+
+

‘व्यापारी पैसा दिन तयार छन्, तर लिन्नँ’

टीकाराम खड्का, मेयरका आकांक्षी, तुलसीपुर टीकाराम खड्का, मेयरका आकांक्षी, तुलसीपुर
२०७९ वैशाख ६ गते १०:३६

६ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेबाट करिब आधा दर्जन मेयरका आकांक्षी छन् । स्थानीय कमिटीमा आकांक्षीबीच सहमति जुट्न नसकेपछि सबैको नाम पार्टीको माथिल्लो कमिटीमा सिफारिस भएको छ ।

सिफारिस भएकामध्ये एक हुन्, टीकाराम खड्का । पार्टीमा लामो समयदेखि योगदान रहेको, सधैं पार्टीका अरूलाई मात्रै चुनाव जिताएको र जनतामा लोकप्रिय रहेको भन्दै खड्का आफूले मेयरको टिकट पाउनुपर्ने दाबी गर्छन् । भन्छन्, ‘कम्युनिस्ट पार्टीभित्र ३८/३९ वर्षको मेरो निरन्तरको अनुभव, निःशुल्क र स्वयंसेवाका हिसाबमा लगानी छ । म त्यसको परीक्षण गर्न चाहन्छु ।’

आफ्नो लोकप्रियताले मात्रै पाँचदलीय सत्ता गठबन्धनसँग चुनावमा जित हात पार्न सकिने उनको दाबी छ । ‘अहिलेको कठिन अवस्थामा जो कोही मान्छे नेता बन्न सक्दैन । त्यस कारण प्रतिकूलतामा नेकपा एमालेलाई स्थापित गर्नका लागि म उभिएको छु । यदि अनुकूलता हुन्थ्यो भने म अर्को मान्छेलाई बनाउँथें । विगतमा पनि बनाएको हो’, उनले अनलाइनखबरसँग भने ।

आसन्न स्थानीय निर्वाचन र तुलसीपुर उपमहानगरपालिकाका नागरिकले उठाएका समस्यामाथि केन्द्रित रहेर खड्कासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश  :

एमालेबाट तुलसीपुरमा मेयर हुने आकांक्षीको दौडधुप चलिरहेको छ । तपाईंको पनि दाबेदारी हो ?

दौडधुप नै त छैन, तर यसपटक यहाँको मेयरमा उठ्छु भनेको छु । त्यसका केही कारण छन् ।

के कारण हुन् ?

म २०४३ सालदेखि पार्टीको सक्रिय कार्यकर्ताका रूपमा काम गर्दै आएको छु । तत्कालीन नेकपा माले हुँदै अहिले एमालेसम्म आइपुग्दा २०४९ सालदेखि गएको पुससम्म पार्टीको प्रमुख भएर काम गरेको व्यक्ति हुँ । रोल्पामा दश वर्ष र त्यसपछि यहाँ दुवैतिर गरेर करिब १४ वर्ष पार्टीको नेतृत्वमा रहेर काम गरेको छु । संसदीय व्यवस्थामा राजनीति गर्दा रोल्पामा पनि मैले पार्टीको उपस्थिति देखिने गरी काम गरेको थिएँ । त्यतिबेलाका तीन जना जिल्ला सदस्यले जितेका थिए । यहाँ आउँदा पनि १० वटा पालिकामध्ये ६ वटामा हामीले प्रमुख जितेका छौं । यहाँबाट संघीय निर्वाचनमा पनि हामीले जितेका छौं ।

यति धेरै निर्वाचन गरिरहँदा र कम्युनिस्ट पार्टीको संगठनात्मक जीवनमा रहँदा म कहिल्यै जनप्रतिनिधिका हैसियतमा रहन खोजिनँ । मैले पार्टीको नेतृत्व गरेर पहिलो बनाउँछु भन्ने चाहना रोल्पामा राखें । यहाँ आएर अवसर पाउँदा पनि मैले त्यही कुरा राखेको छु ।

पार्टीको सर्वस्वीकार्य भएको हुनाले यहाँको टिकट पाउँछु भन्ने विश्वास हो ?

अहिले मेरा लागि चुनावमा जाँदा अनुकूल छ । पार्टी पंक्तिभित्र टीकाराम खड्का अहिलेसम्म कुनै पदमा जानुभएन, त्यसैले अहिले मेयरको क्यान्डिडेट बनाउनुपर्छ भन्ने दबाव छ ।

यसअघिको पाँच वर्ष तपाईंकै पार्टीको नेतृत्वमा उपमहानगर रहृयो । तपाईंसँग त्यसभन्दा थप तुलसीपुरमा के गर्छु भन्ने योजना छन् ?

एकातिर नेकपा एमाले र अर्कोतिर पाँच दल भएको प्रतिकूल अवस्थामा म निर्वाचनमा उभिंदैछु । म जहिले पनि प्रतिकूलताको बीचमा उभिएर कम्युनिस्ट पार्टी निर्माण गरेको व्यक्ति हुँ ।

मलाई अहिले रहर जाग्यो, हिजो किन जागेन । किनभने, पहिले मैले अरू साथीलाई नेता बनाएँ । अहिलेको कठिन अवस्थामा जो कोही मान्छे नेता बन्न सक्दैन । प्रतिकूलतामा एमालेलाई स्थापित गर्नका लागि म उभिएको छु । यदि अनुकूलता हुन्थ्यो भने म अर्को मान्छेलाई बनाउँथें । विगतमा पनि बनाएको हो ।

स्थानीय निर्वाचनमा मतदाताले पार्टीभन्दा पनि व्यक्ति हेर्ने भएकाले उठ्छु भन्न खोज्नुभएको हो ?

हो, कम्युनिस्ट पार्टीभित्र ३८/३९ वर्षको मेरो निरन्तर, निःशुल्क, स्वयंसेवाका हिसाबमा लगानी छ । म त्यसको परीक्षण गर्न चाहन्छु ।

पार्टी र तपाईंको व्यक्तिगत भोटमा कति अन्तर छ ?

समग्रमा हेर्ने हो भने जित्ने भोट हामीसँग छ । गणितीय हिसाबमा नजाऔं, जित्ने आधारका साथ म जान चाहन्छु । तर मेरो दुईवटा चिजमा अठोट छ ।

एउटा, हाम्रा कम्युनिस्ट पार्टी र अन्य पूँजीवादी राजनीतिक पार्टीहरूबीच के अन्तर छ भनेर हेर्दा हामीले कतै ठीक ढंगले नेतृत्व गर्न सकेको होइन कि भन्ने लागेको छ । स्थानीय तहहरूलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भन्ने आँटका साथ म चुनावमा जान्छु ।

अर्को, म आर्थिक रूपमा विपन्न परिवारको मान्छे हुँ । जनताको बीचमा जाँदा मेरो निष्ठा र प्रतिज्ञा मात्रै हो । मलाई जनताले पनि यही दृष्टिकोणले हेर्छन् भन्ने विश्वास छ । जितेर आएँ भने पनि भ्रष्टाचारलाई निर्मूल गर्नु नै मेरो प्राथमिकतामा रहनेछ ।

हाम्रा आवश्यकता परिपूर्ति गर्ने पहिलो कुरा हो । विकासका काम हामी जनतासँग सहकार्य गर्छौर्ं । त्यसका लागि सबभन्दा पहिले दलाल पूँजीवादका विरुद्ध लड्ने कुरा हो । अर्को, सिस्टमबाट ठेक्कापट्टामा हुने अनियमितता नियन्त्रण गर्ने कुरा हो । आज मलाई धेरै ठेकेदार र व्यापारी पैसा दिन तयार छन् । तर, म लिन्नँ ।

जनता त नेता जति सबै बिके भनेर गुनासो गर्छन् । यस्ता आश्वासन नगरभित्रका सिमेन्ट उद्योगबाट पनि आएका छन् कि ?

म निर्वाचनमा जानुअघि कैयन् व्यापारी, ठेकेदार र मेरा शुभचिन्तकहरूले चुनावका निम्ति चाहिने पैसा हामी दिन्छौं, तपाईं उभिइदिनुपर्‍यो भन्नुभएको छ । म त्यसलाई सीधा मात्रै बुझ्दिनँ । मलाई घुमाउरो पाराले चंगुलमा फस्दैछु भन्ने लागेको छ । त्यो भएर मैले एक पैसा पनि कसैबाट लिएको छैन ।

तपाईंलाई सिमेन्ट उद्योगबाट पीडित भएका यहाँका जनताको कुरा सुनाउन खोजेका हौं । उनीहरू यहाँका सबै नेतालाई सिमेन्ट उद्योगले किनेर राखेका छन्, हाम्रा दुःख सुन्ने कोही भएनन् भन्दैथिए !

सिमेन्ट उद्योगको फेदमा मेरो घर छ । कुनै पनि उद्योग भएपछि प्रदूषण कहाँ हुँदैन र ? उद्योग भएका ठाउँमा प्रदूषण नै नहुने भन्ने त हामी कल्पना पनि गर्न सक्दैनौं ।

उद्योगहरू आधुनिक प्रविधिबाट प्रदूषणलाई न्यूनीकरण गर्ने कुरामा लागेकै छन् । हिजोभन्दा आज धेरै सचेत छन् । भोलिका दिनमा पनि पर्यावरणमा जुन खालको असर परिरहेको छ त्यसमा सम्झौता हुँदैन, आज पनि गरेका छैनौं ।

म त्यहींको नेता हुँ तर, मैले एक रुपैयाँ लिनेदिने गरेको छैन । चन्दा माग्न गएको छैन । बरु जनता उठाएर घेर्न गयौं होला । यस कारण उद्योगले दिने कुराले निर्वाचनको निर्वाह हुँदैन । पहिलो जनता र कार्यकर्ता नै हुन् ।

पीडितहरू उद्योगलाई बस्तीबाट अलिकति पर सारेको भए हुन्थ्यो भन्दा रहेछन् । तपाईंलाई भनेका छैनन् ?

जग्गा पाएपछि सार्ने हो । सारेर पनि कहाँ लिनु छ र ? जंगलमा सार्नु भएन । म त्यही ठाउँको नेता हुँ ।

तपाईं आफैंलाई चाहिं उद्योगबाट हुने प्रदूषणले असर गरेको छैन ?

वातावरणलाई नै प्रतिकूलता हुँदा मलाई मात्रै छोएको छैन भनेर भन्न त सकिंदैन । सबैलाई पर्दा मलाई पनि निश्चय परेको छ । तर, हिजो जसले सिमेन्ट उद्योग बोकेर ल्याएर गाउँमा राख्नुभयो, उहाँहरू आज यो विषय उठाउँदै हुनुहुन्छ ।

सामान्य उद्योग बस्तीबाट कति टाढा राख्ने भन्ने सरकारी मापदण्ड नै छ । सिमेन्ट उद्योग कहाँ राख्ने भनेर नभएको त हैन होला है ?

छ नि ! एक किलोमिटरभित्र राख्नै पाइँदैन । समुदायको बीचमा झनै राख्न पाइँदैन । तर राखे ।

यति थाहा पाएर पनि किन निरीह ?

हामीले कति कार्यक्रम गर्‍यौं, तपाईंहरूले थाहा नै पाउनुभएन । हड्ताल गरेनौं कि, जुलुस निकालेनौं कि, दबाव सिर्जना गरेनौं कि ! नगरेको भए आज त्यो बस्ती नै बस्नलायक रहँदैनथ्यो ।

हामीले यसलाई नकारात्मक दृष्टिकोणले मात्रै नहेरौं । हामी आज सिमेन्टमा आत्मनिर्भर बनेका छौं । यो नभएको भए आज हामी भारतको सिमेन्टमा निर्भर हुनुपर्थ्यो ।

उद्योग बन्द नै गर्ने भन्ने होइन तर, व्यवस्थित गर्ने सन्दर्भमा के गर्नुहुन्छ ?

राष्ट्रिय उद्योग नै सञ्चालन गर्न नदिने भन्ने कुनै सामाजिक नीति नै होइन । बाहृय पूँजी र प्रविधिलाई भित्र्याउने हाम्रो प्रतिबद्धता नै छ । त्यति मात्रै नभएर समाजको विकासका लागि कुनै पनि उद्योगको आवश्यकता पर्छ । देशलाई औद्योगीकरण गरिएन भने कसरी धनी भइन्छ ?

मानवीय स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ला नि ?

मानवीय स्वास्थ्यको ख्याल गर्ने भनेको उद्योग बन्द गरेर हुँदैन । सामाजिक मापदण्डभित्र रहेर निर्माण गर्ने, प्रदूषण नियन्त्रण गर्नेतिर सोच्नुपर्छ । नियमन र उद्योग सञ्चालन पनि गर्ने दुईवटा विधिबाट गइएन भने सधैं मागेर खाने भइन्छ । हामी सधैं उपभोक्ता मात्रै भइन्छ । हामी आज छौं भने सिमेन्ट र अण्डामा नै आत्मनिर्भर छौं । यी त हाम्रा उत्पादनका वस्तु हुन् । हाम्रा जडीबुटीलगायत उत्पादन अन्तर्राष्ट्रिय बजारमा जानसक्दा मात्र हामी धनी हुने हो । नभए त हामी मलेसिया र कतार जाने लेबर त हो नि ! त्यसले देश धान्दैन ।

यो पनि पढ्नुस्- 

बस्तीसँगै सिमेन्ट उद्योग : निरीह जनता, उद्योगीको गोजीमा ‘नेता’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?