+
+
अर्थतन्त्रबारे उद्योगी :

अर्थतन्त्र सुधारोन्मुख रहेको परिसंघको दावी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ११:१६

७ वैशाख, काठमाडौं ।  मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल उद्योग परिसंघले अर्थतन्त्र बारेको नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नभएको  बताएको छ । राजधानीको एक होटलमा अयोजित पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले मुलुकको अर्थतन्त्रबाहिर हल्ला गरिएजस्तो संकटपूर्ण अवस्थामा नरहेको बताएका हुन् ।

‘मुलुकको अर्थतन्त्र संकटको अवस्थामा छैन, निरास हुनुपर्ने अवस्था छैन तर चनाखो भने हुनुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘सबै कुरा ठीक छ भन्न खोजेको होइन तर अवस्था बाहिर हल्ला गरिएको जस्तो होइन ।’ पत्रकार सम्मेलनमा अर्थतन्त्रबारे छोटो धारणा राखेका अग्रवालले अर्थतन्त्र सुधारको बाटोमा रहेको पनि दाबी गरे ।

अर्थतन्त्रको वर्तमान अवस्थाबारे परिसंघका उपनिर्देशक अनुज अग्रवालले सरकारका कतिपय कदमले बजारलाई त्रासदिपूर्ण वातावरणमा पुर्‍याएको आरोप लगाए ।

परिसंघका पदाधिकारीसँगको भेटमा आइतबार साँझ अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रबारे श्रीलंकाको जस्तो हुने भनेर गलत हल्ला फिजाएको दाबी गरेका थिए । ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,’ मन्त्री शर्माले भनेका थिए, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’

परिसंघले नेपाल र श्रीलंकाको कूल ग्राहस्थ्य उत्पादनको आकार दोब्बरले अन्तर रहेको, कूल ग्राहस्थ उत्पादनको तुलनामा नेपालको कूल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको बताइएको छ ।

यस्तै कूल सञ्चिती ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने रहेको तर श्रीलंकाको एक महिनाको पनि वस्तु तथा आयात धान्न सक्ने अवस्थामा नरहेको र मुद्रास्फिति नेपालको ७ प्रतिशत रहेको जबकी श्रीलंकामा २५ प्रतिशत रहेको बताइएको छ ।

मंगलबार जारी प्रेस नोटमा ५ भदौमा जारी १८ किसिमका वस्तु आयातमा शतप्रतिशत मार्जिन र २ प्रकारका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था, २६ माघमा पुनः ४३ किसिमका वस्तुमा शतप्रतिशत र ४ किसिमका वस्तुमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरिनु पनि त्रास फैलाउने काम भएको उल्लेख छ।

यस्तै, गत फागुनमा केन्द्रीय बैंकले भारित जोखिम वृद्धि गरेको र चैत २१ मा बैंकका सीईओहरुलाई वस्तु आयातको बैंक ग्यारेन्टी नखोल्न दिएको मौखिक निर्देशन पनि यसैको निरन्तरता भएको परिसंघको आरोप छ । केन्द्रीय बैंकको यस्तो नीतिले रेमिट्यान्स घट्ने, विदेशी लगानीकर्ता निरुत्साहित हुने, सरकारी राजश्व घट्ने जस्ता जोखिम रहेको परिसंघको निष्कर्ष छ ।

अर्थतन्त्र सुधारतर्फ रहेको ६ दाबी   

परिसंघले चालु आर्थिक वर्षको अर्थतन्त्रका विभिन्न सूचकहरु प्रस्तुत गर्दै अर्थतन्त्र जोखिममा नरहेको दाबी गरेको छ । जसअनुसार वैदेशिक व्यापार पाँच महिनामा औसत १ खर्बको ६७ अर्ब बराबरको आयात भइरहेकोमा पछिल्लो ३ महिनामा मासिक औसत एक खर्ब ५६ अर्बको मात्रै मासिक आयात भएको परिसंघले जनाएको छ । यस्तै कुल विदेशी विनिमय सञ्चिति पहिलो ५ महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकामा पछिल्लो ३ महिनामा १.५३ प्रतिशतले मात्रै घटेको जनाइएको छ ।

यस्तै पुँजीगत खर्च सुरुवाति ५ महिनामा २८ अर्ब ४० करोड रहेकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको परिसंघको भनाइ छ । बैंकहरुको कूल निक्षेप संकलन पछिल्लो ३ महिनामा ९२ अर्बले वृद्धि भएको, मासिक विप्रेषण औसत ८० अर्ब ८० करोड पुगेको, पर्यटन आगमन बढेको र मूल्यवृद्धि ६.२५ प्रतिशतकै सीमामा रहेको परिसंघले जनाएको छ ।

परिसंघले सत्ताको गुणगान गएर आफ्नो स्वार्थअनुसारको बोली बोलेर राजनीति गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष अग्रवालले भने, ‘हामी राजनीतिक संस्था पनि होइनौं र राजनीति गर्दैनौं पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?