+
+

पूर्वाधारहरूमा वन्यजन्तुलाई ‘अन्डरपास’ र ‘ओभरपास’ अनिवार्य

संरक्षित क्षेत्रभित्र छुट्टै करिडोर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते २२:१८
सिंगापुरमा सडकमाथि बनेको ओभरपास

९ वैशाख, काठमाडौं । अब निकुञ्ज, आरक्ष र वन क्षेत्रभित्र वन्यजन्तुको आवागनमा अवरोध नपुग्ने गरी पूर्वाधार बनाउनुपर्ने भएको छ । सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको हो ।

सडक, रेलमार्ग, नहर, नदी नियन्त्रण, बाँध, तटबन्धन, ग्याँस तथा तेल, जलविद्युत्,  पाइपलाइन, सिंचाइ, पेनस्टक पाइप, प्रसारणलाइन जस्ता आयोजनाको डिजाइन र निर्माण वन्यजन्तुमैत्री तवरले गर्नुपर्ने व्यवस्था भएको छ ।

फ्लाइओभर पुल र कल्भर्टको मुनिबाट वन्यजन्तु पास गर्न सर्ने अन्डरपास, भिलेज रोड ब्रिज, इको ब्रिज, क्यानोपी ब्रिज वा यस्तै पूर्वाधारको माथिबाट ओभर पास संरचना र र्‍याम्प, गाइडिङ फेन्स, एभियन डिलफ्लेक्टर वा त्यस्तै किसिमका संरचनाबाट आवातजावत गर्न तथा पानीको स्रोतसम्म पुग्न/निस्कन सक्ने संरचना बनाउनुपर्ने गरी कानुनी व्यवस्था गरिएको हो ।

निर्देशिकाले निकुञ्ज, वन्यजन्तु आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रलाई अति संवेदनशील सूचीमा राखेको छ । त्यस्ता क्षेत्रमा आयोजनाको सम्भाव्यता अध्ययन नै बाहिर पर्ने गरी गर्नुपर्नेछ । अतिसंवेदनशील क्षेत्रमा पूर्वाधार बनाउनुपर्ने भएमा वन्यजन्तुको बासस्थान, जैविक मार्ग, पारिस्थितिकीय प्रणालीमा उल्लख्य प्रभाव नपर्ने क्षेत्रलाई विकल्पमा रुपमा लिनुपर्नेछ ।

यसोगर्दा भौतिक, जैविक, समाजिक र आर्थिक पक्षलाई विचार गरेर दिगो हुने गरी निर्माण गर्नुका साथै वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो क्षेत्रमा पूर्वाधार बनाउँदा सम्बन्धित क्षेत्र हेर्ने अधिकार प्राप्त निकायसँग अनुमति लिने र समन्वय गर्ने काम गर्नुपर्ने छ । यस्ता निकुञ्ज, आरक्ष तथा वन क्षेत्रमा पूर्वाधार बनाउँदा सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा विज्ञसहितको प्राविधिक टोलीबाट अध्ययन गराएर वन्यजन्तुमैत्री पूर्वाधार बनाउनुपर्ने भएको छ ।

यस्तो प्राविधिक टोलीले पूर्वाधारले वन्यजन्तुमा पार्नसक्ने प्रभाव, ओभर पास, अन्डर पास वा अन्य कुनै वन्यजन्तुमैत्री पूर्वाधारको उपयुक्तता, यातायात सेवाको सुरक्षा र संरचनागत दिगोपना, वन्यजन्तुको सुविधा, वनभित्रका पानीको स्रोतको संरक्षण, विगतमा भएका दुर्घटनाको तथ्यांक र विश्लेषण, अन्यत्र भएका सफल अभ्यासको सिकाइ लगायतका पक्षमा अध्ययन गर्नुपर्नेछ ।

अति संवेदनशील क्षत्रेबाहेकका वन क्षेत्रमा पूर्वाधार बनाउँदा सम्बन्धित वन डिभिजनसँग समन्वय गरेर तोकिएको मापदण्डमा अध्ययन गराएर काम गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

अब कुनैपनि आयोजनाले विस्तृत सम्भाव्यता अध्ययन तयार गर्दा नै यस्तो वन्यजन्तुमैत्री पूर्वाधार निर्माणको लागि अध्ययन गर्नुपर्ने छ । अध्ययनका आधारमा लागत अनुमान पनि तयार गर्नुपर्ने भएको छ ।

वन्यजन्तुुमैत्री पूर्वाधार बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कनले औंल्याएका सुझावलाई पनि ग्रहण गर्नुपर्नेछ । वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा सकेसम्म गाइडिङ फेन्ससहित स्थानीय सामग्री प्रयोग गरेर ध्वानी प्रतिरोध गर्ने ढंगले बनाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।

रामनगरमा बनाइएको वन्यजन्तुकाे अन्डरपास

निर्माणको काम गर्दा निर्माण स्थललाई जोखिममुक्त बनाउनुपर्ने, फोहोर फाल्न तथा बाटो, जल, वायु र ध्वानी प्रदूषण गर्न नहुने, ताकिएको स्थानबाहेकमा श्रमिक शिविर, भण्डार, प्रशोधन स्थल बनाउन नहुने लगायतका नियम पनि बनाइएको छ ।

अनुमति नभएका यन्त्र, औजार, उपकरण, विष्फोटक पदार्थ प्रयोग गर्न नहुने र वन्यजन्तुलाई असुविधा हुने गरी काम गर्न नहुने लगायतका व्यवस्था पनि भएको छ ।

अहिले बनिरहेका पूर्वाधार आयोजनाहरुमा वन्यजन्तुमैत्री पूर्वाधार बनाउन आवश्यक देखिएमा सम्बन्धित निकुञ्ज, आरक्ष वा वन डिभिजनले अध्ययन गराएर सम्बन्धित विकासे निकायलाई  सिफारिस गर्न सक्ने निर्देशिकामा उल्लेख छ । वन्यजन्तु संरचनाको संरक्षण गर्नुपर्ने र त्यस्ता संरचना रहेकोबारे जानकारी दिने बोर्ड राख्नुपर्ने व्यवस्था पनि छ ।

निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रमा बन्ने प्रसारणलाइन, राष्ट्रिय तथा प्रादेशकि राजमार्ग, रेलमार्ग, जलविद्युत आयोजना, सिंचाइ आयोजनाहरुमा वन्यजन्तुमैत्री संरचना बनाउनेबारे ठाउँ सिफारिस गर्न वन तथा वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न विकासे मन्त्रालयका सचिवहरुसहितको समिति पनि गठन हुने भएको छ । यो समितिले संरक्षित क्षेत्र भए जाने आयोजनाको ‘राष्ट्रिय पूर्वाधार करिडोर वा क्षेत्र’ निर्धारण गर्नेछ । निकुञ्जभित्र एकै बन्ने आयोजनालाई सकेसम्म एउटै बाटोमाट लैजाने गरी गरी यस्तो करिडोर निर्धारण हुनेछ ।

निर्देशिकाले वन्यजन्तुको वासस्थान खण्डीकरण हुन नदिन अन्य थुप्रै नीतिगत व्यवस्थाहरु गरेको छ । निर्देशिकामा जंगली हात्तीलाई धेरै ठूला वन्यजन्तु प्रजातिभित्र राखिएको छ । गैंडा, बाघ, भालु प्रजाति, ठूला मृग प्रजाति, झारल, घोरल, नीलगाई, गौरी गाई, अर्ना ठूला वन्यजन्तु प्रजातिमा सूचीकृत गरिएको छ ।

साना जंगली बिरालो प्रजाति, निर बिरालो, जंगली कुकुर (ढोले), स्याल, ब्वाँसो, लिंक्स, साना मृग प्रजाति, कृष्णसार, चौका, हुँडार, चितुवा प्रजाति, डल्फिन, बँदेल मझौला वन्यजन्तु प्रजातिको सूचीमा छ ।

कछुवा प्रजाति, सर्प प्रजाति, गोहोरो प्रजाति, गोही प्रजाति, छेपारो प्रजाति, भ्यागुताजस्ता उभयचर तथा सरीसृप प्रजाति, लोखर्के प्रजाति, खरायो प्रजाति, दुम्सी प्रजाति, सिभेट प्रजाति, ओत प्रजाति, न्याउरी मुसा, बाँदर प्रजाति, सालक प्रजाति, हाब्रे, चरिबाघ, लिंगसाङ, चमेरो जस्ता साना स्तनधारी प्रजातिलाई साना वन्यजन्तु प्रजातिमा समेटिएको छ । यी प्रजातिको बाहुल्यता रहेका क्षत्रेमा पूर्वाधार पनि यिनै प्रजातिका लागि तोकिएको आकार र मापदण्डमा बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?