+
+
नवउद्यमीलाई विवेक बिन्द्राको सुझाव   :

‘उपभोक्ताको प्रतिक्रियालाई बेवास्ता नगर्नुस्, यो च्याम्पियन बन्ने खजाना हो’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १६:४५

७ वैशाख, काठमाडौं । के कुरा भए सफल भइन्छ ? व्यापार वस्तुगत पक्ष मात्र हो वा योसँग मानवीय स्वभाव पनि जोडिन्छ ? चीन र भारतजस्ता उदयीमान ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालमा व्यापार र स्टार्टअप कसरी सुरु गर्ने ? प्रविधि र संवेदनालाई अलग बनाएर गरिने व्यापार के दिगो हुन्छ ?

यी प्रश्नको उत्तर यसैसाता विश्वविख्यात भारतीय मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले दिए । आगामी शुक्रबार दुई दिने नेपाल भ्रमणमा आउनुअघि बिन्द्राले व्यापार, अध्यात्म र नेपाल भ्रमणका आयामबारे अनलाइनखबरसँग भर्चुअल संवाद गरेका छन् ।

कुराकानीको सुरुमै उनले चर्चित बेलायती फिल्ड मार्सल साम मनिकका शब्दहरु सापटी लिए,  यदि तिमीले आफूलाई मृत्युसँग डर लाग्दैन भन्छौ भने या त तिमी झुठो बोलिरहेका छौं वा त तिमी नेपाली हौ ।’

ती बेलायती अफिसरजस्तै बिन्द्राले पनि नेपाल र नेपालीको उच्च प्रशंसा गरे । ‘नेपालीहरु स्वभावैले मिहिनेती र प्रगतिशील छन् । उनीहरुको बहादुरी स्वभाव विश्वभर नै परिचित छ । म चौथो पटक नेपाल आउन लागिरहेको छु तर चौध–पन्ध्र पटक आएजस्तो लागिरहेको छ ।’

बाल्यकालदेखि नै बिन्द्राको जीवनमा आध्यात्मिक घुम्ती आएको छ । उनले जीवनको महत्वपूर्ण समय वृन्दावनमा श्रीमद्भागवत गीता पढेर बिताए । नेपाललाई दोस्रो घर बताउने उनी यहाँको आध्यात्मिक थलो घुम्न रुचाउँछन् । अघिल्लोपटक आउँदा पशुपतिनाथ र बौद्धस्तुपा घुमे । ‘मलाई नमोबुद्ध पनि जान मन छ जहाँ भगवान गौतम बुद्धले भोकाएको बाघसामु आफूलाई समर्पण गरेका थिए,’ उनी सुनिए ।

विवेक बिन्द्रा भन्छन्, ‘एउटै सिद्धान्तले मात्र व्यापार तय हुनसक्छ । त्यो भनेको उपभोक्ताको आवश्यकताको पहिचान हो । त्यो आवश्यकता यसरी पूरा गर्नुस् कि मानौं तपाईंबिना त्यो आवश्यकता पूरा हुनै सक्दैन ।’

यसपटक उनलाई नमोबुद्धसहित बुढानीलकण्ठ, लुम्बिनी, जानकी मन्दिर र हुम्ला पुगेर माउन्ट कैलाश दर्शन गर्न मन छ । उनको भ्रमण सूचीमा पशुपतिनाथ त हुने भइहाल्यो । पशुपतिका चारै ढोकाबाट दर्शन गर्न सके चारधाम बराबरको पुण्य कमाइने विश्वास उनलाई छ ।

ठूलो विचारले मात्र व्यापार हुने हैन’

व्यापार, उद्यमशीलता र स्टार्टअपबारे बिन्द्रा सहज ढंगमा कुरा बुझाउँछन् । उनको बुझाइमा शब्दका जार्गन हुँदैनन् । आममान्छेलाई आममान्छेकै भाषामा ‘कन्भिन्स’ गर्नु उनको शैली हो । हुनसक्छ, यही कारण संसारका चर्चित प्राध्यापक, विद्यार्थी र व्यवसायी उनका दर्शक तथा श्रोता छन् ।

बिन्द्रालाई लाग्छ, ठूला व्यापार ठूला विचारबाट मात्र आउँदैनन् । उपभोक्ता आवश्यकताको सिद्धान्तले मात्र ठूला व्यापारहरुको आधारशिला खडा हुने उनको ठम्याइ छ । उनी भन्छन्, ‘एउटै सिद्धान्तले मात्र व्यापार तय हुनसक्छ । त्यो भनेको उपभोक्ताको आवश्यकताको पहिचान हो । त्यो आवश्यकता यसरी पूरा गर्नुस् कि मानौं तपाईंबिना त्यो आवश्यकता पूरा हुनै सक्दैन ।’

व्यापार गर्न चाहने संसारका सबै उद्यमीलाई बिन्द्राको चार सुझाव छन्, नाफाको अपेक्षा, व्यापारको दिगोपन, ग्रोथ (वृद्धिदर) र तपाईंको उपस्थितिबिना पनि व्यापारले लिने गति ।

स्टार्टअप थालनी गर्न चाहनेलाई बिन्द्राका केही सुझाव छन् । भन्छन्, ‘तपाईं यस्ता महान् विचारबाट घेरिनुस् जहाँ तपाईं आफूलाई ग्रो भएको महसुस गर्न सक्नुहुन्छ र ती पाँच मान्छेबाट घेरिनुस् जसले तपाईंलाई गोडमेल गर्न सक्छन् ।’

व्यापार प्राविधिकभन्दा बढी मान्छेको स्वभाव बुझ्ने कला पनि हो । यसमा प्रविधि र मानवीय दक्षतालाई पनि जोड्न सकिए गज्जब । ‘स्थानीय मात्र नबन्नुस, प्राविधिक समूह र तालिमबारे पनि सोच्नुस् जसले तपाईंलाई व्यापार वृद्धि गर्न सघाउँछ,’ उनी भन्छन् । यसबारे उनी भिरिओ मोडलको उदाहरण दिन्छन् । यो भनेको, उत्पादन मूल्यवान होस्, दुर्लभ होस्, कसैले कपी गर्न नपाओस्, अनि त्यसलाई संस्थागत तुल्याउनु भन्ने हो । ‘यति गर्नुभयो भने बिजनेसमा तपाईंलाई कसैले हराउन सक्दैन,’ उनको ब्याख्या छ, ‘त्यसपछि तपाईं अर्गानिक एथिकल मोनोपोली सिर्जना गर्न सक्नुहुन्छ ।’

अनि ‘बडा बिजनेस’ नि ? यो बिजनेस बिन्द्राको यस्तो एक कम्पनी हो, जसले संसारभर मोटिभेसनल स्पिकरको रुपमा कार्य गर्छ । कसरी तपाईंले बडा बिजनेसको थालनी गर्नुभयो ? उनी भन्छन्, ‘उद्यमीको लागि कुनै प्लेटफर्म छैन । भिडियोको लागि युट्युब हेरिन्छ । तपाईं उद्यमीको लागि समुदाय भेट्नुहुन्न । यही आवश्यकता महसुस गरेर हामीले खोल्यौं ।’

‘बडा बिजनेस’बारे उनी अगाडि भन्छन्, ‘यस्तो प्लेटफर्म जहाँ तपाईं लक्षित ग्राहक भेट्नुहुन्छ, त्यो सम्बन्धले उत्प्रेरणा पाउनुहुन्छ । तपाईंलाई स्थानीय भाषामा मेन्टर मिल्नेछ । तपाईं आफ्नो नेटवर्क बनाउन सक्नुहुन्छ । तपाईं लक्षित मानिससँग अन्तरक्रिया गर्न सक्नुहुन्छ । तपाईंले लक्षित कन्टेन्ट र समुदाय पाउनुहुन्छ ।’

नेपाली स्टार्टअप व्यवसायीलाई बिन्द्राको टिप्स

चीन र भारतजस्ता ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल स्टार्टअपको हिसाबले निकै सम्भाव्य बजार रहेको बिन्द्रा बताउँछन् । ‘यदि नेपालमा बिजनेस सुरु गर्दै हुनुहुन्छ भने तपाईंले केही कुरामा ध्यान दिनुपर्छ,’ उनी भन्छन्, ‘पहिलो कुरा, तपाईंलाई के मनपर्छ होइन, उपभोक्ता के चाहन्छन् भन्ने कुरामा स्पष्ट हुनुपर्छ । उपभोक्ताको आवश्यकतालाई बेवास्ता गरेर बिजनेस गर्न खोज्नुभयो भने त्यो दिगो हुँदैन ।’

‘व्यापारको केही पृथक उत्पादनको आइडिया पेश गर्नुस्, जसले उपभोक्ताको जरुरी पूरा गर्न सकोस् । तपाईं आफ्ना प्रतिस्पर्धीलाई लक्षित हैन, उपभोक्ताप्रति लक्षित भएर अघि बढ्नुस्,’ बिन्द्राको सुझाव छ ।

उनी अगाडि भन्छन्, ‘आफ्नो व्यापारमा केन्द्रित हुनुस, सबै कुरा गर्नेतर्फ नलाग्नुस् । एउटा लक्ष्यमा केन्द्रित हुँदा व्यापारको ग्रोथ उच्च हुनेछ । लगानीकर्तालाई बढी फलो नगर्नुस्, प्रयोगकर्ता र उपभोक्तालाई पछ्याउनुस् । कुनै बिन्दुमा पुगेर उपभोक्ता नै तपाईंका ठूला लगानीकर्ता हुनसक्छन्,’ उनी भन्छन् ।

बाउन्स ब्याक मेरो जीवनको मन्त्र बन्यो, संसारका ठूला सफलताका कथाहरु ठूला असफलताबाटै लेखिएका छन् । यो सूत्रलाई मैले जहिल्यै पछ्याइरहें -विवेक बिन्द्रा

वास्तविक उपभोक्ताप्रति केन्द्रित हुनु उनको सुझाव छ । ‘यसो गर्दा सबैजना तपाईंका उपभोक्ता हुन सक्छन् । सबैजना तपाईंको ग्राहक हुँदैनन् । पहिले तपाईंका सही ग्राहक पत्ता लगाउनुस् । सबैतिर नजानुस्, सही मित्र र साझेदार बनाउनुस्,’ उनी भन्छन् ।

उपभोक्ताको प्रतिक्रिया महत्वपूर्ण हुने बिन्द्राको कथन छ । ‘उपभोक्ताको फिडब्याकलाई बेवास्ता नगर्नुस्, फिडब्याक च्याम्पियन बन्ने खजाना हो । किनभने कस्टुमरले सिग्नल दिन्छ र राम्रो ब्राण्ड बनाउँछ,’ उनी भन्छन् । जुन क्षेत्रमा बढी प्यासन छ, सो क्षेत्रमा प्रयास गर्न उनी सुझाउँछन् । ‘जे तपाईंलाई आउँछ, जेमा तपाईंलाई प्यासन छ र जुन बजार चाहन्छ,’ उनी भन्छन् ।

प्रविधिसँग अघि बढ्न उनको आग्रह छ । ‘प्रविधिको प्रयोगबिना तपाईंलाई बिजनेसमा अघि बढ्न कठिन हुनसक्छ,’ उनी भन्छन् । साथै, बढी ऋण लिएर ऋणको ट्रयापमा पर्नु सही नभएको उनको कथन छ । ‘धेरै ऋण लिने र ऋणको धेरै बिस्तारको ट्रयापमा पर्नु राम्रो होइन । असफल र अवसरबीचको दूरीलाई पहिचान गर्नुस्,’ उनको सुझाव छ ।

अनि अन्तिममा महत्वपूर्ण कुरा नि ? ‘अन्तिममा तपाईंलाई उच्च दक्षता प्रदर्शन गर्न सक्ने टिम चाहिन्छ । सीप नभएका र कल्याणकारी नभएका टिमले तपाईंलाई सधैं समस्या पैदा गर्छन्,’ श्रमशक्तिको आवश्यकताबारे उनको टिप्पणी छ ।

बाउन्स ब्याक’ जीवनको मन्त्र

वृन्द्राको बाल्यकाल कठिन र संघर्षपूर्ण रह्यो । तीन वर्ष हुँदा उनले बुवा गुमाए र आमाले अर्को बिहे गरिन् । आफन्तले उनलाई हुर्काए । सानो छँदा उनले रेडलाइट एरियामा डिस्नेरी बेचेर पढाइको लागि शुल्क जम्मा गरे । अर्थशास्त्र र व्यापार अध्ययनमा उनलाई निकै रुचि थियो । जीवनको महत्वपूर्ण तीन वर्षभन्दा बढी समय उनले वृन्दावनमा बिताए । त्यहाँ उनले श्रीमद्भागवत गीता अध्ययन गरे अनि अर्जुनको युद्धकौशल पनि ।

‘व्यापारी, विद्यार्थी सबैसँग आफ्नो युद्ध हुन्छ । सबैले आफ्नो युद्ध लडिरहेका छन् । आफूभन्दा असल मित्र अर्को कोही हुन सक्दैन भागवत गीताले यही कुरा भनेको छ । मैले चार वर्षसम्म यही अध्ययन गरें र गुरुकुलबाट ग्राजुएसन पूरा गरें । मसँग गजेट्स, पद र कुनै अवसर थिएनँ । मैले आफैंमाथि लगानी गरें,’ उनी भन्छन् ।

‘बाउन्स ब्याक मेरो जीवनको मन्त्र बन्यो,’ उनलाई लाग्छ, ‘संसारका ठूला सफलताका कथाहरु ठूला असफलताबाटै लेखिएका छन् । यो सूत्रलाई मैले जहिल्यै पछ्याइरहें ।’

‘बाउन्स ब्याक’को उदाहरण के ? उनको रोचक उदाहरण छ, ‘जुन विश्वविद्यालयमा मैले शुल्क तिर्न नसकेर अध्ययनबाट बञ्चित हुनुपर्‍यो, त्यही विश्वविद्यालयले अहिले आफ्ना प्राध्यापक र विद्यार्थीलाई मैले चाहेको विषय पढाउन निम्तो दिइरहेका छन् । जहाँ मैले आफूले पढ्न जान सकिनँ, आज म उनीहरुलाई पढाउन जान्छु । परिस्थिति बदलिएको छ । जुन प्राध्यापकले मलाई पढ्ने मौका दिएन, आज उही प्राध्यापक मसँग पढ्ने अवसर खोजिरहेको छ । जब तपाईंले आफैंमाथि जति लगानी गर्नुहुन्छ, उति सफलता पाउनुहुन्छ ।’

नेपाललाई आफ्नो दोस्रो घर बताउने बिन्द्रा नेपाली भाषा सिक्ने रुचि भएको बताउँछन् । नेपालबारे पनि उनले युट्युबमा यसअघि केही भिडियो पोस्ट गरेका छन्, जसले निकै चर्चा बटुलेका थिए । नेपाली राजनीति, अर्थतन्त्र र यहाँको सांस्कृतिक आयामबारे उनले मोटिभेसनल भिडियो पनि निर्माण गरेपछि नेपालमा उनका फलोअर्स पनि निकै बढेका छन् ।

जिनियस इन्साइडर र ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपको आयोजनामा वैशाख १० गते गोदावरीस्थित सनराइज कन्भेन्सन हलमा बिन्द्राले प्रशिक्षण दिने कार्यक्रम छ । पर्यटन प्रवर्द्धन र उद्यमशीलताको विकास गर्नु उनको नेपाल भ्रमणको उद्देश्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?