+
+

चितवनका कुन पालिकामा कति उम्मेदवारी ?

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १२ गते २२:४८

१२ वैशाख, चितवन । चितवनका ७ स्थानीय तहमा विभिन्न दल तथा स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको सबैभन्दा ठूलो भरतपुर महानगरपालिकामा मेयर पदमा ३० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, उपमेयरमा १३ जनाको उम्मेदवारी परेको छ । आइतबार र सोमबार गरी दुई दिनसम्म गरिएको उम्मेदवारी दर्ताको दोस्रो दिन निर्वाचन अधिकृतका कार्यालयहरुमा बढी भिडभाड थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार ११ जनाले मेयरमा उम्मेदवारी दिएका थिए ।

भरतपुरमा सत्ता गठवन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराइन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । महानगरमा एमाले राप्रपा गठबन्धनका तर्फबाट मेयर पदमा एमालेका विजय सुवेदीले र उपमेयरमा राप्रपाकी हिमला गुरूङले अलगअलग समयमा उम्मेदवारी दर्ता गराए ।

भरतपुरको मेयरमा माओावादीलाई छाडेको भनेर असन्तुष्ट बनेका चितवनका कांग्रेसका नेता कार्यकर्ताहरुकोतर्फबाट पूर्व सांसद जगन्नाथ पौडेलले बाजागाजासहित आएर उम्मेदवारी दर्ता गराए ।

सत्ता गठबन्धनको घटक मानिएको राष्ट्रिय जनमोर्चाले आफूहरुलाई अपमान गरिएको भन्दैं मेयर र उपमेयर पदमा उम्मेदवारी दिएको जनाएको छ । यस्तै, विवेकशील साझा पार्टीकातर्फबाट ई–रिक्सा चढेर आएर प्रबिन काफ्लेले मेयरमा र उपमेयरमा पुष्पा सापकोटाले उम्मेदवारी दर्ता गराए ।

राप्ती नगरपालिका

चितवनको राप्ती नगरपालिकामा मेयरमा ८ जनाले र ५ उपमेयरमा जनाले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठकले उम्मेदवारी दर्ता गराएका छन् ।

११ वडा रहेको नगरपालिकामा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । यस्तै, सत्ता गठवन्धनबाट समाजवादीका शम्शेर लामाले मेयरमा र कांग्रेसका देवेन्द्र लामाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठवन्धनका बीचमा कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र) ले ४ र नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडामा वडाध्यक्ष पाउने सहमति छ ।

कालिका नगरपालिका

कालिका नगरपालिकाको आइतवार र सोमवार गरी मेयरमा १० जना र उपमेयरमा ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । मेयरमा एमालेबाट विनोद रेग्मी र उपमेयरमा बिमला लमाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले ११ वटै वडामा वडाध्यक्षसहितका सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठवन्धनका तर्फबाट पोल्ट्री व्यवसायीसमेत रहेका शिवराम केसीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयर पदमा माओवादी केन्द्रबाट सविता लामाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । ११ वडा रहेको कालिका नगरपालिकामा कांग्रेसले ८, माओवादीले २ र समाजवादीले १ वडा पाउने सहमति भएको छ । तर, कालिका नगरपालिका सत्ता गठवन्धनका सबै जसो दलले वडामा आआफ्ना उम्मेदवार उठाएका छन् ।

रत्ननगर नगरपालिका

रत्ननगर नगरपालिका मेयरमा ११ जना र उपमेयरमा ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार र सोमबार गरेर दलहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत विनोदकुमार गौत्तमले जानकारी दिए ।

एमालेबाट नगर प्रमुख निवर्तमान उपप्रमुखसमेत रहेकी विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले नगरका १६ वटै वडामा वडाध्यक्षसहित उम्मेदवारी दिएको छ ।

सत्ता गठवन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटा र उपप्रमुखमा एकीकृत समाजवादीका बद्री घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

१६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले ३ वटा वडाध्यक्ष पाउने सहमति भएको छ । तर, सहमति पार्टीलाई होच्याउने हिसावले आएको भन्दै माओवादी केन्द्रले विरोध गरेका छन् । रत्ननगर नगरपालिकामा माओवादीले सबै वडामा आफ्ना उम्मेदवार उठाएको छ ।

खैरहनी नगरपालिका

चितवनको खैरहनी नगरपालिकामा ६ जनाले मेयरमा र ५ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेकातर्फबाट निवर्तमान प्रमुखमा लालमणि चौधरीले मेयरमा उम्मेदवारी दिएका छन् । यस्तै, उपमेयरमा कविता उप्रेतीले उम्मेदवारी दर्ता गरेकी छिन् ।

उम्मेदवार बन्न निवर्तमान नगर प्रमुख चौधरीले आइतबार पदबाट राजीनामा दिएका थिए । नगरको १३ वटा वडामा अध्यक्ष र सदस्यका लागि एमालेले मनोनयन दर्ता गराएको छ ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका शशीकुमार खनियाँ र उपमेयरमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

१३ वटा वडा रहेको खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले ८, माओवादीले ३ र एकीकृत समाजवादीले २ वटा वडामा वडाध्यक्षमा उम्मेदवारी दिने सत्ता गठवन्धनका दल बीच तालमेलको सहमति छ ।

खैरहनीको वडा नं. २, ३, ४, ५, ७, १०, १२ र १३ मा कांग्रेसले, वडा नं. १, ८ र ११ मा माओवादी केन्द्रले र वडा नं. ६ र ९ मा एकीकृत समाजवादीले वडाध्यक्ष पाउने सहमति छ ।

इच्छाकामना गाउँपालिका

चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा ५ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

इच्छाकामनामा कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको सत्ता गठवन्धनबाट कांग्रेसकी गीता गुरूङले अध्यक्षमा र माओवादी केन्द्रका प्रताप गुरूङले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

गीता गुरूङ यसअघि भएको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा कांग्रेसबाट विजयी भएकी थिइन् । एमालेबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

एमालेले सबै वडाका वडाध्यक्ष एव‌ं सदस्य उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इच्छाकामनामा कांग्रेसलाई अध्यक्षसहित ४ वटा वडा र माओबादी केन्द्रलाई उपाध्यक्षसहित ३ वटा वडा दिने गरी भागवण्डा गरिएको छ ।

जस अनुसार काग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ नम्बर वडाको अध्यक्षका लागि उमेदवारी दिनेछ । त्यस्तै माओवादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेदवारी दिने सहमति छ ।

माडी नगरपालिका

चितवनको माडी नगरपालिकामा मेयरमा ९ जनाले र उपमेयरमा ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । माडीका निर्वाचन अधिकृत चुडामणि शर्माका अनुसार केही स्वतन्त्र उम्मेदवारीसहित मेयरमा ठूला दलबाट उम्मेदवारी परेको बताए । माडीमा एमाले र माओवादीका बीचमा चुनावी तालमेल भएको छ ।

माडीको मेयरमा एमालेबाट निवर्तमान उपमेयरसमेत रहेकी ताराकाजी महतोले उम्मेदवारी दर्ता गरेकी छिन् । एमालेबाट उपमेयरमा रेशमलाल आचार्यको उम्मेदवारी दिए पनि राप्रपासँग सहमति भएपछि उनले उम्मेदवारी फिर्ता गर्ने जनाइएको छ ।

९ वटा वडा रहेको माडी नगरपालिकामा एमालेले मेयरसहित ४ र राप्रपाले उपमेयरसहित ५ वडा लिने सहमति भएको छ । एमाले राप्रपा तालमेलको सहमति अनुसार उपमेयरमा राप्रपाका मदन पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

माडीमा सत्ता गठवन्धनकातर्फबाट भएको सहमति अनुसार मेयरमा माओवादी केन्द्रका ऋषिराम काफ्ले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा कांग्रेसबाट अघिल्लोपटक मेयरमा पराजित बनेका खेम महतो उम्मेदवारी दर्ता गराएका छन् । ९ वटा रहेको माडीमा कांग्रेसले ३, माओवादीले ५ र समाजवादीले १ वडा पाएको छ ।

कांग्रेसले वडा नं.१, ६ र ८, माओवादीले वडा नं. २,४, ५, ७ र ९ र समाजवादीले वडा नं. ३ पाउने सहमति छ । तर माडीमा सत्ता गठवन्धन दलकै बीचमा उम्मेदवारको बारेमा किचलो भएपछि एकीकृत समाजवादीका तर्फबाट रामचन्द्र लम्सालले मेयर पदमा उम्मेदवारी हालेका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?