+
+

रोनाल्डोले छाडेपछि मड्रिडमा चम्किएका बेञ्जेमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १६:३१

३० चैत, काठमाडौं । टिममा यस्ता सदस्य पनि हुन्छन्, जो टिममै रहेका स्टारका अघि सधैं छायामा पर्छन् । तर जब स्टार सदस्यले छाड्छन् । त्यसपछि छायामा परेका पात्र चम्किन्छन् ।

त्यसरी चम्किने पात्र बनेका छन्, स्पेनिस फुटबल क्लब रियल मड्रिडका करिम बेञ्जेमा ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रहँदासम्म सधैं छायामा परेका बेञ्जेमा रोनाल्डो युभेन्टस उडेपछि चम्किएका छन् । उनले रोनाल्डोको जिम्मेवारी पूरा गरेका छन् । रोनाल्डोको बहिर्गमन बेञ्जेमाका लागि आफैंलाई सावित गर्ने मौका भएको छ ।

‘रोनाल्डोले क्लब छाडे यसलाई मैले स्वीकार गर्नै पर्छ र गरें पनि । ऊ टिममा नहुँदा पनि म केही फरक गर्न सक्छु ।’ रियलमा रोनाल्डो नभएपछि आफ्नो भूमिकाबारे प्रष्ट्याउँदै उनले भने । यसो भन्दै गर्दा फ्रान्सेली फरवार्डले नतिजा पनि निकालेका छन् ।

च्याम्पियन्स लिग क्वार्टर फाइनलको पहिलो लेगमा रियलले चेल्सीविरुद्ध ३–१ को नतिजा ल्याएको थियो । दोस्रो लेगमा भने चेल्सीसँग ३–२ ले पराजित भयो । पहिलो लेगको जितसँगै समग्रमा ५–४ को नतिजासँगै सेमिफाइनल प्रवेश गरेको छ । यस जितमा बेन्जेमाको गोल नै निर्णायक गोल बन्यो ।

मासन माउन्टले १५औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । एन्टोनी रुडिगरले ५१औं र टिमो बर्नरले ७५औं मिनेटमा गोल गरेपछि चेल्सीले ३–० को अग्रता बनाउँदै समग्रमा पनि ४–१ को अग्रता लिएको थियो । तर अन्तिम १० मिनेट चेल्सीले अग्रता कायम राख्न सकेन ।

८०औं मिनेटमा रोड्रिगोजले गोल गरेपछि रियल खेलमा फर्कियो र स्कोर समग्रमा ४–४ को बराबरी अवस्थामा पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा बेन्जेमाले गोल गर्दै रियललाई जिताका हुन् ।

बेन्जेमाले ९६ औं मिनेटमा भिनिसिय जुनियरको पासमा गोल निकालेका हुन् । यी दुईको जोडीले रियलको लागि समग्र खेलमा गरेको यो १८ औं साझेदारीपूर्ण गोल हो ।

यसका साथै बेन्जेमाले च्याम्पियन्स लिगको यो संस्करणको ९ खेमा १२ गोल गरेका छन् । यससँगै शीर्ष गोल कर्ताको सूचीमा दोस्रोमा रहेका बेन्जेमा बार्यन म्युनिखका रोवर्ट लेवन्डोस्किभन्दा एक गोलले पछि छन् ।

बेन्जेमाको उत्कृष्ट फिनिसिङ

फ्रान्सेली फरवार्ड बेन्जेमाको गोल अन्य फरवार्डको भन्दा निकै उत्कृष्ट रहेको छ । अन्य फरवार्ड भन्दा प्राविधिक रुपमा बलियो देखिएका बेन्जेमाको फिनिसिङमा निकै सुधार भएको छ । खुट्टाको प्रहार होस् या टाउकोको । उनले गरेका दुवै तरिकाका फिनिसिङ उत्कृष्ट छन् ।

विगतमा उनले आफ्नो फिनिसिङलाई लिएर निकै आलोचना सुनेका थिए । सन् २०१७ मा रियल र भेलेन्सियाको खेल २–२ मा रोकिँदा उनले ६ वटा उत्कृष्ट मौका गुमाएका थिए । जसका कारण उनले आलोचना खेपेका थिए ।

उनको त्यो सिजन खासै राम्रो भएन । उनले त्यस सिजन ला लिगामा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनले पाएका मौकाहरुको सदुपयोग गर्न सकेका थिएनन् । उनीबाट आशा गरिएको ९ वटा उत्कृष्ट गोलका अवसरहरु उनले सदुपयोग गर्न सकेका थिएनन् ।

तर अहिलेको उनको खेल तरिका निकै सुधार भएको छ । फिनिसिङको समस्या समाधान गरेका उनले विगतमा आलोचना गर्नेहरुकै समर्थन बटुलेका छन् ।

त्यसबाहेक फुटबलको ज्ञान र तीक्ष्णता बेन्जेमाको उत्कृष्ट खेल प्रदर्शनको एक कारण हो । उनलाई कुन बल कताबाट कसरी निकाल्दा राम्रो अवसर बन्छ राम्रोसँग थाहा छ । उनी बायाँतर्फबाट खेल्न सहज मान्ने खेलाडी हुन् । बायाँतर्फबाट बल घुमाउने कलामा उनी माहिर छन् ।

२०१७ मा उनले एक अन्तरवार्तामा भनेका थिए, ‘कोही खेलाडी ८७ औं मिनेटमा मैदान छिर्छन र गोल गर्छन अनि खुसी हुन्छन् तर म ९० मिनेटमा गोल गरेर पनि खुसी हुन सक्दिँन ।’

उनको खेलप्रतिको असन्तुष्टिले नै उनको खेलमा सुधार ल्यायो । अहिले उनी एक उत्कृष्ट खेलाडी र फिनिसरको रुपमा मैदानमा छाउँछन् । उनको त्यो उत्कृष्ट शैली चेल्सीविरुद्धको पहिलो लेगमा र दोस्रो लेगको विजयी गोलमा प्रष्ट देख्न सकिन्छ ।

उनी यस संस्करणको ला लिगाको सर्वाधिक गोलकर्ता मात्रै नभइ सर्वाधिक गोल असिस्ट गर्ने खेलाडीमा पनि नवौं नम्बरमा छन् । उनले यस संस्करणको ला लिगामा २४ गोल र ११ असिस्ट गरेका छन् ।

अन्य खेलाडी भन्दा उत्कृष्ट गोल गर्ने क्षमता र उत्कृष्ट गोलकर्ताका हिसाबमा उनी अब फुटबलको चर्चित अवार्ड बालोन डी’ओरको प्रतिस्पर्धी हुन सक्ने आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?