+
+

मनोनयनको पहिलो दिन : साना दल सक्रिय, ठूला दलको भोलि !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २०:३५

११ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन थोरै संख्यामा मात्र मनोनयन दर्ता भएको छ ।

राष्ट्रिय मान्यता पाएका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले उम्मेदवार नै टुंग्याउन सकेका छैनन् ।

सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले कतिपय जिल्लामा भागवण्डा नै मिलाउन सकेका छैनन् । भागवण्डा टुंग्याएका ठाउँमा पनि स्थानीय नेता कार्यकर्ताको चरम असन्तुष्टि सम्बोधन गर्नुपर्ने कारण आइतबार यी प्रमुख दलहरुले धेरैजसो स्थानीय तहमा उम्मेदवारी दर्ता गरेनन् ।

निर्वाचन आयोगले मनोनयन दर्ताको समय दुई दिन राखेका कारण पनि दलहरुलाई केही सहज भएको छ ।

एउटालाई उम्मेदवार बनाउँदा अरु आकांक्षीले अर्को दल प्रवेश गरेर उम्मेदवार बन्ने सम्भावना देखिएका कारण पनि कतिपय स्थानीय तहमा दलहरुले मनोनयनमा हतार नगरेको देखिएको छ ।

यही कारण आइतबार मनोनयनको पहिलो दिन निर्वाचन अधिकृतको कार्यालयहरु सुनसान बनेको निर्वाचन अधिकृतहरु बताउँछन् । कतिपय उम्मेदवारले फारम लगे पनि बुझाउन ल्याएका छैनन् ।

आइतबार उम्मेदवारी दिनेमा साना पार्टी र स्वतन्त्र उम्मेदवारहरु देखिए । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा साना र स्वतन्त्र दलहरुको तर्फबाट मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौंको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टीबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट सीता तामाङ, मौलिक जरोकिलो पार्टीबाट मनोजराज आचार्यले उम्मेदवारी दिएका छन् ।

काठमाडौंको मेयरमा राजन कार्की, बालेन्द्र शाह, ज्ञानु लामा तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा श्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

यस्तै, पोखरा महानगरपालिको मेयरमा ११ जना र उपमेयरमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा राजनीतिक दलबाट ५ र स्वतन्त्र ६ जना छन् ।

मेयरका लागि राप्रपा नेपालबाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट खड्कराज पौडेल (गनेस), किशानसिंह गुरुङ, नवराज बास्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो दिन पोखरामा पनि ठूला पार्टीहरुले उम्मेदवारी दर्ता गरेका छैनन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ८ जनाको उम्मेदवारी परेको छ । दुई जना राजनीतिक दलबाट र ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनमत पार्टीबाट अनिता शाह र नेकपा मालेबाट गीताकुमारी मण्डलले मेयर पदमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुधीरकुमार महतो, अनिल पञ्जियार, विक्की यादव, लक्ष्मण साह, श्यामकिशोर मण्डल र रामसेवक यादव छन् ।

भागवण्डा टुंगिनै बाँकी !

पाँच दलीय सत्तागठबन्धनका बीचमा भागवण्डा नमिल्दा उम्मेदवार चयनमै समस्या भएको छ । सहमति भएका ठाउँहरुमा असन्तुष्टि पनि देखिएको छ ।

ललितपुर जिल्लाका स्थानीय तहमा आफ्नो सम्मानजनक उपस्थिति नभएको भन्दै नेकपा एकीकृत समाजवादीले उम्मेदवारी घोषणा गरेको छ ।

महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिको नेतृत्वमा दाबी गर्दै आएको एकीकृत समाजवादीले भागवण्डा नमिलेपछि ललितपुर महानगरमा उम्मेदवारी घोषणा गरेको हो ।

एकीकृत समाजवादीले ललितपुरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार घोषणा गरेको छ ।

यसैगरी, बुटवल उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनकै घटक जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट भन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेको छ ।

जसपाको तर्फबाट मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकामा पनि कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

सोमबार बढी मनोनयन

निर्वाचन आयोगले यस पटक दुई दिन मनोनयन दर्ताका लागि समय छुट्याएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार दुई दिन समय मनोनयनका लागि छुट्याउँदा राजनीतिक दल, उम्मेदवार र आयोगलाई समेत सहज हुने अनुमान गरिएको थियो ।

तर, सोचे अनुसार पहिलो दिन ठूला राजनीतिक दलहरुको तर्फबाट उम्मेदवारी दर्ता नभएको आयोगका अधिकारीहरु बताउँछन् ।

‘स्वभाविक रुपमा मनोनयन दर्ता सोमबार हुने भयो’ एक आयुक्त भन्छन, ‘एकै दिन मनोनयन दर्ताको समय राख्दा जुन प्रेसर विगतमा महसुस भएको थियो त्यो यसपटक कम हुन्छ । तर, पहिलो दिनको मनोनयन दर्तालाई हेर्दा सोमबार अलि बढी नै प्रेसर हुने देखिन्छ ।’

सोमबार बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय छ । ठूला दलहरुको उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी प्रेसर हुने आयोगले महसुस गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो । तर, पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएकाले सोमबार प्रेस हुने महसुस गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उम्मेदवारहरुको नामावलीको सूची प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ ।

बुधबार र बिहीबार दाबी विरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?