+
+
विचार :

ग्रहण लागेको राजनीति : बेमौसमी तालमेल, ओझेलमा आदर्श

तालमेल नैतिक होस् वा अनैतिक, जायज होस् वा नाजायज, सैद्धान्तिक होस् वा असैद्धान्तिक, राजनैतिक होस् वा अराजनीतिक— त्यसको खासै हिसाबकिताब गरिंदैन । खालि अर्जुन–दृष्टि तालमेलमा र एकलव्य–दृष्टि चुनाव जित्नमा हुने गरेको छ ।

खिमलाल देवकोटा खिमलाल देवकोटा
२०७९ वैशाख ४ गते १४:१५

यो साल चुनावी वर्ष हो । स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । संविधानले निर्धारण गरेको निर्वाचन प्रणालीका कारणले कुनै पनि दल एक्लै भिडेर बहुमत प्राप्त गर्ने अवस्था छैन ।

बहुमत प्राप्त नगरी सत्ता हात लाग्ने अवस्था हुँदैन । सत्ताबाहिर बस्ने धैर्य सामान्यतया कसैलाई पनि छैन । त्यसैले तालमेल नेपाली राजनीतिको अभिन्न अंग बनेको छ । तर तालमेलले सत्ता, विपक्षी वा अरू कसैलाई बेमौसमी भन्न बाध्य पार्ने काम गरेको छ भने कसैलाई यसले तरंगित पारेको छ ।

सामान्यतया विचार मिले पार्टी एकता, एजेण्डा मिले तालमेल हुने सर्वस्वीकृत मान्यता हो, तर विचार र एजेण्डा मिले पनि नमिले पनि सत्ता हात पार्न गरिने गठबन्धन अर्को तरिका हो । नेपालमा यही तरिका बढी चल्तीमा छ ।

राजनीतिको यसै सेरोफेरोमा सत्ता स्वार्थ उजागर हुनेगर्छ । यसले राजनीतिक मूल्यमान्यता र बलिदान सहितका आदर्शहरू ओझेल परेका छन् । यही राजनीतिक परिदृश्यको सामान्य अवलोकन गर्ने प्रयत्न यो लेखमा गरिएको छ ।

विगतको पाठ

नेपाली राजनीतिको दुर्भाग्य नै भनौं, निर्दलीय पञ्चायतकालमा होस् वा बहुदलीय कालमा नै किन नहोस्, कुनै पनि सरकार र संसदले आफ्नो पूरा कार्यकाल भोग गर्न पाएनन् । यस हिसाबले नेपाल संक्रमणबाट गुज्रिएको मुलुक हो । ठीक त्यसैगरी अल्पमतको शासन होस् वा बहुमतको, दुई तिहाइकै किन नहोस्, पूरा कार्यकाल टिकेको छैन । यसरी नेपाल अस्थिर राजनीतिको केन्द्र बनेको छ ।

कुनै पनि सरकार अरूका कारणले हैन, आफ्नै कारणले ढलेको धेरै उदाहरण छन् । यसले राजनीतिमा बढिरहेको इमानको खडेरीतर्फ संकेत गर्छ । त्यसैले विगतका अनुभवले भन्छ, नेपाली राजनीति तालमेलको राजनीति हो ।

झन् निर्वाचनकै कुरा गर्दा त तालमेल बाहेक अरू कुनै पनि तरिकाले निर्वाचन जितिन्न भन्ने सत्य स्थापित जस्तै भएको छ । त्यो तालमेल नैतिक होस् वा अनैतिक, जायज होस् वा नाजायज, सैद्धान्तिक होस् वा असैद्धान्तिक, राजनैतिक होस् वा अराजनीतिक-त्यसको खासै हिसाबकिताब गरिंदैन । खालि अर्जुन–दृष्टि तालमेलमा र एकलव्य–दृष्टि चुनाव जित्नमा हुने गरेको छ । हाम्रोमा विगतको शिक्षा भनेकै तालमेल हो, यसभन्दा धेरै हामीले सिक्नै खोजेनौं ।

पहिलो संविधानसभामा पहिलो स्थान जित्न सफल माओवादी दोस्रो चुनावमा तेस्रो हुन पुग्यो भने त्यतिबेलाका दोस्रो र तेस्रो पार्टी क्रमशः पहिलो र दोस्रो हुन पुगे । चुनावको लक्ष्य सत्ता प्राप्ति बनाएका नेपाली राजनीतिक दलहरूका लागि जोसँग मिल्दा सत्ता सुरक्षित हुन्छ, त्यसैसँग मिल्नुको विकल्प थिएन भन्ने नजिर स्थापित भैदिए ।

स्थानीय चुनावसम्म कांग्रेस र माओवादीको तालमेल, प्रदेश र संघको निर्वाचनमा आइपुग्दा फेरियो, माओवादी र एमालेको गठबन्धन बन्न पुग्यो । यो गठबन्धन बन्नासाथ झण्डै दुई तिहाइको नजिक पुगेको नेकपा र प्रमुख प्रतिपक्षी बन्न समेत नपुग्ने अवस्थामा कांग्रेस थन्कियो ।

हार्नेहरू लघुताभाषमा र जित्नेहरू उन्मादमा मस्त हुने रोग विरासतमा सबै राजनैतिक दलले स्याहारेका छन् । त्यसैको परकम्प प्रकट भइछाड्यो । जित्नेको उन्माद र हार्नेको निराशाले दुर्घटना नै निम्त्याए ।

फेरि पनि यो वा त्यो बहानामा तालमेल गर्ने र चुनाव जित्ने दलहरूको एकमात्र न्यूनतम साझा कार्यक्रम बन्न पुगेको छ । यो नेपाली राजनीतिमा विगतबाट सिकिएको नकारात्मक विरासत सहितको बिर्सन नसकिने पाठ हो ।

वर्तमानको यथार्थ

तालमेलकै बहानामा आरम्भ भएको नेकपा आफैं आफ्ना लागि घाँडो बन्यो । जितको उन्माद देश र जनताका निम्ति घाँडो बन्यो । संसद विघटन जस्तो गैरसंवैधानिक कार्य गर्न दुरुत्साहन गर्ने कारक तत्व बन्यो ।

राजनैतिक स्थिरता जनताको चाहना थियो तर जनताले सिर्जना गरेको स्थिरता दलहरूले जोगाउन सकेनन् यो आजको सच्चाइ हो । त्यसैगरी तेस्रो शक्तिमा खुम्चिएको कांग्रेस सत्ताबाट बाहिरिनु पर्दाको पीडा सहन र लुकाउन सकेन, उसले चाहेन र अर्को चुनावसम्म पनि नकुरी गठबन्धनका निमित्त तयार भयो । यसैको परिणाम निर्वाचनमा तालमेल गर्ने अवस्थामा पुग्यो ।

पहिलो शक्तिमा स्थापित नेकपा जोगिएन । तत्कालीन एमालेको दम्भ, घमण्ड र उन्मादका कारण संसद विघटन हुँदै पार्टी विभाजन, सरकारबाट बहिर्गमनसँगै सत्ता स्वादबाट हात धुने स्थितिमा पुग्यो ।

यसप्रकारको राज्य शक्ति र राजनैतिक आइसोलेशनका कारण अर्को गठबन्धनको वातावरण बनाउन जिम्मेवार रह्यो । यी सबै घटनाक्रमले उजागर गरेको सत्य के हो भने मुलुकका मुख्य तीन शक्तिमध्ये दुइटाका बीचमा तालमेल हुनासाथ सत्ता हात लाग्ने र तेस्रो शक्ति सत्ताबाट बाहिरिने सहज गणित यतिबेलाको नेपाली राजनीतिको यथार्थ हो ।

सत्ता गठबन्धनको तरङ्ग

६ महिनाको अन्तरालमा दुई–दुई पटक संसद विघटन गरेर नपुगेर अदालतमार्फत नेकपा फुटाउने हर्कतपछि विभाजन भएको माओवादी कांग्रेसका साथमा एमालेका विरुद्ध टाउकोमा कफन बाँधेर मैदानमा निस्केपछि अर्को तरंगको आधी सुरु भयो ।

खासगरी हालको सत्ता गठबन्धनको बुझाइमा संसद विघटन त संविधान विघटनकै प्रारम्भ थियो भन्ने मान्यता स्थापित भएका कारण संविधान पक्षधर र विपक्षीका बीचमा कित्ताकाट हुने अवस्था आइपर्‍यो । यसले नेपाली राजनीतिमा राम्रै तरंग ल्याउने काम गर्‍यो ।

दुई तिहाइको संसद, सरकार मात्रै हैन, पार्टी पनि विभाजन, सात प्रदेश मध्ये ६ प्रदेशका सरकारबाट बहिर्गमन, संविधान विघटनकै परिणाम थियो भन्ने कुरा संप्रेषण भएपछि सत्तारुढ गठबन्धन बलियो र सत्ता इतर गठबन्धन कमजोर बन्ने स्वतः स्पष्ट नै थियो ।

तालमेल नैतिक होस् वा अनैतिक, जायज होस् वा नाजायज, सैद्धान्तिक होस् वा असैद्धान्तिक, राजनैतिक होस् वा अराजनीतिक— त्यसको खासै हिसाबकिताब गरिंदैन । खालि अर्जुन–दृष्टि तालमेलमा र एकलव्य–दृष्टि चुनाव जित्नमा हुने गरेको छ ।

यसैले ल्याएको तरंगले नेपाली राजनीतिमा अर्को प्रसंग थपिदियो । कम्युनिस्ट र गैर कम्युनिस्टका बीचमा हुनुपर्ने राजनैतिक धु्रवीकरण भिन्न ढंगले हुन पुग्यो । यो के हुन थाल्यो भन्ने बारेमा जनताका बीचमा विभिन्न खाले तरंग घनीभूत हुन थाल्यो ।

सँगसँगै यो अपवित्र गठबन्धन वा असैद्धान्तिक वा अप्राकृतिक गठबन्धन भन्ने नामकरण पनि गर्ने प्रयत्न भयो । तर नेपाली राजनीतिको विरासत भनेकै मिल्नेहरूसँग हैन, नमिल्नेहरूसँग मिल्ने क्षमता र रुचि पनि राख्दछन् भन्ने हो ।

कम्युनिस्टहरू विगत ७० वर्षदेखि एकापसमा भिडे जसको कारण दुई तिहाइ जनमत कम्युनिस्ट समर्थक भइरहँदा पनि एक तिहाइ मात्र जनमत रहेको गैर कम्युनिस्टको शासन सञ्चालन हुँदै आयो ।

यथार्थ के हो भने, कम्युनिस्टहरूको विभाजनका कारण कांग्रेसले शासन गर्ने तर उसले ३० प्रतिशत वरपर मात्रै मत प्राप्त गर्ने गरेको थियो । ३० प्रतिशतले शासन गर्ने लोकतन्त्रलाई उन्नत लोकतन्त्र भन्न र सोही मार्फत शासित हुन नेपाली समाज बाध्य भयो । जता काफल पाक्यो, उतै चरी नाच्यो भन्ने उखान चरितार्थ हुने नेपाली राजनीतिमा जतिबेला नेकपाको झण्डै दुई तिहाइ थियो अरू पार्टीहरूको समर्थन पनि उतै थियो ।

आफ्नो पार्टी विभाजन गरेर भए पनि उतै जान खुट्टा उचाल्ने गरेका थुप्रै उदाहरण थिए । फेरि केही समयपछि नै कांग्रेस नेतृत्वको सरकारको समर्थनमा पनि उही र उस्तै हैसियत पुग्यो । सत्ता गठबन्धन झण्डै दुई तिहाइको नजिक पुग्दै गर्दा समर्थन र प्रवेश गर्नेको लहरमा कत्ति पनि कमि आएन ।

अनौठो त के भएको छ भने कुनैबेला ४० सूत्रीय माग पेश गरे, जनयुद्ध सुरु गर्ने प्रचण्ड, बाबुराम, उपेन्द्रसहित माधव नेपाल र चित्रबहादुर समेत भिन्न भिन्न पार्टीबाट भए पनि यही गठबन्धनमा छन् ।

उनै माओवादीको माग अस्वीकार गर्ने, तिनलाई आतंककारी घोषणा गर्ने र टाउकोको मोल तोक्ने देउवा र देउवाको उक्त कदमका समर्थक माधव नेपाल र जनयुद्धलाई फाँसीवादी हर्कत भन्ने चित्रबहादुर गठबन्धनको नेता छन् । यी तथ्यहरू धेरै पुराना हैनन् ।

यिनै पुस्ताका यिनै नेताहरूका बीचमा भए÷गरेका र घटेका सत्य घटना हुन् । तर राजनीतिमा कोही स्थायी शत्रु हुँदैन भन्ने मान्यताले यहाँ राम्ररी काम गरेको छ । त्यसैले आजको यथार्थ के हो भने सत्ता वरिपरि घुम्ने गणेश प्रवृत्ति नेपाली राजनीतिको मूल प्रवृत्ति नै हो । त्यसैले यो गठबन्धन कायम छ । गठबन्धन कायम गर्नुको मूल ध्येय भनेको चुनाव जित्नु हो ।

विपक्षी गठबन्धनः विप्लव, राउत-कमल फ्याक्टर

गणतन्त्रको आन्दोलनताका बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर राजतन्त्रको समाप्ति सम्भव छैन भन्ने सन्देशवाहक केपी ओलीको नेतृत्वमा अर्को गठबन्धन छ । जसलाई सत्ताविरोधी गठबन्धनका रूपमा पनि चिनिन्छ ।

यो गठबन्धनमा शान्ति सम्झौताका माध्यमबाट नयाँ संविधान निर्माण गर्ने अभियानको नेतृत्व गरिरहेका प्रचण्डका विरुद्ध क्रान्ति त्यागेको, प्रतिक्रियावादी सत्ताका सामु आत्मसमर्पण गरेको र क्रान्तिप्रति गद्दारी गरेको आरोपसहित लालगद्दार भन्दै भिन्न पार्टी बनाएका विप्लव र बादल समेत सामेल छन् । विप्लव–बादल प्रचण्डविरोधी क्याम्पमा भन्ने फ्याक्टरले पनि नेपाली राजनीतिमा अर्को तरंग ल्याएको थियो ।

त्यसो त, विप्लव–बादल फ्याक्टरको परिणाम २०६४ को चुनावको पहिलो माओवादी २०७० मा तेस्रो बन्न बाध्य भएको थियो । तर अहिले त्यसैमध्येका बादल केपी नेतृत्वको एमाले उपाध्यक्ष छन् । विप्लव उनै केपीवाला एमालेसँगको साँठगाँठमा नै बादलसँग हस्ताक्षर गरेको तीनबुँदे सहमतिसहित यसै निर्वाचनको रागमा पुनर्मिलन हुँदैछन् ।

२०७० को निर्वाचनका बखत रत्नपार्कमा मतपेटिकामाथि बञ्चरो प्रहार गरेर सक्रिय बहिष्कारको आरम्भ गरेका बादल त्यो निर्वाचनको कार्यकाल नसकिंदै त्यही पार्टीको नेता बन्न पुगेका मात्रै हैन, उनै बादल अहिले राष्ट्रघाती महाकाली सन्धिका सूत्रधार केपी ओली राजनेता भन्दै चुनाव जित्ने लोभमा उनैसँग लहसिएका छन् ।

केपी ओलीलाई भारतीय दलाल र राष्ट्रघातीको आरोप लगाएर नथाक्ने विप्लव पनि स्वतन्त्र उम्मेदवारीका माध्यमबाट दुनो उतै सोझ्याउँदैछन् । मधेशका मसिहा बन्ने ध्यानमा रहेका र केपी मधेश विरोधी भन्ने कुरामा द्विविधा नपालेरै आफ्नो भिन्न पहिचान बनाउने संकेत गरेका सिके राउत पनि केपीकै फेर समातेर वैतरणी तर्ने ध्याउन्नमा छन् ।

ज्ञानेन्द्रसँगको टसलका कारण राप्रपाको चुनाव हारेका कमल थापाले सूर्य चिन्ह अंगीकार गरिसकेका छन् । यसरी सत्ता विरोधी गठबन्धनमा राजा बचाउन र हटाउन ज्यान दिन तयारदेखि देश टुक्र्याएर मधेश बनाउनेसम्मका रंगीचंगी रूप देख्न सकिन्छ । आखिर यो सबै चुनाव जित्न र सत्ता स्वाद चाख्न भन्ने कुरामा कुनै द्विविधा देखिन्न ।

परस्पर विरोधीहरू सामेल गठबन्धन फ्याक्टर

सत्ता होस् वा विपक्षी गठबन्धन कसैको पनि राजनैतिक वैचारिक समानताको आधार देखिंदैन । विचार र सिद्धान्तका आधारमा यी गठबन्धन बनेका हुन् भन्ने पनि उनीहरू दुवैको दाबी छैन । तर दुवैको अघोषित दाबा भने सिद्धान्त, विचार, मूल्य–मान्यता दोस्रो हो ।

जसरी पनि सत्ता प्राप्त गर्नुछ । प्राप्त गरेको सत्ता जोगाउनुछ । जोगिएको सत्ता लम्ब्याउनुछ । राजनीति सेवाको माध्यम नभएर कमाइ गर्ने थलो बन्यो । कमाउने नै हो भने विचार, सिद्धान्त र निष्ठाको के सवाल भो र !

सत्ता पहिलो हो भन्ने कुरामा भने समानता भेटिन्छ । यसका अतिरिक्त संविधानको रक्षा गर्ने कि संविधान भत्काउने भन्ने पनि आधार भेटिन्छ । देउवा नेतृत्वमा संविधानको रक्षाका स्वरहरू भेटिन्छन् भने केपी नेतृत्वको गठबन्धनमा नयाँ संविधानप्रतिको अनुदार भाव नै बढी देखिन्छ ।

एकात्मकता, हिन्दू राज्य र २०४७ सालकै संविधानप्रतिको मोह यो गठबन्धनको आदर्श ठानिन्छ । देउवा–प्रचण्ड नेतृत्वको गठबन्धन भने संविधानको रक्षामा जोड गरेको पाइन्छ ।

अनौठो के भयो भने नयाँ संविधानको मुख्य तत्व भनेको संघीयता हो । संघीयताका कट्टर विरोधी राजमो भने यही गठबन्धनमा सामेल छ । संविधानसभा, संघीयता र नयाँ संविधानका विरोधी केपी कमल थापाहरूसँग छन् र उनीसँगै जनयुद्धमा सामेल भएका केही व्यक्ति पनि सामेल छन् ।

स्पष्ट देखिने र छुट्टिने पहिचान दुवै गठबन्धनले बनाउन सकेको पाइँदैन । दुवै गठबन्धनको ध्येय विचार, सिद्धान्त, मूल्य–मान्यता र नैतिकताको कसीमा खरो उत्रन सकेको पाइँदैन । नेतृत्व तहमा सहज लागे पनि जनताका तहमा गठबन्धन त्यति सहज देखिन्न ।

सत्ता प्राप्तिको ध्येय गठबन्धनको मूल आधार

कुनै बेला संघीयता र गणतन्त्रका पक्ष–विपक्षमा जनमत विभाजित भयो । कुनै बेला कम्युनिस्ट र गैरकम्युनिस्टका बीचमा पनि मुलुक विभाजित भयो । विगत ७० वर्षभन्दा लामो संघर्ष त्याग, बलिदान स्पष्ट पक्षधरताका आधारमा नै निर्माण भएको पाइन्छ ।

त्यही आधार नै आजको नेपाली राजनीतिको मूलधार पनि हो । यति हुँदाहुँदै पनि बहुदलपछिका घटनाक्रम नियाल्ने हो भने पञ्च फ्याक्टर, कहिले कांग्रेससँग त कहिले कम्युनिस्टसँग आफ्नो निहित स्वार्थका निम्ति सहकार्य गरेको भेटिन्छ ।

पूर्वपञ्चहरूमा पनि दुईधार बन्दा एक धार कांग्रेससँग मिल्दा अर्को कम्युनिस्टसँग मिलेको भेटिन्छ । त्यही विरासत गणतन्त्र प्राप्ति पश्चात् पनि भिन्न रूपमा तर निरन्तरतामा छ । यो सबै सत्ता र शक्ति आर्जनको ध्येय बाहेक अरू केही भेटिन्न । जसरी पनि सत्ता प्राप्त गर्नुछ । प्राप्त गरेको सत्ता जोगाउनुछ ।

जोगिएको सत्ता लम्ब्याउनुछ । यो नै राजनीतिको मूल आधार बनाउन थालिएको छ । राजनीति सेवाको माध्यम रहेन । यो त कमाइ गर्ने थलो बन्यो । यदि कमाउने नै हो भने विचार, सिद्धान्त र निष्ठाको के सवाल भो र ? नाफा र कमाइ कता हुन्छ उतै लाग्ने कुरा प्रष्ट भइसक्यो । आजको राजनीति र गठबन्धन संस्कृतिको सन्देश यही हो ।

राजनीतिमा ग्रहण लागेकै हो त ?

आशावादिता, जीवन जिउने आधार हो भनिन्छ । त्यसो हो भने प्रश्न उठ्छ, के निराशै निराशा मात्रै नेपाली राजनीतिको सन्देश हो त ? असल र मूल्यमान्यताको राजनीतिमा ग्रहण लागेकै हो त ? के अब सकारात्मक ऊर्जा सकिएको हो त ? अब के राजनीतिबाट आशा मरेकै हो त ?

यी र यस्ता प्रश्नहरूको रचनात्मक जवाफ नेपाली राजनीतिले र नेतृत्वले दिन ढिला भइसकेको छ । सत्ता स्वार्थकेन्द्रित राजनीतिका दर्जनौं उदाहरण प्रस्तुत गर्न सकिन्छ । त्यो आजको यथार्थ पनि हो । तर त्यो नै सबैथोक हो त ? अर्को यक्ष प्रश्न तेर्सिन्छ ।

नेपाली राजनीतिको विगत गौरवशाली पनि छ । त्याग समर्पणको पनि छ । व्यक्तिगत सम्पत्ति त्यागेर सामूहिकताको वकालत गर्ने मात्रै हैन, कम्युन खडा गरेर साम्यवादी अभ्यास गर्ने प्रयत्नवाला पुस्ता पनि यही सेरोफेरोमा छ ।

यसरी हेर्दा सामुन्नेमा एकातर्फ राजनीतिका आदर्शका कीर्तिमान खडा छन् भने अर्कोतर्फ स्वार्थका पर्खाल पनि छन् । राजनीतिक आदर्शले कान ढाल्दा स्वार्थका यमराजहरूको एकछत्र राज चल्ने निश्चित छ । त्यसैले आशावादिता र राजनीतिका मूल्यमान्यता र आदर्शहरूले कहिल्यै मूर्झाउने हैन । कान ढाल्ने पनि हैन । बिसाइ मार्ने पनि हैन ।

आदर्श स्थापनाका लागि दत्तचित्त भएर लाग्नु त छँदैछ हरदम सत्ता, लोभ र प्राप्तिलाई आदर्श बनाउने स्वार्थका सपनामा चिसो पानी खन्याउन पनि त्यतिकै जरूरी छ भन्ने नै आजको सही निष्कर्ष हुनेछ ।

यसरी मात्रै अघिल्लो पुस्ताले दुःखले आर्जेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता संस्थागत हुनेछ । अन्यथा राजनैतिक संघर्षका उपलब्धिहरू धरासायी भए भने फेरि अघिल्लो पुस्ताले झैं नयाँ पुस्ताले पनि संघर्ष गर्नुपर्ने हुन सक्छ ।

त्यसैले नयाँ पुस्ताका निम्ति राजनैतिक रूपमा प्राप्त उपलब्धि जोगाउने कर्तव्य हो भने थप उपलब्धि हासिल गर्ने अधिकार हो भन्ने मान्यता स्थापित गर्न जरूरी छ ।

लेखकको बारेमा
खिमलाल देवकोटा

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?