+
+

लालबाबु पण्डित : मेयरको आश गर्ने, तर नबोल्ने !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते २०:५३

२७ चैत, विराटनगर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित सिटी सफारीमा चढेर घरदैलो गरेको तस्वीर सार्वजनिक भयो ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका पण्डित ओली सरकारको मन्त्रीबाट हटेपछि प्रायः विराटनगरमै भेटिन्छन् । स्थानीय चुनाव घोषणा भएपछि एमालेले महानगरमा गरेको घरदैलोमा पनि पण्डित सहभागी भए ।

पण्डितको सहभागितालाई एमाले नेता कार्यकर्ताले नै मेयरको आकांक्षीका रुपमासमेत हेरेका छन् । शनिबार नेकपा एमाले नगर कमिटीको बैठकमा समेत पण्डितको नामबारे सोधीखोजी भएको थियो । बैठकअघि नगरका नेताले पण्डितलाई फोन गरेर मेयरको उम्मेदवारमा नाम सिफारिस गरौं कि नगरौं भनेर सोधेका थिए ।

पण्डितले ‘ढिलो भइसक्यो’ भन्ने जवाफ फर्काएका छन् । ‘उहाँले आफ्नो नाम मात्रै सिफारिस हुने अवस्था रहेको भए नाई भन्नुहुन्नथ्यो,’ एमाले नगर कमिटी स्रोत भन्छ, ‘अरु पनि दाबेदार भएका कारण उहाँले इच्छा देखाउनुभएन ।’

नगर सचिव रोहित कोइराला नाम सिफरिस गर्नुअघि सम्पर्क गर्दा पण्डितले इच्छा नदेखाएको बताउँछन् ।

प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेलाई पनि बिराटनगर महानगरको मेयरका आकांक्षीका रुपमा हेरिएको थियो । उनको नाम पनि सिफारिस भएन । दुई मन्त्रीलाई सोधेर नै नाम सिफारिस नगरिएको नगर अध्यक्ष सागर थापा बताउँछन् ।

नगर कमिटीले मेयरको उम्मेदवारका लागि नगर अध्यक्ष थापासँगै केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बावुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ । उमपेयरका लागि शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यायको नाम सिफारिस गरेको थियो ।

नगर कमिटीले सिफारिस गरेको नाम जिल्ला हुँदै प्रदेशमा पुग्छ । नेताहरुका अनुसार प्रदेश कमिटीले मेयरको उम्मेदवारका लागि पूर्वमन्त्री घिमिरे र राष्ट्रियसभाका पूर्वसदस्य खेम नेपालीको नाम थपेर केन्द्रमा सिफारिस गर्ने सम्भावना छ ।

किनकी महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार केन्द्रीय कमिटीले टुंगो लगाउने एमालेको निर्णय छ । पूर्वमन्त्री पण्डित त्यही कुरिरहेका छन् । ‘मैले कहीँ बोलेको छु र उम्मेदवार हुन्छु भनेर ? छैन नि !,’ मेयरमा नाम सिफारिस नभएको विषयमा सोधिएको प्रश्नमा पण्डितले अनलाइनखबरसँग भने, ‘अन्तिम टुंगो लगाउने केन्द्रले हो । केन्द्रले आवश्यक ठान्यो भने तलको सिफारिसमा नपरेका व्यक्तिको नाममा पनि टुङ्गो लगाउन सक्छ ।’

आफू पनि पार्टी केन्द्रमा रहेकाले बैठकमै आफ्नो मत पनि राख्ने उनले बताए । ‘केन्द्रले टुंगो लगाउने भएका कारण मैले बोलेको छैन, केन्द्रको निर्णय गर्ने ठाउँमा पनि छु, सल्लाह त होला । मेरो राय मिटिङमै राख्छु,’ पूर्वमन्त्री पण्डितले भने, ‘अहिलेलाई अब मैले छ पनि भनिँन, छैन पनि भनेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?