+
+
सन्दर्भ : चिया दिवस :

इतिहास र वर्तमानको आँखीझ्यालमा नेपाली चिया

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०७९ वैशाख १५ गते १४:२९

घरमा कोही पाहुना आए सबैभन्दा पहिले हामी चियाले सत्कार गर्छौं । यो नेपाली संस्कार नै बनिसकेको छ । प्रत्येक बिहानीको सुरुवात चिया पिएरै हुन्छ । दिन, साँझ र रातमा पनि चियाले साथ दिन्छ ।

घरदेखि कार्यालय होस् या सार्वजनिक समारोहमा; चिया संस्कृति मौलाएको छ । चियाको चुस्की नलिने र स्वाद थाहा नपाउने शायदै होलान् । स्वास्थ्यका दृष्टिकोणले पनि चिया राम्रो पेय पदार्थ मानिन्छ । हाम्रो देशमा उपहार स्वरुप भित्रिएको चिया विनाको दैनिकी अधिकांशलाई मुश्किल बन्छ भन्दा फरक पर्दैन ।

चिया अतिथिलाई सत्कार गर्ने पेय पदार्थ मात्र होइन; पानीपछि दोस्रो स्थानमा प्रयोगमा आउने पेय पदार्थ पनि हो । विश्वका २५ देशमा चियाको व्यावसायिक खेती हुन्छ । जसमा नेपाल १०औं स्थानमा छ ।

‘इन्टरनेशनल टी कमिटी’ को तथ्यांक अनुसार नेपालमा वार्षिक १८ मिलियन किलोग्राम चिया उत्पादन हुन्छ । विश्वमा ३६ सय मिलियन किलोग्राम ग्रीन टी उत्पादन हुन्छ भने १८ सय मिलियन किलोग्राम सीटीसी चिया उत्पादन हुने कमिटीको तथ्यांकले देखाउँछ । विश्वभरका लाखौं मानिस चिया उत्पादन, प्रशोधन र बजारीकरण लगायत व्यवसायमा संलग्न छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६औं राष्ट्रिय चिया दिवस मनाइरहेको छ । बोर्डले यस वर्ष ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजारः चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने नारा तय गरेको छ । नेपालमा पनि चियाको व्यावसायिक खेती हुँदै आएको छ । चिया लाखौंको जीवन धान्ने आधार बनेको छ ।

नेपालमा चिया खेतीको इतिहास हेर्ने हो भने, सबैभन्दा पहिला इलाममा चिया रोपण सुरु भएको पाइन्छ । वि.सं. १९२० मा इलाममा र त्यसपछि सोक्तिममा चिया रोपण सुरु भएको हो । नेपाल र तिब्वतको युद्धपश्चात तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा तत्कालीन चिनियाँ सम्राटले चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप दिएपश्चात सो चिया इलाममा रोपिएको पाइन्छ ।

त्यसपश्चात इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापामा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको प्रारम्भ भएको देखिन्छ । तर, जहानियाँ राणाशासनको अगाडि नेपालमा सुरुवाती अवस्थामा चिया उद्योग त्यति फस्टाउन सकेन ।

छिमेकी देश भारत, चीन साथै बंगलादेश, श्रीलंका, जापान, केन्या, ताइवान लगायत देशले विश्वविद्यालय मातहत नै चिया शिक्षा अध्ययन केन्द्र सञ्चालनमा ल्याएका छन् । तर, नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको चियाको अध्ययन केन्द्र बन्द हुनु नेपाली चिया कृषकका लागि दुर्भाग्य हो

व्यावसायिक खेती सुरु भएसँगै उत्पादित चिया प्रशोधन कारखानाको अभावमा दार्जीलिङकै कारखानालाई बेच्नुपर्ने अवस्था नेपाली चिया उत्पादनकर्ताको थियो । नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि मात्र चिया क्षेत्रमा लगानी सुरु भयो । प्रजातन्त्र आएको ९ वर्षपछि झापाको भद्रपुरमा निजी स्रोतमा बुधकरण चिया कमान स्थापना भएको हो ।

सरकारले भने वि.सं. २०२३ मा मात्र नेपाल चिया विकास निगमको स्थापना गर्‍यो । वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना भएको पाइन्छ ।

२०३५ सालको एक दशकसम्म नेपाल चिया विकास निगमले साना कृषकलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको थियो । यसपश्चात चिया उद्योग एक नाफामूलक व्यवसायको रूपमा चिनिन थाल्यो । यसरी चिनियाँ सम्राटले उपहारस्वरुप नेपाली प्रधानमन्त्रीलाई दिएको चियाको व्यावसायिक खेती नेपालमा भइरहेको छ ।

२०३९ सालमा तत्कालीन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वका झापा, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालाई चिया क्षेत्र घोषणा गर्‍यो । जसकारण चिया उद्योगले मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ । यस्तै, समग्र चिया क्षेत्रको स्तरोन्नतिका लागि सरकारले वि.सं. २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना गर्‍यो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१९-२०२० मा नेपालमा २ करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भयो । जसमा १ करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थोडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा ७ लाख ४५ हजार किलोग्राम ग्रीन टी उत्पादन भएको छ ।

कुल उत्पादनबाट १ करोड ११ लाख ८५६ हजार किलोग्राम चिया निर्यात भएको छ । गत आर्थिक वर्ष चिया निर्यातबाट नेपालमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ विदेशी पैसा भित्रिएको थियो । उल्लिखित तथ्यांकबाट पुष्टि हुन्छ कि नेपालमा चिया खेतीबाट देशको अर्थतन्त्रलाई उकास्न उल्लेख्य सहयोग पुगेको छ ।

अर्थोडक्स चियाको १० प्रतिशत खपत नेपालमा हुन्छ भने ८० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुन्छ । बोर्डको तथ्यांक अनुसार साना किसानबाट १३ हजार ९४५ हेक्टरमा चिया खेती भइरहेको छ । नेपालमा १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार श्रमिक चिया क्षेत्रमा आबद्ध छन् ।

नेपालको पूर्वी नाका काँकडभिट्टाबाट ८० प्रतिशत चिया निर्यात हुन्छ । तर, विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने चिया निर्यात खस्कँदो अवस्थामा छ । आब २०७५-७६ देखि निर्यातमा चियालाई अलैंचीले उछिनेको देखिन्छ ।

चिया निर्यातको दोस्रो स्थानमा छ । सरकारले हरेक वर्ष बजेट भाषणमा चिया किसानलाई मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि किसानले मल नपाउँदा उत्पादनमा ह्रास मात्र आएको छैन, निर्यात पनि घटेको छ ।

चिया पर्यटनको सम्भावना

पर्यटन विकासका विभिन्न आयाममध्ये चिया क्षेत्र पनि एक हो । बेलाबखत राष्ट्रियस्तरमा टी–टुरिजमको बहस समेत चल्ने गरेको छ । चिया पर्यटन नयाँ सम्भावना भएकाले यसको अवधारणा विस्तार र प्रवद्र्धन गर्नसके पर्यटन विकासको प्रमुख मेरुदण्डको रूपमा लिन सकिन्छ । विगत केही वर्षदेखि इलाममा भने चिया पर्यटन फस्टाउँदै गएको छ ।

चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै इलामको चिसो मौसममा रमाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक इलाम पुग्छन् । चियाको हरियालीमा रमाउन इलाम पुग्ने पर्यटकको संख्या वृद्धि भएसँगै कन्याम, श्रीअन्तु, फिक्कल, पानीटार लगायत क्षेत्रमा स्थानीयले होमस्टे समेत सञ्चालनमा ल्याएका छन् ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभालगायत पूर्वी जिल्ला चिया उत्पादनको केन्द्र भएकाले चिया प्रबर्द्धनका लागि प्रदेश–१ मा छुट्टै चिया विकास मन्त्रालयको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

चिया उत्पादन हुने जिल्लामा पर्यटकलाई चिया बगानमा हिंडडुल गराउने, आफैंले चिया टिप्ने व्यवस्था मिलाउने, चिया किसान र मजदुरसँग साक्षात्कार गराउने, चिया कारखानामा चिया प्रशोधन प्रक्रियाको अवलोकन गराउने, बगानभित्रै लाइब्रेरी निर्माण गरी टी टेष्टिङ्गको व्यवस्था गर्ने साथै चियावारी नजिकैको सूर्योदय दृश्यावलोकनको व्यवस्था र विकास गर्ने हो भने चिया पर्यटनबाट मनग्ये आम्दानी हुने देखिन्छ ।

इतिहासलाई हेर्ने हो भने चीन र जापानले चिया पर्यटन मार्फत आफ्नो देशलाई विश्वमा चिनाएका छन् । चीनको सिचुवान प्रान्तमा सबैभन्दा पहिलो पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरी म्युजियम बनाइएको छ । पहाडी जिल्लामा रहेको उक्त म्युजियममा बर्सेनि हजारौं पर्यटक जाने गर्दछन् ।

चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रूपमा भएको छ । जापानले भने चियालाई पेय पदार्थका रूपमा मात्र नभएर सभ्यताको रूपमा लिने गर्छ । यता छिमेकी देश भारतको दार्जीलिङ, आसाम, डुवर्स लगायत क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ । चिया–पर्यटन प्रवद्र्धनको प्रारम्भ चीनबाट भएपछि विश्वका अन्य राष्ट्रले पनि यसबाट ठूलो आर्थिक उन्नति हात पारिसकेको पाइन्छ ।

चिया पर्यटनको विकाससँगै सम्बन्धित क्षेत्रको ग्रामीण पर्यटनको विकासमा सघाउ पुर्‍याउन सक्ने भएकोले सम्बन्धित निकाय र सरोकारवालाले यसबारे जागरुक हुन जरूरी देखिन्छ । चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने व्यवसाय भएकाले चिया पर्यटन विकासका लागि सरकारी निकायको लगानी आवश्यक छ ।

प्राविधिक अभाव : दुर्भाग्य

नेपालमा चिया क्षेत्रको दुर्भाग्य भनेको प्राविधिक अभाव हो । देशमा चिया शिक्षा नभएकै कारण किसान नै प्राविधिक बन्ने गरेका छन् । चिया प्राविधिक नहुँदा व्यवसाय विस्तार पनि न्यून मात्रामा हुँदै आएको छ ।

नेपाल सरकारले २०६८ सालदेखि झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा चिया प्रविधि तथा व्यवस्थापनको पठनपाठन सुरु भने गर्‍यो । तर, मुलुकको एकमात्र चिया प्रविधि तथा व्यवस्थापन विषयको पठनपाठन सुरु भएको तीन वर्ष नबित्दै बन्द भयो । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा २०६८ सालदेखि पढाइ सुरु भएको चिया अध्ययन संस्था विश्वविद्यालयले आवश्यक सहयोग नगरेकै कारण बन्द हुन पुग्यो ।

क्याम्पस प्रशासनले पहल गर्न नसक्नु पनि चिया शिक्षा बन्द हुनुको अर्को कारण हो । क्याम्पसले चिया शिक्षा अध्ययन सुरु गर्ने योजना बनाए पनि विश्वविद्यालयमा चियाको पाठ्यक्रम भने थिएन । तत्कालीन क्याम्पस प्रमुख चिन्तामणि दाहालको पहलमा विश्वविद्यालयले चिया शिक्षा अध्ययनको पाठ्यक्रम २०६७ सालमा निर्माण गरेको थियो ।

क्याम्पसले चिया शिक्षा साथै चिया अनुसन्धान केन्द्र निर्माणका लागि भनेर एक बिघामा चिया समेत लगाएको थियो भने, थप एक बिघामा चिया लगाउने तयारी गरेको थियो । क्याम्पसले विश्वविद्यालयसँग तीन जना प्राध्यापकको दरबन्दी माग गरे पनि त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिएन । विश्वविद्यालय, क्याम्पस प्रशासन र सरकारको असहयोगकै कारण मेची बहुमुखी क्याम्पसमा सञ्चालित चिया शिक्षा बन्द भएको हो ।

चिया प्रविधि विषय अध्ययनका लागि बढी रकम लाग्ने र स्नातकोत्तर अध्ययन गर्ने व्यवस्था नेपालमा नहुनाले पनि विद्यार्थी समस्यामा थिए । पढाइ सुरुका वर्षमा विद्यार्थीको आकर्षण बढेको थियो । कक्षा सञ्चालनको वर्षमा २४ जना विद्यार्थीको कोटामा ५५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए ।

चिया प्रविधि तथा व्यवस्थापन पढ्नका लागि झापा बाहेकका जिल्लाबाट आउने विद्यार्थीको संख्या अझै धेरै थियो । चिया शिक्षालाई निरन्तरता दिन नसकेको कारण पनि चिया क्षेत्रको प्रवद्र्धनमा समस्या रहेको देखिन्छ ।

तीन शैक्षिक सत्र पढाइ भएको चिया शिक्षाबाट क्याम्पसले ३६ जना चिया प्राविधिक उत्पादन गर्‍यो । ती उत्पादन अहिले चिया तथा कफी विकास बोर्ड लगायतका चियासँग सम्बन्धित क्षेत्रमा कार्यरत रहेका छन् ।

छिमेकी देश भारत, चीन साथै बंगलादेश, श्रीलंका, जापान, केन्या, ताइवान लगायत देशले विश्वविद्यालय मातहत नै चिया शिक्षा अध्ययन केन्द्र सञ्चालनमा ल्याएका छन् । तर, नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको चियाको अध्ययन केन्द्र बन्द हुनु नेपाली चिया कृषकका लागि दुर्भाग्य हो ।

‘ट्रेडमार्क’ : सुधारको संकेत

चिया तथा कफी विकास बोर्डले निर्देशिका अनुसार मापदण्ड पूरा गरेका २४ वटा चिया कम्पनीलाई ट्रेडमार्कका लागि अनुमति दिएको छ । वि.सं. २०७७ असोजमा तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योगलाई ट्रेडमार्क प्रमाण पत्र उपलब्ध गराएका थिए ।

चिया तथा कफी विकास बोर्डले गत वर्षको साउनमा थप १२ वटा चिया उद्योगलाई ट्रेडमार्कका लागि अनुमति दियो । ट्रेडमार्क चिया क्षेत्रमा भएको एक महत्वपूर्ण सुधारको संकेत भए पनि विदेशी मुलुकले ट्रेडमार्कलाई मान्यता दिएका छैनन् ।

जसकारण नेपाली अर्थोडक्स चिया ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयन’ नामक राष्ट्रियता झल्कने लोगोसहित विश्वबजारमा पठाउने व्यवस्था कार्यान्वयनमा चुनौती देखिएको छ । सम्बन्धित मुलुकमा दर्ता गरेर स्वीकृति पाएपछि मात्र कार्यान्वयनमा आउने हुनाले ट्रेडमार्क प्रक्रिया निकै झन्झटिलो बनेको छ ।

युरोपले भने नेपाली चियाको ट्रेडमार्कलाई भौगोलिक क्षेत्र विशेषलाई मात्र संकेत गरेको भन्दै पुनः अपीलको आग्रह गरेको छ । कृषकले पनि ट्रेडमार्कको फाइदा उठाउन सकिरहेका छैनन् ।

नेपालमा संघीयताको अभ्यास पनि सुरु भइसकेको छ । झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभालगायत पूर्वी जिल्ला चिया उत्पादनको केन्द्र भएकाले चिया प्रबर्द्धनका लागि प्रदेश–१ मा छुट्टै चिया विकास मन्त्रालयको व्यवस्था गर्नुपर्ने देखिन्छ । हामीले चिया सम्बन्धी विश्वले गर्दै आएका अभ्यासलाई अनुकरण गर्नसके चिया फाइदाजनक व्यवसायका रूपमा स्थापित हुनेछ ।

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?