+
+

‘सानो सन्देशको ठूलो प्रभाव डिजिटल मिडियाको शक्ति हो’

पहिला त उम्मेदवारबारे एक–एक जनालाई बताउँदै हिंड्नुपर्थ्यो, तर अहिले एकै व्यक्तिले हजारौंलाई बताउनसक्ने अवस्था छ । धेरै ‘फ्यान फलोअर’ भएका व्यक्तिले कसैका बारेमा थोरै मात्र राम्रो कुरा लेखिदिने हो भने कति मान्छे प्रभावित हुन्छन् ? यो नै डिजिटल मिडियाको शक्ति हो ।

श्वेता शेरचन श्वेता शेरचन
२०७९ वैशाख १९ गते १६:५४

म आफैं पनि त्यति धेरै राजनीतिक ज्ञान भएको मान्छे हैन, म राजनीतिक र चुनावी अभियानको ‘डिजिटल मिडिया मार्केटिङ’ गर्दिनँ । तर, अहिले डिजिटल–सोसियल मिडियाको माध्यमबाट भइरहेका चुनावी ‘क्याम्पियन’लाई नियालिरहेकी छु ।

मैले उदाहरणका रूपमा बालेन शाहलाई देखाउन सक्छु । उहाँको चुनावी प्रचार अन्य राजनीतिक दलका नेताहरूको भन्दा भिन्नै छ । पहिले आफ्ना चुनावी एजेन्डाहरू राख्न घोषणापत्र प्रकाशित गरेर घरदैलोमा जाने चलन बढी थियो । अहिले मत आफूतिर तान्न मान्छे नयाँ ‘प्लेटफर्म’ मा पनि जाने चलन बढेको छ ।

पहिले खुलामञ्च र माइतीघरमा ठूलो भीड जम्मा गरेर नेताहरू बोल्ने चलन थियो । त्यसलाई नै प्रभावकारी प्रचारप्रसार मानिन्थ्यो । त्यसको सान्दर्भिकता अझै पनि छ, तर त्योभन्दा बढी प्रभावकारी अहिले डिजिटल मिडिया भएका छन् ।

अहिले केही त्यस्ता यूट्युब च्यानल छन्, जसमा अन्तर्वार्ता दियो भने छिटो आफ्नो एजेन्डा धेरैभन्दा धेरै मतदातासम्म पुर्‍याउन सकिन्छ । यो जान्नेले दिनभर घामपानीमा खटेर, माइकिङ गर्दै यति मान्छे जम्मा गर्छु भन्नै परेन ।

अहिले यस्ता डिजिटल माध्यम पनि छन्, जसमा १० मिनेट बोल्दा आफूले दिन चाहेका सन्देश ठूलो समुदायसम्म पुर्‍याउन सकिन्छ । जसमार्फत आफ्नो पक्षमा माहोल बन्न सक्छ ।

पहिले त रेडियो र टेलिभिजनका माध्यमबाट प्रचारप्रसार गरिन्थ्यो, तर अहिले युट्यूब च्यानलसहित ट्विटर, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल यस्तोमा प्रयोग बढी प्रयोग हुन थालेका छन् । टेलिभिजन र रेडियोका लागि उत्पादन भएर प्रसारण भइसकेका सामग्री पनि डिजिटल मिडियामा राख्दा बढी प्रभावकारी हुने अवस्था आइसकेको छ ।

अहिले त्यस्ता फेसबुक पेजहरू पनि छन्, जो एकैपटक ठूलो समुदायलाई प्रभावित गर्न सक्छन् । उदाहरणका लागि ‘रुटिन अफ नेपाल बन्द’, ‘नो नेक्स्ट क्वेश्चन’ जस्ता पेजहरूलाई जनताले विश्वास गर्छन् । आफ्नो कुनै उम्मेदवारको कुनै पनि सकारात्मक प्रभावहरू छन् भने ५–६ वटा इन्स्टाग्रामको एकाउन्टहरू लिएर प्रचारप्रसार गर्नुभयो भने तिनले धेरै मत प्रभावित गरिदिन सक्छन् । त्यस्ता ‘एकाउन्ट’ को एउटा पोस्ट नै उम्मेदवारको लुकेको पाटो बाहिर ल्याउन प्रभावकारी हुनसक्छ ।

कुनै नेताले कुनै च्यानलमा ३० मिनेट बोलेको छ भने कुन–कुन कुरा बढी प्रभावशाली र तर्कपूर्ण छ भनेर काटेर छोटो छोटो क्लिप्स बनाएर भाइरल बनाउन सकिन्छ । त्यस्तो सन्देश छिटो र प्रभावकारी रूपमा सञ्चार पनि हुनसक्छ । यस्तो पक्ष बुझेका उम्मेदवारले यही शैलीबाट प्रचार गरिरहेको मैले देखेको छु ।

हरेक मान्छेको चासोको विषय एकै खाले हुँदैन । कुनै समयमा तपाईंले मेरो एउटा भिडियो ‘लाइक’ गरिदिनुभयो भने ‘अल्गोरिदम’ले तपाईंलाई त्यही कुरा देखाइरहन्छ ।

एकपटक मात्रै तपाईंले सामाजिक सञ्जालमा कुनै पोस्टमा एक्सन लिनुभयो भने त्यही खालका यति धेरै सामग्री तपाईंले उपयोग गर्नुपर्छ । कुनै उम्मेदवारको एउटा पोस्ट लाइक, कमेन्ट या सेयर गर्नुभयो भने तपार्इंले यति धेरै ऊ बारेका सामग्री देख्नु हुन्छ कि तपाईंलाई त्यसप्रति विश्वास नै जगाइदिन सक्छ ।

अहिले गाउँ–गाउँमा गएर प्रचार गर्ने, पोस्टर टाँस्ने, ब्यानर बोकेर हिंड्नेभन्दा डिजिटल माध्यम प्रभावकारी छन् । जस्तै सामाजिक सञ्जालमा बढी ‘फ्यान–फलोअर’ भएका व्यक्तिले सम्बन्धित उम्मेदवारबारे ‘साउट–आउट’ दिने चलन पनि बढेको छ । एउटा सार्वजनिक जीवनको व्यक्तित्वले उम्मेदवारबारे गरिदिने एउटा पोस्ट नै एकैपटक ठूलो समुदायसम्म पुगेर त्यसले मतदातालाई सोच्न बाध्य बनाइरहेको अवस्था पनि देखिन्छ ।

पहिला त एक जना उम्मेदवारबारे एक–एक जनालाई बताउँदै हिंड्नुपथ्र्यो, तर अहिले एकै व्यक्तिले हजारौंलाई त्यस्ता उम्मेदवारबारे बताउनसक्ने अवस्था छ । कुनै उम्मेदवारबारे २० जना भन्दा धेरै ‘फ्यान फलोअर’ भएका व्यक्तिले थोरै राम्रो कुरा लेखिदिने हो भने कति मान्छे प्रभावित हुन सक्लान् ? यो नै डिजिटल मिडियाको शक्ति हो ।

उम्मेदवारसँग अर्को एउटा चर्चित व्यक्तित्व सँगै उभियो भने त्यसको प्रभाव दुवैतर्फका फलोअरमा जान्छ । दुवैले दुवैका अडियन्सहरू तान्छन् । यसले उम्मेदवारहरूलाई प्रचारप्रसार गर्न सहयोग पुग्छ । यसअघि २०७४ सालको चुनावमा उठ्न खोजेका उम्मेदवारले मलाई पनि सोसियल–डिजिटल मिडिया ‘ह्यान्डल’ गर्न प्रस्ताव गर्नुभएको थियो । म आफैं कुनै पनि राजनीतिक दलका लागि चुनावी अयिभान गर्दिनँ ।

तर, गर्नेहरूले अनलाइन र अफलाइन गरेर दुई प्रकारले यस्तो ‘क्याम्पेन’ गरिरहेका छन् । अनलाइन भनेपछि सामाजिक सञ्जाललाई विज्ञापनका रूपमा रकम भुक्तानी गरेर ‘स्पोन्स्सर्ड’मा चलाइने अभियान हो । त्यसका लागि निश्चित गाइडलाइन छ, सामाजिक सञ्जालले तोकेका शर्तहरू पूरा गर्नुपर्छ । कागजपत्र पुर्‍याउन सकिएन भने त्यस्तो सामग्री ‘रिजेक्ट’ नै हुन्छ । यो खालको क्याम्पेन गर्न चुनौती छ ।

अफलाइन चाहिं अर्ग्यानिक तरिकाले योजनाबद्ध रूपमै पनि गरिन्छ । जसको मुख्य उद्देश्य भनेको आफूले चाहेको वर्गसम्म बढीभन्दा बढी पुर्‍याउने गरी सामग्री भाइरल बनाउनु हुन्छ । भाइरल बनाउने गरी समग्री उत्पादन गर्ने सिर्जनात्मक खुबी भएकाले यसलाई उपयोग गर्छन् । आजभोलि ‘मिम मार्केटिङ’ पनि फस्टाएको छ । ‘मिम’ बनाउने भन्दा पनि विज्ञापनलाई मिमको रूपमा दिएर मार्केटिङ गर्ने प्रचलन पनि छ । त्यसमा पनि कला उपयोग गरिएकै हुन्छ ।

तर, भाइरल बनाइने सामग्रीहरू उम्मेदवारको पक्षमा मात्रै हुन्छन् भन्ने चाहिं छैन, प्रतिद्वन्द्वी उम्मेदवारको विपक्षमा माहोल बनाउन पनि यस्ता सामग्री बनाउने गरिएको देखिन्छ । आफ्नो उम्मेदवारलाई राम्रो देखाएर अरूलाई बदनाम गर्न पनि यदाकदा यस्ता ‘प्लेटफर्म’ प्रयोग भएको देखिन्छ ।

डिजिटल मिडियाको उपयोग आफैंमा नराम्रो हैन । यसलाई सहीसँग उपयोग गर्न सक्ने हो भने सबैले आफ्नो शक्ति, सामथ्र्य र क्षमताबारे जनतालाई सजिलैसँग भन्न र बुझाउन सक्छन् । भोट त अन्तिममा आउने ‘उत्पादन’ जस्तो भयो, यदि कसैले राम्रो काम गरेको छ, नयाँ सोचका साथ काम गर्न चाहेको छ भने उसले त्यसबारे जनतालाई स्मार्ट तरिकाबाट भन्दा/बुझाउँदा के नराम्रो भयो र ?

राजनीति स्वार्थका लागि हैन, जनसेवाका लागि गरिन्छ; यदि उम्मेदवारमा त्यो भावना छ भने उसले उसका एजेन्डा डिजिटल मिडियाको माध्यमबाट राख्नु राम्रो हो । कसैको सकारात्मक पक्ष छ भने त्यसलाई जनतासम्म सन्देशका रूपमा पुर्‍याउन डिजिटल मिडिया माध्यम मात्रै हुन् । त्यसैले राम्रोसँग उपयोग गर्दा सोसियल–डिजिटल मिडिया राम्रा व्यक्तिको पक्षमा जनमत निर्माणमा सहयोगी नै हुन्छन् ।

(‘डिजिटल मिडिया मार्केटर’ शेरचनसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?