+
+

दैलेखमा बलियो एमालेले जोगाउला विरासत ?

यज्ञ खत्री यज्ञ खत्री
२०७९ वैशाख ९ गते १२:५२

९ वैशाख, सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दैलेखमा चुनावी सरगर्मी बढेको छ । सत्तारुढ गठबन्धन दलहरुले भागवण्डा टुंगो लगाउन जिल्ला स्तरीय संयन्त्र बनाएर कार्यालय नै स्थापना गरेका छन् । तर हालसम्म १३ वटा बैठक बसिसक्दा पनि सहमति भने जुटन सकिरहेको छैन् ।

स्थानीय तहमा दलहरुले आ–आफ्नै दाबी र अडान नछाडेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले भने एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने आवाज चर्को रुमपा उठाउँदै आएको छ ।

‘माओवादी र एकीकृत समाजवादीले क्षमता भन्दा बढी भाग खोजेपछि सहमति जुट्न सकेको छैन’ नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले भने, ‘सहमतिको प्रयास अझै जारी छ, सहमति नजुटे मित्रवत ढंगले एक्लाएक्लै प्रतिस्पर्धा गर्छौं ।’

दैलेखमा नेकपा एमालेको वर्चश्व छ । तर एमाले फुटबाट एकीकृत समाजवादी बनेपछि जिल्लामा एमालेलाई ठुलो धक्का लागेको छ । दैलेख एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाको गृह जिल्ला हो ।

फुटपछि पनि दैलेखमा एमालेभित्रै दुईवटा समूह छन् । नेताहरुबिच नै एकता छैन् । प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा र एमाले पोलिटव्यूरो सदस्य लक्ष्मी पोखरेलले छुटाछुटै गुट चलाएका छन् ।

राजबहादुरको समुहमा जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, विष्णु रिजाललगायतका नेताहरु छन भने पोखरेल समूहमा कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाही, एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, जिल्ला अध्यक्ष हारेका सूर्यबहादुर शाहीलगायतका नेताहरु छन् ।

एमालेका शीर्ष नेताहरुको दबावमा स्थानीय नेताहरु परेका छन् । यद्यपि, एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी भने ०७४ को स्थानीय निर्वाचनमा ५२ प्रतिशत पालिकामा एमालेले जितेकाले यसपाली त्योभन्दा बढी सीट ल्याउने दाबी गर्छन् ।

‘दैलेख आफैंमा एमालेको किल्ला हो । गठबन्धन भित्रै गडबढ छ, गठबन्धन नभए एमालेलाई झनै फाइदा हुन्छ’, रेग्मीले भने, ‘एकीकृत समाजवादीको पनि हल्ला चलाएको जस्तो जनआधार छैन् । दुई चारजना नेता गएका हुन्, कार्यकर्ता हामी सँगै छन् ।’

यस्तो छ, ०७४ मा दलगत अवस्था

२०७४ को स्थानीय निर्वाचनमा दैलेखका कुल ११ स्थानीय तहमध्ये ७ पालिका प्रमुख र उपप्रमुख जितेको नेकपा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले सबैभन्दा धेरै ५२ वडाध्यक्षसहित २९० पद जितेको थियो ।

त्यस्तै चार पालिकाको प्रमुख/उपप्रमुख र ३३ वडाध्यक्षसहित कुल १८४ पदमा जितेको नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । नेकपा माओवादी केन्द्र जनमतका आधार तेस्रो शक्ति भए पनि कुनै पालिकामा जित हासिल गर्न सकेन । एउटा वडासदस्यमा चित्त बुझाउनु प¥यो ।

दैलेखमा नेपाल मजदुर किसान पार्टीले ३ र राप्रपाले एउटा वडा जितेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखको अवस्था पहिलेको भन्दा फरक छ । जिल्लामा बलियो मानिएको नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी भएको छ ।

पाँच वर्षअघि पहिलो शक्ति बनेको एमाले फुटेपछि पहिलो शक्तिको हैसियत गुमाएको छ । जिल्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको ठुलो हिस्सा अहिले नेकपा एकीकृत समाजवादीमा गएको छ ।

स्थानीय पालिकाका प्रमुख-उपप्रमुखहरुको दल बदल गर्ने क्रम पनि जारी छ । ०७४ को स्थानिय चुनावमा एमालेबाट चुनाव जितेका केही पालिका प्रमुख, उपप्रमुख हाल एकीकृत समाजवादीतिर लागेका छन् ।

सत्ता गठबन्धनभित्र भागबण्डामा समस्या

दैलेखमा सत्ता गठबन्धनभित्र कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । माओवादीले तीन गाउँपालिका (ठाटीकाँध, नौमुले, भगवतीमाई) र एउटा नगरपालिकामा दाबी गरेको छ भने त्यही संख्यामा समाजवादीले पनि माग गरेको छ । तर कांग्रेसले दुबै दलले हैसियतभन्दा माथि उठेर भाग खोजेको आरोप लगाएको छ । जसले गर्दा सहमति जुट्न नसकेको कांग्रेस नेताहरु बताउँछन् ।

यस्तो छ पालिकाको अवस्था

नारायण नगरपालिका : २०७४ को स्थानिय निर्वाचनमा दैलेखको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाको प्रमुख र उपप्रमुख पनि एमालेले जितेको थियो । एमालेका रत्नबहादुर खड्काले चार हजार ७२५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मणिराम रेग्मीले चार हजार ४५१, माओवादीका दानबहादुर महताराले ३९९ र राप्रपाका गंगाराम बस्नेतले ६११ मत पाएका थिए ।

उपप्रमुखमा पनि एमालेका सावित्री मल्ल ४ हजार ८६६ निर्वाचित भएकी थिइन् । मल्ल हाल अहिले एकीकृत समाजवादीमा लागेकी छन् । कांग्रेसले पालिकाका तीन वडाअध्यक्ष मात्रै जितेको छ ।

आठबीस नगरपालिका : आठबीस नगरपालिकाको प्रमुखमा एमालेका खड्गराज उपाध्यायले ३ हजार ९२७ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका प्रेमप्रकाश शाहीले ३ हजार ८८० र नेमकिपाका तर्कबहादुर बडुवालले दुई हजार १०४ मत पाएका थिए ।

उपप्रमुखका कांग्रेसकी दीपा बोहोराले ४ हजार १८७ मत ल्याएर निर्वाचिन हुँदा एमालेकी गमता विकले ३ हजार ९९० र माओवादीकी झरना माझीले एक हजार ७९५ मत पाएकी थिइन् । पालिकाका नौ वडामध्ये एमाले र कांग्रेसले चार÷चार र नेमकिपाले एक वडाअध्यक्ष जितेका छन् ।

चामुन्डा विन्द्रासैनी नगरपालिका : यस्तै चामुन्डाविन्द्रासैनी नगरपालिकाको मेयरमा एमालेका सूर्यबहादुर शाहीले २ हजार ७७३ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गणेशकुमार शाहीले २ हजार ६७० र माओवादीका रणबहादुर खड्काले ८१३ मत मात्र पाए ।

उपप्रमुखमा एमालेकै ताराकुमारी खत्रीले २ हजार ९५४ मत ल्याएर निर्वाचित भएकी थिइन् । चामुन्डामा माओवादी भन्दा नेमकिपा निर्णायक शक्ति मानिन्छ । ६ वडाअध्यक्ष एमालेले जित्दा दुई नेमकिपा र एक कांग्रेसले जितेको थियो ।

दुल्लू नगरपालिका : कांग्रेसका घनश्याम भण्डारीले दुल्लू नगरपालिकाको मेयरमा ६ हजार ३४९ मत ल्याएर निर्वाचित हुँदा एमालेका बरुनाथ योगीले ६ हजार २८० र माओवादीका ढकेन्द्रबहादुर शाहीले एक हजार ९२३ मत पाएका थिए । एमालेका योगी हाल एकीकृत समाजवादीको जिल्ला अध्यक्ष बनेका छन् ।

उपप्रमुखमा एमालेका विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी कृष्ण कुमारी शाहीले ६ हजार १०९ मत पाएकी थिइन् । एमालेले ८ वडाअध्यक्ष जित्दा कांग्रेसले ५ जितेको छ ।

गुराँस गाउँपालिका : कांग्रेसका खेमराज वलीले चार हाजार १६४ मत पाएर गुराँस गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदा एमालेका प्रेमबहादुर खड्काले तीन हजार ४२३ र माओवादीका कृष्णप्रसाद पाण्डेले ४९९, नेमकिपाका उदयजंग शाहीले ३०६ र राप्रपाका रतिमान खड्काले २२२ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै दीपाकुमारी बिसीले ४ हजार ३७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी प्रभादेवी गुरुङले ३ हजार ५६९ प्राप्त गरेकी थिइन् । गुँरासमाका चार÷चार वडाअध्यक्ष कांग्रेस र एमालेले जितेका छन् ।

नौमुले गाउँपालिका : नौमुल गाउँपालिकाको अध्यक्षमा तीन हजार १५२ मत पाएर कांग्रेसका भदे बुढा मगर निर्वाचि हुँदा एमालेका लिलबहादुर राम्जालीले दुई हजार ६४४ र माओवादीका छविराम सुवेदीले एक हजार ६२८ मत पाए । उपाध्यक्षमा कांग्रेसकै अमृता सिंह छिन् । पाँच वडाअध्यक्ष कांग्रेसले जित्दा तीन एमालेले जितेको छ ।

ठाँटीकाँध गाउँपालिका : ठाँटीकाँध गाउँपालिको अध्यक्ष/उपाध्यक्ष दुवैमा एमालेले जितेको छ । एक हजार ९२४ मत पाएर धीरबहादुर शाही अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका रक्षबहादुर शाहीले १ हजार ५६२, माओवादीका योगेन्द्र विक्रमराज थापाले १ हजार ३०६ र नेमकिपाका जयबहादुर थापाले ८५८ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेका सुस्मिता सिंह निर्वाचित भइन् । एमालेले पाँच र कांग्रेसले एक वडाअध्यक्ष जितेको छ ।

भगवतीमाई गाउँपालिका : भगवतीमाई गाउँपालिकामा एमालेले जितेको छ । एमालेका दानबहादुर थापाले दुई हजार ३२९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका दशरथ खड्काले एक हजार ८८९, माओवादीका गणेशबहादुर थापाले एक हजार ६७२ र राप्रपाका कमलबहादुर शाहीले ६५६ मत ल्याएका थिए ।

उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा रेग्मीले २ हजार ४२१ मत ल्याएर निर्वाचित भइन् । एमालेले चार वडाअध्यक्ष जित्दा कांग्रेस र राप्रपाले एक/एक वडा जितेका छन् । एक वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

महावु गाउँपालिका : महावु गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भए । पार्टी विभाजनपछि भने दुवै नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेबाट जंगबहादुर शाहीले ३ हजार ५२२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९००, माओवादीका जंगबहादुर बरालले ७३३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेका प्रेमकुमारी बुढा निर्वाचित भएकी हुन् । महावुका चार वडाअध्यक्षमा एमाले र दुईमा कांग्रेसले जितेको छ ।

भैरवी गाउँपालिका : भैरवी गाउँपालिकामा एमालेकै वर्चश्व छ । अध्यक्षमा एमालेका प्रेमबहादुर बुढाले तीन हजार ५८४ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका जनार्दन ज्ञवालीले तीन हजार ७७ र माओवादीका मणिराम विष्टले ३०१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै पदमकुमारी विष्ट ३ हजार ४८३ मत ल्याएर निर्वाचित भइन् । सात वडामध्ये एमाले चारमा र कांग्रेसले तीन जितेको छ ।

डुंगेश्वर गाउँपालिका : डुंगेश्वर गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसले जितेको छ । कांग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका मानबहादुर विष्टले दुई हजार ४६९ र माओवादीका खगेन्द्रबहादुर पुन मगरले ४२३ मत पाए । उपाध्यक्षमा कांग्रेसकी सीता ज्ञवालीले २ हजार ६२८ मत प्राप्त गरेर निर्वाचित भइन् । डुङ्गेश्वरमा चार वडाअध्यक्ष कांग्रेस र दुई एमालेले जितेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?