+
+

बलिउडले दर्शकलाई हलसम्म लैजाने सूत्र खोज्दैछ ?

पराग छापेकर पराग छापेकर
२०७८ चैत ३० गते ११:५२

ओटीटी प्लेटफर्मको हमला र कोरोना महामारीको असर । यी दुई कारणले सास फेर्न पनि मुस्किल अवस्थामा पुगेको बलिउडलाई सिनेमा हलसम्म दर्शक तान्न ठूलो चुनौती बनेको छ ।

ओटीटीमार्फत हत्केलामा पुगेको मनोरञ्जन दुनियाँलाई त्यहाँबाट निकालेर हलसम्म पुर्‍याउन त्यति सजिलो भने छैन । त्यसका लागि केही ‘चमत्कार’ चाहिन्छ र त्यसका लागि चाहिन्छ, केही भव्य फिल्म ।

भर्खरै प्रदर्शन भएको एसएस राजमौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ले दर्शकलाई हलमा ल्याउने हो भने भव्य शैलीको सिनेमा बनाउनुपर्छ भन्ने सन्देश दिइसकेको छ । त्यसैले ठूलो बजेट, ठूला स्टारहरु, ठूलो स्केल र विशाल भव्यता अहिलेको आवश्यकता बनेको छ ।

बलिउडमा ६०० रुपैयाँको टिकट लिएर थिएटरमा जाने व्यक्तिले भव्यताको अनुभवसँगै पूरा मनोरञ्जन पाएन भने ओटीटीको जादुबाट बाहिर निस्कने छैन भन्ने कुरा बलिउडका निर्माताहरुले बुझ्नु जरुरी छ ।

त्यसो त बलिउडका निर्माताहरुले कहिल्यै भव्य सिनेमा बनाएका छैनन् भन्ने होइन । विभिन्न समयमा भव्यताको मापन फरक–फरक हुँदै आएको छ । ७० र ८० को दशकमा धेरै मल्टिस्टारर फिल्म बनाइन्थ्यो र चल्थ्यो पनि ।

तर ९० को दशकपछि यो घट्दै गयो र एक समयमा यो औंलामा गन्न सकिने चलचित्रमा सीमित भयो । यशराज, करण जोहर, सञ्जय लीला भन्साली र साजिद नाडियाडवाला जस्ता फिल्म निर्माताहरूले ठूलो बजेट र ठूला स्टारका फिल्म बनाएर दर्शकलाई हलसम्म तान्ने प्रक्रियालाई निरन्तरता दिए ।

यद्यपि पछिल्ला वर्षमा राजामौलीको ‘बाहुबली’का दुवै सिरिजले दर्शकलाई सिनेमा हलसम्म ल्याउन सफल भए । कोरोना महामारीपछि सूर्यवंशी, पुष्पा, गंगुबाई काठियावाडी र आरआरआर हेर्न सिनेमा हलमा दर्शकको भीड लाग्यो । त्यसैले दर्शकले अबको फिल्ममा भव्यता नै खोजेको देखिन्छ ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्श भन्छन्, ‘कुनै समय मानिसले ओटीटी आएपछि ठूलो पर्दाको अन्त्य हुन्छ भन्ने सोचाइ राख्थे । तर कोरोनापछि पुष्पा, गंगुबाई काठियावाडी, आरआरआर जस्ता फिल्मको कमाइ सिनेमा हल नै बनेको छ । यी फिल्मको व्यापारबाट तत्काल ठूलो पर्दालाई विस्थापित गर्न सम्भव छैन भन्ने देखाएको छ ।’

ओटीटी तपाईको घरमा छ, तपाईंले जुनसुकै बेला हेर्न सक्नुहुन्छ । तर ठूला फिल्मको मज्जा ठूलै पर्दामा मात्र आउँछ । ठूलो स्केल पनि चाहिन्छ र ठूला स्टार पनि चाहिन्छ भन्ने कुरालाई ‘आरआरआर’ले  बेन्चमार्क सेट गरेको छ । अब आउने फिल्मलाई ६०० रुपैयाँ तिरेर हेर्न पाएको मापदण्डमा तौलिइने छ । त्यसैले अब बलिउड निर्माताहरुले फिल्ममा ठूलो मनोरञ्जन मिल्ने विषयवस्तु दिनुपर्ने छ ।

प्रदर्शनको तयारीमा रहेका बलिउड फिल्मको सूची हेर्दा केही आशावादी हुने ठाउँ देखिन्छ । रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’, प्रभास र सैफको ‘आदिपुरुष’, ‘केजीएफ’को दोस्रो भाग, अजय देवगन र अमिताभ बच्चनको ‘रनवे ३४’, रणवीर कपुरको ‘शम्शेरा’, टाइगर श्राफको ‘हिरोपन्ती २’, शाहरुख खानको ‘पठान’, अक्षय कुमारको ‘पृथ्वीराज’ लगायत फिल्म सफल हुन सक्छन् । दर्शकलाई सिनेमा हलसम्म पुर्‍याउने उद्देश्यका साथ यी फिल्मलाई ‘लार्जर द्यान लाइफ’ बनाउने प्रयास गरिएको छ ।

केही समयअघि बलिउड स्टार सलमान खानले ‘लार्जर द्यान लाइफ’ फिल्मको विषयमा भनेका थिए, ‘हाम्रा फिल्म साउथका फिल्महरूजस्तै नचल्नुको एउटा कारण यो हो कि उनीहरूले हिरोइजमलाई धेरै बढावा दिन्छन् ।’

बलिउडका विषयमा धेरै मानिसले भन्ने गरेका थिए कि स्टार भ्यालुमा चल्छ, तर पछिल्लो समय शाहरुख खान, सलमान खान, अक्षयकुमार सबैले यसको असर भोगिरहेका छन् ।

कोरोना कालअघिसम्म साना सहरका कथाहरू फिल्ममा हावी थिए, तर त्यो विधा फरक छ र फिल्म हलमा दर्शक भर्न कठिन छ भन्ने कुरा आएको थियो ।

जब भारतमा सामाजिक सञ्जालको ‘बुम’ आयो, तब प्रचारलाई मुख्य हतियार बनाइयो । अहिले फिल्ममा स्टार, भव्यता र धेरै पैसा खन्याएर दर्शकलाई मनाउने प्रयास गरिएको छ ।

समग्रमा यति भन्न सकिन्छ, फिल्म जबसम्म ‘मास इन्टरटेनर’ बन्दैन, तबसम्म ओटीटीको प्रभाव रहिरहन्छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?