+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

मधेश केन्द्रित दल चुनावी गठबन्धनको तयारीमा

जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि चुनावलाई एकमात्र विकल्प मानेर आफूहरू देशव्यापी रूपमा निर्वाचन केन्द्रित तयारीमा जुटिसकेको बताए । तर, मोर्चामा आवद्ध दलहरूबीच पार्टी एकीकरणको सम्भावनालाई भने उनले अस्वीकार गरे ।

केशव सावद केशव सावद
२०८२ मंसिर १० गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय लोकतान्त्रिक मोर्चाका दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल र सिट समायोजनमा छलफल गरिरहेका छन्।
  • मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लले चुनावी गठबन्धनको अन्तिम स्वरूपबारे निर्णय हुन बाँकी रहेको र चुनाव मिति निश्चित नभएसम्म अन्य दलसँग तालमेल अनिश्चित रहने बताए।
  • जसपा नेपालका प्रवक्ता मनिष सुमनले निर्वाचन केन्द्रित तयारीमा जुटेको र सरकारले सहज राजनीतिक वातावरण बनाउनुपर्ने उल्लेख गरे।

१० मंसिर, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका दलहरू आशन्न निर्वाचनमा तालमेल गरेर जाने मनस्थितिमा देखिएका छन् ।

अन्तरिम सरकारले २१ फागुनका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनका लागि दलीय रूपमा एक्ला–एक्लै आन्तरिक तयारीमा जुटेका मोर्चाआवद्ध दलका नेताहरूले चुनावी तालमेलको सम्भावना रहेको बताएका छन् ।

मोर्चाको घटक लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले पार्टीले चुनावी गठबन्धन र एकताको प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । प्रारम्भमा ‘संघीय लोकतान्त्रिक मोर्चा’ भित्र सिट समायोजनमा ध्यान केन्द्रित गरिने उनको भनाइ छ ।

‘चुनावी गठबन्धन गरेर या विचार मिल्ने पार्टीहरूसँग एकता नै गर्ने भन्नेबारे छलफल चलिरहेको छ । हाम्रो गठबन्धन एकता अथवा सिट एडजस्टमेन्ट मोर्चाभित्र हुन्छ,’ उनले भने, ‘हामी एउटा बलियो गठबन्धन होस्, बलियो समझदारी होस् भन्ने पक्षमा छौँ । त्यसैअनुसार हामी अगाडि बढ्छौं ।’

यद्यपि, नेता शुक्लले गठबन्धनको अन्तिम स्वरूपबारे निर्णय हुन बाँकी रहेको र चुनावको निश्चित मिति तय नभएसम्म अन्य विचार मिल्ने दलहरू सँगको तालमेल पनि अनिश्चित रहने प्रतिक्रिया दिए ।

‘पहिलो तालमेल–एकता मोर्चाभित्रै हुन्छ । त्यसपछि विचार मिल्ने अन्य दलहरूसँग हुन्छ,’ उनले भने, ‘कोसँग हुन्छ भन्ने कुरा अहिलेसम्म निश्चित भइसकेको छैन । किनभने २१ फागुनमा चुनाव हुन्छ भन्ने कुरा ठोकुवा गर्ने स्थिति चाहिँ छैन ।’

नेता शुक्लले लोसपा चुनावमा भाग लिन तयार रहे पनि हाल ग्रामिण क्षेत्रमा राजनीतिक सभा र सम्मेलनहरू आयोजना गर्ने त्रासमुक्त वातावरण अझै बन्न नसकेको गुनासो गरे ।

सरकारले जतिसक्दो चाँडो पछिल्लो परिस्थिति सामान्यीकरण गरेपछि चुनावी तयारीलाई पूर्ण गतिमा बढाइने पनि शुक्लले बताए । उनले उम्मेदवारहरूको लागि लोसपाले ‘सर्भे’ को काम जारी राखेको जानकारी दिए ।

‘हामीले चुनावमा भाग लिन्छौं भन्ने निर्णय गरेका छौं । हामी आफ्नो तयारीमा छौं क्यान्डिडेटहरूको बारेमा सर्भे गरिरहेका छौं,’ नेता शुक्लले भने, ‘तर जनता र राजनीतिक व्यक्तिको सम्पर्क, सम्पर्कको तरिका जुन हुन्छ, त्यो स्थिति अझै बनिसकेको छैन । हामी त्यसैको प्रतिक्षामा छौं ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि चुनावलाई एकमात्र विकल्प मानेर आफूहरू देशव्यापी रूपमा निर्वाचन केन्द्रित तयारीमा जुटिसकेको बताए । यद्यपि, उनले निर्वाचनका लागि सरकारले सहज राजनीतिक वातावरण तयार गर्नुपर्ने र जेलबाट फरार कैदीबन्दी र सुरक्षाकर्मीबाट खोसिएका हतियार फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

‘हामी निर्वाचन होस् भन्ने चाहन्छौं, जसपा नेपाल निर्वाचन नै एउटा विकल्प हो भन्ने मान्यता भएको पार्टी हो । पार्टीले चुनावलाई केन्द्रित प्रत्येक निर्वाचन क्षेत्रमा नेताहरू खटाई सकेको छ,’ प्रवक्ता सुमनले भने, ‘सरकारले चुनावको वातावरण बनाउनु पर्‍यो । जेनजी आन्दोलनमा भागेका कैदी अझै पनि बाहिर छन् । सुरक्षाकर्मीका लुटिएका हतियार बाहिरै छन् । सबै फिर्ता ल्याउने जिम्मा सरकारको हो ।’

जसपा नेपालका प्रवक्ता सुमनले ‘संघीय लोकतान्त्रिक मोर्चा’ का सदस्य दलहरूसँग चुनावी तालमेलका लागि सहकार्य गर्न खुला रहेको पनि बताए । आवश्यकताअनुसार पार्टीले एक्लै वा गठबन्धनमा चुनाव लड्ने रणनीति अपनाउने उनको भनाइ छ ।

‘तालमेलका लागि हामी खुला छौं । निर्वाचन छ, सबै अपनाइन्छ । हामी संघीय लोकतान्त्रिक मोर्चामा सदस्य छौं । मोर्चाले आपसी सहकार्य, गठबन्धन, तालमेलका अभ्यासहरू गरिरहेको छ,’ उनले भने, ‘उम्मेदवारी दर्ताको दिनसम्म ती बाटाहरू रहिरहन्छ । तसर्थ, हामी तालमेल पनि गर्न सक्छौं । एक्लै पनि चुनाव लड्छौं ।’

‘संघीय लोकतान्त्रिक मोर्चा’ को अर्को घटक जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि चुनावी गठबन्धनका लागि कुनै प्रतिबन्ध नरहेको प्रतिक्रिया दिए ।

मोर्चामा आवद्ध दलहरूबीच गठबन्धन हुन सक्ने भए पनि परिस्थिति र क्षेत्रगत बाँडफाँटको आधारमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने उनको भनाइ छ ।

‘हामी संयुक्त लोकतान्त्रिक मोर्चामा छौं । मोर्चामा गठबन्धन हुन पनि सक्छ । कुनै त्यो रेस्ट्रिक्सन होइन, गठबन्धन हुन पनि सक्छ, नहुने पनि होइन,’ महासचिव सिंहले भने, ‘अब परिस्थिति कस्तो बन्छ । कुन–कुन क्षेत्र कसले लिने, त्यो एउटा निधो हुन्छ । त्यो अनुसारले हामी गठबन्धन गर्न पनि सक्छौं ।’

सिंहले जनमत पार्टीले आगामी निर्वाचनको तयारी स्वरूप संगठनात्मक गतिविधि र भेलाहरू सञ्चालन गरिरहेको जानकारी दिए । ‘चुनावको तयारी हामी गरिरहेका छौं,’ उनले भने, ‘हरेक जिल्लामा संगठनात्मक गतिविधि सुरु भएको छ । जिल्लास्तरीय कार्यकर्ता भेलादेखि गाउँपालिका–नगरपालिका हुँदै वडासम्म सम्मेलन र भेलाहरू गर्दैछौं ।’

जनमतका महासचिव सिंहले मोर्चामा आवद्ध दलहरूसँग पार्टी एकताको सम्भावना भने तत्काल नरहेको बताए । ‘चुनावी गठबन्धन र पार्टी एकताको कुरा छुट्टै हो,’ मोर्चामा आवद्ध दलहरूबीच एकीकरणको सम्भावनाबारे अनलाइनखबरको प्रश्नमा उनले भने, ‘मोर्चामा गठबनधन हुन सक्छ । एकताको कुरा हुँदै हुँदैन । अहिले एकताको कुरा छैन ।’

जसपा नेपालका महासचिव सुमनले पनि मोर्चामा आवद्ध दलहरूबीच पार्टी एकीकरणको सम्भावनालाई अस्वीकार गरे । ‘पार्टी एकताका लागि कुनै अभ्यास चलेको छैन । चुनावी तालमेल त हुन सक्छ,’ उनले भने, ‘अहिले एकीकरणको कतै कुनै प्रयास र अभ्यास चलिरहेको छैन ।’

तराई–मधेशलाई आधार क्षेत्र बनाएका विभिन्न सात दलहरूले २१ चैत ०८१ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी थिए ।

नाउपामा विवाद बढेपछि मोर्चामा आवद्ध अन्य दलहरूले रेशमलाल चौधरीलाई मान्यता दिएका थिए । हाल चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

मोर्चामा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि आवद्ध छन् ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?