+
+

एसईई परीक्षा दिने भाइबहिनीको नाममा

आदर्शविक्रम सिंह आदर्शविक्रम सिंह
२०७९ वैशाख ८ गते ९:११

प्रिय भाइबहिनीहरु,

तपाईंहरू अहिले यो सम्बोधन पढ्दै हुनुहुन्छ भने अन्तिमसम्म पढ्ने कोसिस गर्नुहोला । केही समय अगाडि एसएलसी थियो । जुन १९९० सालदेखि सञ्चालन भएको हो । त्यही एसएलसीलाई २०७२ सालबाट एसईई लेख्न/भन्न सुरु गरिएको हो । जतिबेलासम्म एसएलसी थियो । एसएलसीलाई फलामे ढोका भनिन्थ्यो । जसकाकारण डरले विद्यार्थीहरु रात-दिन नभनी तयारी गर्थे ।

अझ अलि अगाडिको सन्दर्भलाई जोड्ने हो भने एसएलसी दिनको लागि पहिले टेस्ट पास गर्नुपर्थ्यो अनि एसएलसी दिन पाइन्थ्यो । अहिले सजिलै एसईईसम्म पुगिन्छ । परीक्षा कहिले आयो र कहिले गयो भन्ने परीक्षा दिने विद्यार्थी र घरमा अभिभावकलाई मात्र थाहा हुन्छ ।

हुन त कोरोना कहरले लगातार दुई वर्ष भौतिकरुपमा परीक्षा नहुनुले विद्यार्थीको मनोविज्ञान बदलिएको छ । अन्य कुराहरुको लतले पढ्न मन नलाग्नु स्वभाविक हो । त्यसैले पढ्न मन लाग्दैन । मैले केही पनि पढेको छैन भन्ने नसोच्नुहोला । तपाईंलाई मात्र होइन प्रायजसोः विद्यार्थीले खासै तयारी गरेका हुँदैनन् । उनीहरुलाई पनि तपाईंलाई जस्तै पढ्न मन लाग्दैन ।

कोही राम्रो पढेको भनिएका विद्यार्थीले वा तपाईंको साथीले पनि पूर्णरुपमा तयारी गरेको हुँदैन । नपत्याए तपाईंको सबैभन्दा जान्ने भनेको साथीलाई सोध्नुहोला । उसले पनि सम्भावित र सम्भावित भनिएका प्रश्न र पाठको मात्र अध्ययन गरेर आएको हुन्छ । उसलाई पनि डर हुन्छ । कहाँबाट कुन प्रश्न आउँछ ? पढेको आउने हो कि नाई ?

नेपाल सरकारले एसएलसीमा धेरै विद्यार्थीहरु फेल हुन लागे भनेर नै सबैलाई पास बनाउनको लागि ग्रेड सिस्टमको अवधारणा लागू गरेको छ । तपाईंहरुलाई पास बनाउने नै राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयको लक्ष्य हुन्छ । तपाईंले अब के बुझ्न पर्याे भने मलाई सबै मिलेर पास बनाउन, राम्रो अङ्क ल्याउनको लागि नै मद्दत गर्दैछन् ।

तपाईं परीक्षा हलमा जाँदा चेक गर्नेदेखि परीक्षा हलमा पुगिसकेपछि त्यहाँ गार्डको रुपमा राखिएका शिक्षक तपाईंकै सुरक्षाको लागि हो । तपाईंले कसैलाई देखेर आत्तिने वा डराउनु पर्ने कुनै कारण छैन । परीक्षा बिग्रिन्छ कि, राम्रो हुन्छ यो परीक्षा दिइसकेपछि मात्र थाहा हुने भएकाले पहिले नै निर्णय गर्दा मानसिक रुपमा तनाव हुन्छ ।

तयारी राम्ररी गरे पनि/नगरे पनि तीन घण्टाको समयमा तपाईले प्रश्नसँग आफ्नो तालमेल कस्तो मिलाउनुहुन्छ, त्यो महत्वपूर्ण हुन्छ । राम्रो तयारी गरेकाहरुको पनि परीक्षा बिगि्रन्छ । कहिलेकाहीँ तयारी नगरेकाहरु पनि पास हुन्छन् । यस्तो हुनुमा कारण भनेको परीक्षा हलमा पुगिसकेपछि विद्यार्थीले त्यहाँको वातावरणसँग कसरी डिल गर्छन् भन्ने कुराले मापन गर्दछ ।

परीक्षामा आवश्यक सामग्रीहरुको अघिल्लो दिन नै राम्ररी व्यवस्थापन गर्दा भोलि परीक्षा दिन जाने समयमा सजिलो हुन्छ ।
परीक्षा हलमा प्रवेश गरिसकेपछि शान्त रहनुस् । परीक्षा दिन जाँदा, परीक्षा हलमा बस्दा र परीक्षा दिएर र्फकदा कसैसँग झैझगडा गर्नुभयो भने भोलि हुने परीक्षाको तयारीमा बाधा उत्पन्न हुन्छ । जस्तो परिस्थिति भए पनि परीक्षा अवधिभर सबैसँग मिलनसार व्यवहार गर्दा राम्रो होला ।

हरेक दिन दिएको परीक्षाको समीक्षा गर्दा त्यसले भोलिको तयारीमा असर गर्नसक्छ । परीक्षा दिइसकेपछि आज परीक्षा दिएको विषयको कुनै वास्ता नगरी भोलि हुने विषयको तयारीमा लाग्नु ठीक हुन्छ । परीक्षाको अवधिभर साथीहरुसँग नभेट्दा राम्रो हुन्छ । यदि कुनै समस्या भए फोन गरेर घरबाटै सोध्नुस् ।

प्रश्न पत्र हातमा परिसकेपछि हातका बिचका तिनवटा औंलालाई सम्झनु होला । एउटा सबैभन्दा ठूलो, अर्काे अलि सानो अनि त्यो भन्दा सानो । प्रश्न पनि यसरी नै विभाजन गरिएको हुन्छ । धेरै छोटो उत्तर लेख्नुपर्ने प्रश्न, छोटो उत्तर लेख्नुपर्ने प्रश्न र लामो उत्तर लेख्नुपर्ने प्रश्न ।

अधिकांश विद्यार्थीहरुले धेरै छोटो उत्तर दिने प्रश्नबाट लेख्न शुरु गर्नुहुन्छ र अन्तिममा लामो उत्तर लेख्ने प्रश्न छुट्छन् । यदि तपाईले लामो उत्तर लेख्ने प्रश्नको उत्तर लेख्नु भएन भने तपाई पास हुने सम्भावना न्यून हुन्छ । त्यसैले सबैभन्दा पहिले लामो उत्तर लेख्ने प्रश्नबाट लेख्न शुरु गर्दा राम्रो हुन्छ होला । अन्तिममा यदि समय पुगेन भने पनि कम अङ्कको प्रश्न छुट्छ । त्यसले खासै फरक पार्दैन ।

अन्तिममा आफैसँग भन्नुस्ः

१) आफ्नो तर्फबाट बेस्ट दिने प्रयास गर्छु ।
२) नतिजा मेरो हातमा छैन ।
३) प्रश्न राम्ररी पढ्छु र सोचीसम्झी उत्तर लेख्छु ।
४) पहिले लामो उत्तर दिने प्रश्नबाट लेख्न शुरु गर्छु ।
५) सबैको परीक्षा राम्रो होस् भनेर भगवानसँग कामना गर्छु ।
एसईईमा राम्रो ग्रेड ल्याउनुस्, तपाईंलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?