+
+

आमालाई बिदाइ गर्दा

आफूलाई केही दरिलो बनाएर आमाको अनुहारलाई देखाउन अनुरोध गरेँ। ‘आमा’, ‘आमा’ केही पटक बोलाएँ । आमाले एकोहोरो हेरी मात्र रहनुभयो । केही प्रतिक्रिया दिनुभएन।

बाबुराम निउरे बाबुराम निउरे
२०७९ वैशाख १७ गते १२:४०

आमाले यो भौतिक संसार छोड्नुभन्दा झन्डै पाँच महिना अगाडि उहाँको अर्धचेत अवस्थाको शरीरसँग मेरो प्रत्यक्ष संवाद भएको थियो। आमा हामीसँग धेरै समय रहनुहुन्न भन्ने निश्चितजस्तै अवस्था देख्दादेख्दै पनि मैले आमाप्रतिको आफ्नो कर्तव्यलाई भन्दा आफ्ना सन्तानप्रतिको जिम्मेवारीलाई बढी महत्व दिएँ । अचेत आमालाई स्याहार सुसार गर्ने दायित्व दाजु भाउजुकै मात्र भएजस्तै गरी आमालाई भुईंमा लडाएर छोडेँ । आफू चाहिँ आकाशमा उडेर खुसीको खोजीमा हतार हतार निस्केको थिएँ ।

त्योभन्दा अगाडि देखिनै आमालाई आफ्ना सन्तानको लागि बोझ भएको महसुस भइसकेको थियो। सायद दिनरात स्याहार सुसार गरिरहनुपर्ने दाजु भाउजु र भतिजहरूलाई पनि दिक्क लागिसकेको थियो। तर कहिलेकाँही भेट हुने र एक दुई दिन मात्र आमाको स्याहारको जिम्मेवारी लिने आफूलाई चाहिँ आमा त्यस्तै अवस्थामा भए पनि बाँची राखे हुन्थ्यो भन्ने लागिरहन्थ्यो। त्यसैले कहिले-कहिले घरमा कुराकानी गर्दा पनि आमालाई ठिकै छ भन्ने सुनेपछि बल्ल आनन्द हुन्थ्यो र अन्य हालखबरहरू सोध्ने गर्दथें।

आफूले फोन गरेर हालखबर सोध्ने बेलामा भन्दा घरतिरबाट फोन आउँदा झनै गाह्रो हुन्थ्यो। आमालाई ठिकै छ भन्ने आवाज सुनेपछि मात्र छातीको धड्कन सामान्य गतिमा चल्न थाल्थ्यो। तर सधै त्यस्तो हुन पाएन। सामान्य व्यस्तता थियो । केही ढिलो खाना पकाउन तर्खर गर्दै गर्दा घरबाट फोन आयो। यसपटक आमालाई ठिकै छ नभनेर आमालाई गाह्रो भएको छ भन्ने आवाज सुन्न पर्‍यो। छाती टक्क अडियो सबै इन्द्रियहरूले काम नगरेजस्तै गरेर शरीर शिथिल भयो।

आफूलाई केही दरिलो बनाएर आमाको अनुहारलाई देखाउन अनुरोध गरेँ। ‘आमा’, ‘आमा’ केही पटक बोलाएँ । आमाले एकोहोरो हेरी मात्र रहनुभयो । केही प्रतिक्रिया दिनुभएन। मैले अड्कल गरेँ- अब आमाले मेरो जवाफ फर्काउनुहुन्न। केहीबेर भक्कानो छाडेर रोएँ। बिस्तारै आफूलाई सम्हालेँ- आमा हुनुहुन्छ नि बोल्न मात्र पो नसकेको।

आमालाई केही बिसेक भयो भनेर सुन्न पाइन्छ भन्ने आशा मरिसकेको थियो। नभन्दै केही घण्टापछि आमाले यो भौतिक संसार छोड्नुभएको जानकारी आयो। केही समय पूरै इन्द्रियहरू निष्क्रिय भए जस्तै गरी शरीर पूरै शिथिल भयो। संसार अँध्यारो महसुस भयो। तर त्यो शिथिलता लामो समयसम्म रहन पाएन । केही बेरमा नै म कठोर भइसकें। बिहान बेलुका छाक टार्न र मासिक घरभाडा लगायतका खर्चहरूको जोहो गर्न दुई चार दिन आराम गरेर बस्न नपाइने ठाउँमा थिएँ । सुख, सुविधा र खुसीको खोजीमा भौंतारिएको म केही मिनेट अगाडि आमा गुमाएको पीडालाई दिमागको एउटा कुनामा राखेर आफ्नो नियमित काममा निस्कें।

त्यसपछि मैले खाना खाने बाहेक सबै रुटिन नियमित जस्तै गरी अगाडि बढाएँ। समय समयमा आमालाई सम्झन्थेँ। छातीले नियमित काम गर्न असहज मान्थ्यो तर केही छिनपछि सम्हालिन्थ्यो। म यति कठोर भइसकेको थिएँ कि कसैले पनि मलाई त्यति ठूलो चोट परेको आभास गर्न पाएनन्।

बाबुराम निउरे

अब आमा गैसक्नुभयो। आफ्नो संस्कार, संस्कृति र परम्परा अनुसार आमाको देहशान्तिको लागि के गर्ने कसरी गर्ने भन्ने तिर सोच्न थालिसकेको थिएँ म। धर्म, संस्कृति र पारिवारिक पृष्ठभूमि तथा संस्कार अनुसार मलाई घर जानु थियो तर त्यही पीडामा रहेकी श्रीमतीलाई ५ /६ कक्षामा अध्यनरत अपरिपक्व छोरा छोरी र नयाँ मुलुकमा भर्खर शुरु गरेको सानो व्यवसाय छोडेर विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको त्रासमा अन्तरदेशीय आवातजावत गर्न त्यति सहज थिएन।

हाम्रा कतिपय संस्कार यति शक्तिशाली छन् कि तिनीहरूले हामीलाई आफ्नो व्यक्तिगत खुसी भन्दा पारिवारिक तथा सामाजिक रूपमा आफूलाई स्वीकार्य हुने तरिकाले व्यवहार गर्न निर्देशित गरिरहेका हुन्छन् । मैले पनि आफूलाई व्यक्तिगत सवालमा नियन्त्रण गर्न सकिनँ र कठिनताका बाबजुद आमाको देहशान्तिको प्रार्थना तथा परम्परागत कर्म गर्नको लागि जन्मघरमै जाने निर्णय गरेँ।

आमा गुमाएको दोस्रो दिन भइसकेको थियो। यात्राको टिकट तथा कोरोना महामारीको समयको उडान नियम अनुसार स्वास्थ्य परिक्षण गरेर आफूलाई जन्म दिने आमाको अन्त्यकर्म गर्नको लागि यात्राको तयारी गरेँ। तेस्रो दिनको बिहानै म जन्मदाताले छोडेर गैसकेको जन्मघरतिर बाटो लागें। अहिलेसम्म म लगभग व्यस्त थिएँ। आमालाई खाली भएको समयमा मात्र सम्झिन्थेँ, तर जहाज चढेपछि अथक आमाको अनुहार र उहाँको स्वभाव तथा व्यवहारहरू बाहेक कुनै कुराले दिमागमा ठाउँ पाएन।

समय समयमा आफूलाई सम्हाल्न गाह्रो हुन्थ्यो, छातीमा भक्कानो पर्थ्यो, आँखा रसाउँथे र कुनै कुनै बेला घुक्क घुक्क आवाज नियन्त्रण गर्न पनि गाह्रो हुन्थ्यो। सँगै बसेका क्यानडियन यात्रुले पनि भेउ पाए अनि यात्राभर सम्हाल्न कोसिस गरे । सम्झाइरहे। तर आमाका अनौठा र वर्तमान स्वार्थी विश्वमा लागु नहुने स्वभाव र व्यवहारहरू अब सम्झनामा मात्र सीमित राख्नुपर्ने सत्यताले यात्रा अवधिभर आमाको सम्झना बाहेक कुनै पनि कुराले मेरो दिमागमा ठाउँ पाएन।

स्वस्थ रहुन्जेल कुनै पनि दिन आमाको शरीरले आराम खोजेन। म जान्ने भएदेखि झन्डै उहाँ ७० वर्ष पुग्ने बेलासम्म बिरामी परेर वा अन्य कुनै बहानामा पूरै दिन आराम गरेको सम्झना छैन मलाई। अध्ययनको निहुँमा शहरमा बस्ने म जवान वर्षमा १/२ पटक घर पुग्दा पनि म थाकेको हुने रे! म घरमै आराम गर्ने वा तलमाथि भेटघाट गर्ने रे । अनि आमा चाहि एक पाँजी घाँस लिएर आउने वा अलिकति बारी खन्ने, कोदोको झार गोड्ने वा त्यस्तै कुनै न कुनै काम गर्ने रे।

यस्तो स्वार्थी दुनियाँमा आमालाई अरुको चासो किन लाग्थ्यो होला? खाना खाएर बाहिर धारामा भाँडा माझ्दै गर्दा आमाले आफ्ना बाहेक परपर छिमेकीका थुप्रै कुरा नियालिरहेको हुनुहुन्थ्यो।

बिर्मलेका मकै बुढाए, किन खन्न बेर गरेको होला। प्रधानका बारीमा गोरु नारे। सुब्दारले बल्ल धानको बिउ राख्न थाले। अहिले मुख्यको खेत नरोप्ने रहेछन् कि के हो। सरुने जितमानले बल्ल कोदो रोप्न थाले। आज चुलेत्रेको खेत रोप्न थालेछन्। चाई कान्छाको बिउ त पहेलो भयो मल नै राखेन क्या हो।

हामी जवानले भन्दा बुढी आमाले राम्रोसँग देखेर कमेन्ट गर्नुहुन्थ्यो। हामीलाई आफ्नो बाहेक कोही कसैको मतलब थिएन ।

आमा भान्से हुने बेलासम्म लगभग १४ /१५ जना सदस्य घरमा थियौं र लगभग पाहुना टुट्दैनथे। कहिले खानपिन सकेर जुठोभाँडो गरिसकेपछि फेरि भान्सामा जानुपर्दा आमालाई कहिल्यै झर्को महसुस गरेको आभाष गर्न सकिंदैनथ्यो। प्रायःजसो घरमा आउनेलाई केही न केही दिएरै पठाउनुहुन्थ्यो तर आफूलाई संधै अरुलाई दिइरहेको देख्दा भित्र भित्र रिस उठ्थ्यो। मैले कहिलेकाहीं आफूलाई आमासँग तुलना गर्छु। आफ्नो त स्वार्थविहिन लेनदेन नै नभएको जस्तो लाग्छ।

केरा, सुन्तला र अम्बा जस्ता चिसोमा नफल्ने फलफूल कोसेलीको रूपमा मौसम अनुसार पाहुनाहरूसँग आउँथे र घरमा कुनै सदस्यले कुनै चिज मैले खान पाइनँ भनेर गुनासो गरेको बिरलै सुन्न पाइन्थ्यो।

त्यत्रो ठूलो परिवारमा कोही पाहुनाले ४ ओटा केरा ल्याइदिँदा कसरी सबैलाई पुगे होला। घरमा मुख्य ढोका लगायत कुनै पनि कोठामा चापी लगाउने चलन थिएन। बाको बाकस र आमाको काठको मदुस बाहेक सबैको लागि सबै खुला थिए।

स्कुलमा कहिलेकाहीं उधारो खाजा खाएको पैसा तिर्न पनि गाह्रो हुन्थ्यो। घरका कोदो, जौ वा मकैको भकारीबाट केही निकालेर दोकानमा पैसा तिर्ने जोहो गर्न पनि आमा आफैंले सहजीकरण गर्नु हुन्थ्यो।

आमाले कहिल्यै भेदभाव गरेको महसुस गरिनँ मैले। आफ्ना नाति नातिना बाहेक घर बाहिरका नाति नातिनीहरू सँगै हुँदा सबैलाई समान तरिकाले व्यवहार हुन्थ्यो। खासगरी भएको कुरा बाँडेर दिन खान कहिल्यै भेदभाव र छुच्याई गरेको महसुस गर्न पाइएन। घरमा आएका पाहुनाहरूलाई बाले कसैलाई बिशेष महत्व दिन निर्देशन दिनुहुन्थ्यो, तर आमाले लगभग सबैलाई उत्तिकै चासो र महत्व दिनुहुन्थ्यो।

आमाको लागि हामी छोरा छोरी र नाति नातिना मात्र थिएनौं। गाई, भैंसी, बाख्रा, कुकुर, बिरालो लगायत सबै आमाको लागि हामी जत्तिकै हुन्थे। कुनै कुनै डुलुवा कुकुर वा बिरालोले समेत हामी नभएको मौका पारेर आमाबाट केही हात पारिहाल्थे।

आमाको सहनशीलता पनि अनौठो थियो। मैले घर वरिपरिका अरु आमाहरूसँग पनि तुलना गर्दथें। सामान्यतया विकट गाउँ तथा बाहिरी परिवेशसँग सम्पर्क नभएर होला, प्रायःजसो घरमा सासु बुहारीबीच त्यति राम्रो सम्बन्ध नभएको सहजै देख्न सकिन्थ्यो । अधिकांश घरमा सासु निर्देशक र बुहारी कामदारजस्तो पनि देखिन्थ्यो। तर हाम्रो घरमा बुहारीहरू भन्दा आमाले नै धेरै काम गर्नुहुन्थ्यो र निर्देशक भन्दा पनि सहकर्मीकै रूपमा देखिनु हुन्थ्यो।

यसरी आमाको स्वभाव र व्यवहार सम्झिंदै, बेला बेलामा भक्कानिंदै झन्डै १४ /१५ घन्टाको जहाज र १२/१३ घण्टाको गाडीको यात्रापछि म मेरो घरनजिक पुगेँ। घर पुग्नुभन्दा अलि अगाडि केही आफन्तजन नै मेरो प्रतीक्षा गरेर बसिराख्नु भएको थियो। त्यहाँ पुग्दासाथ मलाई कपाल मुण्डन गरी नुहाई धुवाई गर्न लगाइयो। त्यतिबेलासम्म म कति कठोर बनिसकेछु म आफैंलाई अनौठो लाग्यो।

म अगाडि बढ्न सकिनँ । त्यही आवाज उच्चारण गर्दै भक्कानिएँ। क्षणमै शक्ति क्षीण भएको शरीरलाई दाइले डोराउँदै हामी बस्ने कोठाभित्र लिएर जानुभयो। केही समयको शिथिलतापछि म पुनः बिस्तारै दरिलो बन्दै गएँ ।

४ दिनदेखि खाना नखाएको मलाई शक्ति क्षीण भएको महसुस भएको थिएन। आमाको बारेमा सोच्दै त्यत्रो लामो यात्रा गरेर आमाले पर्खिरहने ठाउँमा पुगिसक्दा र आमा भनेर बोलाउँदा जवाफ आउँदैन भन्ने थाहा हुँदा पनि मेरा आँखा रसाएनन्। मलाई घर नजिकै कुर्नुभएका सबैसँग सन्चो बिसन्चो लगायत सबै बिषयमा सामान्य तरिकाले नै कुराकानी गरेँ।

नुहाई धुवाई गरेर कपडा फेरेपछि घरतिर पुग्ने बेलासम्म समेत पनि म जिन्दगीको सबैभन्दा महत्वपूर्ण चिज गुमाएको जस्तो अवस्थामा थिइन्। म सामान्य अवस्थामै थिएँ। घरको आँगनमै पुग्ने बेलामा मात्र म कमजोर भएँ। मैले ‘आमा’ भन्दा ‘कान्छो आइस्’ भनेर जवाफ आउँदैन भन्ने कुराले मलाई झम्ट्यो।

म अगाडि बढ्न सकिनँ । त्यही आवाज उच्चारण गर्दै भक्कानिएँ। क्षणमै शक्ति क्षीण भएको शरीरलाई दाइले डोराउँदै हामी बस्ने कोठाभित्र लिएर जानुभयो। केही समयको शिथिलतापछि म पुनः बिस्तारै दरिलो बन्दै गएँ ।

भोलिपल्टदेखि म हाम्रो परम्परा अनुसार आमाको देहमुक्तिको लागि किरियाकर्ममा सहभागी भएँ। दाजुभाइहरू तथा छरछिमेकीहरूको चहलपहल र गफगाफले बिस्तारै आमा गुमाउनुको पीडालाई घटाउँदै लग्यो। पाँच दिनसम्म गरुड पुराण सुनाइयो। पुराण त्यति सान्दर्भिक नभए पनि यसले कुकर्मबाट टाढा रहन चेतावनी दिएको कुरालाई आत्मसात गर्न सकिने खालको थियो।

१३ दिनसम्म गरिने विभिन्न कर्महरूमा नियमित जस्तै पिण्ड, फूल, प्रसाद, द्रव्य लगायतका कुराहरू आमाको लागि समर्पण गरिन्थ्यो। सायद आमा जीवित नै छँदा आमाको खुसीको लागि खासै केही गरिएन । तर मृत आत्माको लागि कुनै पनि कुरा सम्झौता नगरी सबै आवश्यकता पूरा गरिदिए जस्तो गरेर सबै चिजहरू जुटाइएको थियो।

यो पक्षलाई विज्ञानसँग आधारित भएर विश्लेषण गर्दा बेकार जस्तो देखिन्थ्यो र आध्यात्मिक रूपले हेर्दा भौतिक शरीरभन्दा आत्म महत्वपूर्ण कुरा हो र यी सबै अभ्यासहरू आत्माको खुसीका लागि गरिएका थिए ।

लगभग १३ दिन बित्ने बेलासम्म आफ्नी आमा नै बिर्साइदिने सबैभन्दा शक्तिशाली तत्व हाम्रो पारिवारिक एवं सामाजिक जीवनशैली थियो। विभिन्न कारणले टाढा टाढा भएका दाजुभाइहरू आफ्नो निजी कुरा सबै छोडेर हामीलाई कुरेर बसिरहनु भएको थियो । पारिवारिक वियोगले विक्षिप्त भएको अवस्थामा छिमेकीहरूको सहयोगमा घरका सबै कामहरू नियमित चलिरहेको थियो । कुनै सामग्री अथवा आर्थिक लगायतका अन्य व्यवस्थापनका कुराहरूमा दाजुभाइ तथा छिमेकीहरूबाट सहज रूपमै व्यवस्थापन हुनुले आफू एक्लो नभएको सहजै महसुस गर्न सकिन्थ्यो।

पश्चिमी विश्वमा परिवारभन्दा व्यक्ति महत्व हुन्छ। घरका झ्यालहरूबाट बुढाबुढीहरूले घन्टौंसम्म बाहिर टुलुटुलु हेरिरहेको देखिन्छ। त्यही समयमा उनीहरूलाई आ-आफ्ना नाति नातिनीहरूसँग खेल्न कुराकानी गर्न पाए कति आनन्द हुने थियो होला। कतिपय अवस्थामा त कुनै घरमा कसैको मृत्यु भएको पनि धेरै दिनपछि मात्र थाहा भएका कुराहरू पनि सुनिन्छन् ।

यस्तो पारिवारिक सम्बन्धको सवालमा हामी पश्चिमेली मुलुकभन्दा धेरै माथिल्लो स्तरको जीवनशैली अपनाइरहेका छौँ। यो हाम्रो जीवनशैलीको अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पाटो हो जसलाई हामीले निरन्तरता दिनु जरुरी छ।

हामीले सुख सुविधा खोज्दै भौतारिइरहेका मुलुकहरूमा यस्तो खुसी भेट्न सकिंदैन। आमा गुमाउँदाको क्षणमा ठूलो नेपाली समुदाय रहेको ठाउँमा उही पीडामा रहेकी मेरी श्रीमतीलाई कसैले के छ भनेर सोध्न पनि आएनन् । यसले हामी पश्चिमी विश्वमा बेखुसीको जिन्दगीमा अभ्यस्त हुन कोसिस गरिरहेका छौं भन्ने कुरा सजिलै महसुस गर्न सकिन्छ।

यसरी आफूलाई सुनौलो संसारमा अवतरण गराई हाम्रो खुसीको लागि कुनै सम्झौता नगरेको आफ्नै आमाको शरीरलाई खरानी बनाएँ । आमाको मुक्तिको लागि एक वर्षसम्म गरिने विभिन्न कर्महरूको बोझ सबै दाजु भाउजु तथा दिदीहरूलाई नै थोपरेर झन्डै १४/१५ जनाको परिवारलाई खान तथा अन्य खर्च जुटाउनको लागि बेचबिखन समेत गर्न पुग्ने उत्पादन हुने पाखो बारी सबै बाँझो छोडेर देश समृद्ध बनाउन परदेशतिर हिंडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?