+
+

काठमाडौंका लागि एमालेको घोषणापत्र : रेलदेखि छोरी-बुहारीलाई रोजगारीको बाचासम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २१:५१

९ वैशाख, काठमाडौं । नेकपा एमालेको काठमाडौं महानगरपालिका कमिटीले ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि प्रतिवद्धतापत्र ल्याएको छ । १० पेजमा समेटिएको प्रतिवद्धतापत्रमा पुराना र केही नयाँ योजना समेटिएको छ । केही महत्वाकांक्षी योजनाहरु पनि अगाडि सारिएको छ ।

२०७४ सालको चुनावमै एमालेले मनोरेल, मेट्रोरेलको विषय उठाएको थियो । यो पटक पनि दोहोर्याएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘संघ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त विद्युतीय बस सेवा, मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गरी विकास गरिनेछ ।’

रानीपोखरीदेखि दशरथ रंगशालासम्मको गुरुयोजना कार्यान्वयन गर्ने, कमलपोखरी पुनर्निर्माणको दोस्रो चरण सम्पन्न गर्ने, वसन्तपुर कोतक्षेत्रमा खुला चोकसहितको जीवन्त संग्रहालय निर्माण गर्ने, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा सञ्चालन कार्यलाई प्राथमिकताका साथ अघि सारिएको छ । विद्युतीय गाडीका लागि टेकुमा चार्जिङ्ग स्टेशन सुविधा सहितको बहुतले पार्किङ भवन, थापाथलीदेखि बाँसबारीसम्मको सडक तथा चक्रपथ सडकमा गाडी लेन, बस स्टप, साइकल लेन बनाउने योजना अगाडि सारिएको छ ।

‘हामी फर्क्यौं आफ्नै घर’

एमाले काठमाडौं महानगरपालिका कमिटीले वैदेशिक रोजगारीमा रहेका युुवाहरुलाई स्वदेश फर्काउने योजना पनि अगाडि सारेको छ । यसका लागि ‘हामी फर्क्यौं आफ्नै घर’ कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरुलाई उद्यमशीलतामा लगाउने योजना पनि सुनाइएको छ । ‘हामी फर्क्यौं आफ्नै घर’ कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका काठमाडौंका युवाहरुलाई सघन उद्यमशीलता तालिम प्रदान गरी उद्यम व्यवसाय गर्न अभिप्रेरित गरिनेछ,’ प्रतिवद्धतापत्रमा उल्लेख छ ।

सार्वजनिक निजी साझेदारीको लागि उपयुक्त परियोजनाहरुको छनौट गरी ‘काठमाडौं लगानी सम्मेलन’ आयोजना गर्ने, स्वरोजगार व्यापार श्रमिकको दीर्घकालीन व्यवस्थापनको लागि आवश्यक नीति तयार गरी कार्यान्वयन गर्ने र महानगरपालिकामा व्यवसाय प्रवर्द्धन शाखाको स्थापना तथा प्रत्येक वडामा बिजनेस क्लिनिक स्थापना गर्ने प्रतिवद्धता पनि एमालेको घोषणा पत्रमा छ ।

युवा रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनमा जोड दिइएको प्रतिवद्धतापत्रमा ‘लैङ्गिक समानताकोे आधार : छोरी बुहारीलाई रोजगार’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गर्ने भनिएको छ । उद्यमशील महिलाहरुलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन वित्तीय संस्थासँगको साझेदारीमा चक्रीय ऋण कोष स्थापना गरी घरेलु उद्योग सञ्चालनको लागि १० लाखसम्मको ऋण सहज र सरल तरिकाबाट उपलब्ध गराउने भनिएको छ ।

महिलाहरुमा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न काठमाडौंका चोक, बहाल वा सार्वजनिक स्थलहरुमा स्वावलम्बी महिला समूहहरुबाट काठमाडौंका परिकार तथा उत्पादनको साप्ताहिक महिला व्यवसाय महोत्सव आयोजना गर्ने योजना अगाडि सारिएको छ ।

नगरवासीलाई हेल्थ कार्ड

महानगरवासीको स्वास्थ्य अवस्था पहिचानका हेल्थ कार्ड प्रणाली अवलम्वन गर्ने प्रतिवद्धता एमालेले व्यक्त गरेको छ ।
गुणस्तरीय एवम् न्यूनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्ने, सरकारी तथा सामुदायिक अस्पतालहरुमा सरुवा रोग सम्बन्धी छुट्टै एकाइको व्यवस्था गर्न सहयोग गर्ने लगायतका विषय समेटिएको छ ।

७५ वर्षमाथिका नागरिकलाई १८ हजार भत्ता दिने एमालेको काठमाडौं महानगरको घोषणापत्रमा उल्लेख छ । प्रतिवद्धतापत्रको सामाजिक सेवा र सुरक्षा शीर्षकमा राखिएको छ, ‘महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिँदै आएको वार्षिक १२ हजार विशेष भत्ता वृद्धि गरी १८ हजार पुर्याइनेछ ।’

सरकारी वा सामुदायिक अस्पतालहरुसँग सहकार्य गरेर कम्तिमा ५० शय्याको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याउने, अनुभवी, सेवा निवृत्त, ज्येष्ठ नागरिकहरू समेतको संलग्नतामा सिल्भर भोलेन्टियर (ज्येष्ठ स्वयंसेवक) हरूलाई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित कार्यक्रम गर्ने एमाले काठमाडौं महानगरपालिका कमिटीको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने, प्रत्येक वडामा महानगर महिला सहजीकरण केन्द्र स्थापना गर्ने प्रतिवद्धताहरु सार्वजनिक गरिएको छ ।

बस्नलायक सहर बनाउने

काठमाडौं महानगरलाई बस्नलायक सहर बनाउने प्रतिबद्धता एमालेको छ । ‘ध्वनी तथा वायु प्रदूषणलाई न्यूनीकरण गरी काठमाडौंको बसोबास उपयुक्तताको वृद्धि गरिनेछ,’ प्रतिवद्धतापत्रमा भनिएको छ ।

बसोबास उपयुक्तताका लागि भौगोलिक सूचना प्रणालीका माध्यमबाट हजार्ड म्यापिङ गरी उपयुक्त जोखिम संवेदनशील भूउपयोग योजना तर्जुमा गर्ने, खास किसिमको पहिचान र प्रयोगको बाहुल्यता भएका क्षेत्रहरूमा सोही अनुसारको भूउपयोग र अन्य क्षेत्रका हकमा मिश्रित भू–उपयोगलाई प्रवर्द्धन गर्न आवश्यक अध्ययन गर्ने बाचा छ ।

नगरबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने, सार्वजनिक पार्क, सडक, सडक बत्ती, भवन लगायत सार्वजनिक सम्पत्ति व्यवस्थापन लागि कार्ययोजना बनाई लागू गर्ने भनिएको छ ।

साँस्कृतिक नगर र ‘मेड इन काठमाडौं’

काठमाडौं महानगरलाई समृद्ध, सुरक्षित र जीवन्त साँस्कृतिक नगर बनाउने एमालेको प्रतिवद्धता छ । काठमाडौं महानगरलाई साँस्कृतिक, प्रशासनिक एवं आर्थिक केन्द्र सहितको संघीय राजधानीको रुपमा विकास गर्ने र महानगरपालिकाको सिटी ब्रान्डिङ्ग गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने योजना पनि अगाडि सारिएको छ । यसका लागि मूर्त अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गर्न ‘बहाः बही संरक्षण तथा प्रवर्द्धन विकास समिति’ गठन गर्ने, इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरब जात्रा, पाँहाचह्रे पर्व लगायतका जात्रा/पर्वहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भनिएको छ ।

परम्परागत भवन तथा वस्ती निर्माण संहिता तयार गरी लागू गर्ने, सम्पदाहरुको अवलोकन गराई पर्यटन अभिवृद्धि गर्न ‘हप अन हप अफ’ विद्युतीय बस सञ्चालन गर्ने तथा ‘मेड इन काठमाडौं’ अभियानमार्फत काठमाडौंका रैथाने उत्पादनहरुको प्रवर्द्धन गर्ने एमालेको चुनावी प्रतिवद्धता छ ।

यस्तो छ प्रतिवद्धता पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?