+
+

सिन्धुपाल्चोकमा अग्नि र मोहनबीच प्रतिष्ठाको लडाइँ

‘एमाले–कांग्रेस अघोषित गठबन्धनको प्रयास’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख ८ गते २०:२८

८ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सिन्धुपाल्चोकका स्थानीय तहमा भागवण्डा मिल्न बाँकी छ ।

दलहरुले भाागवण्डा मिलाउन धेरै पटक छलफल गरेका छन् । जति गठबन्धनका दलहरुका बीचमा छलफल भएको उत्ति नै छलफल कांग्रेस र एमाले नेताहरु बीच पनि भइरहेको स्थानीय नेताहरु बताउँछन् ।

कांग्रेसले केन्द्रको निर्णय विपरीत नेकपा एमालेका नेताहरुसँग सम्वाद अघि बढाउनुको कारण हो, माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहन बस्नेतको प्रतिष्ठाको लडाइँ ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा सापकोटा र बस्नेत क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका थिए । चुनावी अभियानका क्रममा दुई नेताबीच आरोप प्रत्यारोप मात्र भएन, उत्तेजक अभिव्यक्ति समेत दिएका थिए । बस्नेतले सापकोटातर्फ लक्षित गर्दै ह्याकुलाले मिच्ने बताएका थिए भने जवाफमा सापकोटाले दर्दनाक अवशान हुने बताएका थिए ।

अहिले परिस्थिति फेरिएको छ । कांग्रेस र माओवादी पाँचदलीय गठबन्धनमा छन् र देशभरका स्थानीय तहहरुमा तालमेल गरेर चुनाव लड्ने सहमति गरेका छन् ।

तर सिन्धुपाल्चोकमा तालमेल हुन सकेको छैन । सभामुख भएपछि पार्टीको जिम्मेवारीमा नरहे पनि माओवादी केन्द्रको सिन्धुपाल्चोक समितिमा सापकोटा हावी छन् भने कांग्रेसको जिल्ला समितिमा बस्नेत । त्यही कारण तालमेल कठिन बन्दै गएको छ ।

२०७४ सालको चुनावमा एमालेले १२ मध्ये ७, नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ वटा स्थानीय तहको प्रमुख पद जितेको थियो । अहिले गठबन्धनको बैठकमा माओवादी केन्द्रले जिल्लाका १२ मध्ये ६ वटा पालिको नेतृत्वमा दाबी गरेको छ ।

‘एक्लै चुनाव लडे पनि माओवादीले ६ वटा पालिका प्रमुख जित्छ । त्यसको आधार ०७४ को जनमत र अहिले पार्टीले गरेको काम हो,’ माओवादी केन्द्रका सिन्धुपाल्चोक इन्चार्ज माधव सापकोटा भन्छन्, ‘एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धन गर्दा पनि हामीले आधाआधा गरेका थियौं । अहिले पनि जित्ने जति लिन चाहेका छौं ।’

कांग्रेसले भने ८ वटा पालिकाको प्रमुख दाबी गरेको छ । माओवादीले ४ वटा पालिका प्रमुख लिने र नेकपा एकीकृत समाजवादीलाई उपप्रमुख र जनता समाजवादी पार्टी (जसपा) लाई वडाध्यक्षमा मिलाउने कांग्रेसको प्रस्ताव छ ।

एकीकृत समाजवादी पनि उपप्रमुखमा मात्र चित्त बुझाउन तयार छैन । उसले दुईवटा पालिकाको प्रमुखमा दाबी गरेको छ । तीनवटै पार्टीका स्थानीय नेताहरु एक अर्कोले बढी दाबी गरेको र त्यसमा लचक हुन तयार नहुँदा समस्या भएको बताउँछन् । गठबन्धनभित्रकै मध्यमार्गी नेताहरु भने एकीकृत समाजवादीलाई एक वा दुई पालिका दिएर बाँकीमा कांग्रेस र माओवादीले आधाआधा लिएर सहमति गर्दा उचित हुने बताउँछन् ।

एमालेले पर्खिएको अवसर

सिन्धुपाल्चोकमा कांग्रेस, एमाले र माओवादी केन्द्रको सांगठनिक अवस्थामा धेरै फरक छैन । तर पार्टी एमाले विभाजित भएको र सत्तारुढ दलहरुबीच गठबन्धन हुने हो भने एमालेलाई हिजोको नजिता रक्षा गर्न सहज छैन । तर गठबन्धनमा खटपट देखिएपछि त्यसको लाभ नेकपा एमालेलाई हुन सक्नेछ ।

एमाले स्थायी समिति सदस्य समेत रहेका सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङ सके घोषित रुपमै र नभए अघोषित रुपमा भएपनि कांग्रेससँग तालमेल गर्न प्रयासरत छन् । बुधबार मात्रै उनीसहितका एमाले नेताहरुले मोहनबहादुर बस्नेतसहितका कांग्रेस नेताहरुसँग छलफल गरेका छन् ।

त्यसअघि पनि एमाले र कांग्रेस नेताहरुको बैठक बसेको थियो । एमालेका स्थानीय नेताहरुका अनुसार कांग्रेससँग अघोषित गठबन्धन भए एकले उम्मेदवार उठाएको ठाउँमा अर्कोले नउठाउन सक्छन् । एमाले नेता कमल नेपाल भन्छन्, ‘सबै पार्टीहरुसँग सम्वाद भइरहेको छ, हामी सबै विकल्पमा खुला छौं ।’

कांग्रेसका नेताहरु पनि तालमेलबारे मोहन बस्नेतको निर्णयमा भरपर्ने बताउँछन् । ‘सभापति र मोहन दाइ लागिराख्नुभएको छ । उहाँहरुले टुंगो लगाउनुहोला,’ कांग्रेस नेता टंक कार्की भन्छन्, ‘अहिलेसम्म भागवण्डाबारे सहमति भइसकेको छैन ।’

तर एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीतिले अप्ठ्यारो पारेको कांग्रेस नेताहरु बताउँछन् । एमालेसँग गठबन्धन नगर्न बस्नेतलाई कांग्रेसको केन्द्रीय नेतृत्वको दबाव छ । ‘केन्द्रीय नेतृत्वको प्रेसर कति रहन्छ भन्नेमा कांग्रेस–एमाले अघोषित गठबन्धन हुने वा नहुने निक्र्योल हुन्छ,’ कांग्रेसकै अर्का एक नेताले भने ।

लामो समय माधवकुमार नेपाल निकट रहेका एमाले नेता तामाङ पार्टी विभाजन हुँदा एमालेमै रहे । सिन्धुपाल्चोकको स्थानीय तहको नजितालाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने भएकाले पनि उनी सबै विकल्पमा काम गरिरहेका छन् ।

‘एमालेभित्र अहिले तामाङलाई असहयोग नै त हुँदैन । तर, उहाँले लामो समय ओलीको पक्षमा रहेका नेताहरुलाई गरेको व्यवहारलाई कतिपयले व्यक्तिगत रुपमा लिन सक्छन्’ एमालेकै जिल्ला स्तरीय नेता भन्छन्, ‘उहाँलाई आफ्नो र पार्टीको हाइट कायम राख्ने प्रेसर परेकै छ । उहाँको साथमा हामी छँदैछौं ।’

तामाङ भने सबै विकल्पमा छलफल भइरहेको बताउँछन् । ‘सिन्धुपाल्चोकमा चुनावी तालमेल यस्तै हुने भयो भन्नलाई ठोस निर्णय नभएकाले केही बोल्न सक्दिनँ’ तामाङको अनलाइनखबरलाई प्रतिक्रिया छ ।

कांग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको माओवादी नेताहरुले पनि थाहा पाएका छन् । ‘एमाले–कांग्रेस अघोषित वा घोषित गठबन्धन भयो भने पनि माओवादी एक्लै चुनाव लड्नसक्छ । हामी एक्लै चुनाव लड्ने गरी पनि पूर्ण तयारीमा छौं’ माओवादीका जिल्ला इन्चार्ज सापकोटा भन्छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?