+
+

निर्वाचन आयोगको प्रष्टीकरण : समय अभावले पहिले नै मतपत्र छापेका हौं

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २०:१६

११ वैशाख, काठमाडौं । निर्वाचन आयोगले समय अभावका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसकिने स्पष्टीकरण दिएको छ ।

नेकपा एमालेले मतपत्र छपाइका विषयमा प्रश्न उठाएपछि आइतबार विज्ञप्ति जारी गर्दै आयोगले अन्तिम नामावली प्रकाशनपछि मतपत्र छाप्न नसक्नुको प्रमुख तीन कारण दिएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ महानगरपालिका र भक्तपुरका ४ स्थानीय तहमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै मतपत्र छाप्ने घोषणा गरेका थिए । तीबाहेक अरु स्थानीय तहको भने मनोनयन दर्ता अघि नै मतपत्र छाप्न सुरु गरिसकेको छ ।

नेकपा एमालेले आयोगको यो निर्णयमा आपत्ति जनाउदै पहिले छापिएका मतपत्रहरु नै प्रयोग गर्नुपर्ने माग गरेको थियो । एमालेले ‘निर्वाचन सुरु भइसकेपछि नियम परिवर्तन गर्नुहुदैन’ भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको थियो । उसले विज्ञप्तिमार्फत भनेको थियो, ‘मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो, सोही बमोजिम व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौं ।’

निर्वाचन आयोगको दाबी भने फरक छ । निर्वाचन आयोगले अहिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि १५ दिनको समय छ । उसले १५ दिनको छोटो अवधिमा देशभरका मतपत्र छाप्न नसकिने भनी असमर्थता जनाएको छ । मतपत्र भण्डारण गर्ने पूर्वाधारको उपयोग, सुरक्षा संवेदनशीलता अनि ढुवानी व्यवस्थापनका कारणले सबैतिरको मतपत्र एकसाथ छाप्न सम्भव नहुने आयोगको भनाइ छ ।

निर्वाचन आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा समेत दल दर्तापछि मतपत्र छाप्न सुरु गरिएको भन्दै यसपटक पनि त्यही प्रक्रियालाई अवलम्बन मात्रै गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मतपत्र छपाइ गर्दा अनुमानित उम्मेदवार संख्याको आधारमा छपाइ गर्नुपर्ने कानूनी बाध्यता रहेको कारण उम्मेदवार संख्या आँकलन गरी जिल्लागत रुपमा छपाइ गर्ने अभ्यास थियो ।’ त्यही अनुभवका आधारमा ६ समूह बनाएर ७७ प्रकारका मतपत्र छापिएको आयोगको दावी छ ।

अन्तिम नामावली प्रकाशनपछि मात्रै मतपत्र छाप्नु उचित भएपछि ७५३ स्थानीय तहका ६७४३ वडाहरुका लागि छुट्टाछुट्टै मतपत्र छाप्न नसकिने भन्दै आयोगले कठिन भौगोलिक अवस्थाका कारण समयमा ढुवानी गर्न सम्भव नहुने औंल्याएको हो ।

ठाडो लहरमा दलहरुको निर्वाचन चिह्न राखिएको भन्दै निर्वाचन आयोगले सबैभन्दा माथि राष्ट्रिय मान्यताप्राप्त दलको चिह्न, त्यसपछि जिल्लामा संगठनात्मक संरचना भएको दलको चिह्न र त्यसपछि स्वतन्त्र उम्मेदवारको चिह्न राखिएको जनाएको छ । मतपत्र छपाइदेखि प्याकिङ गर्न ३५ दिनदेखि ४० दिन लाग्ने भन्दै आयोगले त्यसपछि ढुवानीका लागि थप ७ दिन लाग्ने दावी गरेको छ ।

तर निर्वाचन आयोगले ६ नगरपालिका र भक्तपुरका ४ स्थानीय तहमा किन उम्मेदवारको अन्तिम मनोनयन दर्तापछि मात्रै मतपत्र छापिने योजना बन्यो भन्नेबारेमा कुनै कारण खुलाएको छैन ।

उसले त्यसो गर्दा पनि तात्विक फरक नपर्ने दावी गरेको छ । साथै शनिबारको पत्रकार सम्मेलनमा झैं आयोगले विज्ञप्तिमा यो समस्या समाधानका लागि ई-भोटिङ नै अन्तिम विकल्प रहेको भन्दै आगामी निर्वाचनमा त्यसको प्रयोगमा जान सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?