+
+

जोरायल गाउँपालिकाका अध्यक्षसहित ९ जना जनप्रतिनिधिले दिए राजीनामा

चुनाव लड्नका लागि डोटीको जोरायल गाउँपालिकाका अध्यक्षसहित ९ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १५:२८

१० वैशाख, डोटी । चुनाव लड्नका लागि डोटीको जोरायल गाउँपालिकाका अध्यक्षसहित ९ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायतका जनप्रनिधिले राजीनामा दिएका हुन् । ०७४ को स्थानीय तह निर्वाचनमा ओझा र बोहोरा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

एमालेले ओझालाई अध्यक्ष र बोहोरालाई उपाध्यक्षमा पुनः दोहोर्‍याउने निर्णय भएसँगै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा वडा नम्बर ४ का वडाध्यक्ष नन्दराज भट्ट र ६ का वडाध्यक्ष लालबहादुर साउद रहेका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष भट्टलाई एमालेले पुनः सोही वडामा वडाध्यक्षको उम्मेद्वार बनाउने भएको छ भने साउदको उम्मेदवारीको टुङ्गो लागिसकेको छैन ।

राजीनामा दिने जनप्रतिनिधिहरुमा वडा नम्बर २ का वडा सदस्य शँकर रावल र खगिता बिक, वडा नम्बर ३ का वडा सदस्य चक्रबहादुर साउद र लक्ष्मी बिक, कार्यपालिका सदस्य पम्फा थापा छन् ।

यस्तै सायल गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेल, उपाध्यक्ष बिष्नादेवी सिंह र वडा नं. २ का वडाध्यक्ष भीमवहादुर बोहराले पनि पदबाट राजीनामा दिएका छन् । गत स्थानीय तह निर्वाचनमा तीनै जना एमालेबाट निर्वाचित भएका थिए । तिनै जनालाई साविककै पदमा पुनः दोहोर्‍याउने गरी एमालेले सर्वसम्मत निर्णय गरेपछि उनीहरुले राजीनामा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?