
इन्डोनेसियाको नुडल क्राइसिस, श्रीलंकामा बिक्री नभएको चियाको थुप्रो, र अफ्रिकाका धेरैजसो भूभागमा खाद्यान्न अभावका साथ विकासशील देशहरु युक्रेनमाथि रुसी आक्रमणको प्रभाव अनुभूति गरिरहेका छन् ।
युक्रेन युद्धले रूस विरुद्धको व्यापक प्रतिबन्ध र व्यापारमा अवरोधको प्रभावको संयुक्त प्रभाव मार्फत विश्वभर इन्धन, खाना पकाउने तेल र खानाको लागत बढाउँदैछ।
इराक र टर्की पछि रसिया श्रीलंकाको चियाको तेस्रो ठूलो बजार हो, तर बेइजिङका लागि श्रीलंकाका राजदूत पालिथा कोहोनाका अनुसार चिया निर्यात गर्न गाह्रो भएको छ । उनले भने, ‘यदि तपाईँ चिया ल्याउने व्यवस्थापन मिलाउन सफल हुनुभयो भने हामी भुक्तानी लिन सक्दैनौं किनभने रसिया अहिले स्विफ्ट प्रणालीको अंग होइन ।’
युरोपेली संघको प्रतिबन्धका कारण देशको दोस्रो ठूलो संस्था भीटीबीसहित सात रूसी बैंकहरूलाई गत महिला स्विफ्ट वैश्विक बैंकिङ प्रणालीमा प्रतिबन्ध लगाइयो । यसको उद्देश्य युद्ध अन्त्य गर्न मस्कोलाई दबाब दिनु हो ।
कोहोनाका अनुसार व्यापार अवरोधले श्रीलंकाको विदेशी सञ्चिति संकटलाई बढाइरहेको छ । आधिकारिक तथ्याङ्कका अनुसार, श्रीलंकाले गत वर्ष २८७ मिलियन किलोग्राम (६३२ मिलियन पाउण्ड) चिया निर्यात गरेको थियो, जसको मूल्य करिब १.३ बिलियन अमेरिकी डलर बराबरको छ । यसको १० प्रतिशतभन्दा धेरै चिया रुस गएको छ ।
जनवरीमा रुसले २५ लाख किलोग्राम चिया किनेको थियो । उक्त महिना रुस दोस्रो ठूलो क्रेता बनेको थियो ।
युक्रेनको सबैभन्दा ठूलो गहुँ खरिदकर्ता इन्डोनेसियाले आफ्नो इन्डोमी इन्स्ट्यान्ट चाउचाउको उत्पादन प्रभावित भएको देखेको छ, किनभने यसको मुख्य सामग्रीको आपूर्ति सुकेको छ ।
विश्वभरका शीर्ष १० सूचीमा नियमित रूपमा सूचीकृत यो ब्रान्डको हरेक वर्ष १५ अर्बभन्दा बढी प्याकेट उत्पादन हुन्छ भने लगभग १०० देशहरूमा बिक्री हुन्छ।
सन् २०२० मा घानामा भएको एक अनुसन्धानका अनुसार इन्डोमी चाउचाउहरू अफ्रिकामा अति लोकप्रिय छ । यसलाई सेलुलर क्रेडिट र ई-मनिको साथसाथै युवतीहरूलाई यौन व्यापारमा प्रलोभन दिन पनि प्रयोग गरिन्छ ।
खाद्य र कृषि संगठनका अनुसार अफ्रिकाका कम्तिमा १४ देशहरूले आफ्नो आधा वा त्योभन्दा बढी गहुँ रुस र युक्रेनबाट आयात गर्छन् जहाँ अहिले अत्यधिक खाद्य संकट छ ।
निरन्तर खडेरी र युक्रेन द्वन्द्वका कारण अवरुद्ध आपूर्ति श्रृंखला खाद्यान्नको मूल्य वृद्धिसँग जोडिएको छ । मंगलबार अन्तर्राष्ट्रिय रेडक्रसले दिएको एक चेतावनीमा पश्चिममा मौरिटानियादेखि पूर्वमा अफ्रिकाको हर्नसम्म करिब ३४ करोड ६० लाख मानिस ‘डरलाग्दो’ भोकबाट पीडित रहेको उल्लेख गरिएको छ ।
इन्टरनेशनल फेडरेशन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीजका अनुसार हर्न अफ अफ्रिका महाद्वीप सबैभन्दा बढी प्रभावित क्षेत्र हुने सम्भावना छ । इथियोपिया, केन्या र सोमालियाका १ करोड ४० लाख मानिसहरू गम्भीर रूपमा खाद्य असुरक्षाबाट प्रभावित रहेको उल्लेख गरिएको छ । महासंघका अनुसार तीव्र कुपोषण दर निकै बढेको छ, जसले ५.५ मिलियन बालबालिका प्रभावित छन् ।
दक्षिणपूर्वी अफ्रिकामा रहेको भूपरिवेष्ठित मुलुक जिम्बाब्वेले पनि युक्रेनको युद्धको प्रभाव महसुस गरेको छ । पहिले नै व्यापक गरिबीसँग संघर्ष गरिरहेको देशमा मुद्रास्फीति नियन्त्रण बाहिर गइरहेको छ ।
जिम्बाब्वेको केन्द्रीय बैंकले मङ्गलबार आफ्नो मुख्य ऋण दर ६० प्रतिशतबाट बढाएर रेकर्ड ८० प्रतिशतमा पुर्यायो जुन विश्वमा सबैभन्दा उच्च हो । यो उसको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने पछिल्लो प्रयास हो । तेल, ग्यास र मलको मूल्य बढ्दा “उत्पादन लागतमा अपरिहार्य रूपमा नकारात्मक असर परेको” र “विदेशी विनिमय बजारलाई अस्थिर” बनाएको बैंकले उल्लेख गरेको छ ।
महामारीका कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएपछि छिट्टै पुरानै लयमा फर्कने आशामा रहेका पर्यटकीय गन्तव्यले पनि दुःख महसुस गरिरहेका छन् ।
जनवरीमा श्रीलंकाका लागि रुसी र युक्रेनी आगन्तुकहरू क्रमशः शीर्ष र तेस्रो स्थानमा थिए, जुन गति अब रोकिने अपेक्षा गरिएको छ । र, थाइल्याण्डले भर्खरै खोप लगाएका आगमनहरूको लागि क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गर्यो । योसँगै यहाँ अन्तर्राष्ट्रिय छुट्टी मनाउन आउने पर्यटकको सूचिमा रुसी पर्यटकहरू शीर्ष स्थानमा थिए ।
अब रूसबाट थप आगन्तुकहरू आउन सम्भव छैन । यदि उनीहरूले देश छाड्न पाए पनि यात्राका लागि आवश्यक खर्च गर्न सक्षम नहुनसक्छन् । अवमूल्यन पछि रूबलको मूल्य कम मात्र भएको छैन, अब थाइल्याण्डका धेरै विनिमय केन्द्रहरूले यसलाई स्वीकार गर्दैनन् । मास्टरकार्ड वा भिसा जस्ता भुक्तानी गेटवेहरू पनि बन्द गरिएका छन् ।
युक्रेनको युद्धले युरोपका अन्य भागहरूबाट आउने आगन्तुकहरूलाई पनि निरुत्साहित गर्न सक्ने गम्भीर चिन्ता छँदैछन् ।
धेरै युरोपेली एयरलाइन्सहरूले रुसी र युक्रेनी एयरस्पेसबाट बच्नको लागि एशियाको उडानहरू रद्द गरेका छन् वा बन्द गरेका छन् । यसले सामान्यतया आफ्ना छोटो दूरीका एशियाली समकक्षीहरूभन्दा बढी खर्च गर्ने युरोपेली यात्रुको संख्यामा कटौती गर्नेछ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसनका कर्मचारी प्रमुख, पउल प्रुआङ्कार्न भन्छन्, ‘यदि मुद्रास्फीति कायम रह्यो र इन्धनको मूल्य बढिरह्यो भने उपभोक्ताको विश्वासलाई बेस्करी हल्लाउन सक्छ । यसले सम्भवतः एयरलाइनको टिकट मूल्य उच्च हुनसक्छ ।’
उनले भने, ‘यात्रा जस्तै विलासी गतिविधि प्रभावित हुनेछ किनभने यात्राको लागि मान्छेको बचतलाई सामानमा भएको उच्च मूल्यवृद्धिले सिध्याइदिनेछ र आपूर्ति श्रृंखलामा अवरोध र तेलको उच्च मूल्य वृद्धिले नागरिकको खल्तीलाई प्रभावित गर्नेछ ।’
उनले अगाडि थपे, ‘यदि उनीहरूले खाना र कपडा जस्ता अत्यावश्यक वस्तुहरू किन्नमा बढी पैसा खर्च गरिरहेका छन् भने उनीहरूले परिवारसँग गर्न चाहेको यात्राका लागि बचत कम हुनेछ ।’
(साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टको भावानुवाद)
प्रतिक्रिया 4