+
+

निर्वाचनको मुखमा बारामा कांग्रेसभित्र किचलो

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख ५ गते १३:४७

५ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसको बारा जिल्ला समितिमा किचलो बढेको छ ।

पार्टीका उपसभापतिद्वय मनोज भट्ट, अमिरीलाल राउत पाल, सचिवद्वय भैयाराम प्रसाद यादव, राजेशकुमार रौनियार, सहसचिवद्वय प्रमोद प्रसाद यादव र कृष्णदेव प्रसाद जैसवारले सभापति राजेश राय यादवको कामकारवाहीप्रति असहमति राख्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

उनीहरुले सभापति यादवले एकलौटी ढंगले पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । पदाधिकारीहरुले १४ औं महाधिवेशन पछि बारामा गुट उपगुटलाई समाप्त पार्ने भनिए पनि जिल्ला सभापति यादव एकलौटी ढंगले अघि बढेको आरोप लगाएका छन् ।

अधिवेशन पछि जिल्ला कार्य समितिको एक पटक पनि बैठक नबसेको, स्थानीय तहको निर्वाचन लक्षित गतिविधिमा पनि सभापतिले आफू र आफ्नो पक्षका सदस्यहरुलाई मात्रै परिचालन गरेको, पत्राचार पनि सचिवलाई जिम्मा नदिई आफैंले गर्ने गरेको गुनासो उनीहरुले गरेका छन् ।

असन्तुष्ट पदाधिकारीको मात्रै बैठकले स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा छुट्टै प्रतिनिधि खटाउने समेत चेतावनी दिएका छन् । जिल्ला सभापतिले पार्टीको विधानलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढेपछि विरोध जनाउन बाध्य भएको सचिव भैयाराम यादवले बताए ।

‘जिल्ला कार्य समितिको बैठक एक पटक पनि बसेको छैन, स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा प्रतिनिधि खटाइसकेका छन् । एकलौटी ढंगले पार्टी चलाउन खोजेका छन्’ उनले भने, ‘मिलेर जाने छाँटकाँट देखिएन । सभापतिको गलत कदमको विरोध नगरी बस्न सकिएन ।’

सभापतिको व्यवहारका कारण स्थानीय चुनावमा पार्टीको प्रचार प्रसार नै प्रभावित हुने उनी बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा पुरै कमिटि परिचालन गर्न पाउँदा नतिजा राम्रो आउँथ्यो’, उनले भने, ‘राम्रो भयो भने उहाँको पनि राम्रो हुने हो, नेतृत्व क्षमता राम्रो देखिरहेको छैन, जिम्मेवारी बाँडफाँट गरेर अघि नबढ्ने हो भने पदाधिकारी हुनुको के अर्थ ?’

सभापति राय यादवले भने आफूले केन्द्रले पठाएको निर्देशन अनुसार आफूले काम गरिरहेको बताएका छन् । सत्ता गठबन्धनको बैठकमा सचिव राजेशकुमार रौनियारलाई समेत बोलाएको उनले बताए ।

‘कार्य समिति बैठक नै बसाएर निर्णय गराउनुपर्ने विषय त्यस्तो केही आएको छैन’, उनले भने ‘पाँच दलीय सत्ता गठबन्धनको संयोजनको जिम्मा कांग्रेसलाई दिइएको छ । त्यसमा मैले रौनियारजीलाई पनि बोलाएकै हुँ ।’

यस्तो छ विवादको जड

नेपाली कांग्रेसको बारा जिल्ला समितिमा १४ औं महाधिवेशनदेखि नै विवाद कायम छ । अधिवेशनका बेला सक्रिय सदस्यताको विषयलाई लिएर विवाद भएको थियो ।

पार्टी सभापति देउवा पक्षबाट कलैया उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी तथा कोइराला पक्षबाट रामानन्द यादव प्यानल सहित चुनावी मैदानमा थिए ।

सहमति नजुटेपछि फागुन २१ गते निर्वाचन तोकिएको थियो । २१ गतेको निर्वाचनमा नगर प्रमुख यादव पक्षका कार्यकर्ताहरुले धाँधली गरेर ‘फर्जी’ मत खसालेको भन्दै विरोध भएपछि १५ सय मत जलाएर पुन मतदान गरिएको थियो । २५ फागुनमा गरिएको दोस्रो पटकको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेनन् ।

तेस्रो भई निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि रामनानन्द यादव पक्षले राजेश राय यादवलाई समर्थन गर्ने भन्दै लिखित सहमति गरेको थियो । दोस्रो चरणको मतदान फागुन २७ गते भयो । सभापतिमा राजेश राय यादव विजयी भए । ६ जना पदाधिकारी भने बुढाथोकी प्यानलका निर्वाचित भए ।

जिल्ला सदस्यहरुको मतगणनामा दुई पक्षबीच विवाद भएको थियो । यादव पक्षले फर्जी मत हालेको बुढाथोकी पक्षले आरोप लगाएको छ ।

त्यसपछि बुढाथोकी पक्षले धाँधली भयो भनेर विरोध जनाएका थिए । उनीहरुले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । ८० सदस्यीय कार्यसमितिमा एउटा पक्षबाट ४० र अर्को पक्षबाट ४० जना सदस्य रहनेगरी समस्या समाधान गरिएको थियो ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?