+
+
अन्तर्वार्ता :

मेयरका उम्मेदवार राजेशमान भन्छन् : मजदुरी गरेको छु, वीरगञ्जवासीले ज्याला दिन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १९:१७

२०५४ सालमा वडा सदस्य बनेका राजेशमान सिंह त्यसयता चुनावी अंकगणितमा सफल भएका छैनन् । दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा उठे । तर यो पटक पनि परिणाम उनको पक्षमा आएन ।

पछिल्ला दिनमा लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय उनी एमालेमा जाने टुंगो भइसकेको थियो तर एमालेले निवर्तमान नगर प्रमुखलाई पुनः उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराएपछि उनको यात्रा फेरि जनता समाजवादी पार्टीतिरै मोडियो ।

सत्ता गठबन्धनको भागबन्डामा वीरगञ्जको मेयर जसपाले नै पाएपछि राजेशमान यो पटक आशावादी छन् । भन्छन्, ‘मैले मजदुरी गरेको छु, वीरगञ्जवासीले मलाई ज्याला दिन्छन् ।’ प्रस्तुत छ, आसन्न निर्वाचनका सन्दर्भमा जसपाबाट मेयरको उम्मेदवार रहेका राजेशमान सिंहसँग अनलाइनखबरकर्मी सुरेश विडारीले गरेको कुराकानीको सम्पादित अंश :

अघिल्लो पटक मेयरमा हार्नुभएको थियो । फेरि त्यही पदमा उम्मेदवारी किन ?

वीरगञ्ज मेरो जन्मभूमि र कर्मभूमि पनि हो । जुन हिसाबले ३०/३५ वर्ष पहिलेको वीरगञ्ज थियो आज त्यो छैन । त्यो पहिचान कहीं न कहीं गुमेको जस्तो महसुस गरेको छु । भन्नलाई त देशको आर्थिक राजधानी भनिन्छ, तर वीरगञ्जवासीले त्यो अनुभूति गर्न पाएका छैनन् । औद्योगिक करिडोरको सहर भनिन्छ, तर यहाँका युवाहरूले रोजगारी पाउन सकेका छैनन् । कहीं न कहीं वीरगञ्जको पहिचान गुमेको छ । त्यो पहिचान कसरी फर्काउने भनेर लागेका छौं । हामीले समृद्ध वीरगञ्ज बनाउने संकल्प गरेका छौं, त्यही संकल्प पूरा गर्न मेयरमा उम्मेदवारी दिएको हुँ । हामीसँग त्यो क्षमता छ ।

तपाईंले भनेको वीरगञ्जको पहिचान के के हो ?

वीरगञ्ज आर्थिक नगरी भनेर भनिन्छ, खोइ त वीरगञ्जवासी समृद्ध भएको ? खोइ त वीरगञ्जका युवाले रोजगारी पाएको ? वीरगञ्ज ३०/३५ वर्ष पहिले शिक्षाको हब थियो । बाहिरका मानिसहरू यहाँ अध्ययन गर्न आउँथे । त्यो आज कहाँ छ ?

स्वास्थ्यका क्षेत्रमा हेर्‍यौं भने रौतहटलगायत पूर्वका जिल्लाबाट वीरगञ्जमा उपचार गराउन आउँथे । आज सर्वसुलभ तरिकाले वीरगञ्जले सबैलाई उपचार गर्न सकेको छ त ? यहाँको गरिब, मध्यम वर्गीय तप्काले नारायणी अस्पतालबाट सर्वसुलभ तरिकाले उपचार लिन पाएको छ त ? यो सबै भयो भने वीरगञ्जको आफ्नो मौलिकता हुन्छ, आफ्नो अलग्गै पहिचान हुन्छ ।

तपाईंले जित्नासाथ यो सब हुन्छ भन्ने आधार के ?

जुन कुरा बिग्रिएको छ, त्यसलाई सपार्छौं । जनताले जे पाउनुपर्ने सेवा सुविधा पाएका छैनन्, त्यो दिलाउँछौं भन्ने हाम्रो संकल्प हो ।

तपाईंको आलोचना गर्नेहरूले चाहिं हिजो एउटा दलमा हुनुहुन्थ्यो, आज जसपामा हुनुहुन्छ, भोलि कुन दलमा पुग्ने हो थाहा छैन भन्छन् नि ?

मैले २०४३ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरें । २०५४ मा नेपाली कांग्रेसबाट वडा सदस्य जितें । पछिल्लो समय निरन्तर मधेश केन्द्रित दलमा छु । राष्ट्रिय मधेश समाजवादी पार्टीमा थिएँ, त्यो पार्टी मर्ज भएर राष्ट्रिय जनता पार्टी नेपाल बन्यो । त्यो पनि संघीय समाजवादी फोरमसँग मर्ज भएर जनता समाजवादी पार्टी बन्यो । जसपा फुट्दा लोकतान्त्रिक समाजवादी पार्टीतिर लागें । लोसपामा केही कुरा चित्त नबुझेपछि पुनः जनता समाजवादी पार्टीमा आएँ । यसलाई तपाईंले दल बदलेको कहाँ देख्नुभयो ?

जसपाबाट त एमाले जान चाहनुभएको थियो, होइन र ?

अर्को दलमा जाने भनेको सही हो । तर त्यो बेला पनि मेरो एउटै लक्ष्य छ, वीरगञ्जलाई समृद्ध बनाउने र गुमेको पहिचान फर्काउने । मैले तीन दशकभन्दा बढी समय राजनीतिमा बिताएको छु, चाहेको भए कुनै पदमा मनोनीत भएर जान सक्थें होला । तर मैले त्यसो गरिनँ, किनकि समृद्ध वीरगञ्ज बनाउन चाहन्छु ।

आजभन्दा ४० वर्ष अगाडि वीरगञ्ज खुशहाल थियो, सब क्षेत्रमा अगाडि थियो । त्यस्तै वीरगञ्ज बनाउन चाहन्छु, यसका लागि जुनसुकै हदसम्म जान सक्छु ।

वीरगञ्जवासीले पनि बुझिसकेका छन्, उहाँहरूको भरोसामा राजेशमान सिंह नै खरो उत्रिन्छन् । जनता समस्यामा परेको बेलामा हामीहरूको टिम नै खडा थियो, राजेशमान सिंह नै खडा थियो । मैले मजदुरी गरेको छु, वीरगञ्जवासीले मलाई ज्याला दिन्छन् भन्नेमा म विश्वस्त छु ।

तर, मेयरमा छाडेकोमा कांग्रेसभित्र असन्तुष्टि छ, तपाईंले खोजेको जस्तो गठबन्धनको साथ रहला त ?

नेपाली कांग्रेस ठूलो पार्टी हो, त्यहाँ धेरै नेता मेयरका आकांक्षी हुनुहुन्थ्यो । उहाँहरूले केही नपाउँदा एकछिनका लागि रुष्ट हुनु स्वाभाविक हो । तर गठबन्धन केन्द्रबाट बनेर आएको हो । वीरगञ्जमा मात्र होइन, अन्यत्र पनि भएको छ । तसर्थ जो असन्तुष्ट हुनुहुन्छ, उहाँहरूले पनि मलाई साथ दिनुहुन्छ भनेर विश्वस्त छु । गठबन्धन एकढिक्का हुन्छ र हामी भारी मतले विजयी हुन्छौं ।

तपाईंको प्रतिस्पर्धी निवर्तमान नगर प्रमुख विजय सरावगीले १० हजार मत अन्तरले जित्छु भन्नुभएको छ नि ?

अगल–बगलको मान्छेले कुरा सुनाएर हुँदैन । वीरगञ्जवासीले जसलाई साथ दिन्छन्, उसैले जित्छ ।

तपाईंका प्रमुख प्राथमिकता के–के हुन् त ?

सबभन्दा पहिलो, जनतामाथि जुन कर जबर्जस्ती लादिएको छ, त्यसलाई हटाउँछु । किनभने तपाईंले कर लिनुहुन्छ भने सुविधा पनि दिन सक्नुपर्छ । करको दायरा बढाउन नसक्ने, अनि सीमित व्यक्ति र व्यापारीमा मात्र कर लाद्नु उचित देखिंदैन ।

विपक्षीहरू, खासगरी जुन पार्टीबाट निवर्तमान मेयर उठ्नुभएको छ, त्यो दल निकट साथीहरूले राजेशमान सिंह गुण्डा हो भन्ने गरेका छन् । गुण्डा भनेको के हो ? मैले कुनै व्यापारी कहाँ गएर चन्दा लिएको छु ? कुनै सरकारी कार्यालयमा गएर हप्ता असुल गरेको छु ? कसैका चेलीबेटीलाई हिंड्न दिएको छैन कि, केटा लगाएर चेलीबेटीलाई डिस्ट्रब गरेको छु ? कसैले देखेको छ भने भनोस् !

युवाहरूका लागि रोजगारी सिर्जना गर्छु । त्यसका लागि व्यापारीहरूलाई नयाँ जमिन खोजेर व्यापार बसाउन जे–जे सुविधा दिन सकिन्छ, हामी दिन तयार छौं ।

सरसफाइको जुन ठेक्का छ, त्यसलाई तोड्छौं । किनकि कहीं नभएको जात्रा हाँडी गाउँमा भनेको जस्तो सफाइ पनि गर्न नसक्ने, प्रत्येक घरधुरीबाट १२० रुपैयाँ चाहिं उठाउने काम भएको छ । वीरगञ्जको मच्छड समस्यालाई निर्मूल पार्नुछ । ढल व्यवस्थापन गर्नुछ ।

महानगरमा भ्रष्टाचार मौलाएको छ । अख्तियार (दुरुपयोग अनुसन्धान आयोग) मा वीरगञ्जको फाइलका चाङ नै लागेका छन् । कोरोना महामारी नआएको भए विरोधको चर्को स्वर गुञ्जिन्थ्यो, भाग्यमानी हुनुभयो निवर्तमान मेयर सा’ब । विरोध त हामीले गरेको हो, ‘जहाँ भ्रष्टाचार त्यहाँ पत्रकार सम्मेलन’ भनेर नालामा पत्रकार सम्मेलन गरेका हौं । लामखुट्टेको विषयमा त्यत्रो प्रदर्शन गरेको हो, विरोध गरेको हो । कोरोना महामारीले उहाँलाई राहत दियो । हामी व्यक्तिगत र संस्थागत दुवैखाले भ्रष्टाचारलाई निर्मूल पार्न चाहन्छौं ।

तपाईंमाथि बाहुबल प्रयोग गर्छ भन्ने आरोप पनि लाग्ने गरेको छ नि…

तपाईं हिच्किचाउनुहुन्छ होला, म हिच्किचाउँदिनँ । विपक्षीहरू, खासगरी जुन पार्टीबाट निवर्तमान मेयर उठ्नुभएको छ, त्यो दल निकट साथीहरूले राजेशमान सिंह गुण्डा हो भन्ने गरेका छन् । गुण्डा भनेको के हो ? मैले कुनै व्यापारी कहाँ गएर चन्दा लिएको छु ? कुनै सरकारी कार्यालयमा गएर हप्ता असुल गरेको छु ? कसैका चेलीबेटीलाई हिंड्न दिएको छैन कि, केटा लगाएर चेलीबेटीलाई डिस्ट्रब गरेको छु ? कसैले देखेको छ भने भनोस् !

राजेशमान सिंह भनेपछि मान्छे किन डराउँछन् त ?

राजेशमान सिंह स्पष्ट वक्ता हो । गलत गर्नुभएको छ भने तपाईंकै सामुन्नेमा भन्न सक्ने क्षमता राख्छु । उनीहरूले गरेको बदमासी पनि जनतामाझ राख्न सक्छु । तपाईंलाई केही पर्दा म तपाईंको पक्षमा प्रशासनसँग लड्छु । वीरगञ्जवासीलाई अन्याय–अत्याचार हुन्छ भने म उहाँहरूको साथमा खडा हुन्छु । यसलाई उहाँहरू गुण्डागर्दी मान्नुहुन्छ भने म सहज स्वीकार गर्छु किनकि म गलतको विरोध गर्छु । त्यही डरका कारण झुट प्रचार गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?