+
+

विराटनगरमा युवा उम्मेदवारको प्रतिस्पर्धा

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख १२ गते २२:३९

१२ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र सहित १० जनाको उम्मेदवारी परेको छ । यो दौडमा पूर्व मेयर प्रल्हाद साहदेखि अघिल्लो चुनावका प्रत्यासी उमेश यादव समेत छन् ।

साह २०६० र २०६२ मा विराटनगरका मेयर बनेका थिए । पहिलो पटक सात महिना १५ दिन मनोनीत मेयर र दोस्रो पटक निर्वाचित भएर दुई महिना २१ दिन विराटनगरको नेतृत्व गरेका थिए । उनले फेरि उम्मेदवारी दिएका छन् ।

उमेश यादवको स्वतन्त्र उम्मेदवारीलाई पनि चासोका साथ हेरिएको छ । किनकि ०७४ को चुनावमा जनता समाजवादी पार्टी (जसपा) को उम्मेदवार बन्दै यादवले १४ हजार ९५८ मत (तेस्रो स्थान) ल्याएका थिए ।

तर मूख्य प्रतिश्पर्धा भने सत्ता गठबन्धन र नेकपा एमालेबीच हुने देखिएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला (४८) को उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट सागर थापा (४६) को उम्मेदवारी परेको छ । कोइरालालाई सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

रोचक प्रतिस्पर्धा 

मुख्य प्रतिश्पर्धी देखिएका कोइराला र थापा दुवै युवा हुनु बाहेक अरु समानता छ । मोरङ जिल्ला उपसभापति कोइराला र महानगर कमिटी अध्यक्ष थापा दुवैले हेभिवेट नेता पञ्छ्याउँदै टिकट पाएका छन् ।

कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली मात्रै नभएर केन्द्रीय नेताहरू डिला संग्रौला, अमृत अर्याल लगायत आकांक्षी थिए । तर सोमबार सभापति शेरबहादुर देउवाले कोइरालालाई टिकट दिए । थापालाई पनि मेयरको टिकट पाउन सजिलो थिएन । स्थायी कमिटी सदस्य लालबाबु पण्डितदेखि जीवन घिमिरे, गुरु बराल लगायत आकांक्षी थिए । तर अध्यक्ष केपी शर्मा ओलीले थापालाई टिकट दिए ।

राजनीतिक पृष्ठभूमि भने कोइराला तरुण दल र थापा विद्यार्थी आन्दोलनबाट आएका हुन् । थापा दुई पटक महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । उनी २०५७–२०६० र २०६०–२०६२ सम्म स्ववियु सभापति रहे ।

कोइराला भने २०५४ सालमा तरुण दलको जिल्ला कोषाध्यक्ष हुँदै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए । २०५९ मा कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवातिर लागे । कांग्रेस प्रजातान्त्रिकतिर लागेका उनी तरुण दलको जिल्ला अध्यक्ष भए ।

२०६६ मा कांग्रेस मोरङका कोषाध्यक्ष र २०७२ मा सचिव निर्वाचित भए । तर गएको मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा कित्ता परिवर्तन गर्दै डा. शेखर कोइरालाको समूहमा लागे । शेखर समूहबाटै मोरङ कांग्रेसका उपसभापति निर्वाचित भए ।

अहिलेसम्म लाभको पद नलिनेमा पनि कोइराला र थापाबीच समानता छ । दुवै जना पहिलोपटक जनप्रतिनिधि बन्ने दौडमा छन्, त्यो पनि एकैपटक महानगरको नेतृत्व लिने गरी ।

चुनावी एजेण्डा पनि दुवैले मिल्दोजुल्दो उठाएका छन् । दुवैले शिक्षा, स्वास्थ्यसँगै प्राथमिकतामा सुकुम्बासी र डुबानको समस्या समधान प्रतिबद्धता जनाएका छन् । प्रदेश–१ को राजधानी शहर विराटनगरमा प्रशासनिक संरचना निर्माणलाई गति लिने पनि दुवैको प्रतिबद्धता छ ।

यस्तो छ ०७४ को अंक गणित

कोइराला र थापा दुवैले चुनाव जित्ने दावी गरेका छन् । गएको चुनावमा एमालेका उम्मेद्वार विनोद ढकाललाई पराजित गर्दै कांग्रेसका भीम पराजुली मेयर बनेका थिए । त्यसबेला कांग्रेसबाट ७, जसपाबाट ६, एमालेबाट ३, माओवादी केन्द्रबाट १ र एक जना स्वतन्त्र वडाध्यक्ष निर्वाचित भएका थिए ।

तर यसपटक पराजुली र ढकाल दुवै प्रतिश्पर्धामा छैनन् । पराजुलीले २३,०३१ र ढकालले १७,३३१ मत ल्याएका थिए । जसपा (तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेद्वार रहेका उमेश यादवले १४,९५८ मत ल्याएका थिए । यादवलाई माओवादी केन्द्रको समर्थन थियो ।

वडाध्यक्षहरुले ल्याएको मत जोड्दा भने ०७४ को चुनावमा कांग्रेसले १६,२८० मत हुन्छ भने एमालेको १६,१२८ मत हुन्छ । माओवादी केन्द्रले ७,६००, संघीय समाजवादी फोरमले १०,८०० र फोरम लोकतान्त्रिकले ४,२९९ मत पाएका थिए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ । राप्रपाले ४,२९० मत पाएको थियो । त्यो चुनावमा वडाध्यक्षहरुले पाएको मत जोड्दा सत्ता गठबन्धनसँग ३७ हजार बढी मत हुनेछ भने एमालेसँग १६ हजार हुन्छ । तर यसटक २० हजार नयाँ मतदाता थपिएका छन् । ०७४ को चुनावमा १ लाख ३३ हजार मतदाता थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?