+
+

एमालेभित्र पोखराको मेयरमा जुटेन सहमति, मतदानको सम्भावना

विकास रोका मगर विकास रोका मगर
२०७८ चैत ३० गते १७:०४

३० चैत, पोखरा । धेरै आकांक्षी देखिपछि नेकपा एमालेलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउन सकस परेको छ । मंगलबार मेयरका आकांक्षीबाट निवेदन माग गर्दा १२ जनाले निवेदन दिएका थिए । जसमा दुई प्रदेश सांसदसमेत छन् ।

पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले आकांक्षा राखेका छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।

एमालेमा मेयरको उम्मेदवार सम्बन्धित नगर कमिटीले तीन जनाको नाम सिफारिस गर्ने र केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने व्यवस्था छ । तर आकांक्षी धेरै भएपछि आन्तरिक प्रतिस्पर्धाबाट तीन जनाको नाम टुंगो लगाउने एमालेको तयारी छ । आकांक्षीहरु बीच बुधबारसम्म अनौपचारिक छलफल गरिरहेको तर, सहमति हुन नसकेको नगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

‘अहिले आकांक्षी साथीहरुबीच पर्सनल्ली भेटघाट र छलफल चलिरहेको छ । सकेसम्म सर्वसम्मत रुपमा अघि बढ्ने भनेका छौं,’ नगर कमिटी अध्यक्ष न्यौपानेले भने । उनका अनुसार नगर कमिटीले दुई जना पुरुष र एकजना महिला गरी ३ जनाको सिफारिस गर्नेछ ।

कमिटीकै अर्का एक सदस्य भने सहमति जुट्ने सम्भावना न्यून रहेको र मतदान प्रक्रियामै जान सक्ने सम्भावना रहेको बताउँछन् । ‘साँझसम्म केही सहमति भइहाल्यो भने भइहाल्यो । नत्र भोलि (बिहीबार) मतदान प्रक्रियाबाटै उम्मेदवार छानिन्छन्,’ ती नेताले भने, ‘नत्र केन्द्रले उपयुक्त पात्र छानेर सिफारिस गरिदिनुप¥यो ।’ उनले सहमति नभए बिहीबार ५ बजेभित्रै मतदानबाट उम्मेदवारको छिनोफानो लगाउने तयारी रहेको सुनाए ।

नेकपा एमालेको राम्रो प्रभाव मानिएको पोखरा महानगरमा अघिल्लो चुनाव प्रमुख र उपप्रमुख दुवै पदमा भारी मतान्तरसहित एमालेकै उम्मेदवार निर्वाचित भएका थिए । नेकपा एमाले मानबहादुर जिसीले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले पराजित गर्दै भौगोलिक रुपमा सबैभन्दा ठूलो महानगरको प्रमुख बनेका थिए ।

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार बढी मतान्तरले पराजित गरेकी थिइन् ।मञ्जुदेवीले ५६ हजार ४४८ मत ल्याउँदा कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८ मत पाएकी थिइन् ।

तत्कालीन समयमा कुल मतदाता १ लाख ६८ हजार ६८ रहेकामा ७४.८३ प्रतिशत मत खसेको थियो । प्रदेश निर्वाचन कार्यालय, पोखराको हालको तथ्यांकअनुसार पोखरामा ३९ हजार ६३८ जना मतदाता बढेर कुल मतदाताको संख्या २ लाख ७ हजार ७०६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?