+
+
समयान्तर :

मधेश राजनीतिको विमर्श

तराई-मधेश र समग्र देशकै उन्नति र प्रगतिका लागि मधेशको सामुदायिक स्वरुपको राजनीतिलाई राष्ट्रिय स्वरुपमा परिणत गर्दै तराई-मधेशमा टेकेर पहाड, हिमाल चढ्ने आँट गर्नैपर्छ ।

मनिकर कार्की मनिकर कार्की
२०७९ वैशाख २१ गते ९:०८

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले प्रचार अभियान तीव्र बनाएका छन् । चुनावको मिति नजिकिंदै गर्दा दलीय तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता रिझाउने प्रतिस्पर्धामा उत्रिइसकेका छन् । उनीहरू चुनावी प्रचार-प्रसारका लागि घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । चुनावी सरगर्मीकै बीच रूपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा साक्षात्कार भएका केही प्रतिनिधि प्रसङ्ग हेरौं ।

दृश्य-१

एक मधेशी मूलकी आमैले निकै भावुक हुँदै दुःखेसो गरिन्- ‘बाबु म ७० वर्ष पुग्नै लागिसकें, अहिलेसम्म मेरो नागरिकता बनेको छैन । कसैले पनि मेरो नागरिकता बनाइदिएनन् । मैले भोट पनि हाल्न पाएकी छैन । अरूले वृद्धभत्ता पनि पाउँछन् तर, मैले अब भत्ता पनि पाउँदिन । मलाई कसैले हेर्दैनन् । के मैले नागरिकता पाउँदिनँ ?’ जबकि शुद्धोधन गाउँपालिका रूपन्देही जिल्लाको बुटवल बजारबाट मात्र १०/१२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

दृश्य-२

शुद्धोधन गाउँपालिका निवासी त्यस्तै ६५ वर्ष जति उमेर पुगेका एक बाजेले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भने- मधेशी, थारूहरूले आन्दोलन वा कुनै संघर्ष गर्दा सामाजिक सद्भावका लागि भन्दै सहर बजारतिर नारा लाग्छ- ‘हिमाल पहाड तराई, कोही छैन पराई ।’ अनि कोही पनि पराई छैन भने यो विभेद चैं किन ? पुस्तौंदेखि तराई मधेशमा बसोबास गरिरहेका यहाँका मधेशी, थारू लगायत रैथाने बासिन्दाहरूलाई किन नागरिकता दिइँदैन ? किन सधैं अनागरिक ठानिन्छ र विभेद गरिन्छ ?

दृश्य-३

शुद्धोधन गाउँपालिकाकै सिसवामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एक मधेशी समुदायका स्थानीय नेताले भने- ‘यो देशमा मधेशीले भोट दिएकै कारण पहाडीले मधेशीमाथि शासन गरिरहेको छ । त्यसैले अब मधेशीले मधेशीलाई मात्रै भोट दिनुपर्छ । हामी मधेशीले पहाडीलाई हैन, मधेशीलाई नै साथ दिनुपर्छ ।’ उनी आफ्नै समुदायका उम्मेदवारलाई मत माग्दैथिए ।

यी केही प्रतिनिधि दृश्यहरूलाई जस्ताको तस्तै यहाँ उतार्नुको उद्देश्य तराई-मधेशको राजनीतिभित्रको दृश्य र दृष्टिकोण उजिल्याउनु हो । यी माथि उल्लेख गरिएका अभिव्यक्ति केवल विश्लेषणका लागि उल्लेख गरिएका हुन् । कुनै अमूक जाति र समुदायमाथिको टिप्पणीलाई स्थापित गर्न खोजिएको पटक्कै होइन । चुनावको दौरान समुदायगत रूपमा मत माग्ने चलन पनि देखिन्छ । यद्यपि यो क्षेत्रीय र नश्लीय चिन्तन हो । यस्तो चिन्तनबाट मुक्त हुनुपर्छ । किनकि आर्थिक, सामाजिक, राजनीतिक रूपले पछाडि परेको समुदायको आन्दोलन र संघर्ष उनीहरूको आफ्नो हक, अधिकारका लागि हो । उनीहरूले राज्यसँग आफ्नो अधिकार मागेका हुन् न कि अर्को समुदायसँग वैरभाव राख्न ।

नेपालको दक्षिणी समथर भूगोल-जसलाई तराई-मधेश भनिन्छ, यो भूगोल उसैगरी पूर्व-पश्चिम तन्किएको छ, जसरी विश्वको मानचित्रमा नेपालको सीमा तन्किएको छ । यो समथर भूगोलमा पूर्व-पश्चिम छिचोल्ने दुई राजमार्ग छन्- पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग र हुलाकी राजमार्ग । हुलाकी राजमार्गको निर्माण सपना झैं भएको छ । प्रत्येक वर्ष सरकारको वाषिर्क नीति तथा कार्यक्रममा हुलाकी राजमार्ग निर्माण पूरा गर्ने कुरा हुन्छ तर, व्यवहारमा त्यो अझै पनि पूरा हुनसकेको छैन ।

राजमार्गमा राजनीति

राणाकालमा प्रशासनिक चिठीपत्रहरू बोकेर ओहोरदोहोर गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटोको रूपमा परिचित थियो हुलाकी मार्ग । राणाकालीन समयमा त्यो हुलाकी मार्ग तराई-मधेशको लाइफलाइन नै थियो । सन् १९५१ सालको राजनीतिक परिवर्तनपश्चात् पटकपटक हुलाकी मार्गलाई विस्तार गरी सडक बनाउने कुरा उठ्यो । तर, सन् १९६० मा राजा महेन्द्रले मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि ‘महेन्द्र राजमार्ग’ को राजनीति सुरु भयो र हुलाकी मार्ग ओझेलमा पर्‍यो । पछि १९९० को प्रजातन्त्र पुनःस्थापना पश्चात् तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले नेपाल भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, भारतीय सरकारको तर्फबाट गरिएको सोे प्रतिबद्धताको सैद्धान्तिक सहमति हुन एक दशकभन्दा बढी समय लाग्यो । र, पछिल्लो समय सन् २००४ बाट हुलाकी राजमार्ग निर्माण कार्य सुरु भयो । नेपालले उक्त राजमार्गको रेखांकन गरे अनुसार पूर्वस्थित झापा जिल्लाको केचनाकवलदेखि पश्चिमस्थित कञ्चनपुरको चाँदनी-दोधारासम्मको कुल राजमार्गको लम्बाइ १ हजार ७९२ किमि हुनेछ । सन् २००४ यता नेपाल भारत सहयोगमा उक्त राजमार्ग निर्माण कार्य जारी छ । तर, त्यसको निर्माण कार्य अझै पूरा हुनसकेको छैन । अझै कपिलवस्तु, चितवन, नवलपुर, मोरङ, सुनसरी, सप्तरी लगायत जिल्लामा उक्त सडकको ट्रयाक खोल्ने काम पनि पूरा हुनसकेको छैन ।

तराई मधेशको विकास र समृद्धिमा कायाकल्प गर्ने संभावना बोकेको यो राजमार्ग नेपालका सबै चालु राजमार्गहरूभन्दा पुरानो भइकन पनि दशकौंदेखि निर्माण सम्पन्न नहुनुको बहुआयामिक कारण छन् । नेपालको जेठो सडक अझै पनि बनिनसक्नु आफैंमा एक ऐतिहासिक उल्झन हो । तराई-मधेशको धेरैजसो बस्ती यही राजमार्ग भएर यात्रा गर्दा नै भेटिन्छ । त्यसैले यो राजमार्गको यात्रा तराई-मधेश बुझ्नका लागि अनिवार्य हुन जान्छ ।

नेपालकै पहिलो सडकको रूपमा परिचित हुलाकी राजमार्ग किन अहिलेसम्म निर्माण भएन ? यो एक अनुत्तरित प्रश्न पनि हो । वास्तवमा यही प्रश्नभित्र काठमाडौंको केन्द्रीकृत शासनसत्ताको तराई-मधेशप्रतिको अलगावको मनोविज्ञान देखापर्छ । यही एउटा राजमार्गले नेपालको काठमाडौंकेन्द्रित शासनसत्ताले तराई-मधेशलाई हेर्ने दृष्टिकोण उजिल्याएको छ ।

अहिले तत्कालीन राजा महेन्द्रले सन् १९६२ मा निर्माण सुरु गराएको यही पूर्व-पश्चिम राजमार्ग नै एकमात्र चालु सडक हो । यो पञ्चायती विकासको एकमात्र जीवित उम्दो दृष्टान्त पनि हो । अनि यो राजमार्ग निर्माणको केही निश्चित राजनीतिक तथा सामरिक उद्देश्य थियो भन्ने कुरा प्रष्टै देखिन्छ । किनकि त्यो बेला यदि महेन्द्रले चाहन्थे भने सबैभन्दा पहिले हुलाकी राजमार्ग बन्ने थियो । तर, उनले त्यसो गरेनन् । उनले पूर्व-पश्चिम तराई-मधेशका सहरहरू जोड्ने हुलाकी मार्ग निर्माण सम्पन्न गर्नुको साटो चुरेको फेदकेन्द्रित भएर व्यापक मात्रामा वन फँडानी गरी नयाँ राजमार्ग खोल्ने योजना ल्याए ।

यो राजमार्ग खोल्नुको मुख्य कारण पहाडबाट बसाइँसराइ गरी पूर्व-पश्चिम नयाँबस्ती बसाउनु थियो । अनि त्यो नयाँबस्ती मार्फत तराई-मधेशको भूराजनीतिलाई सन्तुलनमा ल्याएर महेन्द्रीय राष्ट्रवादको बीजारोपण गर्नु थियो । र, आज मुलुक त्यही राष्ट्रवादको भाष्यमै रुमल्लिएको छ । आखिर यो देशको विविधता नचिन्ने, समुदाय, स्थानीयता, भू-संस्कृति, भेषभुषा र रहनसहन नचिन्ने केवल भूगोल र शासकीय समुदायलाई मात्रै चिन्ने ‘राष्ट्रवाद’ को भाष्यको निर्माण त्यही महेन्द्र राजमार्गको निर्माणसँगै विस्तारित भयो ।

मधेशको दृश्य र दृष्टिकोण

आज समग्र तराई-मधेशको यात्रा गर्ने चालु मार्ग त्यही पूर्व-पश्चिम ‘महेन्द्र’ राजमार्ग बनेको छ । अनि काठमाडौंबाट यात्रामा निस्कनेहरू त्यही राजमार्गको यात्रा गर्दै समग्र तराई-मधेशको दृश्य र मनोविज्ञानको संश्लेषण गर्न पुग्छन् । यात्रामा देखिने दृश्यले भन्छ- जताततै आवादी बढेको छ । राजमार्ग छेउछाउका खेतहरू अब्बल घडेरीमा परिणत भएका छन् र साना-ठूला घरहरू बन्ने क्रम जारी छ । राजमार्गमा पर्ने वनजंगल छाडेर सबैजसो स्थानमा मानव बस्तीले ढाकिसकेको छ । राजमार्गका छेउछाउका बस्ती एवं बजारहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सञ्चार आदिको विकास पनि क्रमशः हुँदैछ । मुख्य सहर-बजारमा सडक फराकिलो बनाउने काम पनि जारी नै छ । हो, पूर्व-पश्चिम राजमार्गको यात्रामा यही गुल्जार हुँदै गरेको तराई-मधेशको चित्र देखिन्छ र निष्कर्ष निस्कन्छ- आखिर तराई-मधेशमा सोचेजस्तो अभाव र पछौटेपन त रहेनछ । बस्, सबै ठीकै त छ ।

तर, ती कतिलाई त थाहै हुँदैन कि त्यो राजमार्ग दक्षिणतर्फ २०/३० किलोमिटर पनि नेपाल हो । केवल पूर्व-पश्चिम राजमार्गको यात्रा गरी निर्माण गरिने दृष्टिकोण वास्तवमै असंगत एवं त्रुटिपूर्ण छ । साँच्चिकै मधेश बुझ्नको लागि हुलाकी सडकहुँदै दक्षिण नेपालका पुराना सहर, राजमार्ग वरिपरिका अव्यवस्थित देखिने बजार, खेत खलिहान हुँदै तराई-मधेशका गाउँ-टोल पुग्ने धुलाम्य र हिलाम्य बाटोको कष्टकर यात्रा तय गर्नैपर्छ । बल्ल मधेश के हो बुझिन्छ । मधेशको समस्या र मधेशी समुदायका मानिसहरूको सहनशीलता कति रहेछ भन्ने ज्ञात हुन्छ ।

तर, त्यही राजमार्गदेखि केही किलोमिटर दक्षिणतर्फको दृश्य भने बिल्कुल फरक छ । सडक छेउछाउतिर देखापर्ने पुराना बस्ती, घर र गोठमा भिन्नता नदेखिने अव्यवस्थित बसोबासले राजमार्ग वरिपरिको दृश्यलाई बिर्साइदिन्छ । आखिर एउटै भूगोलको केही किलोमिटर उत्तर र दक्षिणको दृश्यमा किन यति धेरै अन्तर छ ? आखिर यो अन्तर कसरी सिर्जित भयो ? कसले गर्‍यो ? हो, यी र यस्तै प्रश्नहरूमा तराई मधेशप्रतिको राज्य निर्मित दृष्टिकोण झल्किन्छ ।

यी दुई राजमार्ग वरिपरि देखिने दुईथरी दृश्यको अन्तरविरोध नै तराई-मधेशको राजनीतिक परिदृश्य हो । अनि यहाँका गरिब र उत्पीडित जनता भने राज्य, समुदाय र छिमेकी (भारत)को मिचाहा प्रवृत्तिको तेहरो शोषण भोग्न विवश छन् । उनैलाई थाहा छ, देशभित्रै पनि देशवासी हुन नसक्नुको पीडा । उनैलाई थाहा छ, एकल सामुदायिक वर्चस्ववादी सोचयुक्त सत्ताबाट शोषित हुनुको व्यथा । उनैलाई थाहा छ, आफ्नै समुदायका केही टाठाबाठा स्थानीय शासकहरूबाट पनि भोग्नुपरेको उत्पीडन । त्यस्तो उत्पीडनलाई राजनीतिक संरक्षकत्व प्राप्त भएकै कारण त्यो उत्पीडन हट्न सकेको छैन, बरु परिवर्तित स्वरुपमा त्यस्तो उत्पीडन संस्थागत बन्दैछ, सामुदायिक र क्षेत्रीय राजनीतिको नाउँमा ।

त्यस्तै भारतीय सीमा अतिक्रमणको बलमिच्याईं र ज्यादतीको व्यथा भोग्ने पनि उनै हुन् । तराई-मधेशका सीमावर्ती गाउँका नागरिकहरूलाई कसैले पनि हेरेका हुँदैनन् । उनीहरूका लागि न त देश नै आफ्नो छ, न त समुदाय नै । उनीहरूका लागि न त राज्य छ, न पार्टी छ, न स्थानीय छन्, न त सुरक्षा छ । बाहृय र आन्तरिक दुवैतर्फबाट दमित भई बस्नुपर्ने सिमाञ्चल क्षेत्रका नागरिकहरूको वेदना, पीडा अनि दैनन्दिन झेल्नुपर्ने समस्याको चाङ कसले देखोस् ?

झन् कालो छालालाई नै विदेशी करार गरिदिने काठमाडौंकेन्द्रित चिन्तनले त त्यो समस्याको चाङ देख्ने कुरै भएन । परिणामस्वरुप रोग, भोक र शोक नै दक्षिणी सिमाञ्चल क्षेत्रका नागरिकहरूको दैनिकी बनेको छ । त्यसमाथि अनागरिक हुनुको व्यथा । यिनै समस्यासँग जुध्दाजुध्दै तिनको जुनी बित्छ । त्यही अभाव र पीडामाथि समाजले सामाजिक विभेद र बहिष्करणको बल्छी थाप्छ । अनि कसरी ती नागरिक भएर बाँच्न सक्छन् ? कसरी नेपालभित्रको नेपाली हुन सक्छन् ?

मधेश राजनीतिको विमर्श

मधेश र मधेशको राजनीतिलाई इतिहासको फल्चामा बसेर नियाल्दा प्रत्येक जागरणमुखी आन्दोलन र राजनीतिक रूपान्तरणको संघर्षमा मधेशको योगदान निकै महत्वपूर्ण र निर्णायक देखिन्छ । सन् १९५० देखि २०१५ सम्मको नेपाली राजनीतिको इतिहासमा भएका सबै प्रकृतिका क्रान्ति, संघर्ष, आन्दोलन एवं मधेश विद्रोहमा तराई-मधेशको योगदान उच्च छ । १९५० कै क्रान्तिताका त मधेशका केही सहरहरूले निर्णायक इतिहास रचेका थिए भने माओवादी जनयुद्धको विस्तारमा पनि मधेशकै योगदान थियो । पछिल्लो समय समावेशिता र संघीयतालाई स्थापित गर्ने सन् २००७ को मधेश विद्रोहले त झन् राज्यको पुनर्संरचनामै प्रत्यक्ष योगदान गरेको छ ।

वीरगंज, जनकपुर, राजविराज, विराटनगर, भैरहवा जस्ता केही दक्षिण नेपालका पुराना सहरहरूले सन् १९५० कै क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याएका थिए । तर, ती सहरहरूमध्ये एकाधलाई छाडेर अहिले सबै गुमनाम झैं भएका छन् । आखिर राजनीतिक परिवर्तनको आन्दोलनमा गौरवमय इतिहास रचेका ती सहर किन गुमनाम भए ? इतिहासमा दिग्गज नेतृत्व जन्माएका यी सहर आज किन मौन छन् ? आज किन ती सहरहरूको शान, सौकत र वैभव मूर्झाउन पुग्यो ? ती सहर किन राजनीतिक नेतृत्व र राज्यबाट उपेक्षित भए ? मधेश राजनीतिको विमर्श गर्दैगर्दा यी र यस्तै प्रश्न पनि पर्गेल्नै पर्छ ।

तराई-मधेशको विकासक्रममा बसाइँसराइको भूमिका निर्णायक देखिन्छ । जहाँ बसाइँसराइ भएर आउने क्रम बढी हुन्छ त्यहाँ विकासको प्रक्रिया पनि तीव्र भएको देखिन्छ । यसलाई पुष्टि गर्ने पूर्व-पश्चिम राजमार्ग वरिपरिका बस्ती र पछिल्लो ३०/४० वर्षमा बनेका सहर-बजारलाई लिन सकिन्छ । अनि यसरी बसाइँसराइ गर्नेमा चाहिं पहाडी मूलका खस-आर्य समुदायकै मानिस बढी छन् ।

खस-आर्य समुदायको बाहुल्य भएका स्थानमा विकासको गति बढी हुनुमा उनीहरूको उन्नत सभ्यता, संस्कार र चेतना हो भनेर तर्क गर्नेहरू पनि प्रशस्त छन् । यसमा केही सत्यता पनि छ । तर, किन त्यसो भयो ? भनेर प्रश्न गर्ने हो भने त्यो समुदाय जहाँजहाँ पुग्छ राज्यको स्रोतसाधन त्यहींत्यहीं पुगेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन । अतः भौतिक विकासको अवस्था र अवसरको बाहुल्य पनि त्यही समुदायको भागमा बढी पर्न गएको साँचो हो ।

यसर्थ, उत्पीडन, विभेद र अविकास मधेशका खास समस्या हुन् । त्यहाँका मानिसले देशभित्रै पनि देश देख्न र भोग्न नपाउनु अर्को दुःखद यथार्थ हो । त्यसैले तराई-मधेशमा कुनै न कुनै जागरणको आन्दोलन चलिनै रहन्छ । मधेश राजनीतिकै विमर्शमा मधेशका नेताहरू जब सत्ताको निकट आउँछन् किन उनीहरू मधेश बिर्सिन्छन् ? मधेशको माटोमा जन्मे-हुर्केका अनि त्यहीं राजनीतिक कर्म गर्ने नेताहरूलाई काठमाडौंको वातानुकूलित मौसम किन प्यारो लाग्छ ? उनीहरूले किन मधेशमै बसेर मधेशी जनताको हितका लागि काम गर्दैनन् ? यस्ता अनगिन्ती प्रश्न अनुत्तरित नै छन् ।

तराई-मधेशको अहिलेको अभावग्रस्त अवस्था र असन्तुलित विकासले त्यहाँको जीवनस्तर झन् खस्किंदै गएको छ । त्यसैले राज्यको समतामूलक समृद्धिमा अब तराई-मधेशको सहभागिता बढाउनुपर्छ । पूर्व-पश्चिम राजमार्गमा नयाँबस्ती र सहरहरू गुल्जार हुँदै गर्दा दक्षिणतिर मूर्झाएका बस्तीमा पनि त्राण भर्नुपर्छ । उत्तर-दक्षिण व्यापारिक र भावनात्मक सम्बन्धको विस्तारले नै समग्र तराई-मधेशको उन्नति हुने हो । तराई-मधेश र समग्र देशकै उन्नति र प्रगतिका लागि मधेशको सामुदायिक स्वरुपको राजनीतिलाई राष्ट्रिय स्वरुपमा परिणत गर्दै तराई-मधेशमा टेकेर पहाड, हिमाल चढ्ने आँट गर्नैपर्छ ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?