+
+

चीनसँग सीमा सुरक्षासम्बन्धी समस्या छैन : परराष्ट्र मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १८:२१

१५ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उत्तरी छिमेकी चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या नरहेको बताएकी छन् । बिहीबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लम्सालले उक्त जानकारी गराएकी हुन् ।

लम्सालले नेपाल–चीन गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक सम्पन्न भएको जानकारी दिँदै भनिन्, ‘चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या छैन । बैठकमा सीमामा भएका गतिविधिबारे सूचनाको आदान प्रदान गर्ने काम भयो ।’

यस्तै परराष्ट्र मन्त्रालयले नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान बढेको जानकारी दिएको छ । लम्सालनका अनुसार उच्चस्तरमै भ्रमण गराउन पहल भइरहेको भएपनि ठोस् निष्कर्षमा पुगिनसकेको जानकारी दिइन् । उनले अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगले १९ देखि २१ अप्रिलसम्म तीन दिने र २२ अप्रिलबाट सिनेटर किस्र्टन जिलीब्रान्डको नेतृत्वमा ६ सदस्यीय अमेरिकी उच्चस्तरीय संसदीय टोलीले भ्रमण गरेको विषयमा जानकारी प्रवक्ता लम्सालले गराइन् ।

त्यस्तै नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिको सराहना गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भ्रमणका क्रममा डा. टेड्रोसले नेपालले संविधानमै स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र स्वास्थ्यलगायत पूर्वाधार विकासमा गरेको प्रगतिको उच्च प्रशंसा गरेका थिए । प्रवक्ता लम्सालले भनिन्, ‘भूकम्पपछि निर्माण भएको स्वरूपबाट उहाँ प्रभावित हुनुभयो । भ्याक्सिनमा डब्ल्यूएचओको मापदण्डअनुसार गरेको प्रगतिको पनि सराहना गर्नुभयो ।’

बिमस्टेकको ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल माध्यमबाट काठमाडौंमा सम्पन्न भएको छ । मन्त्रालयकाअनुसार बैठकको अध्यक्षता उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन् । लम्सालले बैठकमा सदस्य राष्ट्रबीच अन्तर आबद्धता, ऊर्जा साझेदारीमा जोड, सहयोग आदानप्रदान, भारतको बैंगलोरमा स्थापना हुने विमस्टेक उर्जा केन्द्र शिघ्र सञ्चालनलगायत विषयमा छलफल भएको थियो ।

साथै, ऊर्जामन्त्री पम्फा भुसाल बीबीआईएन फोरममा सहभागी हुन बंलादेश भ्रमणमा रहेको जानकारी पनि परराष्ट्र मन्त्रालयले दिएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयको कामसमेत अगाडि बढिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले राष्ट्रपति भण्डारीले चीनमा हालै सम्पन्न बोआओ फोरमलाई सम्बोधन गरेको र सोही क्रममा कोभिडमा प्राप्त भएको सहयोगको प्रशंसा गरेको जानकारी गराइन् ।

परराष्ट्रले विद्युतीय राहदानी सेवा प्रवाहलाई व्यवस्थित बनाइएको भन्दै निकट भविष्यमा सबैतिरबाट सुरू गर्ने गरि काम भइरहेको जानकारी दिएको छ । अहिले हवाई यातायात सहज भएको ठाउँमा दुई हप्ताभित्र दिइरहेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?