+
+

एएफसी फुटसल एसियन कप छनोटमा नेपालको लगातार तेस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १५:३४

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीले तेस्रो पटक एएफसी फुटसल एसियन कप छनोट खेल्दा अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

कीर्गिस्तानको बिस्केकमा भइरहेको फुटसल एसियन कप २०२२ को छनोटमा मंगलबार अफगानिस्तासँग ८-१ ले पराजित भएपछि यस पटक कम्तीमा एक खेल जित्ने नेपालको लक्ष्य समेत पूरा हुन सकेन ।

सेन्ट्रल तथा साउथ जोन अन्तर्गत समूह बी मा रहेको नेपालले लगातार तेस्रो खेलमा पराजित बेहोर्‍यो ।

पहिलो हाफमा अफगानिस्तानले नेपालमाथि दबाब बनाउँदै दुई गोल गरेको थियो । नेपालले पनि गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा अफगानिस्तानले ६ गोल थप्दा नेपालले एक गोल मात्र फर्काउन सक्यो । नेपालका लागि सुमित श्रेष्ठले एक गोल गरे ।

नेपाल भन्दा केही माथिल्लो स्तरको टिम अफगानिस्तासँग नेपालले राम्रो गर्ने आश गरेपनि प्रदर्शनमा त्यो देखिएन । यसअघि सन् २०१९ मा भएको छनोटमा नेपाल अफगानिस्तानसँग ६-२ ले पराजित भएको थियो ।

नेपाली टिमका प्रशिक्षक गौरव बस्नेतले छनोटको खेलअघि नै कम्तीमा एक खेल जित्ने लक्ष्य रहेको र धेरै आशा नराखेको बताएका थिए । तीन खेलपछि नेपालको प्रदर्शन पनि प्रशिक्षकले भने जस्तै नै रह्यो । तर एक खेल जित्ने लक्ष्य भने पूरा हुन सकेन ।

नेपाल रहेको समूहमा फुटसलको ‘पावर हाउस’ टिमहरु उज्वेकिस्तान र ताजकिस्तान जस्ता टिम थिए ।

पहिलो खेलमा नेपाल बलियो टोली उज्वेकिस्तानसँग ५-१ ले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल सुरुवाती अग्रता लिनका बावजुत पनि ताजकिस्तानसँग ११-१ को फराकिलो अन्तरले पराजित भयो । पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा १० गोल बेहोरेको थियो ।

लगातार दोस्रो हारपछि नेपाल छनोटबाट बाहिरिसकेको थियो । अन्तिम खेल जित्दै सुदख अन्त्य गर्ने नेपालको लक्ष्य भने पूरा हुन सकेन ।

लगातार तीन हारपछि नेपाली प्रशिक्षक गौरव बस्नेत दु:ख व्यक्त गरे । ‘यो दु:खद छ हामी छनोट हुन सकेनौँ ।’

उनले खेलमा अवसर बनाएपनि फिनिस गर्न नचुकन् कमजोरी हरेको बताए । ‘हामीले अवसरहरु बनायौँ तर फिनिस गर्न सकेनौँ ।’ बस्नेतले खेलपछि भने । हामीले धेरै अनुभव बटुल्ने अवसर पायौँ । यस प्रतियोगिताबाट हामी आगामी प्रतियोगिताबाट अझ राम्रो तयारी गर्नेछौँ ।’

नेपालले तीन खेलमा जम्मा ३ गोल गर्दा २४ गोल बेहोर्‍यो ।

सन् २०१७ मा पहिलो पटक छनोट खेल्दा नेपालले ४ गोल गरेको थियो भने २८ गोल बेहोरेको थियो । यस्तै २०१९ मा छनोट चरण खेल्दा नेपालले ३ गोल गरेको थियो भने १६ गोल बेहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?