+
+

कर्णालीका हिमाली जिल्लामा पार्टीभन्दा व्यक्ति बलिया

सदरमुकाममा चलहपल, गाउँमा सुनसान

यज्ञ खत्री यज्ञ खत्री
२०७९ वैशाख ६ गते ७:१०

६ वैशाख, सुर्खेत । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा चुनावी माहोल तातिएको छ । तर उच्च हिमाली भेगहरूमा भने चुनावले छोएको छैन । उपल्लो डोल्पा, हुम्लाको लिमी क्षेत्र र मुगुको मुगुम कार्मारोङ क्षेत्रमा चुनावको चलहपहल शून्य जस्तै छ ।

यी क्षेत्रमा लामा समुदायको बाहुल्य छ । भौगोलिक विकटता र लामा समुदायका अगुवाको प्रभावकै कारण उच्च हिमाली भेगमा चुनावले नछोएको हो । लामा समुदायले आफ्नै नेतृत्वको निर्देशन मान्ने तर राजनीतिसँग खासै वास्ता नगर्ने भएकाले पनि हिमाली भेगमा दलहरूले चुनावी गतिविधि गरेका छैनन् ।

हुम्लाको नाम्खा गाउँपालिका-६ लिमीवासीले यसअघि नै जनप्रतिनिधि छनोट गरिसकेका छन् । सोही कारण त्यहाँ चुनावी चलहपल छैन । हुम्लाको सदरमुकाम क्षेत्रमा भने राजनीतिक चहलपहल बढेको छ । आइतबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुन हुम्ला पुगेका थिए ।

तर हुम्लामा दलभन्दा पनि व्यक्ति रोज्ने परिपाटी छ । जिल्लामा पार्टीभन्दा व्यक्तिको प्रभाव बलियो छ भन्ने प्रमाण हो, २०७४ सालको निर्वाचन । व्यक्ति रोजेकै कारण ०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा,  वाम गठबन्धनबाट एमालेका दल रावल र नेपाली कांग्रेसबाट जीवनबहादुर शाहीले चुनाव जितेका थिए ।

सात स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिका प्रमुख, एक उपप्रमुख र १८ वडाध्यक्ष जितेको थियो । कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख र ११ वडाध्यक्ष जितेको थियो । एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्ष जितको एमाले हुम्लामा तेस्रो बनेको थियो ।

तर प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले व्यक्ति रोज्दा स्वतन्त्रबाट छक्कबहादुर लामाले वाम गठबन्धनका उम्मेदवार छिमिदोर्जे लामालाई हराएका थिए । लामाले ८४९१ मत ल्याएर विजयी हुँदा गठबन्धका उम्मेदवार छिमिदोर्जेले २८५६ मत मात्रै पाएका थिए ।

दुई प्रदेशसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट एमालेका रावल र कांग्रेसबाट जीवनबहादुर शाहीले चुनाव जितेका थिए । स्थानीय तहमा बलियो देखिए पनि माओवादीका उम्मेदवार (प्रतिनिधि सभामा छिमिदोर्जे र प्रदेश सभामा विजय भण्डारी) ले चुनाव जित्न सकेनन् ।

हुम्लामा पूर्वराज्यमन्त्री समेत रहेका छक्कबहादुर लामाको बढी प्रभाव देखिन्छ । उनी हुम्लाका पहिलो कम्युनिस्ट विचारधारा बोकेका नेता हुन् । वाम बुद्धिजीवी नेताका रुपमा राम्रो छवि भएका लामा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् । अबको स्थानीय तहको निर्वाचन पनि उनकै वरिपरि हुने स्थानीय नेताहरू बताउँछन् ।

जिल्लामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेको शाहीको प्रभाव पनि उत्तिकै छ । एमालेले आफ्नो पकड कायम गर्ने गरी गतिविधि थालेको छ । हुम्लामा एमाले पोलिटब्यूरो सदस्य गोरख बोगटीले नेतृत्व गर्दै आएका छन् । उनले आइतबार मात्रै एमाले अध्यक्ष ओलीलाई चुनावी कार्यक्रममा सहभागी गराएका थिए ।

‘जता धनबहादुर उतै डोल्पाली’

डोल्पा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पकड क्षेत्र मानिन्छ । समाजवादी र माओवादीको तुलनामा डोल्पामा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा कमजोर छ । यद्यपि अघिल्लो निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । ०७४ को निर्वाचमा जिल्लाका ८ स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख, ३ उपप्रमुख र ४३ वडाध्यक्ष जितेर एमाले पहिलो दल बनेको थियो ।

दुई पालिकाको प्रमुख, १ उपप्रमुख र ११ वडाध्यक्षसहित माओवादी केन्द्रले दोस्रो र ५ वडाध्यक्ष जितेको कांग्रेसले तेस्रोमा चित्त बुझाएको थियो । स्वतन्त्रबाट २ पालिकाको प्रमुख र २ उपप्रमुखमा उम्मेदवार विजयी हुँदा त्यहाँ कांग्रेसले कुनै पनि पालिकाको नेतृत्व हात पार्न सकेन । अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ पालिकाको उप्रमुखसहित २० जनप्रतिनिधि जितेको थियो ।

यद्यपि डोल्पाको राजनीतिक माहोल बदलिएको छ । जिल्लामा हाल नेकपा एकीकृत समाजवादीको बाहुल्य देखिन्छ । डोल्पाको राजनीति नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनबहादुर बुढाकै वरपर चल्छ । त्यसैले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नन्दसिंह बुढा भन्छन्, ‘जता धनबहादुर उतै डोल्पाली जान्छन् । डोल्पालीले पार्टी चिन्दैन व्यक्ति चिन्छ ।’

धनबहादुर एमालेबाट समाजवादीमा लागेपछि जिल्लामा एमाले कमजोर बनेको छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा धनबहादुर खसेको कुल १५ हजार ८१२ मतमध्ये ११ हजार ७६१ मत ल्याएर विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि भारी मत ल्याएर विजयी भएका बुढाले आउँदो स्थानीय निर्वाचनमा जसलाई उम्मेदवार बनाए उसैले चुनाव जित्ने नेताहरू बताउँछन् ।

सदरमुकाम केन्द्रित चलहपल

हिमाली क्षेत्रमै पर्ने मुगुमा पनि सदरमुकाम केन्द्रित चुनावी चलहपल बढेको छ । सत्ता गठबन्धन दलहरुले उम्मेदवार टुङ्गो लगाउन नसक्दा चुनावी गतिविधि सदरमुकाम केन्द्रित छ । अघिल्लो स्थानीय निर्वाचनको मत परिणमले मुगुको राजनीति पनि व्यक्ति केन्द्रित जनाउँछ ।

चार स्थानीय तह रहेको मुगुमा ०७४ को निर्वाचनमा मिश्रित नजिता आएको थियो । कांग्रेसले तीन पालिकाको प्रमुख र १६ वडाध्यक्ष जित्दा एमालेले एक पालिकाको प्रमुख, चार उपप्रमुख र २१ वडाध्यक्ष जितेको थियो । माओवादीले भने सात वटा वडाध्यक्षमै चित्त बुझाएको थियो ।

जनप्रतिधिका लागि मनोनयन दर्ता गर्ने समय आउन हप्तादिन बाँकी रहदा उपल्लो क्षेत्रमा राजनीतिक गतिविधि भएका छैनन् । ‘सदरमुकाममा चुनावी चलहलप बढेको छ तर हिमाली भेगतिर चुनावको प्रभाव छैन’ मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत भन्छन् ।

उसो त हिमाली जिल्लाहरुमा दलहरूको चुनावी गतिविधिले खासै अर्थ राख्दैन । लामा समुदायको बाहुल्य रहेका क्षेत्रमा पार्टीभन्दा व्यक्ति बलिया देखिन्छन् । लामा समुदायबाट राजनीतिक नेतृत्वमा आएका व्यक्तिकै निर्देशनमा मतदाता चल्ने भएकाले पार्टीका गतिविधिले महत्व नपाउने मध्यपश्चिम विश्वविद्यालयका उपप्राधापक एवम् राजनीतिक विश्लेषक कमलेश डिसी बताउँछन् ।

‘लामा समुदायमा दलभन्दा पनि व्यक्तिको प्रभाव पर्छ । व्यक्तिवादी सोच, आर्थिक चलखेल र सामाजिक परम्पराकै कारण पार्टी भन्दा व्यक्ति बलिया बनेको देखिन्छ’ डिसी भन्छन् ।

न्यून मतदाता र म्यादी

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबैभन्दा बढी दुई लाख ३८ हजार ४५७ जना मतदाता हुँदा सबैभन्दा कम हिमाली जिल्ला डोल्पामा २२ हजार ४४० जना मात्रै मतदाता छन् । निर्वाचन आयोगको अन्तिम नामावली अनुसार मुगुका २४ हजार ८९ जना छन् भने हुम्लामा ३२ हजार ५८१ जना मतदाता रहेका छन् ।

हिमाली जिल्लामा अन्य जिल्लाको तुलनामाा म्यादी प्रहरी पनि निकै न्यून भर्ती गरिएको छ । डोल्पामा ५६८ जना, मुगुमा ४६९ र हुम्लामा ४१६ जना माग गरेको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?