+
+

एमालेको टिकट बाँड्ने शक्तिशाली पाँच घेरा

३० वैशाख २०७९ मा हुने स्थानीय तह चुनावबाट ६० देखि ७० प्रतिशत जित्ने दाबी गरिरहेको एमालेको टिकट वितरणमा अध्यक्ष ओली सर्वाधिक शक्तिशाली छन् । महानगरपालिकामा मात्रै नभएर पालिका स्तरमासमेत ओलीको चाहना बुझेर टिकट वितरणको तयारी देखिएको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

सइन्द्र राई सइन्द्र राई
२०७८ चैत ३० गते २०:५७

३० चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेविरूद्ध स्थानीय चुनावमा साझा उम्मेद्‍वारी दिने निर्णय गरेको सत्तारूढ गठबन्धनले आगामी ४ वैशाखसम्म तालमेलको निर्णय लिन स्थानीय नेतृत्वलाई निर्देशन दिएको छ ।

दलगत स्ट्रेन्थ (२०७४ को स्थानीय चुनावको नतिजा र वर्तमान अवस्था) को आधारमा तालमेल गर्ने मापदण्डमा मंगलबार सहमति जुटेपछि साझा उम्मेद्‍वार तयार पार्न स्थानीय नेतृत्वलाई निर्देशन दिइएको हो ।

जसरी पनि एमाले हराउने योजनामा रहेको गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागबण्डा भने केन्द्रबाटै गर्ने भएको छ ।

एमालेमा भने गठबन्धनमा जस्तो अन्तर दलीय भागबण्डा गर्नुपर्ने झञ्झट छैन । कतिपय स्थानीय तहले उम्मेद्‍वार टुंग्याइसकेका छन् ।

‘पार्टीले उम्मेद्‍वार चयनको मापदण्ड बनाएको छ । त्यही मापदण्डका आधारमा टिकटबारे निर्णय हुन्छ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन्, ‘थुप्रै ठाउँमा उम्मेद्वार सर्वसम्मत भइसकेको छ ।’

गएको १० चैतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले उम्मेद्‍वार चयन र सिफारिसबारे निर्णय गरेको थियो । त्यो बैठकले वडाध्यक्ष र वडा सदस्य पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले टुंग्याउने निर्णय गरेको छ ।

नगर र गाउँपालिकाका पदाधिकारीको उम्मेद्‍वार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीबाट चयन हुनेछन् भने महानगर र उपमहनगरपालिकाका पदाधिकारीको निर्णय केन्द्रीय कमिटीबाट टुंग्याइनेछ ।

उम्मेद्‍वार चयन गर्दा स्थानीय स्तरमा लोकप्रिय नेतालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको छ । तर एमालेकै नेताहरू भने टिकट वितरणमा पार्टी संरचना भन्दा पनि प्रभावशाली नेताहरू हाबी हुने अवस्था नकार्न नसकिने बताउँछन् । ‘उम्मेद्‍वारबारे निर्णय लिने अधिकार उपल्लो कमिटीलाई दिइएको छ । सिफारिस हुँदा नै सहमति नजुटे पार्टी नेतृत्व हाबी हुने अवस्था छ’, एमालेका एक नेता भन्छन् ।

उम्मेद्‍वारका आकांक्षीको नाम सिफारिस नै नगरिएको छिटफुट घटना सार्वजनिक हुनुले पनि पार्टीमा प्रभाव राख्ने नेता हावी हुने गरेको पुष्टि हुन्छ । अध्यक्ष ओलीकै गृह जिल्ला झापा मेचीनगरको मेयरमा नाम नै सिफारिस नगरिएको भन्दै पुराना नेता डिल्लीराम घिमिरेले पत्रकार सम्मेलन गरी एमाले परित्याग गरे । जबकी कतिपय स्थानमा भने ‘एक हातमा टिकट र अर्को हातमा पार्टी सदस्यता’सहित एमाले प्रवेश कार्यक्रम चलिरहेको छ ।

जस्तो, नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको टिकट लिएर पशुपति दयाल मिश्र एमाले प्रवेश गरे । एमाले प्रवेश गरेको चार महिना नबित्दै उनी मंगलबार (२९ चैतमा) नगर कमिटीबाट मेयर पदको उम्मेद्‍वारमा सर्वसहमत रुपमा सिफारिस भए । मिश्रलाई पार्टी प्रवेश गराउन ओली आफैं गएको १ मंसिरमा नेपालगञ्ज पुगेका थिए ।

केपी शर्मा ओली र विजय सरावगी ।

मिश्रजस्तै २८ फागुनमा मात्रै एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पनि सिफारिसमा परेका छन् । बुधबार नगर कमिटीको बैठकले सराबगीलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवारमा सराबगीको नाम सिफारिस गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट एमाले प्रवेश गरेका सरावगीलाई पार्टीमा ल्याउन ओली आफैं वीरगञ्ज पुगेका थिए । एमाले प्रवेश गर्न तयार वीरगञ्जकै अर्का नेता राजेशमान सिंहले सराबगीको एमाले प्रवेशपछि मेयरको टिकट नपाउने बुझेर जसपाको माला लगाए । ‘टिकट बितरण पार्टी संरचनाबाट नभएर नेतृत्वसँग लेनदेनका आधारमा हुँदा पनि चुनावको मुखमा एमाले छोड्ने र प्रवेश गर्ने क्रम चलिरहेको छ’, एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीभित्र नेताहरुको पनि लेयरलेयर छ ।’

को कति शक्तिशाली ?

३० वैशाख २०७९ मा हुने स्थानीय तह चुनावबाट ६० देखि ७० प्रतिशत जित्ने दाबी गरिरहेको एमालेको टिकट वितरणमा अध्यक्ष ओली सर्वाधिक शक्तिशाली छन् । महानगरपालिकामा मात्रै नभएर पालिका स्तरमासमेत ओलीको चाहना बुझेर टिकट वितरणको तयारी देखिएको एक स्थायी कमिटी सदस्य बताउँछन् । ‘केपी ओली पछि उनी निकट नेताहरू क्रमशः निर्णायक हुने परिस्थिति छ’, उनी भन्छन् ।

ओलीपछि महासचिव शंकर पोखरेलसहितका नेताहरू टिकट वितरणमा हाबी हुने अवस्था छ । अध्यक्ष ओलीसँग सवैभन्दा नजिक रहेको यो घेरामा शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई, खगराज अधिकारी, गोकुल बाँस्कोटालगायत छन् । यी नेताहरुले ओली प्रधानमन्त्री हुँदा मन्त्री र सचिवालयमा काम गरेका थिए ।

पोलिटब्यूरो बैठकमा एमाले नेताहरु ।

मंसिरमा सम्पन्न १०औं महाधिवेशनमा यो समूहका नेताहरू ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने पक्षमा उभिएका थिए । त्यही महाधिवेशनमा सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका नेताहरू अहिले बालकोटको दोस्रो घेरामा पर्छन्, जसमा नेम्वाङ, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महेश बस्नेतलगायत छन् ।

तेस्रो प्रभावशाली पंक्तिमा माओवादी छोडेर आएका नेताहरू छन् । ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा ओलीतिर उभिएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाहलगायत नेता यो घेरामा छन् ।

चौथौं घेरामा पर्छन्, गएको २८ असारमा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरू । नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतिर लागे पनि पछि एमालेमै बसेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत नेता यो घेरामा पर्छन् । यी नेताहरुको चाहना र हस्तक्षेपले टिकट वितरण प्रभावित हुने देखिन्छ । यसपछिको घेरामा मात्रै पार्टी संरचनाका नेताहरु छन् ।

तर एमाले नेताहरू भने पार्टीभित्र को कति शक्तिशाली भन्नेले टिकट वितरणमा अर्थ नराख्ने तर्क गर्छन् । ‘पार्टी प्रणाली छ । कमिटीको बैठक बसेर उम्मेद्‍वारी टुंग्याइन्छ नि ! बैठकबाट टुंग्याउने भनेको सामुहिक निर्णय हो’, प्रचार विभाग उपप्रमुख रिजाल भन्छन् ।

देश दौडाहामा ओली

पार्टी विभाजनको पीडासहित स्थानीय चुनावमा होमिएको एमालेभित्र सर्वसहमति वा आन्तरिक प्रतिस्पर्धाको वातावरण भने देखिन्न । अध्यक्ष ओलीले पार्टी एकताबद्ध रहेको जति दावी गरे पनि वास्तविकता भने त्यस्तो छैन ।

ओलीलाई लगातार साथ दिने समूहभित्रै दुई गुट, माओवादीबाट आएका र १० बुँदे गरी पार्टीमै बसेका नेताहरुको पृष्ठभूमिले सर्वसहमतिको सम्भावना कम छ । तर प्रतिस्पर्धाको वातावरण पनि छैन । त्यसै पनि गठबन्धनबाट एक्लिएको एमालेभित्र जबर्जस्ती सर्वसहमतिको प्रयत्न गर्नुपर्ने बाध्यता छ ।

करिश्मा मानन्धरलाई खादा लगाइदिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

अध्यक्ष ओलीको एकल आकर्षण र देश दौडाहाले पनि एमालेको वर्तमान अवस्था बुझ्न सहयोग पुग्छ । गएको १ चैतमा संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि ओली कुनैदिन आराम नगरी देश दौडाहामा छन् । गएको हप्ता हेर्दा मात्रै पनि ओली दौडाहाको रफ्तार बुझ्न सकिन्छ ।

२८ चैतमा बुझाङको चैनपुरमा आयोजित चुनावी सभा सम्बोधन गरेका ओली मंगलबार (२९ चैतमा) ललितपुरमा आयोजित चुनावी सभामा पुगे । २६ चैतमा केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सकेर त्यसैदिन बाग्लुङ पुगे । बाग्लुङको चुनावी सभामा प्रमुख अतिथि बने । भोलिपल्ट, २७ चैतमा पार्टी निकट शिक्षकहरुको कार्यक्रममा सहभागी भए ।

राजधानीमा भएको स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन २५ चैतमा उद्घाटन गरेका ओली अघिल्लो दिन (२४ चैतमा) नेपालगञ्जमा थिए । पार्टी कार्यक्रमकै क्रममा नेपालगञ्ज गएका ओली त्यसैदिन बर्दिया पनि पुगे ।

२३ चैतमा एकैदिन दुई कार्यक्रम (भक्तपुरमा विद्यालय भवन र राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन) भ्याएका ओली त्यसको अघिल्लो दिन (२२ चैतमा) वीरगञ्जको चुनाव सभामा थिए । अन्य जिल्लामा पनि अध्यक्ष ओलीलाई लैजान तानातन छ । ‘सिन्धुलीमा पनि अध्यक्ष कमरेडलाई ल्याउने तयारी भइरहेको छ । देशभर उहाँको माग भएकाले समय मिल्न बाँकी छ’, केन्द्रीय सदस्य गणेश पहाडी भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?