+
+
वर्ष २०७८ मा नेपाली क्रिकेट :

विश्वकप पुग्ने सपना पूरा नभए पनि सम्झनलायक प्रदर्शन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत २७ गते १४:५९

२७ चैत, काठमाडौं । वर्ष २०७८ मा नेपाल विश्वकप पुग्नबाट बञ्चित भए पनि  नेपाली क्रिकेट  मैदान भित्र र मैदान बाहिर उति नै छायो ।  कोभिड-१९ को कारण केही समय क्रिकेट गतिविधि प्रभावित बन्यो । तर जति अन्तर्राष्ट्रिय प्रतियोगिता भए विश्वकप छनोटलाई छाड्ने हो भने नेपालको प्रदर्शन औसत रह्यो । खेलमा नेपाल चर्चामा रह्यो ।

नेपालले घरेलु मैदानमा खेलेका दुईटै त्रिकोणात्मक टी-२० श्रृंखला जित्यो । तर,  क्रिकेट विश्वकप लिग टूमा खेलेका दुईवटा त्रिकोणात्मक श्रृंखलामा प्रदर्शन औसत रह्यो ।

त्रिकोणात्मक टी-२० श्रृंखलाबाट सुरु भएको वर्षक त्रिकोणात्मक टी-२० श्रृंखला जित्दै बिदाई भयो । तर विश्वकप पुग्न नसकेको पीडा भने रहिरह्यो ।

पपुवान न्यूगिनी (पीएनजी) विरुद्ध दुई वटा द्विपक्षीय एकदिवसीय श्रृंखला खेलेको नेपालले एउटा श्रृंखलामा जितको क्लिन स्वीप गर्‍यो त अर्कोमा हारको ।

मैदान भित्र खेलाडीको ब्याट र बल चल्दा मैदान बाहिर पनि यस वर्ष धेरै गतिविधि भयो । नेपाली क्रिकेटका लेजेण्ड पारस खड्काको सन्यासदेखि युवा ग्लोबल स्टार सन्दीप लामिछाने कप्तान बन्दा यसले ठूलो चर्चा पायो ।

यसैगरी विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरको बहिर्गमन र पुबुदु दासानायकेको पुन: आगमन अर्को चर्चाको विषय बन्यो ।

प्रशिक्षक परिवर्तन, कप्तानसहित खेलाडी कारवाही अनी कप्तान परिवर्तन हुँदा नेपाली क्रिकेटमा ठूलै हलचल आयो । जसमा गर्दा टिममा गुट नै प्रष्ट रुपमा देखियो । यसमा मार अन्तत: नेपाली क्रिकेटलाई नै पर्‍यो । विवाद छताछुल्ल भयो ।

यसबाहेक पनि अर्को ठूलो चर्चाको विषय नेपाल टी-२० विश्वकपमा छनोट हुन नसक्नु रह्यो । युएई विरुद्ध निर्णायक खेलमा चुक्दा ८ वर्षपछि फेरि टी-२० विश्वकप पुग्ने नेपालको सपना अधुरै रह्यो । यसबाट नेपाली क्रिकेट पक्कै केही समय पछि धकेलिएको छ ।

नेपालले आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल पनि यसै वर्ष खेल्यो ।

नेपाली क्रिकेटको अविभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधारण सभा पनि गर्‍यो ।

युएईले रोक्यो नेपालको विश्वकप यात्रा

टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रो पटक टी-२० विश्वकप पुग्नबाट बन्चित रह्यो ।

यसअघि सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुर्‍याएका प्रशिक्षक पुबुदु नै यस पटक नेपालका प्रशिक्षक थिए । युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा नेपाली टिममा युवा खेलाडीको बाहुल्य थियो ।

ग्लोबल छनोट एमा नेपालले कूल ५ खेल खेल्दा एउटा मात्र खेलमा पराजय बेहोर्‍यो । युएई विरुद्ध सेमिफाइनलको त्यही एक हारले नेपालले टी-२० विश्वकप गुमायो ।

नेपालले युएई विरुद्ध यस वर्ष टी-२० र एकदिवसीयमा गरी ४ खेल्यो । चारवटैमा नेपाल पराजित भयो । टी-२० ग्लोबल छनोट र त्यसअघि चार देश सम्मिलित टी-२० श्रृंखला र युएईमै भएको लिग टूको त्रिकोणात्मक श्रृंखलाको दुवै खेलमा नेपाल युएईसँग पराजित भयो ।

पीएनजी विरुद्ध एकै वर्ष ९ खेल

नेपालले वर्ष २०७८ मा खेलका खेलहरु मध्ये पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध झण्डै एक तिहाई अर्थात ९ खेल खेल्यो । जसमा एकदिवसीय खेल ६ र टी-२० मा ३ खेल थियो ।

नेपालले यही वर्ष पीएनजीसँग दुई वटा द्विपक्षीय श्रृंखला खेल्यो । भदौमा ओमानमा भएको श्रृंखलाको दुवै खेलमा नेपाल विजयी भयो ।

तर चैतमा घरेलु मैदानमै भएको एकदिवसीय श्रृंखलामा भने नेपाल विरुद्ध पीएनजीले दुवै खेल जित्दै श्रृंखला क्लिन स्वीप गर्‍यो ।

त्यसअघि चैतमै युएईमा भएको क्रिकेट विश्वकप लिग टूको श्रृंखलामा भने नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । एकदिवसीयमा ६ खेल खेल्दा नेपालले पीएनजीलाई ४ खेलमा हरायो । २ खेलमा पीएनजी विजयी भयो ।

टी-२० तर्फ भने चैतमा नेपालमै नेपाल, पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृंखला भयो । जसमा नेपालले लिगमा दुई पटक र फाइनलमा गरी तीनवटै खेलमा पीएनजीलाई पराजित गर्‍यो ।

यस्तै नेपालले ओमानसँग पनि ५ खेल खेल्यो । जसमा नेपालले ४ खेल जित्दा ओमानले एक खेल जितेको थियो ।

भदौमा भएको लिग टूमा नेपाल र ओमानले एक एक खेल जितेको थियो ।

त्यसपछि फागुनमा ओमानमा भएको टी-२० ग्लोबल छनोटको समूह चरण र तेस्रो स्थानको लागि भएको दुवै खेलमा नेपाल विजयी भएको थियो । त्यसअघि ओमानमै भएको चार देश सम्मिलित श्रृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो ।

लिग टूमा औसत प्रदर्शन

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको आधार रहेको क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले यष वर्ष दुईटा त्रिकोणात्मक श्रृंखला खेल्यो । जसमा नेपालले प्रदर्शन औसत रह्यो । लिग टूमा नेपालले कूल ८ खेल खेल्दा ४ खेल जित्यो भने ४ खेलमा पराजित भयो ।

भदौमा ओमानमा भएको अमेरिकासमेत सम्मिलित लिग टू श्रृंखलामा नेपालले ओमान र अमेरिकालाई एक-एक खेलमा हरायो भने दुवै टिमसँग एक-एक खेलमा पराजित भयो ।

यस्तै चैतमा युएईमा सम्पन्न नेपाल, युएई र पीएनजी सम्मिलिति श्रृंखलामा नेपाल युएई विरुद्ध दुवै खेलमा पराजित हुँदा पीएनजीलाई दुवै खेलमा हरायो ।

७ टिम सहभागी लिग टूमा नेपालले १२ खेल खेल्दा ६ जित र ६ हारबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । लिग टूमा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो । कूल ९ वटा श्रृंखला खेल्न पाउने लिग टूमा नेपालले २०२० मा नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखला खेलेको थियो ।

 

नेपालले अझै ६ श्रृंखला (२४ खेल) खेल खेल्न बाँकी छ । कोभिड १९ को असरका कारण यही वर्ष तय भएको नेपाल, अमेरिका र ओमानबीचको श्रृंखला भने हुन सकेन ।

नेपाली टिमका सदस्य दीपेन्द्र सिंह ऐरीले पनि लिग टूमा नेपालको प्रदर्शन अहिलेसम्म औसत नै रहेको  माने । ‘हाम्रो अहिलेसम्मको प्रदर्शन हेर्दा धेरै राम्रो पनि छैन । नराम्रो पनि छैन । हामीले अब बाँकी २४ मध्ये १६ खेल जित्यौँ भने हामी माथि हुन्छौँ ।’ लिग टू को शीर्ष तीन स्थानमा रहने टोली एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

१२ खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु

वर्ष २०७८ मा १२ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । जसमा चार खेलाडीले ओडीआई र टी-२०आई दुवै फर्मयाटमा डेब्यु गरे भने ५ खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा मात्र डेब्यु गरे । यस्तै तीन खेलाडी ओडीआईमा मात्र डेब्यु गरे ।

कुशल भुर्तेल र आसिफ शेख नेपालले यसवर्ष पाएको सबैभन्दा ठूलो प्रतिभा हो । वैशाखमा त्रिकोणात्मक टी-२० श्रृंखलामा डेब्यु गरेका यी दुईले भदौमा लिग टूमार्फत ओडीआईमा पनि डेब्यु गरे । कुशल र आसिफको रुपमा नेपालले दुवै फर्मयाटमा ओपनिङ जोडी पनि पायो ।

यसअघि नेपालले ओपनिङमा खेलाडीहरु परिवर्तन गरिरहेको अवस्थामा यो वर्ष भने यी दुईले अपवाद बाहेक सबै खेलमा ओपनिङ गरे ।

कुशल र आसिफसँगै स्पीनर सागर ढकाल र तिव्र गतिका बरल गुलशन झा ले दुवै फर्मयाटमा डेब्यु गरे ।

यसबाहेक शाहब आलम, विवेक यादव, लोकेश बम, दीलिप नाथ र आदिल अन्सारीले टी-२० आईमा डेब्यु गरे । विकेटकिपर दीलिप सन् २०१७ मै नेपालका लागि लिस्ट ए खेले पनि राष्ट्रिय टिममा पुनरागमन गर्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।

यस्तै राष्ट्रिय टिममा पुनरागमन गरेका विक्रम सोब र भीम सार्कीले यस वर्ष ओडीआईमा डेब्युको अवसर पाए । विक्रम सोबले भदौमा ओमानमा पीएनजी विरुद्ध डेब्यु गर्दै पहिलो बलमै विकेट लिए ।

कुशल भुर्तेल ।

यस्तै यू १९ टिमका कप्तान देव खनालले पनि चैतमा पीएनजी विरुद्ध घरेलु मैदानमा डेब्यु गरे ।

यसबाहेक अघिल्लो वर्ष नै ओडीआईमा डेब्यु गरिसकेका तिव्र गतिका बलर कमल सिंह ऐरीले पनि २०७८ मा टी-२० आईमा डेब्यु गरे ।

 २०७८ सालमा डेब्यु गरेका खेलाडी

ओडीआई डेब्यु : कुशल भुर्तेल, आसिफ शेख, विक्रम सोब, गुलशन झा, सागर ढकाल, भीम सार्की, देव खनाल

टी-२०आई डेब्यु : कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम, कमल सिंह ऐरी, सागर ढकाल, विवेक यादव, लोकेश बम, गुलशन झा, दिलिप नाथ, आदिल अन्सारी

टी-२०आईमा ६ पटक २०० भन्दा माथिको स्कोर

नेपालले यस वर्ष १८ वटा टी-२० आई खेल्यो । यो एकै खेल नेपालले खेलेको दोस्रो सर्वाधिक खेल हो । यसअघि २०७६ सालमा नेपालले १९ टी-२०आई खेल खेलेको थियो ।

तर २०१९ मा नेपालले खेलेको १८ टी-२० खेलमा भने धेरै उपलब्धी हात पार्‍यो । नेपाल १४ खेलमा विजयी हुँदा जम्मा चार खेलमा मात्र पराजित भयो । नेपालले दुई त्रिकोणात्मक श्रृंखला खेल्दा १० मा ९ खेल जितेको थियो । यस्तै विश्वकप छनोटमा ४ र चार देश सम्मिलित श्रृखलामा १ खेल जित्यो ।

नेदरल्याण्ड्स, युएई, आयरल्याण्डसँग नेपाल पराजित भयो । युएईसँग भने दुवै टी-२० मा पराजित भयो । युएईसँगको टी-२० विश्वकप छनोटको हार भने नेपालको लागि महँगो सावित भयो । बाँकी तीन हार भने त्रिकोणात्मक र चारदेशीय श्रृंखलामा थियो ।

महत्वपूर्ण खेलमा युएईसँग पराजित खेललाई छाड्ने हो भने यस वर्ष नेपालले धेरै उपलब्धी हात पारेको छ ।

नेपालले नेदरल्याण्ड्स जस्तो टिमलाई २ पटक पराजित गर्दा ओमान र पीएनजीलाई समान ३ पटक अनिप मलेसियालाई चार पटक हरायो ।

यस्तै नेपालले एकै वर्ष ६ पटक २०० भन्दा माथिको स्कोर बनायो । नेपालले अहिलेसम्म टी-२० मा ७ पटक दुई सय भन्दा माथिको रन बनाउदा ६ पटक यसै वर्ष बन्यो ।

वैशाखमा भएको नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले कीर्तिपुरस्थित त्रिवि मैदान २३८ रन बनाएको थियो जुन नेपालको अहिलेसम्मको ठूलो स्कोर हो । योसहित ५ ठुला स्कोर त्रिवि मैदानमै बन्यो ।

त्यसअघि नेपालले २०७६ मा १३औं सागमा भुटान विरुद्ध २३६ रन बनाएको थियो । यस्तै चैतमा भएको त्रिकोणात्मक श्रृंखलामा नेपालले मलेसिया विरुद्ध २२३ रन बनायो । त्यसअघि फागुमा ओमानमा भएको टी-२० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध २१८ रन बनाएको थियो ।

त्रिवि मैदानमै वैशाखमा नेपालले मलेसिया विरुद्ध २१७ र नेदरल्याण्ड्स विरुद्ध २०६ रन बनाएको थियो । यस्तै चैतमा भएको श्रृखलामा पीएनजी विरुद्ध २०३ रन बनाएको थियो ।

व्यक्तिगततर्फ पनि नेपाली खेलाडीले उपलब्धी हात पारे । यस वर्ष चार शतक बन्यो । कुशल भुर्तेलले टी-२० मा फिलिपिन्स विरुद्ध ग्लोबल छनोटमा शतक प्रहार गरे । कुशलले टी-२० अन्तर्राष्ट्रिय डेब्युदेखि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै रोहित पौडेलले चैतमा पीएनजी विरुद्ध एकदिवसीय खेलमा शतक प्रहार गरे । रोहितले बनाएको १२६ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो ।

पीएनजी विरुद्धको दोस्रो एकदिवसीयमा दीपेन्द्र सिंह ऐरीले पनि शतक प्रहार गरे । यस्तै चैतमा भएको त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसिया विरुद्ध अविजित ११० रन प्रहार गर्दै दीपेन्द्र पारस पछि दुवै फर्म्याटमा शतक प्रहार गर्ने खेलाडी बने ।

दीपेन्द्रले बनाएको ११० रन टी-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । दीपेन्द्र शतक प्रहार गर्ने ओडीआईमा तेस्रो र टी-२०आईमा चौथो खेलाडी हुन् । दीपेन्द्र टी-२० मा नेपालका लागि एक हजार रन पूरा गर्नेसमेत पहिलो खेलाडी बने ।

पारसको सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यसै वर्ष साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।

पारसको कप्तानीमा नेपालले डिभिजन फाइभदेखि माथि उक्लँदै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । पारसले राष्ट्रिय टिमको कप्तानबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।

नेपाली क्रिकेट अहिलेसम्म पाएका उत्कृष्ट खेलाडी पारसले खेलाडी जीवनपछि टिमसँग मिलेर क्रिकेट एक्सलेन्स सेन्ट (सीईसी) नाम एकेडेमी सञ्चालन गरिरहेका छन् ।

कप्तान र उपकप्तानमाथि कारवाही, सन्दीप नयाँ कप्तान

मंसिरमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै पदबाट मुक्त गर्ने निर्णयले पनि यस वर्ष ठूलो चर्चा पायो ।

क्यानले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई अनुशासन विपरीत सञ्चारमाध्यममा गएर बोलेको भन्दै पदबाट हटाउनुका साथै २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णयसमेत गरेको थियो ।

पछि राष्ट्रिय टिमकै प्रशिक्षण प्रभावित हुने भएपछि क्यानले खेलाडीसँग छलफल गर्दै केन्द्रीय सम्झौतामा नराख्ने निर्णय भने फिर्ता लिएको थियो ।

वाटमोरको राजीनामा र पुबुदुको आगमन

नेपाललाई खुलेर ब्याटिङ गर्न सिकाएका विश्वकप विजेता प्रशिक्षक डेभ वाट्मोरले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग टु सकिएपछि राजीनामा दिए ।

नेपाल, ओमान र अमेरिका सम्मिलित लिग टू ओममानमा सकिएपछि वाटमवर नेपाल नआई उतैबाट बिदा भए । इमेलमार्फत क्यानलाई बुझाएको राजीनामा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका थिए ।

श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे ।

डेभ वाटमोर ।

तर नेपालमा सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन पनि भद्रगोल रह्यो ।

श्रम सम्झौताकै कारण उनले सुरुको तीन महिना समयमा तलब पाउन सकेनन् । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु पनि वाटमोरका अनपेक्षित थियो ।

वाटमोरले छाडेपछि ३ महिना नेपाल प्रशिक्षक बिहीन भयो । त्यसपछि मंसिरमा नेपाललाई पहिलो पटक टी-२० विश्वकप खेलाएका पुबुदु दसानायके दोस्रो पटक नेपालको प्रशिक्षक बने ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको थियो । पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो ।

क्यानले सर्टलिस्टमा क्यानडाका पुबुदसँगै भारतका मोन्टी देसाईलगायतलाई राखेको थियो । तर नेपाली क्रिकेटलाई बुझेका र यसअघि काम गरिसकेकोले क्यानले पुबुदुलाई चयन गरेको थियो ।

….

वर्ष २०७८ सालमा नेपालले खेलेको अन्तर्राष्ट्रिय खेल र नतिजा

कूल खेल – ३०

जित – २०

हार – १०

एकदिवसीय अन्तर्राष्ट्रिय खेल १२

जित – ६

हार – ६

 टी-२० खेल : १८

जित – १४

हार – ४

 बैशाख : त्रिकोणात्मक टी-२० श्रृंखला

नेदरल्याण्ड्स विरुद्ध ९ विकेटले विजयी

मलेसिया विरुद्ध ९ विकेटले विजयी

नेदरल्याण्ड्स विरुद्ध ३ विकेटले पराजित

मलेसिया विरुद्ध ६९ रनले विजयी

नेदरल्याण्ड्स विरुद्ध १४२ रनले विजयी

भदौ : नेपालपीएनजी एकदिवसीय श्रृंखला

पहिलो खेलमा नेपाल २ विकेटले विजयी

दोस्रो खेलमा नेपाल १५१ रनले विजयी

भदौ : आईसीसी क्रिकेट विश्वकप लिग टू

अमेरिका विरुद्ध ५ विकेटले विजयी

ओमान विरुद्ध ५ विकेटले पराजित

अमेरिका विरुद्ध ६ विकेटले पराजित

ओमान विरुद्ध ७ विकेटले विजयी

फागुन : ओमान चारदेशिय टी-२० श्रृंखला

ओमान विरुद्ध ६ विकेटले विजयी

युएई विरुद्ध २५ रनले पराजित

आयरल्याण्ड विरौध १६ रनले पराजित

फागुन : आईसीसी टी-२० ग्लोबल क्वालिफायर ए

ओमान विरुद्ध ३९ रनले विजयी

फिलिपिन्स विरुद्ध १३६ रनले विजयी

क्यानडा विरुद्ध ८ विकेटले विजयी

युएई विरुद्ध ६८ रनले पराजित

ओमान विरुद्ध ९ विकेटले विजयी

फागुन : आईसीसी क्रिकेट विश्वकप लिग टू

पीएनजी विरुद्ध २ विकेटले विजयी

युएई विरुद्ध ४८ रनले पराजित

युएई विरुद्ध ९९ रनले पराजित

पीएनजी विरुद्ध ७ विकेटले विजयी

चैत : पीएनजी विरुश्रद्ध एकदिवसीय श्रृंखला

पहिलो खेलमा नेपाल ६ रनले पराजित

दोस्रो खेलमा नेपाल ३ विकेट पराजित

चैत : त्रिकोणात्मक टी-२० श्रृंखला

पीएनजी विरुद्ध नेपाल १५ रनले विजयी

मलेसिया विरुद्ध नेपाल ६ विकेटले विजयी

पीएनजी विरुद्ध नेपाल ३७ रनले विजयी

मलेसिया विरुद्ध नेपाल ८५ रनले विजयी

पीएनजी विरुद्ध नेपाल ५० रनले विजयी

….

वर्ष २०७८ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी :

ओडीआईमा धेरै रन बनाउने

रोहित कुमार पौडेल ५३७ रन १२ खेल (एक शतकसहित)

ज्ञानेन्द्र मल्ल २५८ रन ९ खेल

कुशल भुर्तेल २४३ रन १२ खेल

ओडीआईमा धेरै विकेट लिने

सन्दीप लामिछाने २७ विकेट ११ खेल

सोमपाल कामी १८ विकेट १२ खेल

करण केसी १४ विकेट ९ खेल

टी-२० मा धेरै रन बनाउने

दीपेन्द्र सिंह ऐरी ७०३ रन १६ खेल (एक शतकसहित)

कुशल भुर्तेल ५७३ रन १६ खेल

आसिफ शेख ४४४ रन १८ खेल

टी-२० मा धेरै विकेट लिने खेलाडी

सन्दीप लामिछाने ३९ विकेट १८ खेल

करण केसी २० विकेट १० खेल

अविनाश बोहरा २० विकेट  १६ खेल

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?