+
+

दाङका अधिकांश स्थानीय तहमा भएन सत्तारुढ दलको गठबन्धन

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख १३ गते २०:००
घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन बाहिरबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेताहरु ।

१३ वैशाख, दाङ । भागबण्डामा सहमति नजुटेपछि दाङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनका दलहरु आआफैं प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरमामा मात्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । बाँकी ९ पालिकामा यी दलहरुबीच आपसमा प्रतिस्पर्धा हुने भएको छ ।

‘गठबन्धनको मर्म र भावना अनुसार सबै दलसँग मिलेर चुनाव लड्ने भन्ने नै थियो’ कांग्रेसका जिल्ला उपसभापति गिरिराज सुवेदीले भने, ‘लामो छलफल गर्दा पनि सहमति नजुटेपछि पार्टीबाट एक्लो उम्मेदवार उठाएका छौं ।’

जिल्ला तहका नेताहरु तालमेल गर्न तयार देखिएपनि कार्यकर्ता स्तरमा विरोध भएपछि गठबन्धनबाट बाहिरिनुपरेको कांग्रेसका एक नेता बताउँछन् ।

नेकपा माओवादी केन्द्रले लमही, राजपुर, शान्तिनगर, बबई र दङ्गिशरण गरी पाँच गाउँपालिकामा उम्मेदवारी दिएको छ ।  ‘जिल्लाभित्र गठबन्धन गर्न धेरै लचिलो भयौं’ नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यले भने, ‘तर दलहरुले अन्य दलहरुले आ–आफ्नो अडान नछाडेपछि केही पालिकामा एक्लै लड्नुपर्ने स्थिति बन्यो ।’

नेकपा एकीकृत समाजवादीले पनि अधिकांश पालिकामा उम्मेदवार उठाएको छ । घोराही उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा रामप्रसाद चौधरी र उपप्रमुख पदमा शोभा शाहलाई उम्मेदवार बनाएको छ ।

घोराही उपमहानगरमा एकीकृत समाजवादीबाहेक सत्तारुढ गठबन्धनका अरु दलले तालमेल गरेका छन् । घोराहीको प्रमुख पदमा माओवादी केन्द्रका हेमराज शर्मा र उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् ।

सम्मानजनक भागबण्डा नभएको भन्दै गठबन्धनबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामनि बेलाबासेले बताए । ‘उहाँहरुले (कांग्रेस र माओवादी) हाम्रो अस्तित्व नै कमजोर बनाएर अघि बढ्न खोजेपछि, गठबन्धनबाट बाहिरियौं’, उनले भने ।

मनोनयन फिर्ता लिन दुई दिन समय बाँकी भएकाले आफूहरु गठबन्धनमा सहभागी हुने वा नहुनेबारे छलफल भइरहेको उनले बताए ।

कहाँ कहाँ भिड्दैछन् ?

लमही नगरपालिमा नेपाली कांग्रेसले प्रमुखमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगीलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले लमहीको प्रमुखमा बसन्तराज शर्मा र उपप्रमुखमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले प्रमुखमा शोभा घिमिरे र उपप्रमुखमा गणेश चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा नेपाली कांग्रसले अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपति यादवलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले अध्यक्षमा चक्रबहादुर खड्का र उपाध्यक्षमा पुष्पा यादवलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले पालिकामा उम्मेदवार उठाएको छैन ।

त्यस्तै बबई गाउँपालिकामा कांग्रेसले अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्ष अञ्जु घर्तीलाई उम्मेदवार उठाएको छ ।

त्यस्तै दंगीशरण गाउँपालिकामा कांग्रेसले अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी खड्कालाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीले अध्यक्षमा ज्योति चौधरी र उपाध्यक्षमा चित्रादेवी लामिछानेलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा कांग्रेसले अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले अध्यक्षमा मोहन वली र उपाध्यक्ष राधिका परियारलाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले अध्यक्षमा ऋषिराज आचार्य र लक्ष्मी बस्नेतलाई उम्मेदवार उठाएको छ ।

गठबन्धनभित्रै गठबन्धन

केही पालिका र वडाहरुमा गठबन्धनभित्रकै केही दलले मात्अर तालमेल गरेका छन् । जिल्लाका दुई स्थानीय तहमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जसपाले तालमेल गरेका छन् ।

गढवा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाले तालेमल गरेका छन् । अध्यक्षमा माओवादी केन्द्रबाट यमनारायण पोखरेल र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा शान्ति चौधरी उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले अध्यक्षमा सर्वजित विसी र उपाध्यक्षमा शारदा चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाले तालेमल गरेका छन् । अध्यक्षमा माओवादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका केशवराज खनाललाई उम्मेदवार बनेका छन् । राप्तीमा कांग्रेसले अध्यक्षमा जगदम्बा चौधरी र उपाध्यक्षमा हरि भुसाललाई उम्मेदवार बनाएको छ ।

‘सहमतिका लागि अन्तिमसम्म प्रयास गर्‍यौं’ माओवादी केन्द्रका नेता विश्वराज आचार्यले भने, ‘कसैगरी पनि सममति नजुटेपछि धेरै अधिकांश पालिकामा एक्लै र केही पालिकामा गठबन्धन दलभित्रकै दलसँग मिलेर चुनावमा अघि बढेका छौं ।’

सत्तारुढ गठबन्धनका शीर्ष नेताले केन्द्रबाटै घोराही र तुलसीपुर उपमहानगरको भागवण्डा गरिसकेका थिए । त्यही अनुसार तुलसीपुर र घोराही उपमहानगरपालिका र बंगाचुली गाउँपालिकामा गठबन्धन हुने पक्का पक्की भइसकेको थियो । तर घोराही र बंगाचुलीमा नेकपा एकीकृत समाजवादीले मनोनयन दर्ताको अन्तिम समयमा गठबन्धनका उम्मेदवारलाई अस्वीकार गर्दै आफैं उम्मेदवारी दियो ।

तुलसीपुरमा भने उपप्रमुख पद पाएकाले एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छैन । जिल्लामा तुलसीपुरमात्रै पाँच दलीय गठबन्धन कायम छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?