+
+
बिस्का: परम्परा :

…अनि जिब्रो छेड्न तयार भए बुद्धकृष्ण

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत ३० गते २०:२२

३० चैत, काठमाडौं । मध्याह्न १२ बज्दै गर्दा मध्यपुर थिमिको बोडे क्षेत्रमा मानिसहरुको भीड बढ्दै जान्छ । बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीबाटै भीड सुरु हुन्छ र एकैछिनमा जात्रा स्थल भरिन्छ । एक हुल मान्छे बाँसको चिम्टी बजाउँदै जात्रास्थलमा पुग्छन् । बोडे क्षेत्रका सबै देवदेवीस्थलमा पैदल पुगेर दर्शन गरेर फर्किएका बुद्धकृष्ण श्रेष्ठले त्यही भीडको बीचमा बसेर कर्मी नाइकेबाट जिब्रो छेड्छन् ।

अनि उनको जयजयकार गर्दै सुरु हुन्छ बोडेको ऐतिहासिक जिब्रो छेड्ने जात्रा । वैशाख २ गते अर्थात् नयाँ वर्षको भोलिपल्ट बोडेमा धुमधामका साथ मनाइने जिब्रो छेंड्ने जात्राको पूर्वानुमानित दृश्य हो । यसरी नै बुद्धकृष्णले तीन दिनपछिको दृश्यलाई स्मरण गर्दै सुनाए ।

‘यो अन्तिम पटक’ भन्दै भक्तपुर बोडेका ५० वर्षीय बुद्धकृष्णले आइतबार महालक्ष्मी मन्दिरमा ‘दाम’ चढाए । महालक्ष्मी मन्दिरमा जसले दाम चढाउँछ, त्यो साल उसैको जिब्रो छेंडिन्छ । शनिबार दाम चढाएपछि श्रेष्ठलाई कुनै जुठो सुतकले छुँदैन । उनले चोखोनितो बार्न थालिसकेका छन् । अर्थात्, बुद्धकृष्णले यसपालि नवौं पटक जिब्रो छेंड्ने पक्का भएको छ ।

जात्रामा जिब्रो नै किन छेडिन्छ त ? यसको सांकेतिक अर्थ के हो ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘विभिन्न किंवदन्ती र परम्परालाई निरन्तरता दिंदै गर्दा जिब्रो छेड्ने चलन बसेको हो । यसको कथा धर्मपुरमा रहेको नीलबाराहीको कथासँग जोडिएको छ ।

जात्राको लागि चाहिने गुसीं अर्थात् जंगलबाट ल्याएको काठ महालक्ष्मी मन्दिर परिसरमा लडाइएको छ । वैशाख ३० गते गुसीं बालेर खरानीको टीका लगाएपछि बुद्धकृष्णको व्रत सुरु हुन्छ । व्रतको समयमा अर्काको घरमा नजाने, महिनावारी भएकी महिलालाई नछुने, तीन दिनसम्म पानीबाहेक कुनै खाद्य तथा पेय पदार्थ सेवन नगर्ने जस्ता व्रत गर्नुपर्छ । त्यसपछिको तीन दिनजति जिब्रोको कारणले राम्रोसँग खान सक्दैनन् । जिब्रो छेडेपछि त्यही सियो जिब्रोमा राखेर खाली खुट्टा नगरपरिक्रमा गर्नुपर्छ । साथमा झण्डै ३५ किलोको खट पनि हुन्छ । यो चुनौतीपूर्ण छ, तर संस्कृति जोगाउन यो वर्ष पनि उनले यो जोखिम बोक्न तयार भएका छन् ।

नयाँ वर्षको छेकोमा भक्तपुरमा जब बिस्काः जात्रा सुरु हुन्छ, तब बोडेमा जिब्रो छेडाउनेको सूचीमा दुईवटा नाम अघि सर्छ, बुद्धकृष्ण र जुजुभाइ श्रेष्ठ । यिनै दुई भाइले २०६२ सालदेखि अहिलेसम्म यो परम्परालाई धान्दै आएका छन् । यो सालसमेत गर्दा बुद्धकृष्णले ९ पटक र जुजुभाइले आठपटक जिब्रो छेडाएका छन् ।

पहिलोपटक २०६२ सालमा जिब्रो छेडाउने बेला बुद्धकृष्णलाई छुट्टै डर पैदा भएको थियो । त्यतिबेला उनी ३२ वर्षका थिए । जिब्रो छेड्न आँट गर्नेहरु कम हुँदा परापूर्वकालदेखि चल्दै आएको संस्कृतिलाई बिट मार्नुपर्ने स्थितिमा पुगिसकेको थियो । आफ्नो पहिचान हराउने जोखिम बढेपछि उनले साहस जुटाए ।

पहिलोपटक जिब्रो छेड्दा उनलाई तीन दिनदेखिको भोकले खप्नै नसक्ने बनाइसकेको थियो । महालक्ष्मी मन्दिरमा जिब्रोबाट सियो निकालेर माटो राखेपछि सिधै गएर समयबाजी खाइदिए । उनी भन्छन्, ‘पहिलोपल्ट त तीन दिनको भोक खप्न साह्रै गाह्रो भयो । जिब्रो त लाटिएको थियो, धेरै दुखेन बरु जिब्रोबाट सियो निकाल्नेबित्तिकै समयबाजी खाएँ । दोस्रो पटकदेखि भने जिब्रो सुनिन थाल्यो ।’

अहिलेसम्म उनलाई जिब्रोमा समस्या देखिएको छैन । जिब्रो छेडेको केही दिनमा नै पुरानै अवस्थामा फर्किन्छ । एक वर्षसम्म खत भने बाँकी रहने उनी सुनाउँछन् । जिब्रो देखाउँदै उनी भन्छन्, ‘यसमा दैवी शक्ति छ, छेडेको जिब्रोमा एक वर्षसम्म सामान्य खत देखिन्छ । तर यसले कुनै समस्या भएको छैन ।’ जिब्रोमा यसले दीर्घकालीन असर केही पार्छ कि ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘१६ वर्ष भयो अहिलेसम्म केही भएको छैन, त्यस्तो समस्या आउँछ भन्ने लाग्दैन ।’

त्यसो त बुद्धकृष्ण नै सर्वाधिक जिब्रो छेडाउने व्यक्ति भने होइनन् । इतिहास खोतल्दै जाँदा एउटै व्यक्तिले ३२ पटकसम्म जिब्रो छेडेको रेकर्ड समेत भेटिन्छ । जिब्रो छेड्न सुरु भएपछि उसले नछाडेसम्म अर्कालाई पालो दिइँदैन । सकेसम्म जिब्रो छेडाउन चाहनेहरु नै धेरै हुँदैनन् भन्दा पनि हुन्छ ।

अहिलेसम्म १३ जनाले जिब्रो छेडाएको रेकर्ड भेटिएको छ । जसमा बेखनारायण श्रेष्ठले ३२ पटक र हर्कनरसिंह बाग श्रेष्ठले २२ पटक जिब्रो छेडेको पाइएको छ । तर उनीहरुलाई कुनै समस्या भएको नभेटिएकाले यसले दीर्घकालीन समस्या हुन्छ भन्ने आफूलाई नलागेको बुद्धकृष्ण बताउँछन् ।

अहिलेसम्म हरिदेव श्रेष्ठले एक पटक, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, चन्द्रसेन श्रेष्ठले ७, दिलकुमार श्रेष्ठले ७, हर्केश्वर श्रेष्ठले ३, मुनि श्रेष्ठले १, धर्मराज श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ श्रेष्ठले आठ र बुद्धकृष्णले यस पटकसमेत गरेर ९ पटक जिब्रो छेडाएका छन् ।

कसरी चल्यो जात्रामा जिब्रो छेड्ने चलन ?

जात्रामा जिब्रो नै किन छेडिन्छ त ? यसको सांकेतिक अर्थ के हो ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘विभिन्न किंवदन्ती र परम्परालाई निरन्तरता दिंदै गर्दा जिब्रो छेड्ने चलन बसेको हो । यसको कथा धर्मपुरमा रहेको नीलबाराहीको कथासँग जोडिएको छ । तर धेरैले यसलाई ख्याकको रुपमा जिब्रो छेडेको भन्छन्, तर त्यसमा सत्यता छैन ।’

धर्मपुरबाट बस्ती सारेका बोडेबासीलाई ख्याकले दुःख दिन थालेपछि त्यसको उपचारको लागि स्थानीयले भीमदत्त तान्त्रिकलाई गुहारे । भीमदत्तले तान्त्रिक विधिअनुसार ख्याकलाई घेरा हालेपछि त्यो गाउँलेको नियन्त्रणमा आयो । रिसाएका गाउँलेले कसैले कपाल तानिदिने, कसैले लुगा फुकालिदिने, कसैले भाग्ला भनेर खुट्टा समाउने र कसैले जिब्रो छेडाउने गर्न थाले । गाउँलेले ख्याकको जिब्रोमा सियोले छेडेपछि ख्याक शिथिल भयो ।

यो नीलबाराहीलाई मन नपरेकाले गाउँलेलाई दुःख भइरह्यो । पछि नीलबाराही भीमदत्त तान्त्रिकको सपनामा आएर क्षमापूजा गर्न र ख्याकलाई दुःख नदिन आग्रह गरेपछि गाउँलेहरुले ख्याकलाई छाडिदिए । जिब्रो छेड्ने अघिल्लो दिन क्षमापूजा गर्ने चलन अहिलेसम्म पनि छ । त्यहीबेलादेखि नै देश र जनताको हित गर्न जिब्रो छेड्ने चलन सुरु भएको श्रेष्ठ बताउँछन् । यसबाहेक पनि अनेक किंवदन्तीहरु छन्, जसले सामाजिक न्याय र यहाँको सामाजिक सुरक्षाको लागि अहिलेसम्म यो संस्कार चल्दै आएको उनी सुनाउँछन् ।

अर्का प्रसंग पनि धर्मपुर र बोडेसँगै जोडिएको छ । धर्मपुर बेंसीको बस्ती थियो भने बोडे डाँडाको बस्ती थियो । बेंसी र डाँडाको बस्तीबीच आउजाउ खासै थिएन । यस्तैमा एक दिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो । आगो बोकेर को आयो भनेर मानिसहरु हेर्न गए । बत्ती बोकेको मानिसको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँमा आगो बोकेको मान्छे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँनिर अलप भयो ।

हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो ।

महालक्ष्मीको मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही कुरा निरन्तर गरून् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।

वर्षमा एक दिन भएपनि सबै जना भैरवले जस्तै देउता घुमौं भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिर परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतीपातीसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेड्ने, चिराग लिएर जाने गरिन्छ । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ ठीक हुन्छ भन्ने विश्वासमा त्यसै गरिन्छ ।

भारी बिसाउने तयारीमा बुद्धकृष्ण

सातौंपटक जिब्रो छेडेपछि अर्का पुस्तालाई यो कामको बागडोर सुम्पिने तयारीमा थिए, बुद्धकृष्ण । तर सोचेजस्तो भएन । गत वर्ष पनि जिब्रो छेडाउने मान्छे नपाएपछि संस्कृतिमा बिट मार्नुभन्दा बरु फेरि जिब्रो छेडाउने निर्णयमा पुगे उनी ।

आठपटक जिब्रो छेडाउने जुजुभाइ पनि घरमा श्रीमती बिरामी भएको भन्दै जिब्रो छेडाउन नमानेपछि बुद्धकृष्णले नै आठौं पटक जिब्रो छेडेका थिए । आठपटक जिब्रो छेड्दा कुनै अशुभ हुन सक्छ भन्ने लागेर नवौं पटक चाहिं उनी आफ्नै रहरले जिब्रो छेड्न लाग्दैछन् । तर अर्को इच्छुक व्यक्ति भेटेको खण्डमा भने उनी यसपालिदेखि यो भारी बिसाउने तयारीमा छन् ।

जब जिब्रो छेड्न छाडेर कोरोनाका बिरामी ओसार्न थाले

२०७६ सालमा कोरोना महामारीका कारण बुद्धकृष्णले जिब्रो छेडाउन पाएनन् । कोरोना भाइरसको संक्रमण फैलिने भयले जिब्रो छेड्ने जात्रा नै रोकियो । देश र समाजको रक्षाको लागि सांस्कृतिक रूपमा योगदान दिन नसके पनि उनले कोरोनाकालमा एम्बुलेन्समा बिरामीलाई अस्पतालसम्म लैजाने जोखिमपूर्ण काम गरेर सेवा गरे ।

जिब्रो छेड्ने जात्रा स्थगित भएपछि उनी पीपीईको लागि राष्ट्रिय आविष्कार केन्द्र पुगे । त्यहाँ निःशुल्क वितरण गरिएको पीपीई बोकेर उनी बिरामी बोक्न हिंडे । बुद्धकृष्णले झण्डै २० वर्षदेखि नेपाल–कोरिया मैत्री अस्पतालको एम्बुलेन्स चलाउँदै आएका छन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?