+
+

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

श्रवण देव श्रवण देव
२०७९ वैशाख १२ गते २२:०७

१२ वैशाख, जनकपुरधाम । धनुषा जिल्लाका स्थानीय तहमा उम्मेदवार चयन गर्न आइतबार जनकपुरधामस्थित राजदरबार होटलमा जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्यो । बैठकमा टिकट वितरणको विषयमा विवाद हुँदा कुटाकुटमै भयो ।

कुटाकुटमा आधा दर्जनभन्दा बढीलाई सामान्य चोटपटक लाग्यो । कुटाकुटको स्थिति बन्नुको कारण थियो गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवसहित केही व्यक्ति उम्मेदवार चयन नहुनु ।

बैठकमा सहभागी यादव र उनका समर्थकले टिकट पाउने स्थिति नदेखेपछि विवाद गर्दै कुटपिट गरेको जसपा स्रोतको भनाइ छ । यो घटना भएको एक घण्टा नबित्दै उनै यादव भानुचोकमा आएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरे । उनलाई लोसपाका नेता एवं संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांस समेत रहेका जिल्ला अध्यक्ष परमेश्वर साहले स्वागत गरे । स्वागतमात्रै होइन, लोसपाबाट यादवले मेयरको टिकट पनि पाए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको छ । मधेश प्रदेशमा मुख्य दलहरुले आइतबार साँझसम्म धेरै पालिकामा उम्मेदवारी टुंग्याउन नसक्दा आकांक्षीहरु अन्यौलमा परे । आफूले टिकट नपाउने स्थिति आएपछि यसअघि निर्वाचित जनप्रतिनिधिले धमाधम पार्टी परिवर्तन गरे । यसबाहेक अरुलाई टिकट दिएपछि पार्टी परिवर्तनको दौड तीब्र गतिमा भयो ।

पार्टी परिवर्तन गर्नेमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव पनि देखिए । जनता समाजवादी पार्टी (जसपा) बाट पूर्व राजपाका नेताहरु अलग भएर लोसपा बनाउँदा यादवले लोसपा नै रोजेका थिए । तर उनी आइतबार जनता प्रगतिशील पार्टीबाट छिन्नमस्ता गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

एकाएक पार्टी परिवर्तन गर्नेमा सप्तरी सदरमुकाम राजविराजकै निवर्तमान मेयर शम्भु यादव पनि देखिए । २०७४ सालको स्थानीय निर्वाचनमा १५ मतान्तरले तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । पछि जसपा फुटेर लोसपा बन्दा उनले जसपा नै रोजेका थिए ।

यो चुनावमा जसपाले मेयरको टिकट भीमराज यादवलाई दिएको छ । यो जानकारी पाएलगत्तै शम्भुले पार्टी छाड्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी सोमबार बिहान माओवादीमा प्रवेश गरी मेयर पदमा पुनः उम्मेदवारी दिएका छन् ।

सप्तरीमा जसपाकै नेता वीरेन्द्र माझीले हनुमाननगर कंकालिनी नगरपालिकामा टिकट पाउने अवस्था नदेखेपछि जनमत पार्टीमा प्रवेश गरेका छन् । सोही पार्टीबाट उनले मेयर पदमा उम्मेदवारी मनोनयन दर्तासमेत गराइसकेका छन् ।

सप्तरीकै छिन्नमस्ता गाउँपालिकाका माओवादी केन्द्रका नेता जयप्रकाश यादव आफूलाई टिकट नदिने जानकारी पाएपछि रातारात पार्टी परिवर्तन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

छिन्नमस्ता गाउँपालिकाकै निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ यस पटक अर्काे पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् । २०७४ सालमा तत्कालिन नयाँ शक्तिबाट अध्यक्ष जितेका उनले यस पटक नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका छन् । तत्कालिन नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर जसपा बनेको छ । र, जसपाले उनलाई टिकट नदिएपछि अर्कै पार्टीबाट उम्मेदवारी दर्ता गरे ।

२०७४ सालको निर्वाचनमा सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेसबाट मेयरमा निर्वाचित निरसल साह पुनः कांग्रेसबाटै टिकट पाउने अवस्था नदेखेपछि जसपामा प्रवेश गरेका छन् । पार्टी प्रवेशलगत्तै उनले जसपाबाटै मेयरको टिकट पाएका छन् ।

पार्टी परिवर्तन गरेपनि पाएनन्

मधेशमा पार्टी परिवर्तन गरेपनि टिकट नपाउने नेता पनि देखिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नेकपा एमालेमा प्रवेश गरे ।

एक साताअघि मात्रै एमाले प्रवेश गरेका उनले मेयरको टिकट पाउने आश राखेका थिए । तर, एमालेले शिवशंकर साहलाई मेयरको टिकट दियो । यसपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

साहसँगै एमालेका नेता सरोज मिश्रले उपमेयरमा उम्मेदवारी दिएका छन् । मिश्र पनि केही महिनाअघि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

नवप्रवेशीलाई प्राथमिकता

उम्मेदवारी दर्ताको पहिलो दिन मधेशका अधिकांस जिल्लामा प्रमुख दलले उम्मेदवारी दर्ता गराएनन् । नेकपा एमालेको जनकपुरधाम उपमहानगरपालिकास्तरीय कमिटीले उपमेयरको उम्मेदवार खाली राखेको थियो । यो सिटमा नेपाली कांग्रेसकी प्रदेश सदस्य रुना झा अटाइन् ।

कांग्रेस त्यागेर एमाले प्रवेश गरेको केहीबेरमै उनलाई एमालेले उपप्रमुखको उम्मेदबार बनायो ।

धनुषाकै कमला नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले मेयरको उम्मेदवार छनोट गरेको थिएन् । पार्टीका केही नेताले मेयरमा आकांक्षा राखेका थिए, तर सोमबार बिहानै नेपाली कांग्रेसका नेता वीरेन्द्र प्रसाद यादव लोसपा प्रवेश गरे र मेयरको टिकट पनि पाए ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर झा राजनीतिक दलले स्थानीय प्राकृतिक स्रोतको आम्दानीम आँखा लगाएकाले जसरी पनि जित्ने उम्मेदवार खोज्ने गरेको बताउँछन् । ‘दलहरुले पनि जित्ने उम्मेदबार चाहिने अपेक्षा राखेको र जित्नेको पनि मनोभावना कुनै दलबाट गए जितिहाल्ने मनोविज्ञान हावी भएको छ’ उनी भन्छन् ।

विश्लेषक झा स्थानीय तहको पहिलो चुनाव भएको ५ बर्षको अनुभवमा स्थानीय सरकारको प्रमुख बन्नेले स्थानीय स्रोत साधनको आम्दानीमा आँखा गाडेको पाइएको बताउँछन् । ‘त्यही भएर यो दलबाट त्यो दलबाट टिकट लिनुपर्ने, विभिन्न पेशा छोडेर आउनुपर्ने तथा टिकट खरिद बिक्रीको काम भइरहेको छ’ उनले भने ।

स्थानीय सरकारमा व्यवस्थापकीय क्षमता हुने व्यक्तिलाई प्रोत्साहन दिनुपर्नेमा ठेकेदार, पहिला जितेका, पैसा भएका, जातीय भोट बढी भएकालाई उम्मेदबार बनाउने गरिएको झा बताउँछन् ।

५ बर्षसम्म कुनै पनि दलले यसमा छलफल नै नगरेको उनको भनाइ छ । कुनै पनि पालिकामा व्यवस्थापकीय क्षमता भएका व्यक्ति नआएको भन्दै उनी प्रायः सबैतिर कमसल उम्मेदवार देखिएको बताउँछन् । ‘कमसलबीचको अब्बल चुन्नु जनताका लागि बाध्यता छ’ झा बताउँछन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?