यताका विरुद्ध कसरी एकीकृत शक्ति प्रयोग गर्यो  र गरिरहेको छ भनेर थाहा पाउन सकिन्छ ।

स्टालिनको मुत्युपछि  रूसमा मात्र नभएर सिङ्गो युरोपमा संशोधनवाद विरुद्धको सङ्घर्ष कमजोर बन्दै गयो । ‘रसियाली बीसौँ पार्टी महाधिवेशन’ पछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन दुई कित्तामा विभाजित भयो । वैचारिक पक्षका साथै भावनात्मक र भौगोलिक प्रश्नहरू पनि प्रभावी बन्न थाले । मार्क्सवाद-लेनिनवाद र समाजवादको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्यो । माओले आफ्नो समयमा बोध गरेको मूलभूत प्रश्न यही थियो  । क्रान्तिकारी निरन्तरतालाई कसरी अघि बढाउने भन्ने चिन्ता र चिन्तन माओका सामु थियो । पेरिस कम्युनदेखिको वर्गसङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व सम्बद्ध मूल्यको रक्षा र विकासको प्रश्न प्रमुख प्रश्न बनेको थियो । यो रूस र चीनबीचको मात्र मामिला नभएर मार्क्सवाद-लेनिनवादको झण्डा दरोसित समात्ने कि संशोधनवाद र साम्राज्यवादपरस्त चिन्तन र व्यवहारलाई ढलीमली गर्न दिने भन्ने प्रश्न थियो । माओको नेतृत्वमा चलाइएको महान् बहस यसै ऐतिहासिक आवश्यकताको उपज थियो  ।

महान् बहस  संशोधनवादका विरुद्ध मार्क्सवाद-लेनिनवादको रक्षाका लागि चालिएको एउटा महान् अभियान थियो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति यसैको पछिल्लो शृङ्खला हो । यी दुवैलाई एकअर्कासित सम्बद्ध र निरन्तरतामा हेर्नु आवश्यक छ । यी दुवै मार्क्सवादको रक्षा र विकाससित सम्बद्ध ऐतिहासिक शृङ्खला हुन् । यसरी हेरेपछि मात्र ‘सन् १९६० को दशकको  विश्वव्यापी उथलपुथल’ लाई बुझ्न सकिन्छ र माओका योगदानहरूको विश्वव्यापी प्रभाव र सार्वभौम महत्वलाई पनि सही अर्थमा आत्मसात गर्न सकिन्छ ।

अहिलेको आवश्यकता सबै किसिमका विभ्रमका विरुद्धको वैचारिक सङ्घर्षको हो । माओवादको पक्षमा दृढताका साथ उभिएर  वर्गसङ्घर्षलाई गति दिने कि त्यसमा अपूर्णता देख्दै र खोज्दै उपभोक्तावादी–‘उत्तर–वादी’ बाटो रोज्दै बहुलवादी वर्गसमन्वयवादको बाटोमा हिँड्ने भन्ने प्रश्न नै आजको मूलभूत प्रश्न हो

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति चिनियाँ कम्युनिस्ट पार्टीभित्र सलबलाउन थालेको दक्षिणपन्थी अवसरवादी प्रवृत्तिका विरुद्धको सङ्घर्षमा मात्र सीमित नभएर यो मार्क्सवाद-लेनिनवादको रक्षा र विकाससित जोडिएको वैचारिक अभियान भएकाले यसले विश्वव्यापी प्रभाव पार्नु स्वाभाविक थियो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले भौगोलिक रूपमा मात्र नभएर वैचारिक रूपमै माओ र उनको योगदानलाई विश्वव्यापी रूपमा स्थापित गरायो ।

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति आन्तरिक र बाह्य चुनौतीहरूको सामना गर्दै अघि बढिरहेको अवस्थामा सन् १९७६ मा माओको मृत्यु भयो । त्यसपछि चीनमा प्रतिक्रान्ति भयो र माओले स्थापित गरेका मूल्यहरूमाथि प्रहार गर्दै तेङ सियाओ-पिङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले पुँजीवादी बाटो समात्यो । यसले क्रान्तिकारी निरन्तरता अवरुद्ध पार्नुका साथै विश्व कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुर्यायो । साम्राज्यवादी शक्तिहरू विश्व समाजवादी शिविरलाई ढाल्न चौबीसै घण्टा चिन्तित हुनु स्वाभाविक थियो, तर समाजवादी शिविरभित्रका दक्षिणपन्थी अवसरवादीहरू नै विश्व समाजवादी शिविरलाई तहसनहस पार्न अगुवा बनेर देखा परे । फलस्वरूप विश्व कम्युनिस्ट आन्दोलनमा एउटा चिन्तनधारा मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिनको विरासतलाई आत्मसात गर्दै माओले अँगालेको दिशासित गाँसिएर निरन्तरतामा अघि बढ्यो भने अर्को धाराले बर्नस्टिन, काउत्स्की, ट्रट्स्की, खु्रस्चेव लिउ साओ-ची र तेङ सियाओ-पिङको विरासतलाई निरन्तरता दियो ।  देशकाल र खास समाजको खास परिस्थितिमा यसका चरित्रहरूमा केही भिन्नता देखिन सक्छ तापनि आधारभूत रूपमा आजको वैचारिक-राजनीतिक सङ्घर्ष यिनै दुई प्रवृत्तिबीचको सङ्घर्ष हो ।

चीनमा भएको प्रतिक्रान्तिले विश्वका विभिन्न कम्युनिस्ट पार्टीहरू तथा बौद्धिक क्षेत्रमा एक किसिमको अन्योलको स्थिति उत्पन्न गर्यो  ।  माओको मृत्युपछि विश्व राजनीतिमा देखिएको अन्योलको असर सबैभन्दा बढी युरोप, त्यसमा पनि फ्रान्सेली बुद्धिजीवीहरूमा देखा पर्यो । क्रान्तिको चरित्र, वर्गसङ्घर्ष र समाज परिवर्तनका विशेषताहरूलाई सही किसिमले बुझ्न नसक्ता बुद्धिजीवीहरूको एउटा जमातले निराशामा जीवन देख्दै पलायनताको बाटो रोज्यो । मिसेल फुको, रिचार्ड रोर्टी, गाइल्स डिल्युज, फेलिक्स गुतारी, ज्याक डेरिडा, जे. ल्योतार्ड र जे. बौद्रिलार्दहरूले समातेको बाटो यही थियो । यसै क्रममा देखा परेको  थियो ‘उत्तर–वादी’(post-ism)  प्रवृत्ति

 त्यसपछि ‘महाख्यानको अन्त्य’, ‘विचारको अन्त्यका साथै समग्रता र वर्गको खारेजी सम्बन्धी धारणाहरू सतहमा आए ।  यस किसिमको व्याख्याका लागि एकथरी बुद्धिजीवीहरूमा प्रतिस्पर्धा नै देखिन थाल्यो । यता  खु्रस्चेवको साम्राज्यवादपरस्त ‘शान्तिपूर्ण सङ्क्रमण’ को राजनीतिक गर्भबाट विकसित आधुनिक संशोधनवादले लेनिनको सालिक मात्रै ढालेन, बर्लिनको पर्खाल पनि ढाल्यो र नाम मात्रको भए पनि ‘सोभियत समाजवाद’ पनि ढल्यो ।  बर्लिनको पर्खाल र लेनिनको सालिक ढल्नु र ढाल्नुका पछाडिको सत्यतथ्यको विश्लेषण गर्न नसकेका पश्चिमी  संसारका एकथरी बुद्धिजीवीहरूले बर्लिनको पर्खाल ढलेको मात्र देखेनन्, संसारबाट मार्क्सवाद नै ढलेको देखे र उत्तरआधुनिकतावाद,  उत्तरसंरचनावाद र ‘उत्तर-मार्क्सवाद’  घोषणाका साथ शून्यवादी प्रवाहमा जीवन खोज्दै भौंतारिन थाले । शून्यवादी प्रवाहमा जीवन खोज्ने कार्य  बहुलवाद, वर्ग राजनीतिको निषेध, प्रविधिवाद र पहिचानवादमा प्रतिविम्बित हुन थाल्यो l

साम्यवादी आन्दोलनसित गाँसिएको एउटा संसार यस किसिमको छ भने अर्को संसार एकदमै भिन्न छ । यथार्थको अर्को पाटो सकारात्मक र उज्यालो छ ।  माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्तिले विश्व कम्युनिस्ट आन्दोलनलाई निकै ठूलो नोक्सान पुर्याए पनि स्थितिको गम्भीर विश्लेषणका साथ मार्क्सवाद–लेनिनवादप्रति प्रतिबद्ध क्रान्तिकारीहरू आधुनिक संशोधनवाद विरुद्धको वैचारिक अभियानलाई तीव्र बनाउँदै क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले सङ्गठित र पुनर्गठित गर्ने अभियानमा क्रियाशील भए । यसैक्रममा कमरेड गोन्जालोको नेतृत्वमा पुर्नगठित पेरू कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनमा माओका योगदानहरूलाई माओवादका रूपमा संश्लेषण गर्यो  र दीर्घकालीन जनयुद्ध नै पेरू तथा विश्वक्रान्तिको बाटो हो भनेर जनयुद्धको थालनी गर्यो  । कमरेड गोन्जालोको नेतृत्वमा पेरूमा आरम्भ भएको जनयुद्धले विश्वका सर्वहारामा नयाँ उत्साह  र उत्प्रेरणा  जाग्रत गरायो ।

त्यसै गरी विश्वका माओवादी क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध हुने क्रममा सन् १९८४ मा ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’ रिमको गठन भयो ।  यसै क्रममा यसले मार्क्सदेखि माओसम्मको समग्र इतिहासको विश्लेषणका साथ विश्व साम्यवादी आन्दोलनमा माओले विचार, राजनीति र व्यवहारका क्षेत्रमा पुर्याएका योगदानहरूलाई  मार्क्सवादको तेस्रो र उच्च चरण माओवादका रूपमा  संश्लेषण गर्यो   । रिमले माओवादलाई आजको विश्वक्रान्तिको पथप्रदर्शक सार्वभौम सिद्धान्तका रूपमा अघि सार्यो  । जतिबेला एकथरी बुद्धिजीवीहरू मार्क्सवादको भविष्यलाई लिएर बिलौना गरिरहेका थिए, मार्क्सवादमा अपूर्णता देख्दै पूर्णताका लागि ‘उत्तर–वाद’ को औजार लिएर ‘नयाँ आविष्कार’ का लागि भौँतारिइरहेका थिए र संसोधनवादीहरू मार्क्सवादका नाममा संसद्वादको अभ्यासमा क्रियाशील थिए,  विश्वका माओवादी क्रान्तिकारीहरू चाहिँ मार्क्सवाद-लेनिनवाद-माओवादले देखाएको बाटो समातेर वैचारिक तथा व्यावहारिक अभियानलाई तीव्र बनाउन थाले ।

माओका योगदानलाई माओवादका रूपमा संश्लेषण गरेर यसको महत्व र भूमिकालाई विस्तारित गर्नु तथा यसैको आलोकमा विश्वभरि क्रान्तिकारी सङ्गठन निर्माण गर्दै वर्गसङ्घर्षलाई गति दिनु विश्व कम्युनिस्ट आन्दोलनमा एउटा महत्वपूर्ण कदम थियो । रिमको गठन, भारतीय माओवादी क्रान्तिकारीहरूले कमरेड चारु मजुमदारको विरासतलाई दिएको क्रान्तिकारी निरन्तरता र पेरूमा कमरेड गोन्जालोको नेतृत्वमा चलेको  दीर्घकालीन जनयुद्धले नेपालको माओवादी आन्दोलनलाई नयाँ ऊर्जा र उत्साह प्रदान गर्यो  । पेरूको जनयुद्धले धक्का खाए पनि र प्रचण्ड लागायतका केही नेताहरूमा आएको   वैचारिक विचलनका  कारण नेपालको जनयुद्धले धोका खाए पनि आज भारत, फिलिपिन्स र टर्कीका माओवादी पार्टीहरूले जनयुद्ध चलाइरहेका छन् र विश्वभरि नै मार्क्सवाद-लेनिनवाद-माओवादका आधारमा क्रान्तिकारी पार्टी निर्माण गर्ने र आ-आफ्नो मुलुकको विशिष्टतामा  वर्गसङ्घर्षलाई तीव्रता दिने काम जारी छ ।

आजको विश्व परिस्थिति र क्रान्तिको चरित्रका बारेमा वैचारिक विमर्श, विश्लेषण र संश्लेषण गर्नु आवश्यक छ भन्ने कुरामा विवाद छैन, परन्तु, बलिदानीपूर्ण गरिमामय इतिहासलाई खारेज गरेर होइन, त्यसबाट  शिक्षा लिएर अघि बढ्ने उद्देश्य हुनुपर्छ । सत्य के हो भने मार्क्सवाद-लेनिनवाद-माओवादको जगमा उभिएर मात्र अगाडिको यात्रा सम्भव छ । कम्युनिस्ट आन्दोलन विगतको पीडाको सम्झनामा सीमित छैन र हुँदैन, अनि यो उडन्ते परिकल्पनामा सीमित परियोजना पनि होइन ।  यो त आवश्यकता र स्वतन्त्रतासित गाँसिएको क्रान्तिकारी विज्ञान हो । मार्क्सवाद-लेनिनवाद- माओवादलाई  क्रान्तिको विज्ञानका रूपमा स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्न नै आजको प्रमुख प्रश्न हो ।

अवश्य पनि समय फेरिएको छ, तर वर्गयुक्त समाजको आधारभूत चरित्र एउटै छ । साम्राज्यवादको मूल चरित्र भनेको सैन्य शक्तिद्वारा आफ्नो प्रभुत्वक्षेत्रको विस्तार हो । अवश्य पनि यसका प्रक्रिया फेरिएका छन्, परन्तु, साम्राज्यवादको आधारभूत चरित्र फेरिएको छैन । अहिलेको साम्राज्यवादी भूमण्डलीकरण हिजोको साम्राज्यवादभन्दा झन् खतरनाक छ । यसले परम्परागत र नव–उपनिवेशवादी शैलीमार्फत विश्वलाई आफ्नो स्वार्थमा परिचालन गर्न खोजिरहेको छ ।  र पनि आधारभूत रूपमा साम्राज्यवादको चरित्र, यसका  मूलभूत विशेषताहरू साम्राज्यवादका सम्बन्धमा लेनिनले अघि सारेका मान्यताभन्दा  फरक छैनन् ।

समय फेरिएको छ । परन्तु, क्रान्ति सम्बन्धी मार्क्सवादी-लेनिनवादी-माओवादी  सिद्धान्तहरू सार्वभौम छन् र देशकाल परिस्थितिअनुरूप तिनको प्रयोग हुने हो र लडाइँको तारतम्य र शैली पनि त्यसैअनुरूप तय हुने हो । लडाइँ किन, कसका विरुद्ध, कसले र कसरी भन्ने प्रश्न नै अहम् महत्वको विषय हो ।  मार्क्सवादले अघि सारेका अन्तर्विरोधका नियमहरू सार्वभौम र साश्वत छन्, वर्ग र  वर्गसङ्घर्ष आधारभूत पक्ष हुन् र लडाइँ वर्गीय नै हुन्छ । ‘उत्तर–मार्क्सवादीहरू’ ले भनेजस्तो वर्गभन्दा बाहिरको लडाइँ हुँदैन र ‘उत्तर–माओवादीहरू’ ले भनेजस्तो शून्यबाट पनि निर्मित हुँदैन, यो क्रान्तिकारी विरासतको निरन्तरतामा सर्पको शैलीमा नभएर भ्यागुताको शैलीमा क्रमभङ्गताका साथ अघि बढ्छ । नेपालको सन्दर्भमा पनि यही नै सत्य हो । क्रान्तिबाट भागेका र थाकेकाहरूले संसद्वादलाई नै सम्पूर्ण ठान्नु र त्यसैमा   रमाउनु अनौठो कुरा होइन।

वर्ग, पार्टी र सङ्घर्षबिनाको राजनीति हुँदैन ।  संसारमा कुनै पनि प्रतिक्रयावादी वर्गले उत्पीडित वर्गका लागि त्यसै शक्ति र सत्ता छोडेको इतिहास छैन र भविष्यमा पनि छोड्नेवाला छैन । भिन्न वर्गको कुरा होइन, एउटै वर्गबीच पनि सत्ताका लागि मारामार चल्ने गर्छ, चलेको छ, सत्ता ‘कु’ का थुप्रै रक्तपातपूर्ण घटनाहरू भएका छन् । इतिहासका ठूलाठूला परिवर्तनहरू सबै रक्तपातपूर्ण सङ्घर्षका उपज हुन् । प्रतिक्रियावादी वर्ग नै सबैभन्दा पहिले रक्तपातपूर्ण सङ्घर्षमा अघि सर्छ र उत्पीडित वर्गले प्रतिरोधमा हतियार उठाउनु अनिवार्य हुन्छ । माओले सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्नुको अर्थ पनि यही हो र सेना नभएको जनतासित आफ्नो भन्नु केही पनि हुँदैन भन्ने कुरा पनि  ऐतिहासिक व्यवहारले पुष्टि गरेको यथार्थ हो । योभन्दा बाहिरको परिकल्पना सारतः साम्राज्यवाद र उसका घरेलु दलाल शक्तिहरूका सामु आत्मसमर्पणको स्थिति मात्र हो । हतियार जति सबै फालेर क्रान्तिको कुरा गर्ने  संसदवादीहरू र वर्ग धारणाको निषेध गर्ने ‘उत्तर-मार्क्सवादीहरू’ को चिन्तन दार्शनिक तहमा अधिभौतिकवादी र आदर्शवादी छ, वैचारिक तहमा यथास्थितिवादी छ, अनि राजनीतिक तहमा साम्राज्यवादपरस्त छ ।

अहिलेको आवश्यकता सबै किसिमका विभ्रमका विरुद्धको वैचारिक सङ्घर्षको हो । माओवादको पक्षमा दृढताका साथ उभिएर  वर्गसङ्घर्षलाई गति दिने कि त्यसमा अपूर्णता देख्दै र खोज्दै उपभोक्तावादी–‘उत्तर–वादी’ बाटो रोज्दै बहुलवादी वर्गसमन्वयवादको बाटोमा हिँड्ने भन्ने प्रश्न नै आजको मूलभूत प्रश्न हो । आत्मसङ्घर्ष र वैचारिक सङ्घर्षको बाटो हिँडेर मात्र यो प्रश्नको उत्तर प्राप्त हुन्छ । मार्क्सवाद–लेनिनवाद-माओवादका आधारमा निर्मित क्रान्तिकारी पार्टी, सबल नेतृत्व र उत्पीडित वर्ग र समुदायको अगुवाइमा लडिने लडाइँले मात्र सही दिशा र गति दिन्छ । यसले मात्र सही अर्थमा एक्काइसौँ  शताब्दीको वैज्ञानिक समाजवादको दिशालाई प्रतिविम्बित र प्रतिनिधित्व गर्छ ।

आधारभूत र मूलभूत कुरा के हो भने माओवादले देखाएको बाटो चिनियाँ सन्दर्भ तथा ‘तेस्रो विश्व’ को सन्दर्भमा मात्र सीमित छैन, माओवाद आजको विश्वक्रान्तिको पथप्रदर्शक सिद्धान्त हो, यो सार्वभौम छ र विश्वव्यापी पनि छ । यसलाई आ-आफ्नो मुलुकको विशेषतामा व्यवहारमा लागू गर्ने हो  र गर्नु पर्दछ । प्रश्न यसलाई कसरी बुझ्ने र आत्मसात गर्ने भन्ने हो । माओवाद र यसप्रतिको क्रान्तिकारी व्यवहारले को साँचो क्रान्तिकारी हो र को होइन भन्ने कुराको रेखा खिचेको छ । आफूलाई मार्क्सवादी भन्नेले यो तथ्यलाई आत्मसात गर्नु जरुरी छ । अवश्य पनि ‘नयाँ’ र ‘ताजा’ हुनैपर्छ । यो ‘नयाँ’ र ‘ताजा’ भनेको निरन्तरतामा क्रमभङ्ग हो, यो भनेको झन् झरिलो र धारिलो भएर अघि बढ्ने  प्रक्रिया हो । क्रान्तिका हतियार सबै त्यागेर ‘नयाँ’ र ‘ताजा’ हुने र ‘नयाँ खोजी गर्ने’ कुरा भनेको शून्यमा भौँतारिनु मात्र हो । यो भनेको विसर्जनको बाटो हो ।

आफूलाई माओवादी भन्नेहरू विश्व सर्वहारा आन्दोलनको ऐतिहासिक गरिमाका पक्षमा दृढताका साथ उभिनु आवश्यक छ । खासखास कालखण्डमा प्रतिक्रियावादीहरू र अवसरवादीहहरूले मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका योगदानहरूको अवमूल्यन, भ्रष्टीकरण र  विम्ब विद्रूपीकरण गर्दै आएका छन् । खास गरेर साम्राज्यवादका विरुद्ध निर्ममताका साथ लडेका स्टालिन र माओको विम्ब विद्रूपीकरणमा साम्राज्यवादका मतियार बुद्धिजीवीहरूले सबैभन्दा बढी समय र श्रम खर्चेका छन् । माओको मृत्युपछि यसलाई अभियानकै रूप दिइएको छ र साम्राज्यवादी  योजनाबद्धतामा दक्षिणपन्थी अवसरवादीहरूले थप बल प्रदान गरेका छन् । माओवादी क्रान्तिकारी हुनुको अर्थ यस्ता प्रवृत्तिको निमर्म भण्डाफोर गर्नु हो र माओका समग्र योगदान, माओवादको सार्वभौम महत्व र आजको क्रान्तिमा यसको आवश्यकता र औचित्यका पक्षमा दृढताका साथ उभिनु हो । एकहिसाबले वैचारिक युद्धको मोर्चामा मोर्चाबद्ध हुनु हो । सच्चा माओवादी क्रान्तिकारीहरूले यो कार्य गर्दै आएका छन् तापनि यसलाई अझ व्यवस्थित र व्यापक रूपमा अघि बढाउनु आवश्यक छ ।

(सार्वभौम माओवाद र उत्तर-मार्क्सवादी विभ्रम पुस्तकको को अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?