+
+
समीक्षा बास्कोटा :

विकल्पको गोरेटोमा मेयरको फराकिलो सपना

आन्तरिक पार्टी जीवनमा हालसालै उतारचढाव बेहोरेको प्रमुख दलहरूले पनि काठमाडौं महानगरको मेयरको लागि ‘पपुलर’ उम्मेदवार खडा गर्न नसकेको अवस्था भने बास्कोटाका लागि केही लयालु देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ९:१६

विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा प्रत्यासी समीक्षा बास्कोटा राजनीतिक पारिवारिक वातावरणमा हुर्किइन् । २०५२/५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनका पिता दीपकप्रसाद बास्कोटा गृह राज्यमन्त्री थिए ।

बुवा मन्त्री हुँदा उनी ६–७ कक्षामा थिइन् । बुवाले झण्डावाला गाडीमा कहिल्यै चढ्न नदिएको उनी सम्झिन्छिन् । ‘हामी गाडी चढ्न खोज्दा उहाँ भन्नुहुन्थ्यो– यो सरकारी गाडीमा चढ्न तिमीहरूले आफैं मिहिनेत गर्नुपर्छ’ बाल्यकाल सम्झँदै उनी भन्छिन्, ‘बुवा मन्त्री हुँदा हामी शक्तिशाली भएको महसुस भएन ।’

कलेज पढ्दा समीक्षा र उनका साथीहरू विद्यार्थीले राजनीति गर्नुहुँदैन भन्ने वकालत गर्थे । त्यसैले काठमाडौं स्कूल अफ लमा ‘स्टुडेन्ड सोसाइटिज अफ ल’ नामक एक मात्र संगठन बनाएर काम गरेको समीक्षा स्मरण गर्छिन् ।

यसरी, सक्रिय कांग्रेस राजनीतिक परिवारमा हुर्किए पनि उनलाई परम्परागत राजनीतिले आकर्षण गर्न सकेन । समीक्षाको पहिलो राजनीतिक आबद्धता नै विवेकशील साझासँग भयो ।

तत्कालीन विवेकशील दल र साझा पार्टी एकता भएको उत्साहपूर्ण परिवेशमा उनी वैकल्पिक राजनीतिक अभियानमा जोडिएकी हुन् । ‘मेरो राजनीतिक प्रेरणाको स्रोत मेरै बुवा हुनुहुन्छ । उहाँले व्यक्तिमा हुनुपर्ने विशेष गुणहरूबारे जोड दिइरहनुभयो । घमण्ड गर्नुहुँदैन, जमिन टेक्नुपर्छ, इमान छाड्नुहुँदैन, आफूले लिएको लक्ष्यमा निरन्तर काम गर्नुपर्छ जस्ता कुराहरू सिकाइरहनुभयो’, समीक्षा भन्छिन् ।

पिताको राजनीतिक दीक्षाकै आधारमा विवेकशील साझा पार्टीमा लागेको उनी बताउँछिन् । ‘मेरो निर्णयबारे सोध्दा बुवाले आफूलाई इच्छा लागेको गर्नु भन्नुभयो’, उनले भनिन् ।

बैंकको जागिरदेखि व्यवसायसम्म

काठमाडौंमा जन्मिएकी समीक्षा बास्कोटा पेशाले कानुन व्यवसायी हुन् । उनले काठमाडौं स्कुल अफ लबाट स्नातक र अमेरिकाको सेन्ट जन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।

अध्ययन सकेपछि उनले ‘डिन्स फेलो’मा मनोनीत भएर केही समय अमेरिकामै काम गरिन् । चार वर्ष अमेरिका बसेर २०६७ सालमा नेपाल फर्किनासाथ उनले एउटा बैंकको कानुन विभागमा ९ महिना काम गरिन् ।

‘त्यहीबेला लाग्यो, जागिर खाने होइन, मैले ल फर्म खोल्नुपर्छ’ उनी भन्छिन्, ‘अनि राजिनामा गरेर आफ्नो सोच अनुसार अगाडि बढें ।’

कानुन व्यवसायसँगै अध्यापन, परोपकारी गतिविधि र राजनीतिमा सक्रिय ३८ वर्षीया बास्कोटा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएपछि चर्चामा छिन् । यसअघि विवेकशील साझा पार्टीको वागमती प्रदेश संयोजक रहेकी उनी हाल केन्द्रीय कार्य–सम्पादन समिति सदस्य हुन् ।

गत स्थानीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उठेकी उनी २७ प्रतिशत मतका साथ तेस्रो भएकी थिइन् ।व्यवसायमा उनी ‘बास्कोटा ग्रुप अफ इन्डष्ट्रिज’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् ।

३० वर्षअघि उनका बावुले खोलेको यो कम्पनी नेपाली अर्गानिक चियाको बजारीकरण गर्ने पहिलो कम्पनी हो ।

अनुकूलता–प्रतिकूलता

आफू आबद्ध विवेकशील साझा पार्टी गम्भीर टुटफुटमा परेको बेला समीक्षा बास्कोटाले देशको राजधानी महानगरको प्रमुखमा दावेदारी गरेकी छन् । देश–विदेशको अध्ययन र विभिन्न पेशा–व्यवसायको जिम्मेवारीमा आफूलाई पुष्टि गरिरहेकी उनलाई यो चुनावमा साझा पार्टीको व्यक्तित्वले खासै बल दिने अवस्था देखिंदैन ।

वैकल्पिक राजनीतिक धार बनाइरहेको पार्टीलाई दक्षिणपन्थी चिन्तनले धक्का दिएको बेला युवा मतदाताकै मन जित्न पनि उनलाई चुनौती छ ।आन्तरिक पार्टी जीवनमा हालसालै उतारचढाव बेहोरेको प्रमुख दलहरूले पनि काठमाडौं महानगरको मेयरको लागि ‘पपुलर’ उम्मेदवार खडा गर्न नसकेको अवस्था भने बास्कोटाका लागि केही लयालु देखिन्छ ।

गत साता सार्वजनिक उनको चुनावी घोषणापत्रका मूल एजेन्डा छन्– भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ तथा व्यवस्थित र विद्युतीय यातायात, नेवाः कला–सांस्कृतिक पुनर्जागरण, खुला क्षेत्र विस्तार र विकास, नदीनालाको सफाइ र पुनर्जीवन, सफा र व्यवस्थित काठमाडौं, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा ।

यी एजेन्डाका साथ मैदानमा उत्रिएकी उनी आफ्नोबारे थप भन्छिन्, ‘म महिला भएर महिलाको मात्र कुरा गर्दिनँ । महिलासँगै युवा पनि हुँ । काम गर्न सक्षम छु । यो सिंगो महानगरका लागि नयाँ अवसर हुँ । काठमाडौंका सचेत मतदाताले अपरिक्षित र दलगत भ्रष्टाचारमा नजोडिएको मलाई उत्कृष्टताको आधारमा मत दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?