+
+

मधेशमा माओवादी: कांग्रेस नै मुख्य प्रतिस्पर्धी, तालमेलमा सकस

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख २ गते २१:१३

२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रायः सार्वजनिक कार्यक्रममा दोहोर्‍याइ रहने शब्द हो–गठबन्धन ।

उनी तीनै तहका निर्वाचनसम्म हालको सत्ता गठबन्धन चुनावी तालमेल गरेर जानुपर्ने कुरा गर्छन्। सत्ता गठबन्धनको बैठकमा पनि प्रचण्ड त्यस्तै कुरा राख्छन् ।

शुक्रबार आफ्नै निवास खुमलटारमा प्रचण्डले भने ‘गठबन्धनभित्रै कुरा नमिले कांग्रेससँग पनि प्रतिष्पर्धा हुन सक्छ ।’ प्रचण्डको अभिव्यक्ति यत्तिकै आएको भने होइन । यो अभिव्यक्तिको पृष्ठभूमि बैठकमै अरु नेताहरुले राखेको अभिव्यक्तिसँग जोडिन्छ ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेको माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य एवम प्रदेश इन्चार्जहरुको बैठकमा उनले आफूले सार्वजनिक रुपमा राख्दै आएको भनाइमा फरक ब्रिफिङ गरेपछि उनले पनि गठबन्धनका लागि अब ‘मरिहत्ते’ नगर्ने बताए ।

बैठकमा पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका प्रचण्डले गठबन्धन आवद्ध दलहरुले आफ्नो हैसियतभन्दा ‘अतिरञ्जित दाबी’ गरेकाले सबै ठाउँमा तालमेल कठिन रहेको सुनाए । सबै प्रदेश इन्चार्जहरुको रिर्पोटिङ सुनेपछि गठबन्धन सुन्दा राम्रो भए पनि व्यवहारिक रुपमा गर्न गाह्रो भएको उनले जिकिर गरे ।

प्रचण्डले गठबन्धन गर्न कठिन रहेको भनेको प्रदेशहरुमध्ये मधेश पनि एक हो । अन्यत्र सकभर तालमेल खोजिरहेको माओवादीको त्यहाँ भने फरक स्वार्थ छ । आफू तुलनात्मक रुपमा बलियो भएको ठानेको माओवादीले त्यहाँ सकेसम्म धेरै पालिकामा नेतृत्व लिन चाहन्छ ।

मधेश प्रदेशबारे रिर्पोटिङ गर्ने क्रममा प्रदेश इन्चार्ज गणेश साहले मधेश प्रदेशमा गठबन्धनभित्रका दलसँग तालमेल गर्न सहज नभएको बताएका थिए । साहले मधेशमा कांग्रेससँग तालमेल नभई प्रतिस्पर्धा हुने स्थिति रहेको रिर्पोटिङ गरेका थिए । उनको भनाइ थियो, ‘९९ प्रतिशत क्षेत्रमा कांग्रेससँगै प्रतिस्पर्धा हुन्छ । कांग्रेस जिते पनि हामी जिते पनि एमालेलाई हराउने गरि जानुपर्छ ।’

मधेशमा आफूहरुले पनि धेरै दाबी गर्ने र कांग्रेसले पनि दाबी गर्ने भएकाले गठबन्धन सहज नुहने उनको विश्लेषण थियो । बरु गठबन्धन भित्रकै कांग्रेसबाहेकका दलसँग तालमेल सहज हुने पनि उनले बैठकमा सुनाएका थिए ।

माओवादीको दाबी कति ?

मधेशकै माओवादी नेता मातृका यादव पनि मधेश प्रदेशमा सत्ता गठबन्धनबीच तालमेल त्यति सहज देख्दैनन् । यादवले मधेश प्रदेशमा आफूहरुको दाबी ४० सिटमा हुने दाबी गर्छन् ।

‘हामी मधेश प्रदेशमा बलियो छौं,’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो दाबी ४० सिटभन्दा बढीमा हुन्छ । हामीले थोरै मेहनत गर्‍यौं भने हाम्रो राम्रो छ ।’

अवस्था हेरेर सत्ता गठबन्धन दलहरुबीच नै कतै तालमेल र कतै प्रतिस्पर्धा हुने यादवको भनाइ छ । ‘कुनै ठाउँमा चारवटै दलबीच तालमेल हुन्छ,’ उनले भने, ‘कुनै ठाउँमा तीनवटा पार्टीबीच तालमेल हुन्छ । सबै अवस्था हेरेर हुन्छ ।’

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पनि मधेश प्रदेशमा बलियो छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पनि मधेशमा आफू बलियो भएको दाबी गर्ने गरेको छ ।

मधेशमा तालमेल गर्नेबारे अहिलेसम्म कुनै ठोस कुरा नभएको माओवादी केन्द्र मधेश प्रदेशका निर्वतमान अध्यक्ष प्रह्लाद बुढाथोकी बताउँछन् । ‘ठोस रुपमा गठबन्धनका बारेमा निर्णायक खालको कुरा भएको छैन,’ उनले भने, ‘भोलिसम्म टुंग्याउने भन्ने कुरा हो ।’

बुढाथोकी गठबन्धनबीच तालमेल हुन नसकेको अवस्थामा स्वस्थ प्रतिस्पर्धा हुने बताउँछन् । ‘जहाँ गठबन्धन सफल भएन, त्यहाँ गठबन्धन भित्रका पार्टीहरुका बीचमा स्वस्थ प्रतिस्पर्धा गर्ने भन्ने नीतिगत कुरा नै हो,’ उनले भने, ‘त्यसै अनुसार नै हुन्छ ।’

अघिल्लो चुनावमा कसको कति शक्ति ?

मधेश प्रदेशमा १ सय ३६ पालिका छन् । २०७४ को स्थानीय तहको चुनावमा सबैभन्दा धेरै पालिका नेपाली कांग्रेसले जितेको थियो । ४० पालिका प्रमुख/अध्यक्ष जितेको कांग्रेसले ३३८ वडाध्यक्ष जितेको थियो ।

जनता समाजवादी (तत्कालीन संघीय समाजवादी फोरम)ले ३४ पालिका प्रमुख/अध्यक्ष जितेको थियो । ३२ उपप्रमुख/अध्यक्ष जित्दा उसले २६२ वडाध्यक्षमा सफलता हात पारेको थियो ।

माओवादीले २१ पालिका प्रमुख/अध्यक्ष, २६ उप्रमुख/उपाध्यक्ष र ३३१ वडाध्यक्ष जितेको थियो । त्यस्तै एमालेले १८ पालिका प्रमुख/अध्यक्ष, १९ उप्रमुख/उपाध्यक्ष र २३० वडाध्यक्ष जितेको थियो ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?