+
+

थारू विवाहको लोक संस्कृति (फोटो फिचर)

कुलदीप न्यौपाने कुलदीप न्यौपाने
२०७९ वैशाख १७ गते १९:२२

एउटा अनौठो विवाह संस्कार थियो, थारू समुदायमा । विवाहका लागि छोरीचेली आदान-प्रदान हुन्थ्यो । जस्तो, आफूले जुन घरमा छोरी दिइयो सोही घरका छोरीचेलीलाई बुहारी बनाएर भित्र्याइन्थ्यो । तर, अहिले यो संस्कृति हराउँदै गएको छ । फरक घरबाट ल्याउने र फरक घरमा पठाउने गरेर अझै कतैकतै थारू संस्कारमा नै बिहे गर्ने गरिएको छ ।

गत २०७८ फागुन ६ गते दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवा गाउँमा थारू बिहे चल्दैथियो । बुवा रविलाल चौधरी र आमा छुकनी चौधरीकी छोरी गंगा चौधरी र छोरा व्यासमुन चौधरीको एकैदिन विवाह थियो । दिदी गंगा चौधरीको विवाह राप्ती गाउँपालिकाकै वडा नम्बर ७ अर्नहनपुरमा हुँदै थियो भने भाइ व्यासमुन चौधरीले राप्ती गाउँपालिका वडा नं. ६ को बगरापुरदेखि बेहुली ल्याउने कार्यक्रम थियो ।

दुवै विवाहका लागि थारू संस्कार अनुसार नै घरमा तयारी चलिरहेको थियो । अघिल्लो दिन बिहे घरमा आफन्तहरू जम्मा भइसकेका थिए । जम्मा भएका गाउँले आ-आफ्ना काममा व्यस्त देखिन्थे । बिहे घरमा एक्काइस घरधुरीबाट प्रत्येक घरका दुई जनाको दरले जम्मा हुँदै थिए । कोही आउने क्रम जारी थियो । आउँदा महिलाहरूले घरमा उब्जेको तरकारी छिटुवामा ल्याउने चलन रहेछ । जम्मा भएका महिलाहरू भित्री काममा व्यस्त देखिन्थे भने पुरुष आँगनमा चन्डोला र डोली बनाउँदै थिए । अघिल्लो दिन जम्मा भएकाहरूका लागि भान्छामा कतै रोटी त कतै भात पाक्दै थियो ।

आफन्त भन्दा पनि गाउँले नै धेरै जम्मा भएको देखिन्थे । ‘पहिला पहिला गाउँभरिको झलारीहरू जम्मा भएर बिहेभोजको काम गर्ने गरिथ्यो । अहिले त्यो चलन हरायो । नजिकका गोत्यार छिमेकीहरू मिलेर समूह बनाएका छौं । त्यही समूहबाट जम्मा भएर यस्ता काम टार्ने गरेका छौं’, राप्ती गाउँपालिका वडा नं. ६ पत्थरगढवाका महतवा भीमबहादुर चौधरीले भने । उनका अनुसार झलारी नै हटेको त हैन तर समूहबाट नै चल्ने भएकोले यसरी उनीहरूले फरक तरिका भए पनि काम गर्दै आएका छन् ।

दुलहा-दुलहीको सवारी डोली र चन्डोलमा

एकै घरमा दिदी र भाइको बिहे भएकोले डोली (बेहुलीका लागि) र चन्डोला (बेहुलाका लागि) दुवै बनाउन गाउँले व्यस्त थिए । डोलीमा बेहुली र चन्डोलामा दुलाहा बस्ने गर्छन् । डोलीलाई दुई जनाले बोक्ने हुन्छ भने चन्डोलालाई चार जनाले बोक्नुपर्छ ।

काठले बनेको फ्रेममा डोरीले उनेको साना खटौलीलाई बाँसको प्रयोग गरेर डोली र चन्डोला बनाइएको हुन्छ । चन्डोलालाई घरमै बनाइएका कागजका फूल तथा वरिपरि रंगीचंगी कपडा बेरेर सजिसजाउ गरिन्छ । तयार भइसकेपछि चन्डोला निकै आकर्षक देखिन्छ । डोली भने त्यति धेरै सजाउनु पर्दैन । वरिपरि सेतो कपडा तथा माथिबाट रातो कपडाले ढाकेर टुप्पामा कासको बेला (अम्खोरा) घोप्ट्याएर बाँध्ने चलन हुन्छ ।

कोही जाँतोमा ठोक्ने काठ (हतासो) बनाउँदै थिए । यो काठ नयाँ चाहिने हुँदा, केही दिनअघि नै जंगलबाट ल्याइएको थियो ।

डोली चन्डोला बनाउने काम सकिएपछि केहीबेरमा गाउँलेले नाम लेखेर गोला बनाए । ती गोलाहरू कसले डोली र कसले चन्डोला बोक्ने भन्ने थियो । गोला अनुसार आलोपालो बोक्नुपर्ने रहेछ ।

विवाहको परिकार ‘डिउली’

साँझ परेपछि सबै जना बही कोठामा जम्मा भए । बही कोठामा बेहुला-बेहुलीकी आमाले पिठोको रेखीबाट एउटा आकृति बनाइन् । केहीबेरमा कन्याले डिहुरार (पूजा कोठा) बाट सजाइएको ढकियामा दुलाहा-दुलहीका कपडा ल्याएर राखे ।

विवाहको महत्वपूर्ण आकर्षण ‘डिउली डर्ना’ हो । डिउली भनेको मासको दाल जाँतोमा पिसेर त्यसको कनिकाबाट बनाइएको एक प्रकारको परिकार हो ।

विवाहको गीत ‘मागर’

थारू विवाहमा अर्को महत्वपूर्ण कुरा विशेष प्रकारको लोकगीत हो, जसलाई मागर भनिन्छ । मागर विवाहको आरम्भदेखि अन्त्यसम्म गाइने गीत हो । थारूहरू प्रकृतिपूजक भएकाले विवाहको बेलामा पनि प्रकृतिको पूजा गर्ने गर्दछन् । कुनै पनि प्राकृतिक शक्तिबाट आफूले पाउने उपयोगितालाई आफूले उपभोग गर्नुभन्दा पहिले त्यो शक्तिबाट अनुमति लिएको प्रतीकस्वरुप प्रकृतिको पूजा गरिन्छ ।

दुलाहाकी आमाले एउटा ढकियामा मास र कन्याले ढकियामै बेहुला-बेहुलीको कपडा ल्याउने चलन रहेछ । त्यसपछि ‘डेउली डर्ना’ कार्यक्रम सुरु भयो । डेउली डर्नासँगै पुरुषले मागर गीत गाउन थाले । विवाहमा हरेक कार्य गर्दा मागर गीत गाउने चलन छ । गीतले भने अनुसारको काम पनि हुँदै थियो । पहिला जाँतो राखिंदोरहेछ, त्यसपछि त्यसमा काठ ठोक्ने काम ।

अघि पिठोले बनाइएको चित्रको माथिबाट धान, धानको माथिबाट पात र पातको माथिबाट जाँतो राखियो । बेहुला-बेहुलीको आमाबाट जाँतोमा मासको दाल पिस्न सुरु भयो । दुलाहाको आमा, दिदीबहिनी र आफन्त महिलाले पालैपालो मास पिस्छन् । मास पिसिसकेपछि खानपिन गरेर अघिल्लो दिनको काम सकिन्छ ।

डिउली धुन जाने

अर्को दिन बिहानै खोलामा अघिल्लो दिन पिसेको मासको डिउली धुन जाने चलन रहेछ । डिउली धुन जाँदा दुलाहा-दुलहीको कपडा पनि ढकियामा बोकेर लैजान्छन् । दुलाहाकी आमाले खोला किनारमा पिठोको पाँच वटा गोलो ढुरी बनाइन् । एउटामा दुलाहा-दुलहीको कपडा, अर्कोमा पाला र तीन वटामा भुर्कीमा लगेर गएको छाकी (रक्सी) राखियो । यसरी धुन जाने कार्यलाई डिउली धुने भनिंदोरहेछ । पहिले यो काम गर्दा ढोलाह बाजा बजाउँदै ढोलाह नाच नाच्दै डिउली धुन जाने गरे पनि अहिले सो कला पूरै लोप भइसकेको छ । ‘पहिले धेरै मानिस आउने गर्दथे, धेरै रमाइलो हुन्थ्यो’ डिउली धुन गएकी ६० वर्षीया रामकुमारी चौधरीले पुराना दिन सम्झिइन् ।

डिउली धुने कार्य सकिएपछि पूजापाठ गरियो । खोलामा डिउली धोएर घर ल्याएपछि सिलौटामा पिस्ने र तेलमा पकाउने गरिन्छ । यस विधिलाई ‘ढाइ बैठाना’ भनिन्छ । पकाइसकेपछि देउता कोठामा भएको तरबारसहित त्यसको पूजा गरिन्छ ।

जन्ती जाने संस्कार

अर्कोतर्फ बिहानैदेखि खसी, कुखुरा र बंगुर काट्न सुरु भएको थियो । डोरीले सिक्वा टंगाउने (झुन्ड्याउने) बनाइँदै थियो । सिकवा कटनको डोरीले बनाइएको हुन्छ । बढी जुटको डोरीले बनेको हुन्छ । बर्छीमा टंगाउन डोरी बनाइएको हुन्छ । घरबाट निस्कँदा दुलाहाले बोकेर जाने बर्छी केहीबेरमा बेहुलाको भिनाजुले बोक्ने चलन हुँदोरहेछ । बर्छीमा माछा, सिकवा र बढी टंगाउने चलन छ ।

दुलाहा घरबाट निस्कँदा काँधमा बर्छी, हातमा तरबार बोकेर निस्कने चलन छ । सुरक्षाको लागि तरबार बोकेर जन्ती जाने संस्कार छ । ‘अब म कन्यावरण गर्न हिंडें, यदि मेरो कन्या ल्याउँदासम्म कसैले युद्ध गर्न चाहे म पनि तयार छु’ भनेर अस्त्रको रूपमा आफ्नो र कन्याको सुरक्षाको लागि बर्छीर् र तलबार बोकेर जाने गरेको थारू अगुवाहरू बताउँछन् ।

बेहुली ल्याउन जाँदा तेल, बेसार, नून, रक्सी, दाल, तरकारी र खुर्सानी लैजाने चलन छ । दुलाहाले कपडा लगाउनु भन्दा पहिले दुलाहाकी आमा र कन्याले दुलाहा-दुलहीको कपडा बोकेर घर बाहिरसम्म लगिदिन्छन् । दुलहीको कपडा दुलाहाको घरबाट पठाउने र दुलाहाको कपडा भित्र ल्याउने चलन छ । भित्र-बाहिर जाँदा चामल भरेर जाने-आउने र खन्याउने चलन छ ।

दुलहीको घर नजिक गएर बेहुला चढेको चन्डोला बिसाउँछन् । बेहुलालाई सालीहरू स्वागत गर्न आउँछन् । दुलाहालाई टीका लगाइदिन्छन् । फलफूल र दही खुवाउँछन् । अब जन्ती दुलहीको घरतर्फ अघि बढ्छन्, दुलही तिरकाले मागर गीत गाउन भन्छन् ।

मागर गाउँदै अघि बढेका जन्तीको स्वागत गर्न आएका सालीहरूले बाटो रोक्छन् र दुलाहासँग पैसा माग्छन् । लेनदेनमा बार्गेनिङ हुन्छ । कुरा नमिलेसम्म रोक्दै माग्दै लैजान्छन् । दुलहीको घरमा पुगेपछि दुलाहालाई गुन्द्रीमा बसाइन्छ । दुलाहासँगै लोकन्ते पनि सँगै बसेका हुन्छन् । त्यसपछि सालीहरूले दुलाहासँगै लोकन्तेको पनि गोडा धोइदिन्छन् ।

दुलाहाले बोकेर लगेको बर्छी दुलहीको घरको डिहुरार (पूजा कोठा)मा गाडिन्छ । बिदाइ हुने बेला बर्छी लिन जाँदा सालीहरूले पैसा माग्छन् र फेरि पैसाको लेनदेन हुन्छ ।

नयाँ पुस्ताले भुले संस्कृति

विवाह अवधिभर मागर गीत गाइन्छ । ‘हाम्रो पालामा बिहेवारी गर्ने आफ्नै चलन थियो । आफ्नै संस्कार र संंस्कृतिमा नाचगान हुन्थ्यो । अहिलेका केटाकेटीले त हाम्रो संस्कृति नै भुलिसके’ थारू लोकसंस्कृतिविद् अशोक थारू भन्छन्, ‘बिहेको गीत त गाउन पनि जान्दैनन् । अहिले त न बिहेमा गीत गाउने चलन छ न त युवाहरूले भाका नै जान्छन् ।’

व्यासमुनको घरमा ६० वर्षीया आमाले मात्रै थारू पहिरन लगाएकी थिइन् । ‘मैले बच्चैदेखि यही पहिरन लगाएँ, हिजोआजका पुस्ता त पुरानो पहिरन लगाउनै मान्दैनन्’, उनले भनिन् । पहिले थारू समुदायमा धेरै प्रकारका आफ्नै लोक संस्कृति र पहिरन थिए । अहिले यो समुदायले दशैंमा सख्या र माघीमा मघौटा भाकाहरू गाउँछन् ।

 

सखिया र मघौटा गीत पनि नयाँ पुस्ताले पूर्ण रूपमा गाउन जान्दैनन् । आधुनिक प्रविधिका कारण थारू समुदायको लोकसंस्कृति र संस्कार हराउँदै गएको संस्कृतिविद् थारूको चिन्ता छ । ‘युवाहरूले हाम्रो भाका गाउन-बजाउन रुचि नै राख्दैनन्’ उनले भने, ‘अरू नै गीतमा रमाउँछन् । नाचगान गर्छन् । आधुनिक प्रविधिका कारण थारू समुदायको संस्कृति पुस्तान्तरण हुन नसकेको हो ।’ अहिलेका पुस्ताले नयाँ जमाना अनुसार रमाउन खोज्दा आफ्नो लोक संस्कार नै भुलेको उनको भनाइ छ ।

पुर्ख्यौली कला-परम्परा लोप हुने भय

डगौरा र देउखर्‍या थारूहरूको विवाह संस्कारमा धेरै भिन्नता नभए पनि विविधता भने छ । विवाहलाई डगौरा थारूले बड्का भोज भन्छन् भने दिउखर्‍या थारूले ‘डैजाह भोज’ भन्ने गर्दछन् । विवाहमा धेरै खर्च हुने हुँदा डगौरा थारूले बड्का भोज भन्ने गर्दछन् । देउखुरी भारतको नजिक भएकाले भारतीय प्रभाव देखिन्छ । भारतमा दाइजोको चलन बढी छ । डगौरा थारूमा केहीले डैजाह भने पनि अधिकांशले बड्का भोज नै भन्ने गर्दछन् । सिमाना नजिक हुँदा यो भारतीय परम्पराको नजिक देखिन्छ ।

थारू लोक संस्कृतिमा विशेषतः व्यक्तिको नाम घटना परिस्थितिको आधारमा राख्ने चलन छ । जसअनुसार क्षेत्रीयताको आधारमा थारूलाई चिन्ने गरिन्छ । दाङ एउटा क्षेत्र र देउखुरी अर्को क्षेत्र भए पनि चुरे पहाडले छुट्याएका कारण भाषिक भिन्नता, बोलीमा फरक र भेषभूषामा फरक रहेको छ । विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिंदा ग्रामीण भेगबाट रैथाने थारू संस्कृति लोप हुँदै गएको छ । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा परम्परागत रूपमा रहेको संस्कृति पछिल्लो पुस्ताले चासो नदिंदा अहिले लोप हुँदै गएको हो ।

अहिले यो प्रचलन हराउँदै गएकाले भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक छ । ‘अहिले सबैतिर तडकभडक देखिन थालेको छ, यसको असर थारू संस्कृतिमा पनि परेको छ । यहाँका कला संस्कृति र रैथाने केही सभ्यता मासिएका छन् । पुस्ताले सिर्जेको मौलिक परम्परा बिसर्ंदै गएका छौं’ थारू भन्छन्, ‘पुरानो मौलिक कला र संस्कृति क्रमशः लोप भएका छन् । मौलिकता फर्काउन निकै चुनौती छ ।

लेखकको बारेमा
कुलदीप न्यौपाने

न्यौपाने नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?