
१० वैशाख, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामा निर्वाचित भएका छन् ।
शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनमा लामाले मनिष श्रेष्ठलाई १० मतले हराए । लामाले १९ र श्रेष्ठले ९ मत पाए । यस्तै उपाध्यक्षमा अरुण बल (२३ मत), युवराज लामा (२१ मत) र अजय मानन्धर (१८ मत) विजयी भए । उपाध्यक्षमा पराजित भएका उम्मेदवार राजकुमार श्रेष्ठले १४ र नवराज बज्राचार्यले ८ मत प्राप्त गरे ।
फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ (२५ मत), आशिष थापा (२५ मत), राजाराम थोकर (२४ मत), आलोक स्याङ्तान (२४ मत), पुष्पराज पुडासैनी (२३ मत), सचिन्द्र लामा (२३ मत), सचिन राई (२३ मत), दिनेश चौलागाई (२३ मत), कृष्ण केसी (२० मत) र नवराज तिमल्सिना (१९ मत) निर्वाचित भए । महिला सदस्यमा एलिसा आले निर्वाचित भइन् ।
अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित टीकाराम लामाले सबैलाई समेट्दै संस्थागत हित एवम् फुटबलको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । ‘यो चुनावको परिणाम मेरो पक्षमा आएपनि म सबैलाई समेट्दै जिल्लामा फुटबल खेलको विकासमा लागिपर्ने छु’, उनले भने, ‘चुनावी कुरालाई यहीँ बिर्सेर सबैलाई समेट्दै अघि बढ्नेछु ।’
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको शहीद स्मृति मकवानपुर गोल्डकप र जिल्ला लिग फुटबललाई थप व्यवस्थित गरिने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4