
२९, चैत काठमाडौं । स्थानीय तह निर्वाचन २०७४ ताका वैकल्पिक राजनीति प्रतिको उभार लोभलाग्दो थियो । देशका केही प्रमुख शहरहरु र खासगरी काठमाडौंमा तत्कालीन विवेकशील र साझा पार्टीका उमेद्वारले चुनाव जित्न नसके पनि उत्साहजनक मत ल्याएका थिए ।
त्यसयता विवेकशील र साझाको एकता, फुट, एकताको श्रृंखला निरन्तर चलेको छ । पछिल्लो पटक पार्टी अध्यक्ष रवीन्द्र मिश्रले मिलन पाण्डे नेतृत्वको एउटा समूहको जिम्मेवारी खोसेका छन् भने बाँकी रहेको मिश्र नेतृत्वको समूहमा पनि विवाद छ ।
निर्वाचनको मुखमा पार्टी कार्यालयमा दुई पक्षबीच झडपको वातावरण बनेको भिडियो वैकल्पिक राजनीतिकको आशा गरेका युवा पुस्ताले अमिलो मन बनाएर हेर्नुपर्यो । अझै पनि टुटफुट र विभाजनउन्मुख गोलचक्करको श्रृंखला रोकिएको छैन ।
यही निराशा र वैमनस्यताको पृष्ठभूमिमा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने निर्णय गरेका छन् । मेयरकी उम्मेदवार ३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा उम्मेद्वार थिइन् । त्यतिबेला उनले ३ हजार ३४३ मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।
गत निर्वाचनको अंकगणित
अघिल्लो स्थानीय तहको चुनावमा विवेकशील दल र साझा पार्टीको एकता भइसकेको थिएन । छुट्टाछुट्टै चुनाव लड्दा पनि विवेकशीलकी उम्मेदवार रञ्जु दर्शना (रञ्जु न्यौपाने)लाई २३ हजार ४३९ र साझा पार्टीका उम्मेदवार किशोर थापालाई १८ हजार ४९६ मत आयो ।
त्यो वैकल्पिक राजनीतिमा संगठित र स्वतन्त्र मतभन्दा बढी ठूला दलका समर्थकबाट काटिएको मत थियो ।
राप्रपाले समेत समर्थन गरेका एमालेबाट मेयरमा विजयी भएका विद्या सुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए ।
जबकि सबै वडामा गरेर एमालेको मात्रै ७३ हजार १२४ मत पुग्छ भने राप्रपालाई सबै वडाबाट खसेको कुल मत १० हजार ५३९ थियो । यसरी हेर्दा, शाक्य बाहेकलाई एमाले र राप्रपाको गठबन्धनबाट १८ हजार ७ सय मत क्रस भएको देखिन्छ ।
त्यस्तै, कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले पाएको कुल मत ६३ हजार ४२८ छ, तर मेयरमा कांग्रेसका प्रत्यासी राजुराज जोशीले केवल ४५ हजार २६९ मत पाए । अर्थात् कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले भन्दा मेयरले पाएको मत १८ हजारभन्दा कम छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रको काठमाडौंका सबै वडामा गरी कुल १४ हजार ४५४ मत आए पनि मेयरका प्रत्यासी सर्वोत्तम दास डंगोलले केवल ७ हजार ९०६ मत ल्याउन सफल भएका थिए । यसरी, यहाँ पनि वडाध्यक्षहरू र मेयरले पाएको मतान्तर ७ हजारभन्दा बढी छ ।
समग्रमा, चार दलका तीन उम्मेदवारले पाएको मत र यी पार्टी र गठबन्धन सम्वद्ध वडाध्यक्षहरूले पाएको मतान्तर ४३ हजार ४५७ हजार देखिन्छ ।
दर्शना र थापाको मत जोड्दा ४१ हजार ९३५ हजार पुग्छ । यसरी, समग्रमा मतदान प्रवृत्ति विश्लेषण गर्दा केही स्वतन्त्र बाहेकका ठूला दलहरुको मत धेरै क्रस भएको देखिन्छ ।
समीक्षालाई साख जोगोउने सुर्ता
विवेकशील साझाले पार्टीबाट सजिलै मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको छ । तर उम्मेद्वार टुंग्याउन जति सजिलो भयो, मत ल्याउन त्यति सजिलो छैन । यावत् प्रतिकूलताको चाङमा उभिएर विवेकशील साझा पार्टीका उम्मेद्वारलाई पुरानै साख जोगाउन मुस्किल देखिन्छ ।

अघिल्लो निर्वाचनमा परम्परागत दल र नेताबाट वाक्कदिक्क भएका मतदाताले विकल्पको आशा लिएर उभिएका थिए रञ्जु र थापा । नयाँ पुस्तामा लोकप्रिय रहेकी दर्शना काठमाडौं महानगरमा अघिल्लो स्थानीय तहमा युवा पुस्ताको प्रतिनिधित्व गरेकी थिइन् ।
नेपाल सरकारको सचिव पदबाट अवकाशप्राप्त कर्मचारी थापा ‘क्षमतावान’ उम्मेदवारको रूपमा मतदाताको आशा बनेर मैदानमा उत्रिएका थिए । उनीहरुले सानो तयारीमा ठूला दलका नाम चलेका नेतालाई ठूलै टक्कर दिन सफल भए ।
काठमाडौं महानगरको मेयरमा खसेको १ लाख ६६ हजार ८ सय ६२ मत मध्ये विवेकशील नेपाली दलबाट उम्मेद्वार बनेकी दर्शनाले १४ प्रतिशत अर्थात २३ हजार ४३९ र साझा पार्टीबाट उम्मेद्वार बनेका थापाले ११ प्रतिशत अर्थात १८ हजार ४९६ मत ल्याएका थिए । अहिले यी दुवै पात्रहरू राजनीतिबाट केही कदम पछाडि हटेका छन् ।

दर्शना र थापा छुट्टाछुट्टै पार्टीबाट चुनाव लड्दा जति पनि उत्साह अहिले बाँकी छैन, जबकि उनीहरु आबद्ध पार्टी अहिले एउटै पार्टी बनिसकेको छ । अघिल्लो निर्वाचनमा लोकप्रिय बनेको यो पार्टी विगत ४ वर्षको इतिहास हेर्दा टुटफुटदेखि अनेक विवादमा फस्यो । सुसंस्कृति र सुविचारित राजनीतिसहित नयाँ राजनीतिक संस्कार दिने उनीहरुको प्रतिबद्धतालाई उनीहरुकै व्यवहारले खण्डन गरिसकेको छ ।
विवेकशील साझा पार्टीको विवाद अहिले निर्वाचन आयोगसम्म पुगिसकेको छ । नेताहरु आफ्नै सबै ऊर्जा, शक्ति र क्षमता एकअर्कालाई खुइल्याउन खर्च गरिरहेका छन् । यहीबीचमा पार्टीबाट केही संस्थापक र प्रभावशाली नेताहरू बाहिरिइसकेका छन् ।
पार्टी अध्यक्ष मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ नामक प्रस्तावले परिवर्तनका एजेन्डाको विरुद्धमा मत राखेको भन्दै उनीमाथि चौतर्फी आलोचना पनि भइरहेको छ ।
यसपटक काठमाडौंको स्वतन्त्र मत तान्न कलाकार बालेन शाह र मिस नेवा सुनिता डंगोल पनि मेयरको प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरु आक्रामक प्रचारप्रसारमा व्यस्त भइरहँदा विवेकशील साझा पार्टी आन्तरिक विवादले पार्टी कार्यालयमै झडप र मिडियामा आफ्नै नेताविरुद्ध अभिव्यक्ति दिने अवस्थाको सामना गरिरहेका छन् ।
निर्वाचनमा राजनीतिक माहौलको ठूलो अर्थ हुन्छ । समग्रमा राजनीतिक माहौल प्रतिकूल रहेको अहिलेको अवस्थामा विवेकशील साझालाई काठमाडौं महानगरमा अघिल्लो चुनावमा आएको २५ प्रतिशत अर्थात् ४२ हजार मत जोगाउन नै चुनौती छ ।
उता, पार्टीकै पाण्डे समूहले मिश्र पक्षले एकलौटीरुपमा घोषणा गरेको उम्मेदवारी स्वीकारेको छैन । यसबारेमा प्रतिक्रिया दिँदै उनी भन्छिन्, ‘पार्टीमा विवादभन्दा पनि विचारमा विमति भएको हो । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आधिकारिक रूपमा मलाई उम्मेद्वार बनाएको हो ।’

आफ्नै पार्टीको एक समूहले नस्वीकारेको उम्मेदवार मतदाताले कसरी स्वीर्कालान् ? मेयरको प्रत्याशी बाँस्कोटाको अगाडि उभिएको यक्ष प्रश्न हो यो । यद्यपि नेतृ बाँस्कोटा अन्य पार्टीमा जस्तै विवेकशील साझा पार्टीमा पनि फरक मत भए पनि अन्ततः सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्छिन् ।
अहिले काठमाडौं महानगरपालिकामा स्थानीय निर्वाचन–२०७४ भन्दा २० हजार ९३३ मतदाता थपिएका छन् । यहाँ तीन लाख २४२ कुल मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । यो चुनावमा काठमाडौंमा ४२ हजार मत ल्याएर चुनाव जित्न सकिँदैन तर, साझा विवेकशीलले यति मत ल्याउन नसके पुरानै साख पनि नजोगिने देखिन्छ ।
साख जोगाउने मात्रै होइन, मत बढाउँछु : बाँस्कोटा
विवेकशील साझाबाट काठमाडौंको मेयर प्रत्याशी समीक्षा बाँस्कोटाले अघिल्लो स्थानीय तहको चुनावमा आएको मत बढाउने दाबी गर्छिन् । बाँस्कोटाले भनिन्, ‘अघिल्लो स्थानीय तहको चुनावमा हामीले चुनाव चिन्ह नै नहुँदा पनि लडेका थियौं । यो पाली हामीले चुनाव चिन्हसहित निर्वाचन जान पाएका छौं ।’
बाँस्कोटा आफ्नो उम्मेदवारी व्यक्तिगत चुनौती मात्र नभएर काठमाडौं महानगरले महिला उम्मेदवार स्वीकार्छ कि स्वीकार्दैन भन्ने चुनौती पनि रहेको तर्क गर्छिन् । ‘मैले साख जोगाउने मात्रै होइन, मत पनि बढाउँछु,’ उनी भन्छिन् ।
बाँस्कोटाले केही दिनमा आधिकारिक घोषणा पत्र सार्वजनिक गर्ने तयारी रहेको बताइन् । उनले भ्रष्टाचारको अन्त्य, सेवा प्रवाह, नेवा कला संस्कृति संरक्षण लगायत प्रमुख एजेण्डा उठाउने जानकारी दिइन् ।
पाण्डे समूहको छुट्टै उम्मेदवार !
फुटको चरणमा पुगेको विवेकशील साझा पार्टीका मिलन पाण्डे समूहले काठमाडौं महानगरमा मिश्र समूहले उठाएको उम्मेदवारलाई समर्थन नगर्ने जनाएको छ । पाण्डे समूहले पनि आन्तरिक छलफल गरेर छुट्टै उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।
उक्त समूहका एक नेताका अनुसार मिश्रले एकलौटी रूपमा दिएको टिकट मान्य नहुने बताए । ‘उहाँहरुले सल्लाह नगरी नै निर्णय गरेको हो । हामी आफ्नो तयारी गरिरहेका छौं,’ उनले भने, ‘काठमाडौं महानगरको लागि उपयुक्त हुने उम्मेद्वार केही दिनपछि सार्वजनिक गर्छौं ।’
प्रतिक्रिया 4