 
																			१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंक बुधबारदेखि ६७ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकले तीन वर्ष अघिसम्म हरेक वर्ष भव्य रुपमा वार्षिकोत्सव समारोह आयोजना गर्ने गरेको थियो । पछिल्ला २ वर्ष भने कोरोना महामारीका कारण राष्ट्र बैंकले समारोह आयोजना गरेन ।
यस वर्ष आयोजित समारोहमा नेपालका प्रथम गभर्नरदेखि पूर्व अर्थमन्त्री, पूवगर्भनर, राष्ट्र बैंकका बहालवाला र अवकाश प्राप्त कर्मचारीसमेत उपस्थित थिए ।
राष्ट्र बैंकले यस वर्ष वार्षिक उत्सव भव्य रुपमा मनाउने पहिल्यै योजना बनाएको थियो । तर गभर्नर महाप्रसाद अधिकारीको निलम्बन पछि राष्ट्र बैंकमा एक किसिमको अन्योल थियो । सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेशबाट अधिकारी फर्किएपछि राष्ट्र बैंकमा खुशियाली छाएको छ ।
गभर्नर अधिकारी राष्ट्र बैंक फर्कंदा कर्मचारीले विजय उत्सव जस्तै गरी स्वागत गरेका थिए । यसले राष्ट्र बैंकभित्रको एकताको सन्देश बाहिर देखिएको थियो । बुधबार भएको वार्षिकोत्सव समारोहमा भने अवस्था फरक बन्यो । राष्ट्र बैंकमा सक्रिय रहेका तीन कर्मचारी युनियन गभर्नरको पक्ष र विपक्षमा देखिए । बुधबार वार्षिक उत्सव समारोहमा शुभकामना मन्तव्य राख्न मञ्चमा पुगेका युनियनका अध्यक्षहरुले एक अर्कालाई घोचपेच गरे ।
कसैले गभर्नर अधिकारी लगायत नेतृत्वले कर्मचारीलाई फरक किसिमको व्यवहार गरेको भन्दै असन्तुष्टि जनाए ।
बुधबारको कार्यक्रममा पहिला बोल्ने समय पाएका राष्ट्र बैंक, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम गल्छौडेले राष्ट्र बैंकको उच्च व्यवस्थापन र कर्मचारीहरुको अर्को समूहले मानमर्दन गरेको आरोप लगाए । उनले केही कर्मचारीले सरकारको अनावश्यक चर्को आलोचना गर्न दबाव दिएको र उक्त दबाव स्वीकार नगर्दा मानमर्दन भएको बताए ।
‘गभर्नर सा’ब को पुनर्बहाली भयो, यो हामी सबैले स्वागत गरेको कुरा हो, हामी यसमा खुसी छौं’ उनले भने, ‘सर्वोच्चको आदेश पछि पुनर्बहाली हुनु स्वभाविक प्रक्रिया भए पनि सरकारको आलोचना नगरेकै कारण हामीमाथि मानमर्दन भयो, यो ठीक भएन ।’
समारोहमा शुभकामना दिने मात्र चाहना भए पनि गभर्नरको व्यवहारका कारण पनि आफ्नो कुरा राख्न बाध्य भएको उनले बताए । ‘राष्ट्र बैंकको नेतृत्व नै एक पक्षीय भयो, कर्मचारी मध्ये कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरियो,’ उनले गभर्नरतर्फ संकेत गर्दै भने, ‘नेतृत्वबाटै यस्तो भए पछि हामीले कोसँग राम्रो व्यवहार अपेक्षा गर्ने ?’
राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजीव शर्मा रेग्मीले गभर्नर निलम्वन प्रकरणमा राष्ट्र बैंकका केही कर्मचारीले सीमा भन्दा बाहिर गएर बोलेको आरोप लगाए । गभर्नर सबैको साझा भए पनि केही कर्मचारीहरुले आफ्नो दलको मात्रै गभर्नर भएको जस्तो व्यवहार गरेको उनको टिप्पणी थियो ।
गभर्नर निलम्बन प्रकरणमा केही कर्मचारीहरुले सामाजिक सञ्जालमा मनपरी लेखेर अतिरञ्जित गरेको समेत उनले बताए । ‘सरकारको निर्णय होस् या सर्वोच्चको आदेश होस् दुबै हाम्रो सीमा र काबुभित्रको विषय होइन,’ अध्यक्ष रेग्मीले भने, ‘सीमा भन्दा बाहिर गएर बोल्नु हुँदैन, तर सामाजिक सञ्जालमा अतिरञ्जित गरेर कुनै समूहको विजयको रुपमा लिइयो, गभर्नर सबैका साझा हुन् ।’
गनर्भरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन गर्न नदिने सर्वोच्चको आदेश पछि केही कर्मचारीहरुले विजय उत्सवको रुपमा मनाएको र केही कर्मचारीहरुले पराजित भएको जस्तो व्यवहार गरेको रेग्मीले बताए । राष्ट्र बैंकका कर्मचारीले काबु भन्दा बाहिरको विषयमा हतारमा प्रतिक्रिया दिनु उचित नहुने उनको भनाइ छ ।
तेस्रो नम्बरमा बोल्ने पालो पाएका नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले भने सरकारको काम कारबाहीप्रति चर्को आलोचना गर्दै राष्ट्र बैंक स्वायत्त संस्थामाथि ठाडो हस्तक्षेप भएको बताए ।
उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । विलासी सामान आयातमा रोक लगाउने निर्णय भएपछि राष्ट्र बैंक, बैंक र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति संकेत गर्दै उनले राष्ट्र बैंकका एक सञ्चालकले सूचनाहरु राष्ट्र बैंकबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको आरोप लगाए ।
उनले गभर्नर अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर अदालतले न्याय दिएको उनको भनाइ छ । अर्थतन्त्रका समस्या केन्द्रीय बैंक र अर्थमन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उनले बताए ।
सरकार र राष्ट्र बैंक मिलेर अर्थतन्त्रमा देखिएको संकटको समाधान गर्नुपर्ने बेलामा गभर्नरलाई कपोकल्पित आरोप लगाएर निलम्न गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । केही कर्मचारीहरु राष्ट्र बैंकमाथि प्रहार हुँदा पनि चुप लागेको उनले बताए । ‘स्वायत्त संस्थामािथ ठाडो हस्तक्षेप गर्ने, अवैधानिक निर्देशन दिने, मिलेर काम गर्नुपर्नेमा निलम्वन गर्ने ?,’ अध्यक्ष तिम्सिनाले भने, ‘यस्तो हुँदा पनि हामी चुप लागेर बस्न मिल्छ ।’ तर सर्वोच्चले अपेक्षाकृत आदेश दिएको उनले बताए ।
विगतमा पनि राष्ट्र बैंकमाथि यस्तो हस्तक्षेप भएको तर अदालतले त्यसलाई रोकिदिएको भन्दै उनले पूर्वजहरुले राष्ट्र बैंकको छुट्टै विरासत बनाएको बताए । राष्ट्र बैंकको विरासतलाई अहिले पनि ढल्न नदिएको र भोलिका दिनमा पनि नदिने उनले बताए ।
गभर्नर निलम्वन प्रकरणमा पूर्व गभर्नर तिलक रावलले भने सर्वोच्चले न्याय गरेको बताए । ‘हिजो २० वर्ष अघि म जुन मारमा परेको थिएँ, मलाई जुन अदालतले न्याय दिएको थियो आज उहाँलाई (गभर्नर) लाई पनि न्याय दिएको छ,’ उनले भने, ‘यो खुसीको कुरा हो, सबैलाई बधाई छ ।’
राष्ट्र बैंकका कर्मचारीहरुले बोलेको विषयमा पनि उनले प्रतिक्रिया दिदै अहिलेको समस्याका विषयमा कुनै व्यक्तिलाई दोष दिन नहुने बताए । राष्ट्र बैंकले आफूले गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेको भन्दै उनले राष्ट्र बैंकले केही गरेन भन्नु गलत भएको बताए ।
अर्थतन्त्रमा समस्या आउनुको कारणको दोष पनि कुनै एक व्यक्तिलाई मात्रै दिन नहुने उनको भनाइ छ ।
गभर्नर अधिकारीले भने आफ्नो र राष्ट्र बैंकको विषयमा पूर्ववक्ताहरुले उठाएको विषयमा कुनै टिप्पणी गरेनन् । चालु आर्थिक वर्षको ८ महिनासम्मको आर्थिक परिसूचक सुधार हुने क्रममा रहेको बताउदै उनले अर्थतन्त्र सुधार हुने दिशामा रहेको बताए । कोभिड–१९ को असर पछि क्रमशः आर्थिक गतिविधिमा सुधार भएको गभर्नर अधिकारीको भनाइ छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4