+
+
मन्थन :

गठबन्धनले गरिखाला ?

मोहन तिम्सिना मोहन तिम्सिना
२०७९ वैशाख १२ गते ११:००

देशमा चुनावी माहोल तातेको छ । दलहरूले विगतमा जस्तै चुनावी घोषणापत्र तयार गरिसकेका छन् । नेताहरू ती घोषणापत्र बोकेर गाउँ-टोल पस्ने तरखर गर्दैछन् । अब फेरि गाउँ बस्तीमा विकासे व्याख्यानको बाढी आउनेछ । सबै नेताले आ-आफ्ना भाषणले देशलाई झिलिमिली पार्नेछन् । आम नेपाली अबका केही साता त्यस्तै झिलिमिली गफ सुनेर मक्ख पर्नेछन्  ।

हिजो के कस्ता घोषणापत्र जारी गरिए ? ती कति पूरा भए ? विकासका नाममा भइरहेका क्रियाकलाप कति सही छन् ? दलको घोषणापत्र मुलुकको आजको आवश्यकता र ठोस तथ्याङ्कमा आधारित छ कि छैन ? घोषणापत्र आधुनिक विज्ञान र दिगो विकासको मूल्य-मान्यतामा आधारित छ कि छैन ? यी सवाल सायद कसैले उठाउने छैन ।

यसपालिको चुनावमा केही फरक परिदृश्यहरू पनि छन् । अत्यधिक बहुमत पाएर सरकार बनाएको दल (तत्कालीन ने.क.पा.) फुटेर तीन टुक्रा भएको छ । फुटेका दुई टुक्राले तत्कालीन ने.क.पा. को सरकार ढालेर तत्कालीन प्रमुख प्रतिपक्षी र अन्य दुई दलसँग मिलेर सरकार गठन गरेका छन् । यो सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि मिलेर जाने दाबी गरिरहेको छ । उता प्रतिपक्षीमा फेरिएको दल (एमाले) ले पनि राप्रपा लगायत दलसँग चुनावी गठबन्धन बनाएको छ ।

यसले थप केही प्रश्न उब्जाएको छ । गठबन्धनको अभ्यास कति प्रभावकारी होला ? चुनावी परिणाममा कुन गठबन्धन अगाडि आउला ? यस्ता सवालमा अड्कलबाजी सुरु भइसकेको छ । यी सवालको जवाफका लागि त चुनावको मितिसम्म नै कुर्नुपर्ला । यद्यपि केही कुरा अहिले नै भन्न सकिन्छ ।

चुनावबाट कुनै नयाँ परिणाम आउने छैन । जुनसुकै गठबन्धनले जिते पनि पुरानै प्रवृत्ति दोहोरिनेछ । अनि फेरि पुरानै दिनचर्या सुरु हुनेछ । अर्थात्, भ्रष्टाचार, अनियमितता, विकृति जस्ताको तस्तै । जनता चाहिं तिनै नेतालाई जितायो, तिनै नेतालाई गाली गर्‍यो, बस्यो । सायद अबको केही दशक नै नेपालीको नियति यस्तै हो ।

राजनीति झन् झन् मूल्यहीन हुँदै गइरहेको छ । विज्ञान, विश्व परिवेश, विकासका नवीन मूल्यमान्यता कता पुग्यो, कसैले खोज्दैन । संस्कार, सदाचार, मूल्यमान्यता कहाँ पुग्यो, कसैलाई मतलब छैन । केवल शक्ति र अहंकारको जयजयकार भइरहेको छ । एउटाले अर्कोलाई ‘देखाइदिने’ उद्देश्यबाट गठबन्धन खडा भएका छन् । यस्तै गठबन्धनका नाममा पूरै देश केही अहंकारी पात्रका वयोवृद्ध अहंकारका पछाडि लतारिएको छ । तैपनि देश र जनताले चुनाव त झेल्नै परेको छ ।

चारित्रिक समानता

यसपालि हाम्रा दल यति गैरजिम्मेवार देखिए कि वर्षौंदेखि एकखाले विश्वासमा भोट हाल्दै आएका मतदातालाई भोट हाल्ने ठाउँ नै बाँकी राखिदिएनन् । कांग्रेस मतदाताले ‘अधिनायकवादी’ लाई भोट हाल्नुपर्ने भो । कम्युनिष्ट मतदाताले ‘वर्गदुश्मन’ लाई भोट हाल्नुपर्ने भो । मतदाता छक्क परेका छन् । यस्तो दिन पनि आउँदो रै’छ ।

राजनीतिमा गठबन्धन गलत होइन । तर गठबन्धनका पनि समय, परिवेश र सीमा हुन्छन् । यदि व्यवस्था परिवर्तनकै लडाइँ थियो भने अनेक खाले दल बीच पनि गठबन्धन स्वाभाविक हुन्थ्यो । तर तत्काल त व्यवस्था परिवर्तनको लडाइँ थिएन । यो अवस्थामा त हरेक दलले आफ्नो सिद्धान्त र कार्यक्रमलाई प्रयोग र परीक्षामा लैजानुपर्थ्यो । स्वच्छ प्रचार र प्रतिस्पर्धामा सामेल हुनुपथ्र्यो । यसो नगरेर विपरीत स्वभावका भनिएका दल बीच पनि गठबन्धन खडा गरियो । यो त दलका समर्थकप्रति नै धोखा भयो । साथै यो राजनीतिक गैरजिम्मेवारीको भद्दा नमुना पनि हो ।

दलहरूको यो कदमले यही पुष्टि गरिदियो कि उनीहरूको सिद्धान्त केवल ‘देखाउने दाँत’ हो । असली चरित्रमा उनीहरू एकैठाउँ छन् । अर्थात, सबै दल चरित्रका हिसाबले एउटै हुन् । यहाँ कांग्रेस र कम्युनिस्ट बीच भेद छैन । यहाँ उदारवादी र समाजवादी बीच भेद छैन । यहाँ माओवादी र राजावादी बीच भेद छैन । यहाँ हिन्दुवादी र कल्याणवादी बीच भेद छैन । सबैलाई चाहिएको छ शक्ति । शक्तिका लागि हरेक दल जो सुकैसँग मिल्न तयार छन् । जे गर्न पनि तयार छन् । अब कसैले म यस्तो गुण भएको शक्ति हुँ भनेर दाबी नगर्दा भयो । सबै उस्तै देखिए ।

यो अवस्थाका लागि कसैले तर्क गरेर एमाले अध्यक्ष ओलीलाई दोषी देखाउन सक्ला । कसैले दाहाल वा नेपाल वा देउवालाई दोषी देखाउन सक्ला । तर यस्तो तर्क पनि बेकार छ । ओली वा दाहाल वा नेपाल वा देउवा जस्ता पात्र र प्रवृत्ति आजै हठात् पैदा भएका होइनन् । यी पैदा हुनुमा कार्य-कारण सम्बन्धको लामो शृङ्खलाले काम गरेको छ । यो श्रृंखला हेर्ने हो भने यिनीहरूको प्रवृत्तिमा पूरापूर समानता देख्न सकिन्छ ।

पाखण्डको पराकाष्ठा

गठबन्धनको हतियारले राजनीतिक संकटमोचन गर्न खोज्ने नेताहरूको सोच नै मूर्खतापूर्ण छ । यसरी संकटमोचन हुँदैन बरु झन् जटिल बन्दछ । संकटमोचन नै खोज्ने हो भने अब नेताहरूले फरक ढंगले सोच्न तयार हुनुपर्दछ

त्यसो त, जे भइरहेको छ यो स्वाभाविक छ । अर्थात्, दलहरूबीच कुनै चरित्रगत भिन्नता नदेखिनु एकदमै स्वाभाविक घटना हो । आधुनिक मनोविज्ञानले यो स्वीकार गर्न थालेको छ कि यो संसारमा मनुष्य नै यस्तो एक्लो प्राणी हो, जसको कुनै प्रामाणिक स्वभाव छैन । प्रामाणिक चरित्र छैन । जसका कारण मनुष्यहरूको समूह (संगठन) को पनि कुनै प्रामाणिक चरित्र हुँदैन ।

पशु पूरै प्रामाणिक छ । कुनै पनि पशुमा चारित्रिक विचलन आउँदैन । साथै पशुमा रूपान्तरणको संभावना पनि हुँदैन । तर मनुष्य तरल छ । मनुष्य तल झर्दा पशु उही हो, माथि उठ्दा ‘पशुपतिनाथ’ बन्ने संभावना पनि उही भित्र मात्र छ । यही कारण मनुष्यमा विचलन र रूपान्तरण दुवै चलिरहन्छ ।

केवल बुद्ध-पुरुष -व्यक्ति) मात्र यो नियमबाट मुक्त हुन्छ । नत्र हामी मनुष्य सबै उस्तै छौं । हामी चेतनाका दुई अति बीच यात्रा गरिरहन्छौं । हामी पूरै पशु बन्न पनि सक्दैनौं । पशुपतिनाथ -बुद्ध पुरुष) पनि बनेका हुँदैनौं । शारीरिक आवश्यकताका हिसाबले हामी पशु नै हौं । मन, बुद्धि र अहंकारका कारण हामी मनुष्य हौं । काम, क्रोध, लोभ, मोह र अहंकार हामी सबै मनुष्यको साझा गुण हो । यही साझा गुणले हामी सबैलाई उस्तै बनाइदिएको छ ।

जब यस्तो गुण भएका प्राणीहरू एकठाउँमा जम्मा हुन्छन् तब चाहे कम्युनिष्ट होस् वा कांग्रेस, उदारवादी होस् वा समाजवादी, माओवादी होस् वा राजावादी, हिन्दुवादी होस् वा कल्याणवादी, सबैमा धन सुख, पद सुख र शरीर सुखका लागि लुछाचुँडी चलिहाल्छ । यो कसैले टार्नै सक्दैन ।

कसैले धन छोडे जस्तो गर्ला, तर पदको झगडामा सामेल भइरहेको हुन्छ । कसैले पद छोडे जस्तो गर्ला, तर धनको झगडामा सामेल भइरहेको हुन्छ । यथार्थमा कोही पनि मानिस, उदारवादी वा समाजवादी वा साम्यवादी वा कल्याणवादी वा राजावादी वा हिन्दुवादी आदि हुँदैन । यो सब भन्ने कुरा मात्र हो । सबै काम, क्रोध, लोभ, मोह र अहंकार सहितका पात्र हुन्छन् । सबै कुनै न कुनै तरिकाले स्वार्थको झगडामा सामेल भइरहेका हुन्छन् । यो प्राकृतिक यथार्थ हो ।

राजनीतिमा यो प्राकृतिक यथार्थलाई स्वीकार गर्न सक्नुपर्दछ । यदि यसो गरियो भने त्यसपछिको राजनीतिक विचारधारा नै फरक भएर जान्छ । तब फरक राजनीतिक लक्ष्य र कार्यदिशाका लागि बाटो खुल्छ । यसले सामाजिक सहकार्यलाई पनि मित्रवत् र सृजनात्मक बनाइदिन्छ ।

तर यो प्राकृतिक यथार्थलाई स्वीकार गरिएन भने यहींबाट व्यक्ति र दलको दुःख सुरु हुन्छ । तब विचारधारा नै अप्राकृतिक हुन पुग्छ । त्यस्ता विचारधाराको कार्यान्वयन असम्भव हुन पुग्छ । आफैंले आदर्श मानेको चरित्र र भूमिकामा दल र यसका नेतालाई उभिन असम्भव हुन जान्छ । तब दलभित्र गुट, उपगुट, विवाददेखि टुट, फुट, विभाजन र संगठनको क्षयीकरणसम्म हुन पुग्छ । अनि व्यक्ति र दल दुवै ढांेंगी र पाखण्डी बन्नुपर्ने अवस्था आउँछ । तब दलको आन्तरिक जीवन र सामाजिक सहकार्य दुवै शत्रुवत् र कटुतापूर्ण भएर जान्छ ।

हाम्रो राजनीतिमा माथिको दोस्रो अवस्था लागु भइरहेको छ । अर्थात्, दलहरू प्राकृतिक यथार्थ स्वीकार्न तयार छैनन् । यसकारण उनीहरूको सिद्धान्त र व्यवहारमा तालमेल मिलिरहेको छैन । तलदेखि माथिसम्म धन सुख, पद सुख र शरीर सुखको झगडाको आगो दनदनी बलिरहेको छ । पार्टीभित्र पटकपटक टुटफुट, विभाजन भइरहेको छ । राजनीतिकर्मीहरू हदै दर्जाका ढोंगी र पाखण्डीहरूको झुण्ड भएका छन् । यिनै ढोंगी र पाखण्डीहरू यसपालि गठबन्धनको अप्राकृतिक नौटंकी खेल्न बाध्य भएका छन् ।

आफ्नो घोषित आदर्शमा उभिन नसक्नु नै दल र नेताहरूको गल्ती होइन । यस्तो भूमिकामा टिकिरहन त सम्भवै छैन । यो आफैंमा अप्राकृतिक सोच हो । त्यसैले यस्तो प्रयास नै गर्नुहुँदैन । दलहरूको खास गल्ती यो हो कि उनीहरू मनुष्यको प्राकृतिक स्वभाव अनुकूल चिन्तन, विचारधारा परिमार्जन गर्न तयार छैनन् । आफ्नो संस्कार र व्यवहारले आफूलाई नांगो बनाइसक्दा पनि यिनीहरू आफूलाई उदारवादी वा समाजवादी वा साम्यवादी वा कल्याणवादी वा माओवादी हुँ भनेर व्यर्थको अप्राकृतिक दावी गरिरहेका छन् । यो ढोंग र पाखण्डको पराकाष्ठा कायम राख्नु चाहिं दलहरूको गल्ती हो ।

दोस्रो, जब समग्र मनुष्य जाति नै काम, क्रोध, लोभ, मोह र अहंकार सहितको प्राणी हो, तब समाजलाई एउटा प्राकृतिक नियमको मातहतमा राख्नै पर्दछ । दलहरूले त्यस्तो सर्वोपरि प्राकृतिक नियम भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गर्न तयार हुनै पर्छ । त्यो प्रतिस्पर्धा वैचारिक वा सैद्धान्तिक प्रतिस्पर्धा होइन, केवल मानवीय आवश्यकताको व्यवस्थापनमा कार्यसम्पादन परिणामको प्रतिस्पर्धा हुनुपर्छ ।

तर हाम्रा दलहरू त्यस्तो प्राकृतिक नियम बनाउन र अनुसरण गर्न पनि तयार छैनन् । कार्यसम्पादन परिणाममा प्रतिस्पर्धा गर्न पनि तयार छैनन् । उनीहरू व्यर्थको शाब्दिक आडम्बर देखाउँदै गठबन्धनको झेली खेलका माध्यमबाट शक्ति भोग गर्न चाहन्छन् । यो उनीहरूको अर्को गल्ती हो । यिनै गल्तीले आज दल र नेताहरू बदनाम भएका छन् । पार्टी संगठन, गुट-उपगुट र झै-झगडाले घेरिएका छन् । समाजमा ढोंगी र पाखण्डीहरूको जगजगी बढेको छ । समाज अधोगतितर्फ धकेलिएको छ । चुनावमा देखिने सारा विसंगतिको स्रोत पनि यही हो ।

गठबन्धनको गणित

नेताहरू सोचिरहेका छन्, गठबन्धनले आ-आफ्नो साख र इज्जत बचाउनेछ । तर नेताहरूको यो सोच दिवास्वप्न सावित हुनेवाला छ । वास्तविकतामा स्थानीय चुनाव दलगत नै हुँदैन । गठबन्धन त परको कुरा भयो । यो कहींकतै व्यावहारिक छैन ।

स्थानीय चुनावमा त हरेक मानिसका प्रत्यक्ष सम्बन्ध भएका मानिस उम्मेदवार भएका हुन्छन् । को कस्तो हो ? यो उनीहरूले नजिकबाट चिनेका हुन्छन् । यो अवस्थामा मतदाताले दल हेर्दैनन् । मन परेको मान्छे चाहिं हेर्दछन् ।

दोस्रो, व्यावहारिक जीवनको सहकार्यमा कार्यकर्ता र मतदाताले आफ्नै पार्टी वा अर्को पार्टीका उम्मेदवार पात्रबाट न्याय-अन्याय, सम्मान-अपमान सहेका हुन्छन् । यसको हिसाबकिताब उनीहरूले चुनावमै गर्नुपर्ने हुन्छ । यहाँ पनि उनीहरू पार्टी हेर्दैनन्, व्यक्ति हेर्छन् ।

तेस्रो, ग्रामीण क्षेत्रमा गठबन्धनका उम्मेदवार पिच्छेका चुनाव चिन्ह चिनेर मतदान गर्ने मतदाता बहुत कम हुन्छन् । दलका विशेष कार्यकर्ताले मात्र यसो गर्न सक्छन् । आम मतदाताले ‘बानी परेको’ चुनाव चिन्हमा मतदान गर्दछन् । यहाँ पनि गठबन्धनका नेताले भनेको ठाउँमा मतदान हुँदैन ।

चौथो, तत्कालीन नेकपा भित्र ओली-नेपाल झगडा वा ओली-प्रचण्ड झगडाको नालीबेली थोरै मतदाताले मात्र जानकारी राखेका छन् । आम मतदातालाई यस्ता झगडासँग वास्ता हुँदैन । यो अवस्थामा पनि मन परेको व्यक्ति वा ‘बानी परेको’ चुनाव चिन्हमै मतदान हुन्छ ।

पाँचौं, दलको उपल्लो तहका नेताले भुइँ तहमा काम गर्ने कार्यकर्तालाई अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल भन्दैमा तिनीहरूले त्यो आदेश पूरापूर मानिहाल्छन् भन्ने हुँदैन । एउटा प्रतिबद्ध कांग्रेसले कहिल्यै कम्युनिस्ट वा गैरकांग्रेसलाई भोट हाल्दैन । बरु उसले मतपत्र खाली छोडिदिन्छ । एउटा प्रतिबद्ध कम्युनिस्टले पनि कांग्रेस वा गैरकम्युनिस्टलाई भोट हाल्दैन । उसले पनि मतपत्र खाली नै छोडिदिन्छ । यो दृष्टिबाट हेर्दा पनि गठबन्धनले भनेको ठाउँमा मतदान हुने देखिंदैन ।

छैटौं, गठबन्धनलाई मेयर र उपमेयर पदमा तालमेल मिलाउनै हम्मे परिसक्यो । वडा तहमा तालमेल मिलाउन त असंभव नै छ । यी ६ वटा तथ्यहरूले नै भन्दछन्, गठबन्धनले ‘गरिखाने’ छाँट छैन ।

यदि २०६४ सालको माओवादी जस्तो कुनै नयाँ शक्ति जबरजस्त उदाएको हुन्थ्यो भने मतदाताहरू त्यता ढल्कन सक्थे । तर यहाँ त सबै पुरानै खेलाडी छन् । अनि यिनीहरूलाई छानी छानी भोट दिनुपर्ने झन्झट कसले उठाउँछ ?

यो चर्चाको सारमा भन्न सकिन्छ, अहिलेका दुवैखाले गठबन्धन आफैंमा गतिलो अभ्यास होइनन् । यो त लोभी र कायर मानसिकता भएका नेताहरूको हुतिहारा काम हो । यसले दल र नेताको इज्जत जोगाएको छैन । बरु बेइज्जती मात्र गरेको छ ।

जतिसुकै गठबन्धन गरे पनि यो चुनावमा कुनै दलले आफ्नो हैसियत भन्दा बढी फाइदा पाउने छैनन् । बरु दल विशेषको भएको मत पनि चुनावी गञ्जागोलले घट्नेवाला छ । गठबन्धनको हतियारले राजनीतिक संकटमोचन गर्न खोज्ने नेताहरूको सोच नै मूर्खतापूर्ण छ । यसरी संकटमोचन हुँदैन बरु झन् जटिल बन्दछ । संकटमोचन नै खोज्ने हो भने अब नेताहरूले फरक ढंगले सोच्न तयार हुनुपर्दछ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?