+
+
अन्तर्वार्ता :

वीरगञ्जमा गिरीश गिरीको प्रस्ताव : जसले शौचालय राम्ररी सफा गर्छ, उही मेयर !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते २२:१४

१९ वैशाख, काठमाडौं । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ उम्मेदवार अघि सारेको छ, गिरीश गिरी ।

पत्रकारिता र लेखन क्षेत्रमा चलेका उनी राजनीतिमा नयाँ खेलाडी हुन् । पूर्व मेयर गोपाल गिरीका छोरा हुनु बाहेक राजनीतिमा उनको अरु योगदान छैन । गोपाल गिरी २०६० सालमा वीरगञ्जको नगर प्रमुखमा मनोनित भएका थिए । तर माओवादीले गोली हानेर उनको हत्या गरेको थियो ।

आफ्ना बाबुको बिंडो समाउँदै वीरगञ्जको राजनीतिमा होमिएका गिरीसँग असन्न निर्वाचनका सन्दर्भमा अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानीको सम्पादित अंश :

वीरगञ्जको नगर प्रमुखमा तपाईंको उम्मेदवारी किन ?

मेरो ट्रयाक रेकर्डलाई हेर्नुस्, स्थानीय तहका मुद्दालाई जनसरोकारका विषयलाई मैले जहिले पनि प्राथमिकता दिँदै आएँ । जीवनमा तीन दशक लामो सक्रिय पत्रकारिता गरें । पत्रकारितामा जनजीविकाको सवाल सधैं प्राथमिकतामा रहृयो । पत्रकारिता रहँदा धेरै पटक प्रश्न उठाएँ, अधिकांशका जवाफ आएनन् । पत्रकारिताले समाज परिवर्तन गर्ने होइन रहेछ, खाली झकझकाउने काम मात्रै गर्दोरहेछ । परिवर्तनका निम्ति त आफैं राजनीतिमा आउनुपर्ने रहेछ । अझ विशेषगरी स्थानीय तह, जसले जनताका सरोकारहरुलाई प्रत्यक्ष सम्बोधन गर्छ, यो निकायमा आउन जरुरी रहेछ भन्ने ठम्याइरहृयो ।

अर्को, जतिबेला वीरगञ्ज भर्खर सहर बनेको थियो । त्यतिबेला मेरो हजुरबुवा जनप्रतिनिधि हुनुहुन्थ्यो । हजुरबुवाको त्यो विरासतलाई बुवाले अघि बढाउनुभएको थियो । बुवाले कसरी काम गर्नुभयो ? के गर्नुभयो भनेर वीरगञ्जबासी जानकार हुनुहुन्छ । १८ वर्षअघि मेयर रहेको समयमै उहाँको हत्या भयो । तीन महिनाको छोटो अवधिमा जे गर्नुभयो, वीरगञ्जबासीका लागि मिसाल बनेर बसेको छ । बुवाको अधुरा सपना पूरा गर्नेदेखि सम्मुनत र आधुनिक वीरगञ्ज कसरी तयार हुनसक्छ भन्ने मेरो आफ्नो अनुभवलाई समेटेर नेतृत्वमा आउन चाहेँ ।

बुवाको निरन्तर बखान गरिरहनुभएको छ । बुवाको हत्या लगत्तै किन राजनीतिमा आउनुभएन ?

बुवाको हत्यालगतै राजनीतिमा आएको भए अवसरवाद हुन्थ्यो । किनभने मेरो बुवाप्रति धेरेको सहानुभूति थियो । मानिसहरुले भन्थे, हाम्रो घरबाट लौरो मात्रै उभ्याइदियो भने कसैले हराउन सक्दैन । म अवसरवादी मान्छे भइदिएको भए त्यहि बेला राजनीतिमा आउँथे । मलाई अवसरसँग लेनदेन थिएन, म आफ्नो काममा थिएँ । एउटा उत्तराधिकारी आउँछ, वीरगञ्जलाई अघि बढाउँछ भनेर न म चुप लागेर बसेको हुँ । हुँदै नभएपछि अगाडि आउनुपर्‍यो ।

तर अहिले आउँदा पनि त गोपाल गिरीको छोरा हुनुबाहेक राजनीतिमा के योगदान छ भनेका छन् नि ?

हो यो (राप्रपा) जीवनको पहिलो राजनीतिक दल हो । तर ठाकुरराम क्याम्पसमा पढ्दा २०४६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको साधारण कार्यकर्ता थिएँ ।

०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएको थिएँ । त्यो बेला थोरै मानिस सडकमा उत्रिएका थिए, जसमध्ये एक म पनि हुँ । ०६२/०६३ आन्दोलनमा मेरो भूमिकाबारे काठमाडौंका साथीहरु जानकार हुनुहुन्छ ।

मधेश आन्दोलनको कुरा गरिन्छ । म स्मरण गराउन चाहान्छु, जति बेला मैले मधेसका मुद्दाहरु उठाएको थिएँ, मधेसका विषयवस्तुबारे लेखेको थिएँ, त्यसबेला मानिसहरु मधेशबारे चर्चा गर्न समेत अप्ठ्यारो मान्थे । मधेशका मुद्दाहरुमा लेखेकै कारण भारतीय दलाल, हिन्दी भाषाको वकालत गरिस्, मधेशको वकालत गरिस् भनेर लान्छित गरिएको थियो, धेरै धम्की खेपेको छु । मलाई गाली गरेर आएको फ्याक्सले अफिसका थुप्रै डब्बा भरिएका थिए ।

तपाईंको तीन प्राथमिकता के-के हुन् ?

मलाई सबैभन्दा बढी चिन्ता लागिरहेको विषय पनि शिक्षा र स्वास्थ्य नै हो । मान्छे सबभन्दा पहिला स्वस्थ हुन जरुरी छ । अर्को, प्रत्येक नागरिकका केटाकेटीले प्रतिस्पर्धी भविष्यका लागि उचित शिक्षा दिक्षाको अवसर पाउन जरुरी छ ।

अर्को सरसफाइ ।  असल मेयरको चित्र भनेको एउटा हातमा झाडु समातेको अर्को हातले बाँसुरी बोकेको हुनुपर्छ । सहरलाई सफा चिटिक्क राख्नुस्, दुर्गन्धरहित राख्नुस्, हराभरा होस्, झाडु लगाइराख्नुस् । अर्को हातमा बाँसुरी बोक्नुुस्, त्यो बाँसुरी बजाएर ‘इन्टरटेन’ गरिराख्नुस्, मन्त्रमुग्ध पारिराख्नुस् । एउटा मेयरले गर्न सक्ने सर्वोत्तम काम त्यो हो । म यस्ता कुरातर्फ आफूलाई लगाउँछु ।

मेयर आफैंले झाडु लिएर सफा गरेर साध्य हुन्छ त ?

फोहोर भो, फोहोर भो !  भन्ने सुनिरहन्छौं । जति मेयरका उम्मेदवार छौं, एक-एक वटा शौचालय जिम्मा लिऔं । कसले राम्रोसँग शौचालय सफा गर्न सक्दोरहेछ,  जनतालाई आगाडि उभ्याऊँ । मेयरका दाबेदारले जनतासामू  सार्वजनिक शौचालय सफा गरेर देखाउन्, जसले सबभन्दा राम्रोसँग शौचालय सफा गरेर देखाउनसक्छ, त्यसैलाई मेयर दिनुस् । मेयर भनेको ठूला कुरा गरेर हिँड्ने पद होइन, मेयर भनेको काम गरेर, जनताको सेवा गरेर देखाउने पद हो ।

तर, हामीले अपनाएको निर्वाचन प्रणालीमा त मेयर हुन शौचालय सफा गरेर हुँदैन, त जनताले मत दिनुपर्छ । राप्रपाको भोटका आधारमा मेयर जितिएला ?

मत पार्टीको सदस्यभन्दा पनि वीरगञ्जबासीसँग भोट माग्न आएको छु ।

त्यसका लागि त स्वतन्त्र उम्मेदवारी पो उपयुक्त हुन्थ्यो कि ?

पार्टीको टिकट लिएर चुनाव लड्न आउँदा त ढिलो आइस् भनिरहनुभएको छ । स्वतन्त्र उम्मेदवार बनेको भए त मैले परिचय गर्ने मौका समेत नपाउने रहेछु । पार्टीर् सानै भएपनि संगठन त छ नि ! त्यही संगठनमार्फत हात खुट्टा तन्काउने मौका पाएको छु । स्वतन्त्र भइदिएको भए मेरो हबिगत के हुन्थ्यो होला ?

त्यसो हुँदा त पार्टीभन्दा बाहिरको मान्छेले तपाईंलाई किन भोट देलान् ?

पार्टीले त मलाई सहयोग गर्छ नै गर्छ, म त उसको उम्मेदवार हुँ । यो पार्टीमा टुप्लुक्क टुपुलिएको पनि होइन ।  यहाँ एक सातामा तीन वटा पार्टी परिवर्तन गर्ने मानिसहरु पनि छन् । मैले त मेरो पिता पुर्खाहरु जुन पार्टीमा संलग्न हुनुहुन्थ्यो, त्यही पार्टीबाट लडिरहेको छु । गोपाल गिरीलाई आज राष्ट्रिय प्रजातन्त्र पार्टीले सहिद भन्छ । त्यसैले पार्टीका मान्छेले भोट दिन्छन् कि दिँदैनन भन्ने प्रश्न छैन । म त सम्पूर्ण वीरगञ्जवासीको भोट पाउन योग्य छु भनेर आएको छु ।

तपाईंले जित्नुभयो भने वीरगञ्जवासीले देख्न पाउने तीन वटा परिवर्तन के हो ?

वीरगञ्जलाई यहाँ पुर्‍याउँछु भन्ने सपना छ । मेयर भएँ भने कति गर्न सक्छु आफ्नो ठाउँमा छ, तर वीरगञ्जलाई आधुनिक, समृद्ध र महानगर बनाउने दिशामा लैजान्छु ।

किनकी यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । त्यो पाइला कुन दिशातर्फ चाल्नुहुन्छ, त्यो महत्वपूर्ण हो ।

फेरि म त्यो परिवारको मान्छे हुँ, त्यो बाउको छोरा हो, जसले ३ महिनामा देखिने गरी काम गर्नु भएको थियो ।

काम गर्नलाई स्रोत साधन चाहिन्छ, वीरगञ्जमा पर्याप्त स्रोत साधन छ त ?

नगरपालिकाभित्र त गएको छैन, तर मसँग हुटहुटी छ । स्रोत साधन भए तत्कालै गर्न सकुँला, सीमितता भए विस्तारै होला । तर मेरो पाइला कुन दिशातिर अघि बढ्छ, भन्ने मुख्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?