+
+

पालिका प्रमुखमा पुरानै नेताको दबदबा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ वैशाख १२ गते २२:३०

१२ वैशाख, काठमाडौं । आइतबार र सोमबार ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । तर, नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्नेहरुमा पाका र पुराना अनुहारको दबदबा छ । संघीय सांसद, प्रदेश सांसद भइसकेकादेखि पूर्वमेयर/उपमेयर र निवर्तमान प्रमुखहरुनै पुनः उम्मेदवार भएका छन् ।

उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान राखिए पनि देशभरबाट कतिले राजीनामा दिएर पुनः उम्मेदवारी दर्ता गरे भन्ने एकीकृत तथ्याङ्क संघीय सरकार र प्रदेश सरकारसँग छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव एवं प्रवक्ता बसन्त अधिकारी स्थानीय तहका जनप्रतिनिधिहरुले दिएको राजीनामाको विवरण माग गर्ने क्रममा रहेको बताउँछन् । ‘विवरण नमाग्दासम्म विवरण पठाउने अभ्यास छैन । यसकारण पछिल्लो समय कति स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिए भन्ने यकिन तथ्याङ्क मन्त्रालयसँग छैन’ अधिकारीले भने ।

तर, मनोनयन दर्ता गर्नेहरुमा भने नयाँ भन्दा पुरानै अनुहारहरुको बाहुल्यता रहेको निर्वाचन आयोगकै अधिकारीहरु बताउँछन् । आयोगले उम्मेदवारी दर्ता गराउँदा उमेर समेत खुलाउनुपर्ने प्रावधान राखेको छ । अर्थात्, निर्वाचन आयोगले उम्मेदवारहरुको उमेरगत विवरण पनि तयार गर्दैछ ।

‘उम्मेदवारहरुको उमेरगत प्रारम्भिक विवरण केलाउँदा युवा पुस्ता पालिका प्रमुख र उपप्रमुखका दाबेदारका रुपमा खासै देखा परेका छैनन्’ एक निर्वाचन आयुक्त भन्छन्, ‘पालिका प्रमुख र उपप्रमुखमा केही युवाहरुले स्वतन्त्र र साना दलबाट उम्मेदवारी दर्ता गरेका छन् । तर, ठूला दलले युवालाई अगाडि नसार्दा अबको पाँच बर्ष फेरि स्थानीय तहको नेतृत्वमा पाका र पुराना अनुहार आउनेमा सन्देश रहेन ।’

उनले भनेजस्तै पुराना अनुहनरहरु महानगर र उपमहानगर मात्रै नभएर नगरपालिकाको नेतृत्वका लागि लालायित भएका छन् । संघीय सांसदमा हारेकादेखि प्रदेश सांसद छोडेर मेयर हुन जानेहरु प्रशस्तै देखा परेका छन् । उनीहरुको तर्क छ– स्थानीय सरकार जनताको सेवा गर्ने नजिकको सरकार रहेछ ।

मेयरमा पुराना नेता र प्रदेश सांसदको मोह

काठमाडौं महानगरको नेतृत्वका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मनोनयन दर्ता गरेकी छन् । सिंह पुराना नेता हुन् ।

२०३५–२०३८ सालसम्म महाबौद्ध क्याम्पसमा नेपाल विद्यार्थी संघकी सचिवदेखि इकाइ सभापतिसम्म भएर राजनीतिमा जमेकी उनले २०३६ सालमा महिला बहुदलीय प्रचार प्रसार समिति जिल्ला गोरखा अध्यक्ष भएर काम गरेकी थिइन् । २०३९ सालमा सिंहले शंकरदेव क्याम्पसको कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई हराएकी थिइन् ।

२०४२ सालमा कांग्रेस नेता प्रकाशमान सिंहसँग विवाह गरेपछि उनी राजनीतिबाट छायाँमा परेकी थिइन् । तर, उनी पुनः राजनीतिका सक्रिय हुने गरी काठमाडौं महानगरको मेयरमा उठेकी छन् ।

सबैभन्दा ठूलो दल नेकपा एमालेबाट काठमाडौंको मेयरका लागि केशव स्थापितले मनोनयन दर्ता गरे । स्थापितलाई काठमाडौंका जनताले २०४३ सालदेखि काठमाडौंकै मेयरमा भोट हाल्न थालेका हुन् । ०४३ मा मेयर उठेका उनी पराजित भएका थिए । ०४८ मा पनि मेयरमै पराजित भए तर, ०५४ मा काठमाडौंको मेयर जितेर काम गरे । ०७९ को चुनावमा उनै स्थापित पुनः उम्मेदवार भएका छन् ।

स्थापितले ०७४ सालको चुनावमा बागमती प्रदेश सांसद जितेका थिए । उनले बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भएर काम पनि गरे । प्रदेश सरकारको मन्त्री भएर प्रदेश कार्यपालिकामा भूमिका निभाइसकेका स्थापित पुनः स्थानीय तहको नेतृत्वमा झर्न तयार भएका पात्र हुन् ।

स्थानीय तह, प्रदेश हुँदै संघीय राजनीतिमार्फत समाजको सेवा गर्नेगरी विकास भएर अगाडि बढ्नुपर्नेमा पुनः स्थानीय तहमा झरेको भनेर कतिपयले आलोचना गर्ने गरेका छन् । तर, स्थापित यस्ता एक्ला पात्र होइनन् ।

एमालेबाटै पोखराका मेयर उठेका कृष्ण थापा पनि गण्डकी प्रदेशसभा सदस्य हुन् । यस्तै भरतपुरको मेयरमा एमालेबाट उम्मेदवारी दिएका विजय सुवेदीले वागमती प्रदेशसभाबाट राजीनामा दिएका हुन् ।

प्रदेश १ का सांसदद्धय काजीमान कागते र गोपालचन्द्र बुढाथोकी पनि नगरपालिकाको मेयरका लागि मैदानमा उत्रिएका छन् ।

दुबै जना एमालेबाट प्रदेशसभा सदस्य थिए । प्रदेश सांसदबाट राजीनामा दिएर कागतेले इलामको सूर्योदय नगरपालिकाको मेयरका लागि मनोनयन दर्ता गरेका छन् भने बुढाथोकीले झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवारी दर्ता गरेका छन् ।

मधेश प्रदेश सभा सदस्य शेषअबुल कलाम आजादले पनि रौतहटको गढीमाई नगरपालिकाको मेयरका लागि राजीनामा दिए ।

स्वतन्त्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएका उनी पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । अहिले प्रदेश सांसदबाट राजीनामा दिएर जसपाका तर्फबाट मेयरमा उम्मेदवारी दिए ।

नेपाली कांग्रेसका मधेश प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहले पनि सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरे ।

नेकपा माओवादी केन्द्रका नेता दिपेश थारुले पनि लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकामा मेयरका लागि उम्मेदवारी दर्ता गरेका छन् । समाजवादको आधार तयार पार्नका लागि आफू प्रदेश सांसद छोडेर मेयरमा लड्न लागेको उनको भनाइ छ ।

‘प्रत्यक्ष जनतालाई सेवा दिने थलो स्थानीय तह रहेछ । समाजवादीको आधार तयार गर्न स्थानीय तह नै बलियो र प्रभावकारी हुनुपर्ने रहेछ’ मेयरमा उम्मेदवारी दिएपछि थारुले अनलाइनखबरसँग भने, ‘जनतालाई परिवर्तनको अनुभूत दिलाउन मैले प्रदेश सांसद पद छाडेर स्थानीय तह रोजेको हुँ ।’

नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानपालिकाको मेयर पशुपतिदयाल मिश्रको उम्मेदवारी परेको छ । मिश्र २०७४ को निर्वाचनमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट एमालेसँग तालमेल गर्दै सूर्य चुनावचिन्ह लिएर बाँके क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थिए । तर, पराजित भएका थिए । गत मंसिर १ गते एमालेमै प्रवेश गरेका उनी उपमहानगरको मेयरमा लड्दैछन् ।

पुरानै प्रतिस्पर्धी, पुरानै दाबेदार

कतिपय ठाउँमा ०७४ मा चुनाव जितेका र हारेका दुबैले यो पटक पुनः अवसर पाएका छन् । महानगर र उपमहानगरसहित प्रभावशाली स्थानीय तहमा पुरानै प्रतिस्पर्धीहरु मैदानमा देखिन्छन् ।

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेपाली काग्रेसका चिरिबाबु महर्जन र एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार भिड्दैछन् । यी दुबै ०७४ सालका मेयरका प्रतिस्पर्धी हुन् । ०७४ को चुनावमा निवर्तमान मेयर महर्जनले व्यञ्जनकारलाई ३२६ मतले हराएका थिए । २४ हजार ६४२ मत ल्याएर महर्जन विजयी हुँदा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए ।

अर्थात, पाँच दलीय सत्तागठबन्धन र एमालेले ललितपुरको नेतृत्वमा नयाँ अनुहार देखाउन सकेन । यस्तो अन्यत्र पनि भएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयरमा माओवादी केन्द्रका रेनु दाहालले पुनः उम्मेदवारी दिएकी छन् । ०७४ मा पनि कांग्रेसको सर्मथनमा चुनाव जितेकी रेनु यो पटक पनि कांग्रेसहितको गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी छन् । कांग्रेसले उही अनुहारका लागि भोट दिन तयार छैनौं भन्दा केन्द्रीय नेतृत्वले हस्तक्षेप नै साझा उम्मेदवारका रुपमा मेयरमा अगाडि सारेको हो ।

रेनुको प्रतिस्पर्धा पनि नयाँ अनुहार तथा पुरानै नेतासँग हुँदैछ । २०३९ सालदेखि राजनीतिमा होमिएका सुवेदी २०५६ सालमा प्रतिनिधिसभा सदस्य पदमा तत्कालिन चितवन क्षेत्र नं. ४ बाट र २०६४ सालमा चितवनको तत्कालिन क्षेत्र नं. ५ बाट संविधानसभा सदस्य पदमा उम्मेदवार बनेका थिए ।

०७४ मा चितवनबाटै प्रदेश सभा सदस्य जितेका सुवेदीले सांसदबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

रेणु दाहालले सत्तागठबन्धनबाट टिकट पाएपछि असन्तुष्ट कांग्रेस नेताहरुको तर्फबाट भरतपुरकै मेयरमा कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । उनी पाका नेता हुन् ।

वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । ०७४ को चुनावमा वीरगञ्ज महानगरकै मेयरमा जनता समाजवादी पार्टी (जसपा)बाट विजयी भएका उनले यो पटक जसपा छाडेर एमालेबाट मेयरको टिकट लिएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पनि निवर्तमान मेयर लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।

साह ०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । अहिले उनी जसपामा छन् । सत्तागठबन्धनले जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादीलाई दिने सत्ता गठबन्धनको सहमति अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा एमालेले घोराही उपमहानगरपालिकामा नरूलाल चौधरीलाई दोहो¥याएर मेयरको उम्मेदवार बनाएको छ । उनलाई दोहोर्‍याउनुको कारण हो – उनले थाहरुहरुको जातीय भोट लिन सक्छन् । उनले पहिलो कार्यकालमा गरेको फोहोर व्यवस्थापनबाट बायो ग्यास प्लान्ट स्थापना र कृत्रिम जलाशय निर्माणलाई नगरबासीले सकारात्मक रुपमा लिएकाले दोहोर्‍याएको एमाले घोराहीको तर्क छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा एमालेबाट शान्ति ढकाल उम्मेदवार छन् । ढकाललाई पार्टीले उपमेयर दोहोर्‍याएर उम्मेदवार बनाएको हो । २०७४ को स्थानीय चुनावमा पनि उनी उपमेयरकी उम्मेदवार थिइन् । तर, पराजित भएकी थिइन् ।

पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा मनोनयन दर्ता गरेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य पनि पुराना नेता हुन् ।

२०३९ सालबाट अनेरास्ववियुबाट राजनीति सुरु गरेका आचार्य २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका थिए । पार्टीमा उनले २०५० देखि २०५४ सालसम्म संगठनको पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएर जिम्मेवारी निर्वाह गरेका थिए । धनराजका प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा पनि पुरानै नेता हुन् । उनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरको मेयरमा मनोनयन दर्ता गरेका नेता हुन् ।

पोखरामै महानगर उपप्रमुखमा मञ्जुदेवी गुरुङसहित ५ जना दोहोरिएर उम्मेदवार भएका छन् ।

दोहोरिन चाहृेर उम्मेदवारी दिनेमा एमालेबाट पोखरा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराल र ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य छन् । कांग्रेसबाट पोखरा वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा नम्बर २७ का पूर्णबहादुर गुरुङ रहेको महानगर प्रवक्ता धन नेपालीले जानकारी दिए ।

महानगर मेयरमा प्रमुख दाबेदारको रुपमा हेरिएकी गुरुङले महानगर कमिटीले आह्वान गरेको आन्तरिक आवेदनमा भने आकांक्षा देखाएकी थिइनन् । तर, उनलाई केन्द्रीय सचिवालयको बैठकले पुनः उपप्रमुखमा दोहोर्‍याउने निर्णय गरेको हो ।

पोखराकै रुपा गाउँपालिका प्रमुख र उपप्रमुखसहित १४ जनाले दोहोरिने चाहना राखेका छन् । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङलाई नेकपा एमालेले पुन दोहोर्‍याएको हो ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?