+
+

आरजु देउवा धनगढीमा, भन्छिन्– मतभेद् भएपनि पार्टीका उम्मेदवारलाई हराउन नलागौं

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख १९ गते २०:१८

१९ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर धनगढी उपमहानगरपालिकाको मेयर पदमा साझा उम्मेदवार उठाएको नेपाली कांग्रेसका नेताहरु आन्तरिक विवाद मिलाउन सक्रिय भएका छन् ।

गत फागुनमा सम्पन्न भएको जिल्ला अधिवेशन र स्थानीय तहमा टिकट वितरणको विषयलाई लिएर कांग्रेसभित्रको किचलो बढ्दै गएपछि स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु विवाद मिलाउन सक्रिय भएका छन् ।

पार्टीभित्रको आन्तरिक विवादकै कारण ३० वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा समस्या पर्न सक्ने विश्लेषणसहित पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा धनगढी आइपुगेकी छन् । सोमबार धनगढी पुगेकी आरजुले आन्तरिक समस्या मिलाउन स्थानीय स्तरका नेताहरुबीच छलफल सुरु गरेकी छन् ।

धनगढीस्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै आरजुले पार्टीभित्रका सबै मान्छे मन पर्छन् भन्ने नहुने तर मतभेद् हुँदैमा पार्टीलाई हराउन लाग्न नहुुने बताइन् ।

‘पार्टीमा मन नपर्ने मान्छे पनि हुन्छन् । परिवारमा पनि मन नपर्ने मान्छेहरु हुन सक्छन् तर मन पर्नेलाई त साथी मात्र बनाउन सकिन्छ,’ आरजुले भनिन्, ‘आपसी मतभेद पनि होला तर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लाग्नु हुँदैन् । सबैलाई भन्न चाहान्छुु की भोट आफ्नै पार्टीका उम्मेदवारलाई नै हालौं ।’

उनले स्थानीय तहको निर्वाचनमा वडाबाट हालिने भोट सबैभन्दा महत्वपूर्ण भएकाले यसले नै प्रदेश र स्थानीय सरकार कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्ने भन्दै गम्भीर हुन आग्रह गरिन् ।

मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालप्रति लक्षित गर्दै उनले भनिन्, ‘अहिले नेपालमा हामीले फलो गर्ने भनेकै मल्टि पार्टी सिस्टम हो । पार्टीगत हिसाबले नै देशको प्रणाली सञ्चालन भइरहेको छ । कुनै व्यक्ति आएर यहाँ मेयर भए उसको केन्द्रमा प्रतिनिधित्व गर्ने माध्यम के हो ? प्रदेशमा जानु पर्ला, समन्वयात्मक भूमिका पनि खेल्नुपर्ला नि। कुनै पनि ठाउँमा कसैलाई कल गर्न नसक्ने, पार्टीगत लाइन नहुने नेताहरुले धनगढीलाई के गर्न सक्छन् ।’

उनले हातखुट्टा नभए टाउकोले मात्र केही गर्न नसकिने बताउँदै मेयरलाई जिताउन नसकेको खण्डमा वडा जितेर कुनै मतलब नहुने टिप्पणी गरिन् ।

धनगढी उपमहानगरपालिकामा कुशल नेतृत्व गरेकै कारण कांग्रेसले पुनः वडलाई टिकट दिएको उनको भनाइ थियो ।

स्वतन्त्र उम्मेदवार आफ्नो साथी र नातागोता पर्ने भएकाले व्यक्तिगत असहमति नभएको तर दलीय प्रणालीमा व्यक्तिवादलाई स्वीकार गर्न नसकिने उनले बताइन् । ‘यहाँ कोही मान्छे मन पर्‍यो भनेर भोट हाल्ने तर माथिल्लो तहको सरकारमा उसको लिडर को हो ? जनताको १० रुपैयाँको मास्कलाई दुई सय रुपैयाँमा बेच्ने, अक्सिजन नहुँदा रित्तो सिलन्डर ल्याएर पोज गर्ने लिडर छान्ने त ?’ उनको प्रश्न थियो ।

कांग्रेस भित्रको विवाद के हो ?

२०७४ सालको निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि अन्तरघात गरेको भन्दै पूर्वमन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई कांग्रेसले पार्टीबाट निष्काशन गरेको थियो ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका आकांक्षी समेत रहेका ओझा आरजुलाई टिकट दिएपछि असन्तुष्ट रहेको र उनकै कारण निर्वाचन हारिएको निष्कर्ष निकाल्दै कांग्रेसले पाँच वर्षका लागि भन्दै पार्टीबाट निष्काशन गरेको थियो । पार्टीबाट निष्काशन गरिएका ओझाले सोही कारण कांग्रेसलाई कुनै पनि चुनावमा सहयोग नगर्ने रणनीति लिएका उनी अहिले तटस्थ बसेका छन् ।

उनले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा पार्टीका नभएर मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सहयोग गर्ने आशंका कांग्रेसको छ । ओझाले यहाँ डोटी समुदायको ठूलो मतलाई प्रभावित पार्न सक्ने चिन्ता सत्तारुढ गठबन्धनको छ । सोही कारण अहिले खुलेरै कांग्रेसका उम्मेदवार वडको विरोधमा उत्रिएका ओझा समर्थक नेता कार्यकर्ताहरुलाई रिझाउने कामलाई आरजुले पहिलो प्राथमिकता दिएको चर्चा छ ।

ओझा मात्र नभएर आन्तरिक विवादकै कारण गत फागुनमा निर्धारित समयभन्दा ढिलो गरी भएको जिल्ला अधिवेशनले पनि कांग्रेसभित्र समस्या सिर्जना गरेको छ । खासगरी अधिवेशनमा विगतमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने तत्कालीन सभापति नरनारायण शाह ‘मनु’ ले छुट्टै टिम खडा गरे भने देउवा पक्षधरहरुले पनि छुट्टै टिम बनाएर अधिवेशनमा भाग लियो ।

शाह पक्षले तत्कालीन उपसभापति प्रकाश बमलाई सभापतिमा अघि सार्दै प्यानलसहित उम्मेदवारी दिंदा देउवा पक्षले अहिलेका सभापति नारायणदत्त भट्टको टिमलाई अघि सारेको थियो ।

तर अधिवेशनबाट देउवा पक्षका भट्ट सभापतिमा निर्वाचित भए । सोही बेलादेखि यहाँका केन्द्रीय मात्र होइन जिल्लास्तरका नेताहरु पनि दुई भागमा बाँडिएका छन् । अहिले एक पक्षले अर्कोलाई असहयोगको नीति लिएको छ । ओझा र शाह समूह अहिले एक ठाउँमा उभिएको चर्चा हुन थालेको छ ।

उनीहरुले स्वतन्त्र उम्मेदवार हमालाई समर्थन गर्ने आशंका कांग्रेसको छ । सोही कारण नेताहरु आन्तरिक किचलो मिलाउन सक्रिय बनेको बताइन्छ । यति बेला नभएर कैलालीको राजनीतिमा विगतदेखि संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आन्तरिक विवादले पनि अहिले समस्या सिर्जना गरिदिएको नेताहरु बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?